काठमाडौं– महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको गेटभित्र छिरिसकेपछि बायाँपट्टि ५ वटा किराना पसल देखिन्छ। ती पसलमा बच्चाहरूका लागि खेलौना, लुगा, भाँडाकुँडाहरू बेच्न राखिएका छन्। पसल पार गरेपछि लगत्तै पुगिन्छ, अस्पतालको प्रशासनिक भवन। एकदमै जीर्ण देखिने यो भवनको ठाउँ–ठाउँमा भूकम्पले चिरा पारेको छ।
त्यसको तल छ, फार्मेसी कक्ष। जहाँ एक हुल मानिस झुम्मिएका छन्। पालो पाउन निकै गाह्रो देखिएपछि भिडबाट एक जना अभिभावक निराश हुँदै निस्किन्छन्।
उनी रहेछन्, भक्तपुरका गोविन्द शर्मा।
चारवर्षे छोराका लागि क्यान्सरको औषधि ‘एल एस्पारागिनेस’ लिन एक महिनादेखि धाइरहेका उनले भने, ‘डाक्टरले दैनिक रूपमा यो औषधि चलाउनुपर्ने भनेका छन्। तर के गर्नु, कत्ति ठाउँमा खोजे पनि भेटिएन।’ उनले यसो भन्दै गर्दा लगत्तै उनको मोबाइलमा कसैले फोन ग¥यो। सुन्धारामा औषधि पाइन्छ भन्ने खबर आएको रहेछ। ‘खै यस्तो फोन कत्ति आए कत्ति, पाऊला भन्ने आस त के गर्नु’ भन्दै उनी अस्पतालबाट हत्तारिँदै बाहिरिए।
फार्मेसी किन अस्तव्यस्त भन्ने हाम्रो प्रश्नमा अस्पतालका फार्मेसी प्रमुख सुजन नेपालले कम औषधि आपूर्तिको समस्याले गर्दा तनाव झेलिइरहनुपरेको सुनाए। ‘कहिलेकाहीँ ब्रान्डको मात्र औषधि प्रिस्क्राइब गर्दा फार्मेसीमा नभेटिन सक्छ,’ उनले भने, ‘फार्मेसीमा जनशक्ति पनि धेरै छैन। ८ जनाले चौबीसै घन्टा सेवा दिइरहेका छौँ।’
फार्मेसी कक्षबाट अगाडि बढेपछि पुगिन्छ, अस्पतालको मुख्य भवन। यहाँ प्रवेश गरेपछि भने बाहिरका दृश्यले बिथोलिएको मनस्थितिले केही राहत पाउँछ। विभिन्न चित्रहरूले भरिएका छन्, भित्ताहरू। यी आकर्षक कलाले बालबालिकाको मात्र नभई सबैको ध्यान आकृष्ट गर्छ।
तर, जति अस्पतालभित्र छिर्दै गइन्छ, त्यहाँको सेवाको बारेमा बुझिन्छ; त्यति नै अस्पतालको कुरूप अनुहार र अव्यवस्थाको चाङ थपिँदै जान्छ।
टिकट काउन्टरको आडैमा छ, इमरजेन्सी कक्ष। एक जना अभिभावक लगभग एक वर्षीय बालक च्यापेर आएका भेटिए। अत्यधिक पेट दुखेपछि उपचारका लागि उनले यहीँ लिएर आएका रहेछन्।
१३ बेडको इमरजेन्सी कक्षमा बेड खाली देखिँदैन। जनकपुरबाट आएका ती अभिभावक रामलाल यादवलाई अस्पतालका कर्मचारीले भर्ना गर्नका लागि बेड नभएको बताए। आफूसँग निजीमा लैजाने पैसा नभएकाले कान्तिमा नै भर्ना गर्न उनले आग्रह गरे। तर, अस्पतालका कर्मचारीले बेड खाली नभएको बताएपछि उनी नजिकैको निजी अस्पताल जान बाध्य भए।
रामलाल मात्र होइन सोही दिन आकस्मिक कक्षमा बालबालिका लिएर आएका १३ जना अभिभावकले सेवा पाएनन्। त्यसैगरी निजी अस्पताल जान बाध्य भए।
