ओटीमा धेरै समय उभिएर काम गर्नुपर्दा नर्स मञ्जु ज्ञवालीलाई खुट्टा दुख्ने समस्याले सताएको छ। अहिले उनी पेनकिलर खाएर काम गर्न बाध्य छिन्।
वीर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा कार्यरत नर्स मञ्जु ज्ञवालीले २० वर्ष शल्यक्रिय कक्ष (ओटी नर्सका रुपमा) मा काम गरिन्। त्यहाँ काम गर्दा उनले थुप्रै नयाँ कुरा सिक्नुका साथै बिरामीका सुखदुःख नजिकबाट नियाल्ने मौका पाइन्।
शल्यक्रियाको क्रममा अत्यधिक रगत बगेर थुप्रै बिरामीको मृत्यु भएको र अन्तिम अवस्थामा अस्पताल आएर शल्याक्रियापछि मृत्युको मुखबाट बचेको पनि उनले नजिकबाट देखेकी छन्।
उनले सानोदेखि ठूलो शल्यक्रियामा चिकित्सकलाई २० वर्षसम्म सहयोग गरिन्। यो अवधिमा यस्ता घटना पनि घटेका छन्, जुन सम्झँदा उनलाई दुःख लाग्छ। वीर अस्पतालको ओटीमा काम गर्दाको एउटा यस्तै घटना सम्झँदा अहिले पनि उनको आँखाबाट आँसु झर्छ।
न्युरो ओटीमा काम गरेको तीन÷चार वर्षमात्र भएको थियो। एक दिन शल्यक्रिया कक्षमा टाउकोको शल्यक्रिया गर्नुपर्ने बिरामी आए। टाउकोमा गम्भीर चोट लागेकोले चिकित्सकले १७ घन्टा लगाएर शल्यक्रिया गरेका थिए। ओटी नर्सको हैसियतले मञ्जुले पनि त्यो शल्यक्रियामा चिकित्सकलाई सहयोग गरेकी थिइन्।
१७ घन्टा लगाएर शल्यक्रिया सफल बनाएका थिए चिकित्सकले। आफू पनि सहभागी भएकाले बिरामी बचाउन पाउँदा उनी धेरै खुसी भएकी थिइन्। तर उनको त्यो खुसी लामो समय रहन पाएन। शल्यक्रिया गरिसकेको केही घन्टापछि बिरामीको होस आयो, उनले राम्रै कुराकानी गरिन्। बिरामीको स्वास्थ्यमा सुधार हँुदै थियो, उनी क्वार्टर गइन्।
भोलिपल्ट बिहान अस्पताल आउँदा बिरामी बेडमा नदेखेर ड्युटीमा रहेकी नर्सलाई सोधिन्। नर्सले बिरामीको मृत्यु भयो भन्ने खबर सुनाइन्। त्यो मृत्युको खबर सुन्दा उनलाई निकै दुःख लाग्यो। आफूलाई सम्हाल्न सकिनन्, आँखाबाट आँसु झरे। त्यो घटनाले मञ्जुलाई धेरै दिनसम्म झस्काइरह्यो।
ओटीमा काम गर्ने नर्सलाई निकै गाह्रो छ। शल्यक्रिया कक्षमा पसेपछि भोक, तिर्खा, थकाई सबै बिर्सनुपर्छ। उनले पनि ओटी नर्स भएर विभिन्न समस्या भोगेकी छन्। कहिलेकहिले लामो समयसम्म शल्यक्रिया कक्षमा बस्नु पर्दा पिसाबले च्यापेर धेरै पेट फुट्ला जस्तो हुन्थ्यो। शल्यक्रिया सकेर शौचालय जाँदा केहीबेर पिसाब गर्नै नसकेका थुप्रै अनुभव छन् उनीसँग। ओटीमा धेरै समय उभिएर काम गर्दा उनलाई खुट्टा दुख्ने समस्या उत्पन्न भएको छ। अहिले उनी खुट्टामा पट्टी बाँधेर, पेन किलर खाएर काम गर्न बाध्य छिन्।
मञ्जुले बाँधेको खट्टा देखाउँदै भनिन्, ‘काम गर्न त मन लाग्छ, तर खुट्टा दुखेर निकै गाह्रो हुन्छ, त्यसैले पट्टी बाँधेको छु। अहिले पेन किलर खाएर भए पनि ड्युटी गरेकी छु। अरुलाई पिसाब रोक्न हुँदैन भनेर सल्लाह दिने म आफैं भने घन्टौं पिसाब रोकेर बस्न बाध्य छु।’
