सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई राष्ट्रिय स्तरको निदान केन्द्रमा स्तरोन्नति गर्ने भनेको छ। सरकारको यस्तो कदमबाट हामी निकै खुसी छौँ। यो एकदमै सकरात्मक कुरा हो।
नेपाल जनस्वास्थ्य प्रयोगशाला मुख्यतः जनस्वास्थ्य क्षेत्रमा काम गर्ने संस्था हो। यसका अलावा यहाँ क्लिनिकल सेवा पनि दिइरहेका छौँ। बिरामीको धेरै भीड हुने, सेवा अलि ढिलो हुने गुनासाहरु आइराखेका हुन्छन्। हामीलाई यी सेवाहरु यहाँबाट हटाउनुपर्छ भनेर धेरै दबाब थियो। किनकी यस्ता सुविधाहरु अन्यत्रका ल्याबहरुमा पनि पाइन्छ भनेर भन्थे। कि त शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल वा वीर अस्पतालमा हस्तान्तरण गर्दिनुप¥यो भनेर भनिन्थ्यो। वीर र टेकुमा त्यो सुविधा त छँदैछ नि।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा क्लिनिकल सेवा अरु अस्पतालभन्दा राम्रो दिइराखेका छौँ। अरु अस्पतालमा हेर्दा अझै पनि प्रयोगशालामा त्यति चासो दिइएको पाइँदैन र अलि बेवास्ता नै गरिएको छ। पूर्वाधार बाहेक यहाँ उपकरण, औजारहरु पनि गुणस्तरीय छन्।
यी सेवा–सुविधाहरु यहाँबाट हटाएर कहाँ राख्ने त? अरु ठाउँमा विस्तार गर्न नसकेर त यहाँ स्थापना भएको हो। बिरामीलाई भोलिबाट नआउनु भनौंला, त्यसपछि उनीहरुलाई कहाँ जाने भन्ने त? उनीहरुलाई एउटा विकल्प त दिनुप¥यो। न त हामीसँग कुनै अस्पतालसँग समन्वय छ तर पनि यहाँ बिरामीहरु आइराखेका छन्। भरोसा गर्छन्।
यसलाई हटाउनुका सट्टा स्तोरन्नति गरेर अझ राम्रो र भरपर्दो तरिकाले सेवा दिन सक्यो भने बिरामीलाई धेरै फाइदा हुन्छ। त्यसबाट हाम्रो राजस्व पनि उठ्छ। सरकारलाई पनि राम्रो हुने भयो र बिरामीले पनि एउटा भरपर्दो स्थान पाउने भए।
यसलाई अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालाको रुपमा विकसित गर्ने हाम्रो मुख्य योजना रहेको छ। यसलाई बन्द गर्नुका सट्टा क्लिनिकल प्रयोगशाला र जनस्वास्थ्य दुवैलाई कसरी सँगै र राम्रो तरिकाले लैजाने भनेर प्लान बनाउनुपर्छ।
नेपालमा करौडौँ रुपैयाँ प्रयोगशालाको नाममा यहाँ परीक्षण हुन नसकेर भारत तथा अन्य देशमा गइरहेको छ। यो प्रयोगशालाले जनस्वास्थ्यको काममा केन्द्रित हुनुपर्ने साइड जब जस्तो थियो, त्यसलाई राम्ररी काम गर्न सकिरहेका थिएनौँ। अब नीतिनियममा नै सम्बोधन हुने भएपछि दुवैलाई केन्द्रित गरेर अत्याधुनिक सुविधा दिनेगरी विभिन्न थरीका ल्याबको सुविधा दिएर योजना बनाउन बाँकी नै छ।
मेरो सोच र मैले अहिले देखेको आवश्यकता भनेको यहाँबाट परीक्षणका लागि जति बाहिर जान्छन्, त्यसको ९९ प्रतिशत हामी यतै गर्नसक्ने बनाउने हो। बिरामीको लागि एकलविन्दु सेवा दिने बनाउनुपर्छ। बिरामीलाई यस्तो परीक्षणका लागि कहाँ जाने भन्दा यहाँ पाउँछ भन्ने सोचको विकास गर्नुप¥यो।
विदेशी प्रयोगशालाले देशका कुना काप्चाबाट स्याम्पलहरु उठाएर परीक्षणका लागि लान्छ। उनीहरुलाई त कुनै अप्ठ्यारो हुँदैन, हामीलाई चाहिँ किन अप्ठ्यारो हुन्छ त? जसरी बिरामी एक ठाउँबाट अर्को ठाउँमा रिफर गरिन्छ, त्यसरी नै प्रयोगशालाको स्याम्पल परीक्षणका लागि पनि रेफरल मेकानिजम बनाइनु आवश्यक छ। यसबारे मन्त्रालयले छलफल गरिरहेको सुुनेको छु।
त्यसैले हामीले स्याम्पलका लागि एउटा रिफरल मेकानिजम किन विकास नगर्ने? नेपालभित्र जुन प्रयोगशालाहरु छन्, सरकारकै पाटोबाट बोल्नुपर्दा सबै चिज प्राइमरी अस्पतालमा गर्न सम्भव छैन। जति त्यहाँ गर्न सकिन्छ त्यति त्यहाँ पूरा गर्ने गर्न र त्यहाँ नभएको बिरामीलाई यहाँ टेस्ट हुँदैन भन्नुको सट्टा एउटा रिफरल मेकानिजम बनाएर त्यहाँको नमुना अर्को अस्पतालमा पठाउने। त्यहाँको माथिल्लो सरकारी अस्पतालसम्म किन नपुर्याउने?
