विश्व स्वास्थ्य संगठनको १९६ मुलुकले सही गरेको आइएचआर अर्थात् इन्टरनेसनल हेल्थ रेगलेसन भन्ने सन्धि छ। त्यसमा सबै सदस्य राष्ट्रहरुले कुनै पनि त्यस्तो सम्भावित प्रकोप वा महामारी फैलियो भने तुरुन्तै खबर सम्प्रेषण गर्ने नेटवर्क हुन्छ। त्यो नेटवर्क हो आइएचआर फोकल प्वाइन्ट। त्योमार्फत कुनै रोग देखिएमा विश्व स्वास्थ्य संगठनलाई जानकारी गराउनुपर्छ र त्यो जानकारी तुरुन्तै जानुपर्छ। उदाहरणका लागि मान्छेमा पहिलो चोटी बर्ड फ्लु लाग्दा विश्वमा नै त्यो समाचार पुग्यो।
त्यो सूचना आएपछि हामीले तुरुन्त त्यो सर्कुेलेट ग¥यौँ। नेपालमा रोग नियन्त्रण शाखालाई त्यो केन्द्र तोकिएको छ।
कुनै पनि देशका मानिसहरु कतै यात्रा गर्दैछन् भने त्यहाँको स्वास्थ्यको निकायले सम्बन्धित निकायलाई जानकारी गराउँछ। कोही विदेशी व्यक्ति नेपाल आएको थियो। नेपालबाट फर्किएपछि गम्भीर रोग देखाप¥यो भने त्यसपछि पनि हामीलाई तुरुन्त जानकारी आउँछ।
जति हाम्रो हवाई आगमन सजिलो भएको छ, त्यसैअनुसार त एकै दिनमा धेरै रोग फैलिन सक्ने हुन्छ। नेपालमा कुनै मुलुकको मान्छे आयो भने भिसा हेरिन्छ तर तपाईं कुन देशबाट आउनुभएको, यो–यो खोप लगाउनु भएको छ की छैन भनेर सोधिँदैन। जबकी नेपालमा त्यस्तो प्रावधान छ।
कोही पाकिस्तान, अफगानिसतानबाट आउँदैछ भने उसले अनिवार्य रुपमा पोलियोको भ्याक्सिन लगाएर आउनुपर्छ। अहिले हामी नेपालीहरु अफ्रिकाको कुनै मुलुकमा जाँदैछौँ भने यलो फिभरको भ्याक्सिन लगाएर जानुपर्छ या आउनुपर्छ। प्रमाणपत्र लिएरै आउनुपर्छ।
सबै रोगको लक्षण एकैचोटी देखिँदैन, त्यसैले पहिचान गर्न पनि मुस्किल पर्छ। जस्तै डेंगु रोग लागेको छ भने त्यसको ७ दिनपछि लक्षण देखिन्छ। इन्ट्री स्क्रिनिङका साथसाथै एक्जिट स्क्रिनिङ पनि गर्नुपर्छ। हामीमा त्यसको अभ्यास छैन।
हामी आफ्नो देशबाट मान्छे बाहिर जाँदैछ, त्यसमा चासो दिँदैनौँ तर बाहिरबाट मान्छेबाट रोग ल्याउँछ कि भन्ने छ। आउने प्रत्येक व्यक्तिको स्वास्थ्य जाँच गर्न सम्भव हुँदैन।
पर्यटक जुनै यातायातबाट पनि आउन सक्छन्। त्यहाँ हामीले स्क्रिनिङ बलियो बनाउन सक्नुपर्छ तर त्यो छैन। हाम्रो हेल्थ डेस्क ८ ठाउँ सीमा नाकामा र यहाँको विमानस्थलमा बजेट विनियोजन गरेर सरकारले पठाइरहेको हो। कुनै ठाउँ स्थायी दरबन्दी भएर हाम्रो स्थायी संरचना बन्न सकेको छैन। यसको निर्णयको लागि फाइल पठाएको छौँ। पहिला काठमाडौँ जनस्वास्थ्य थियो अनि काजमा मान्छे पठाइन्थ्यो तर अब त स्थानीय तहमा गयो। मान्छे खटाउन मानेको छैन। दरबन्दी नै स्वीकृत गर्नुपर्छ।
१२ वर्ष अगाडिको कुरा हो। म सोलुुखुम्बु जिल्ला अस्पतालमा काम गर्थेँ। हिमाल चढ्न गएको एक जना पर्यटक बिरामी भएर फर्कियो। लुक्लाबाट तल फाप्लुमा ओरालियो। हामीले जाँच्यौँ। औषधिहरु पनि दियौँ। तर उसको अल्ट्रासाउन्डलगायत थप उपचार गर्नुपर्ने देखियो। उसको लिभरमा खराबी देखिएको थियो भने उच्च ज्वरो पनि थियो। उसले आफ्नो इन्स्युरेन्स कार्ड दिन खोज्यो। तर मैले उपचार निःशुल्क हो भने। काठमाडौं जाँदा प्राइभेट अस्पतालमा गएपछि इन्स्युरेन्स कार्डबाट रिइन्भर्स हुन्छ, खल्तीबाट तिर्नुपर्दैन भनेँ।
तर त्यो सब ठाउँमा व्यवस्था छैन। यहाँ कोही इन्स्युरेन्स बोकेर आए पनि उपचारको व्यवस्था छैन, त्यो चिजको हामीले पूर्वतयारीमा पर्याप्त ध्यान दिएका छैनौँ।
रोगबाट बच्न, रोग लाग्न नदिनका लागि र रोग लागिहाले पूर्ण रुपमा प्रभावकारी उपचारका लागि हामीले धेरै काम गर्नुपर्छ जस्तो लाग्छ।
यहाँ त धेरै अल्टिच्युड सिकनेसको कुराभन्दा खानेकुरा, स्वच्छ खानेपानी, शौचालयले नै अप्ठ्यारो पार्छ पर्यटकहरुलाई। पूर्वतयारी चाहिँ भएकोे छैन। महामारी नियन्त्रण तबमात्र सम्भव छ, जब नियमित दिने स्वास्थ्य प्रणाली तथा सेवा चुस्त रहन्छ।
-(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा विवेकसँगको कुराकानीमा आधारित)
यो पनि :