स्वास्थ्यखबरको दिउँसोभरको निगरानीका क्रममा उक्त संख्या फेला परेको हो। अस्पतालका एक कर्मचारीका अनुसार आकस्मिक कक्षमा राति ल्याइएका बिरामीले पनि यहाँ उपचार पाउँदैनन्, त्यसै गरी फिर्ता पठाइन्छ।
अस्पतालमा भर्ना गरेर राखिने वार्डहरूको अवस्था पनि उस्तै नाजुक छ। ओपिडीका लागि काखे बालक च्यापेर अभिभावकहरू घन्टौँ लाइनमा उभिएका दृश्य हरेक दिन भेटिन्छ। स्वास्थ्यखबरको टोली अस्पतालमा पुग्दा केही अभिभावक ओपिडी टिकट काट्नका लागि लामो लाइनमा थिए भने केही डाक्टरको पर्खाइमा थाकिइसकेका देखिन्थे।
यस्तै थकित अवस्थामा भेटिइन्, पोखराकी सरिना गौतम। ७ वर्षीया छोरीलाई ब्लड क्यान्सरको आंशकामा कान्तिमा रेफर गरिएपछि उनी यहाँ आइपुगिन्। ‘ओपिडी टिकटको लागि डेढ घन्टा कुरेँ, २ घन्टा भइसक्यो डाक्टरसँग भेट्न पाएको छैन। अझै कति कुर्नुपर्ने हो,’ उनले गुनासो पोखिन्, ‘बिरामीको लाइन थेगिनसक्नु छ, पालो कहिले आऊला भन्ने पिरलो हुने रहेछ।’
अस्पतालभित्रका कोरिडोरहरू हेर्दै जाँदा भित्ताका ठाउँ–ठाउँमा पान खाएर थुकिएका रातो मैलो रङ देखिन्छ। शौचालयको दुर्गन्ध नाकैमा ठोक्किन्छ। धेरैजसो अभिभावक सरसफाइको बारेमा गुनासो गरेका भेटिन्छन्। त्यसैगरी पर्याप्त मात्रामा बस्ने कुर्सीहरूको कमी देखिन्छ। कुरुवा कक्ष पनि सफा देखिँदैन।
बालबालिकाको मात्र उपचार हुने कान्ति बाल अस्पताल देशकै एक मात्र सरकारी बाल अस्पताल हो। यहाँ नेपालभरका बिरामी बच्चाहरू रेफर हुन्छन्। बालबालिकाको उपचारको भरोसाको केन्द्र रहे पनि दिनानुदिन अस्पतालको अवस्था झन् कमजोर हुँदै गइरहेको छ। बढ्दो जनसंख्यासँगै अस्पतालमा बिरामीको चाप थेगिनसक्नु छ। बालबालिकाको रोग तथा समस्याको विशिष्टिकृत सेवा दिने यो अस्पतालको सुधारका लागि डाक्टर, नर्स तथा कर्मचारीले पनि सरकारसँग पटकपटक पहल गरेका छन्। तर, देखिने गरी सुधार भएको छैन।
अस्पतालका निर्देशक डा गणेश राई भन्छन्, ‘अस्पतालको विकास र विस्तारमा हामीले पहल नगरेका होइनौं। अस्पताललाई बाल उपचारको अब्बल संस्थासँगै प्रतिष्ठानका रूपमा विकास गर्ने हाम्रो लक्ष्य हो।’
कर्मचारी व्यवस्थापन चुनौतीपूर्ण
अस्पतालमा हाल साधारणतर्फ २ सय ६४ र विकास समितितर्फ २ सय ६५ गरी ५ सय २९ जना कार्यरत रहेका छन्। कर्मचारी नै धेरैथरी हुँदा व्यवस्थापनमा समस्या परेको देखिन्छ। अस्पताल विकास समिति, नेपाल सरकारका स्थायी, स्वास्थ्य मन्त्रालय र विकास समितिले नियुक्ति गरेका अस्थायी कर्मचारी र अस्पतालले नियुक्त गरेका ज्यालाका कर्मचारी कार्यरत छन्। यी कर्मचारीबीच समन्वय नहुँदा व्यवस्थापनमा समस्या देखिन्छ।