नमुना ट्रान्सफरका विभिन्न तरिका छन्। कतै गाडी चल्छ, कुरियर छ भने सजिलैसँग ट्रान्सफर गर्न सकिन्छ। त्यहाँ हुन नसकेको परीक्षणको लागि नेटवर्किङ बनाएर रिफरल मेकानिजम बनाई त्यहाँ हुन नसकेको माथिल्लो अस्पतालमा पठाउने। जस्तो कि प्राइमरी तथा हेल्थपोस्टमा हुन नसकेको सेकेन्डरीमा त्यहाँ नभएपछि टरसरीमा पठाउने। यसरी हामी रिफरल मेकानिजम विकास गर्न चाहन्छौँ।
जनशक्तिको कमी, पूर्वाधारको कमी, औजार उपकरणको कमी, अनि अर्को केश धेरै नआउने आदि विभिन्न ल्याबका समस्या हुन्। थोरै–थोरै केश आउने भयो भने एउटा प्रयोगशालालाई त्यो महँगो हुन जान्छ। त्यसैले हामीले त्यस्ता केशलाई एक ठाउँमा केन्द्रित गर्न सक्छौँ। र कुनै एउटा प्रयोगशालालाई यसरी विकास गर्न सक्छौँ कि त्यसले विशिष्ट केशहरुमात्र गरोस् र देशभरिको विशिष्ट केश त्यहीँ मात्र आओस्। यसले गर्दा पैसा पनि कम र काम पनि सजिलो हुन्छ। विदेशमा यो नियम धेरै राम्ररी चलेको छ। रेफरल ल्याब हुन्छन्।
यसरी गरियो भने म्यानपावरको पनि बचत गर्छ। स्रोतसाधनको पनि बचत हुन्छ र जनताले सेवा पनि राम्रो पाउँछन्। नेशनल लेबोरेटरी नेटवर्क बनाएर त्यसको केन्द्रमा राष्ट्रिय जनस्वास्थ्यलाई राखेर जनस्वास्थ्यको काम त यसले गर्छ नै। अहिलेको नीति अनुसार चाहिँ यहाँको डाइग्नोस्टिक सर्भिसलाई यहाँबाट हटाउनुको सट्टा अझ बलियो पारेर जनतालाई घरदैलोसम्म सेवा पु¥याउन सकिन्छ। किनकी बिरामी आउनुपर्दैन नमुना मात्र लिने हो। यसरी हामी ल्याबको सेवा जनताको घरसम्मै पु¥याउन सक्छौँ। प्रयोगशालालाई यसरी लाने भनेर सोचेको छु अझ थप काम गर्न बाँकी छ। गुरुयोजना बन्दै छ। मन्त्रालयसँग यस विषयमा छलफल भइरहेको छ।
अहिले चुनौतीको रुपमा डाइग्नोसिस सेन्टरको अर्थ बुझाउन कठिन भएको छ। डाग्नोस्टिक सेन्टर बलियो बनाउन त अब झन् हटाउने होइन, १० ठाउँबाट जोडेर बलियो बनाउने पो हो। हटाउने समाधान होइन। अब झन् योजनाबद्ध रुपमा लगिनुपर्छ।
ल्याबको राम्रो सञ्चालनको लागि सबैभन्दा पहिला त यसलाई स्तरोन्नति गर्नुप¥यो त्यसपछि यसको स्पष्ट मार्गदृष्टि, उद्देश्य र कार्यक्षेत्र के हुन् त त्यस विषयमा छलफल हुनुप¥यो। टिओआर बनेको छैन। प्रदेश स्तरको स्थानीय तहको प्रयोगशालालाई बलियो बनाएर केसहरुको लागि नेटवर्किङ बनाइनुपर्छ।
पूर्वाधार राम्रो हुनुपर्छ प्रयोगशालाका लागि खाली उपकरण मात्र भएर पुग्दैन। अहिले आम बुझाइ के छ भने औजार भए पुग्छ। पक्कै पनि एउटा राम्रो प्रयोगशालाको लागि राम्रो उपकरण चाहिन्छ नै। तर त्यो एउटा मात्र पाटो हो।
मेसिनले मात्र प्रयोगशाला बन्दैन। प्रयोगशालाको पूर्वाधार चाहियो। अहिले धेरैजसो प्रयोगशाला हेर्ने हो भने कुनै पनि प्रयोगशालाको ढाँचामा छैन। प्रयोगशालाको फर्निचर नै फरक डिजाइनको आउँछ। ठाउँ कम लिने र थोरै ठाउँमा धेरै सामान अटाउने, काम गर्नेलाई १० ठाउँमा घुम्नु नपर्ने सुविधा हुन्छ। हाम्रो प्रयोगशाला त्यस्ता डिजाइनमा बनेका छैनन्।