अर्घाखाँचीमा जन्मिएकी मञ्जुले २०४२ सालमा पाल्पाको जनता माध्यमिक विद्यालयबाट एसएलसी गरेकी हुन्। एसएलसीको नतिजा आउने दिन नै उनको विवाह भएको थियो।
विवाहपछि उनी श्रीमान्सँगै काठमाडौं बस्न थालिन्। उनले गाउँघरमा सुनेकी थिइन्– एचए पढियो भने डाक्टर बन्न पाइन्छ। त्यसैले विज्ञान विषय पढ्ने उद्देश्यले साइन्समा इन्ट्रान्स परीक्षा दिएर उत्तीर्ण भएकी थिइन्।
तर, उनका श्रीमान् आफ्नी आमा बिरामी भएर अस्पताल बस्दा नर्सले बिरामीलाई गरेको व्यवहार देखेर नर्सले गर्ने कामप्रति निकै प्रभावित भएका रहेछन्। त्यसैले साइन्स पढ्न नाम निस्किए पनि श्रीमान्को इच्छाअनुसार मञ्जु वीर अस्पताल नर्सिङ कलेजबाट पिसिएल नर्समा भर्ना भइन्।
भावुक स्वभावकी उनलाई नर्सिङ पढ्ने क्रममा बिरामीसँग घुलमिल हुन सुरुसुरुमा निकै गाह्रो भयो। बिरामीको पीडा देखेर पढाइ छोड्न मन लागेको थियो। तर श्रीमान्ले पछि राम्रो हुन्छ पढाइ छोड्नुहुँदैन भनेपछि पढाइ छोड्न सकिनन्। उनलाई विस्तारै सेवा गरियो भने मात्र बिरामीको पीडा कम गर्न सकिन्छ जस्तो लाग्यो।
नर्सिङ पढाइ सकिनासाथ वीर अस्पतालमा करारमा काम गर्ने अवसर मिल्यो उनलाई। एक वर्षपछि विकास समितिबाट स्थायी पनि भइन्।
काम गर्दै जाँदा बिरामीप्रति लगाव यति बढ्यो कि राति सपनामा पनि बिरामी स्याहार गरेको देख्थिन मञ्जु। उनी भन्छिन्, ‘घरमा गएपछि पनि बिरामीको राम्रोसँग स्याहार भयो कि भएन, सोच्ने गर्थें। राति सपनामा पनि बिरामीको सेवा गरेको देख्थें।’
२०५१ सालमा उनको लोकसेवाबाट नाम निस्कियो र पोस्टिङ भयो वीरगञ्ज। बच्चा सानै भएकाले उनी पुनः वीर अस्पतालमा नै सरुवा भएर आइन्।
वीर अस्पतालले न्युरो ओटीमा खटायो र ओटीमा २० वर्ष काम गरिन्। त्यसअघि नै इमर्जेन्सीमा सात वर्ष काम गरिसकेकी मञ्जु ५ वर्षदेखि आइसियुमा कार्यरत छिन्। तीन वटै वार्डमा काम गर्दाको फरकफरक अनुभूति छन् उनीसँग।
उनको विचारमा इमजेन्र्सीमा काम गर्दा धेरै बिरामीलाई तत्काल सेवा दिनुपर्ने भएकोले नर्स त्यही अनुसारको तयारी अवस्थामा बस्नुपर्ने हुन्छ। उनका अनुभवमा ओटी नर्सको भूमिका ठूलो हुन्छ। ओटी संवेदनशील वार्ड हो, त्यसैले चिकित्सक शल्यक्रिया गर्न कोठामा पस्दा सम्पूर्ण सामग्री तयारी अवस्थामा राख्नुपर्ने हुन्छ। त्यति मात्रले पनि पुग्दैन। शल्यक्रिया गर्ने सामग्री किटाणुरहित छन् कि छैनन् भन्ने कुरामा पनि ध्यान दिनुपर्छ। यदि शल्यक्रियामा प्रयोग हुने सामग्री किटाणुरहित नभएको खण्डमा बिरामीलाई संक्रमण फैलन सक्छ र बिरामीको मृत्यु पनि हुनसक्छ।
उनका अनुसार आइसियुमा काम गर्न पनि उत्तिकै चुनौती छ। चिकित्सक त्यहाँ नहुने र २४ घन्टा नर्स बिरामीसँग बस्नुपर्ने भएकोले बिरामीलाई कुनै समस्या पर्दा नर्स आफैंले समाधान गर्नसक्ने क्षमता हुनुपर्छ।