गत वर्ष नेपाल सरकारले अस्पतालका लागि २१ करोड ८४ लाख बजेट छुट्याएको थियो। यस वर्ष भने १९ करोड २० लाख बजेट छुट्याएको छ। अस्पतालका निर्देशक राईका अनुसार कहिलेकाहीँ कर्मचारीलाई नै तलब खुवाउन हम्मेहम्मे पर्छ।
साधारणतर्फ २ सय ६४ जनाको दरबन्दी भए पनि १ सय ७६ मात्र कार्यरत छन्। मेडिकल अफिसर, नर्सको संख्या एकदम कम रहेको छ।
एक नर्स बराबर २५ बिरामी
जनशक्तिको चरम अभाव कान्ति अस्पतालले भोगिरहेको छ।
अस्पतालकी नर्सिङ निर्देशक निवारण जोशीका अनुसार हाल सरकारी तर्फका ८४ र विकास समितिका ६९ नर्सहरू कार्यरत छन्। तीमध्ये धेरैले अस्पताल छोडिसकेका छन्। अरू सरकारी अस्पताल जस्तो तलबबाहेक प्रोत्साहन भत्ता नहुनु, कामको चाप हुनु जस्ता कारणले धेरै नर्सले राजीनामा दिएका छन्। जोशी भन्छिन् ‘आइसियुमा एक जना नर्स बराबर एक जना, पोस्ट अपरेटिभमा १ः२, जेनेरल वार्डमा १ः४ देखि ६ हुनुपर्ने हो तर अहिले त एउटै नर्सले २५ जनासम्म बिरामी हेर्नुपरेको छ।’
एनआइसियु १६ बेडसम्म चलाइएकोमा नर्सिङ स्टाफ नभएपछि १० मा सीमित भएको छ। पिआइसियुमा १२ बेड चलिरहेको छ भने एसआइसियुमा ७ वटा बेड सञ्चालनमा छन्। एनआइएमसियु वार्डमा २० बेड चलाएकोमा अहिले १० वटा बेड चलिरहेका छन्। मेडिकल वार्डको ५२ बेड छ, त्यसमा २ जना स्टाफ मात्र काम गर्न बाध्य छन्। अरू वार्डमा १२ देखि १५ जना बिरामीलाई एउटै नर्सले हेर्नेपर्ने बाध्यता छ। आइसियु नै नपाएर दैनिक ५–६ जना बिरामी बाहिर जान बाध्य छन्।
‘अस्पतालको आम्दानीले कर्मचारीलाई तलबसमेत खुवाउन कहिलेकाहीँ धौधौ पर्छ,’ अस्पतालका निर्देशक डा राई भन्छन्, ‘क्यान्सर र विपन्न बिरामीको वृद्धिले गर्दा धेरैलाई निःशुल्क उपचार गराइदिनाले पनि अस्पतालले धेरै आमदानी गर्न पाउँदैन।’
बिरामी निजी अस्पताल जान बाध्य
सरकारले चिकित्सक दरबन्दी नथप्दा उपचारका लागि आएका कतिपय बिरामी अस्पतालबाहिर जान बाध्य छन्। अस्पतालको नवनिर्मित २ सय श्ययाको भवन सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले दरबन्दी नदिँदा बिरामी बाहिर पठाउनुपरेको निर्देशक डा राईले बताए। अस्पतालमा बेड नपाएपछि बिरामीका आफन्तहरू निजी स्वास्थ्य संस्थामा ५ गुणासम्म महँगो शुल्क तिर्न बाध्य छन्।
प्याथोलोजिस्ट छैनन्
प्याथोलोजिस्ट नहुँदा सामान्य परीक्षणका लागि बिरामी बाहिर जानुपर्ने अवस्था छ। टाढा–टाढाबाट रिफर भएर आएका बिरामीहरू अन्यत्र निजी अस्पतालमा जान बाध्य छन्।