अहिले त पूर्ण रुपमा स्वचालित प्रणालीहरु आइसकेका छन्। ती कस्ता हुन्छन् भने एउटा कोठामा लाइनमा मिलाएर राखिएका मेसिनहरु हुन्छन्। सबै मेसिनले ‘बार कोड’ पढ्छ। स्याम्पल त्यहाँबाट घुम्छ। सबै मेसिनमा र हरेक मेसिनले आआफ्नो गर्नुपर्ने कामहरु गर्छन्। मान्छेको आवश्यकता नै न्यून भइसक्यो। सबै मेसिनले काम फत्ते गरेर अन्तिममा त फ्रिजमा गएर स्टोर भइदिन्छ। प्रयोगशाला एकदम विकसित भइसके।
परीक्षणको मेनु एकदम विशाल छ यसमा धेरै बौद्धिक क्षमताको प्रयोग गर्नुपर्ने हुन्छ। धेरैजसो विशिष्ट परीक्षणहरु नेपालमा अझै शिशु अवस्थामा छन्। सुविधा धेरै छैन भएको पनि महँगो छ। प्याथोलोजिस्ट नै जम्मा २०० छन्, अरु उत्पादन हुने क्रममा छन्।
एक ठाउँमा १० जना विशेषज्ञ भइदिए भने आ आफ्नो विधाका धेरै केस हेर्न सक्छन्। बेसिक टेस्ट एक ठाउँमा ग¥यो र त्यही अर्को ठाउँमा थप परीक्षणको आवश्यकता हुँदा अर्को ठाउँमा रिफर गर्ने सुविधा भयो भने त्यहाँ परीक्षण हुनसक्छ।
त्यसैले प्रयोगशाला नेटवर्क चाहिँ एकदमै आवश्यक छ। त्यसमा धेरै काम गर्नु छ। आगामी वर्षमा बाहिर परीक्षणका लागि जाने टेस्ट लगभग १०० प्रतिशत बन्द गर्नुपर्छ। परीक्षणका लागि राष्ट्रिय स्तरमा समन्वय गर्न सकिन्छ। एक ठाउँमा भएन भने अर्को ठाउँमा पठाओस्। परीक्षणबारे राम्ररी जानकारी पनि देओस्।
प्याथोलोजीको सिकाइ भनेको एक जनाले सम्भव हुन सक्दैन। यसमा टिमवर्क चाहिन्छ। सबैको आआफ्नो विज्ञता हुन्छ। त्यसैले सबैले मिलेर गर्नुपर्छ। यो एउटा प्लेटफर्म पनि हुन्छ।
ब्लड बैँक पनि प्याथोलोजीको एक हिस्सा हो, यसमा पनि हामी चुकिरहेका छाँै। ब्लड बैँकको सेवा रगत संकलन गर्ने होइन, त्यसका विविध कामहरु हुन्छन्। जस्तो कि एकैचोटी धेरै प्लेटलेट्स निकाल्न सकिन्छ। त्यसको आफ्नै गुणस्तर पनि हुन्छ। थालसेमिया र क्यान्सरका बिरामीहरुलाई पटकपटक रगत दिनुपर्ने हुन्छ। उनीहरुलाई विशेष प्रकारको रगत तयार पारिन्छ। त्यसमा विभन्नि एन्टिजेन्सहरु परीक्षण गर्नुपर्ने हुन्छ तर त्यो सेवासुविधा हामीसँग यहाँ छैन। प्रयोगशाला अत्याधुनिक भयो भने ब्लड बैंकिङको पाटोबाट पनि धेरै जटिल मानिने सेवाहरु सुरु गर्न सक्छौँ। त्यसको लागि पूर्वाधार ठ्याक्कै छैन।
भविष्यमा अहिलेको नीतिअनुसार यसको स्तरोन्नति गरेर दीर्घकालीन रुपमा यो भवन छाडेर अन्त सिफ्ट हुनुपर्ने स्थिति पनि आउन सक्छ। पछि पब्लिक हेल्थको पाटोलाई यहीं छोडेर रोग नियन्त्रण केन्द्रको अवधारणा पनि आउँदैछ। यो अवधारणा कार्यान्वयनमा आयो भने पब्लिक हेल्थ विंग जुन छ, यो ल्याब यहीं छोडेर डाइग्नोस्टिक सर्भिसलाई पूरै नयाँ नाम र रुप दिएर अन्त लोकेसनमा सिफ्ट गर्न सक्छ।
स्तरीय प्रयोगशालाका लागि म्यानेजमेन्टको दृढता, पूर्वाधार, मेसिन, म्यानपावर, नेटवर्किङ र मान्यता यी ६ चिज एकदम आवश्यक छन्।
-(डा झा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक हुन्।)