क्यान्सरका बिरामीको लागि प्याथोलोजी छैन। निर्देशक डा राईका अनुसार ११औँ तहमा प्याथोलोजिस्ट तथा ७औँ तहमा २ जनाको दरबन्दी छ तर मान्छे छैनन्।
प्याथोलोजीको सेवा नहुँदा दैनिक ५ देखि ६ क्यान्सरका बिरामी तथा अन्य रोगका २० जना भन्दा बढीलाई बाहिर पठाउनुपर्ने बाध्यता रहेको उनी सुनाउँछन्।
कामचलाउ उपकरण
रेडियोलोजी सेवाका लागि एमआरआई मेसिन छैन। भएका उपकरण पनि निकै पुराना भइसकेका छन्। अस्पतालका लागि ती कामचलाउ मात्रै बनेका छन्। सिटी स्क्यान मेसिन पनि ७ वर्ष पुरानो भइसकेको छ। डिजिटल एक्सरे मेसिन नहुँदा थप समस्या छ।
१३–१४ वर्षअघि जापान सरकारले दिएको डिजिटल रेडियोग्राफी मेसिन निकै पुरानो भइसकेको छ। एक्सरे मेसिन पुरानो भएकाले कहिलेकाहीँ रोग पत्ता लगाउन पनि गाह्रो हुन्छ। अंकोलोजी वार्डमा रहेको केमो बनाउने मेसिन बायो सेफ्टी क्याबिनेटले बल्लबल्ल काम गर्छ भने एउटा अंको डे केयरमा छ, जुन काम लाग्ने अवस्थामा छैन। पेडियाट्रिक अंकोलोजिस्ट डा विष्णुरथ गिरी प्यासियन्ट मोनिटर इक्विपमेन्ट र इन्फ्युजन पम्प १२ देखि १५ वटा आवश्यक पर्ने बताउँछन्।
शल्यकक्ष अभाव
३ सयभन्दा बढी बेड रहेको अस्पतालमा ५ वटासम्म ओटी हुनुपर्छ। तर कान्तिमा २ वटा मात्रै छन्। यसैकारण बिरामीहरूले शल्यक्रियाका लागि महिनौँ कुर्नुपर्छ। कान्तिका पेडियाट्रिक सर्जन डा बाल मुकुन्द बस्नेत २ वटा मात्र ओटी भएकाले बिरामीलाई राम्रो सेवा दिन नसकेको बताउँछन्।
‘जनसंख्या कहाँ पुगिसक्यो, मानिसको इच्छा र आशाहरू कहाँ पुगिसके,’ उनी भन्छन्, ‘हामीसँग ठाउँ पनि प्रशस्त मात्रामा छ तर जनशक्ति छैन। ओटी थप्न पाए एकदमै जाती हुन्थ्यो।’
शल्यकक्षका जनशक्ति पर्याप्त नहुँदा शल्यक्रियाका लागि बिरामीहरूले अवस्था हेरीकन ६ महिनादेखि १ वर्ष कुर्नुपर्छ। सर्जिकल केयर युनिटमा १० वटा बेड छन्, तर जनशक्ति अभावका कारण ७ वटा मात्र सञ्चालनमा छन्।
डाक्टर बस्ने क्वाटर सुकुम्बासी बस्ती जस्तो
ब्लड बैंकको बाटो हुँदै गयो भने टिन लगाएका तर रङ खुइलिएका केही पुराना एकतले घर भेटिन्छन्। परिवेश हेर्दा लाग्छ, यो कुनै सुकुम्बासी बस्ती हो। तर यथार्थमा कान्ति बाल अस्पतालका डाक्टर बस्ने क्वाटर हो। निर्देशक डा राई भन्छन्, ‘करिब एक सय जनाजति डाक्टरहरू क्वाटरमा बस्छन्, बसाइको अवस्था नाजुक छ। भूकम्पले गर्दा डिप बोरिङ बिग्रियो, मर्मत गर्न सकिएको छैन। त्यसमाथि पानी पनि धमिलो आउने गर्छ।’
सरसफाइमा चुनौती
भूकम्पमा बिग्रेको डिप बोरिङ मर्मत नहुँदा पानी धमिलो आउने गरेको छ। बोरिङ मर्मत गर्न अस्पतालसँग बजेट अभाव रहेको निर्देशक राई बताउँछन्। न शौचालयहरू सफा छन्, न त कोरिडोरहरूको अवस्था नै हेर्न लायक त। बाहिरसम्म ह्वास्स दुर्गन्ध आउँछ। शौचालयका पाइप पुरानो भएर खिया लागिसकेका छन्।
‘यत्तिको हस्पिटलमा ५ वटा ओटी हुनुपर्ने, २ वटा मात्र छ। अर्थो, आँखा, डेन्टल, कार्डियो थोरोसिक सर्जरी छैन,’ निर्देशक डा राई भन्छन्, ‘ओटी विस्तारका लागि ८ करोडको प्रस्ताव पेस गरेका छौँ। रक्तसञ्चार सेवा चलाएका त छौँ तर राति बन्द गर्नुपर्ने अवस्था छ।’ फोहोरमैलाको व्यवस्थापन पनि राम्रो हुन नसकेको उनले बताए। अटोक्लेभ मेसिनको आवश्यकता पर्छ। जसको लागत ६० लाख हुने रहेछ।
रेजिडेन्ट चिकित्सककै भर
पुरानो दरबन्दीमा पनि सर्जरी एनेस्थेसिया, रेडियोलोजी र मेडिसिनका विशेषज्ञ चिकित्सक छैनन्। नवजात शिशुको गहन किसिमको पेडियाट्रिक सर्जरी गर्ने अस्पतालमा एनेस्थेसिक चिकित्सकको अभाव छ।
३ सय ५० बेड रहेको अस्पतालमा अहिले ३ सय ४ बेड सञ्चालनमा छन्। जनशक्ति अनुसार बेडको संख्या थपघट भइराख्ने हुन्छ। सर्जरी, एनेस्थेसिया, बाल रोग सम्बन्धित ३ किसिमका रेजिडेन्ट डाक्टरले सेवा दिइरहेका छन्। उनीहरूको संख्या ३४ छ।
चाप अत्यधिक हुनाले बिरामीले पाउनुपर्ने सुविधा पाएका छैनन्। जाडोयाममा दैनिक ६ सयदेखि गर्मीयाममा ९ सयसम्म बिरामी आउने गरेका छन्।
गत वर्ष साढे २ लाख बिरामीले कान्तिबाट सेवा पाएका थिए, जसमध्ये १० हजार बिरामी भर्ना भएका थिए।
५६ वर्षे कान्ति
सन् १९६३ मा ५० श्ययाको जनरल अस्पतालको रूपमा स्थापित कान्ति बाल अस्पताल रसियन सरकारको सहयोगबाट बनेको हो। सन् १९६८ मा रसियन सरकारले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेपछि अस्पताल सञ्चालनमा आएको हो। वीर अस्पतालको पेडियाट्रिक विभागलाई नै बाल अस्पतालका रूपमा बनाउने भनेर कान्तिलाई सन् १९७० मा बाल अस्पतालका रूपमा स्थापित गरिएको थियो।
अंकोलोजी सन् १९९७ मा, कार्डियोलोजी १९९८, नेफ्रोलोजी १९९८, न्युरो तथा बाल विकास केन्द्र २०१२ र सर्जरी सन् १९७४ तिर सुरु गरिएका हुन्।
इमरजेन्सी, अब्जर्भेसन, स्पेसल क्याबिन, अंकोलोजी, अंकोलोजी डे केयर, पेयिङ वार्ड, मेडिकल वार्ड, सर्जिकल वार्ड, पोस्ट अप वार्ड, एनआइएमसियु, एनेक्स वार्ड, बर्न वार्ड, आइसोलेसन वार्ड, सिआइसियु, पिआइसियु, एनआइसियु वार्डहरू अस्पतालाम रहेका छन्।
वार्षिक २ लाखभन्दा बढी बालबालिकाले स्वास्थ्य सेवा लिने यस अस्पतालमा पछिल्लो समय नवजात शिशुको संक्रमण, जन्डिस र निमोनियाका बिरामीहरू धेरै आउने गरेका छन्। क्यान्सर उपचारका लागि आउने बिरामीको संख्या पनि बढ्दै गएको छ।