विसं २०४५ मा स्थापना भएको प्युठान जिल्ला अस्पतालाले पछिल्लो समय नागरिकलाई प्रभावकारी रुपमा सेवा प्रवाह गर्न सकिरहेको छैन। यस अस्पतालले प्युठानका साथै रोल्पा, दाङ, अर्घाखाँची, गुल्मी लगायतका जिल्लाका बिरामीलाई सेवा प्रदान गर्दै आएको छ।
जिल्लाको मुख्य बजार क्षेत्रमा रहेको यस अस्पतालमा दैनिक रुपमा बिरामीको चाप अत्यधिक हुने गर्छ। बिरामीको चाप भइरहने यस अस्पतालमा लामो समयदेखि कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले निकै सास्ती बेहोनुपर्यो। अस्पतालको प्रशासनदेखि लिएर आर्थिक तथा व्यवस्थापकीय क्षेत्र पनि लथालिंग बन्यो।
उपल्लो तहका डाक्टर त भएनन् नै त्यसमा पनि दरबन्दीअनुसार दक्ष जनशक्तिको समेत अभाव भयो र प्रभावकारी सेवा प्रवाह हुन सकेन। गत पुसदेखि जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्टको रुपमा डा अमृत पन्थीसहित डा बद्री वैदवार, डा शिव अर्याल, डा रविन श्रेष्ठ र डा युवराज पौडेल सहित ५ जना मेडिकल डाक्टरको टोली आएको छ। अस्पतालमा रहेर प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले प्युठान आएका डा पन्थीसँग स्वास्थ्यखबर पत्रिकाका प्युठान संवाददाता दीपा घर्ती पौडेलले गरेको कुराकानी:
तपाईंको कार्य प्रारम्भ र विगतबारे केही बताइदिनुहोस न?
मेरा गृहजिल्ला अर्घाखाँची हो। हाल भने तिलोत्तमा-१५ रुपन्देहीमा छ। मैले काठमाडौं विश्वविद्यालय स्कुल अफ साइन्सबाट पढाइ सकेर २ वर्ष बनेपामा काम गरें। त्यसपछि पाल्पाको रामपुर अस्पतालमा र अहिले यहाँका नागरिकलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले म सहित ५ जनाको टोली प्युठान आएका छौं। यहाँको अवस्थाको बारेमा थुप्रै कुरा सुनेको थिएँ तर पनि सुधार गर्न सक्छु भन्ने लागेर खटिरहेको छु। सबैको सहयोगको आशा गरेको छु।
तपार्इं यहाँ आउँदा पहिले सुनेको र वास्तविकतामा के फरक पाउनु भयो। आउँदाको अवस्था र अहिलेको सुधारको अवस्था बीचको भिन्नता के छ?
सुनाइ र भोगाइमा खासै फरक छैन। लामो समयदेखि अस्पतालमा अख्तियारप्राप्त अधिकारीविहीन नै रहेछ। यो आर्थिक वर्ष सुरुवातबाट नै अस्पतालमा कार्यप्रमुख र लेखा प्रमुख नहुँदा अस्पतालको अवस्था नाजुक थियो। अस्पतालको विषयमा विभिन्न खबर सुनेपछि प्युठानमा गएर सेवा गरौं भन्ने भावनाले मेडिकल डाक्टरको टिमसहित यहाँ आएको हुँ। अख्तियारप्राप्त मेडिकल सुपरिटेन्डेन्ट नभएपछि अस्पतालको सेवा प्रवाहको अवस्था बिग्रिएको थियो। अस्पतालमा जनशक्तिे एकदमै कमी थियो। भएका डाक्टरहरु पनि समायोजनपछि सबै समायोजन भएर जानु भएको रहेछ। नयाँ पनि आउनु भएको थिएन। आवश्यक औषधिहरु पनि थिएन। सबै अवस्थाहरुलाई हेर्दा अस्पतालको सबै पक्ष बिग्रिएको थियो।
अब यो अस्पतालको सेवा प्रभावकारी बनाउन कसरी अगाडि बढ्ने योजना छ?
पहिलो कुरा त यहाँको प्रमुखको रुपमा जिम्मेवारी लिइसकेपछि प्रशासनिक कामहरुको उचित व्यवस्थापन गर्दै अगाडि बढ्नु पर्ने हुन्छ। प्रशासनिक प्रणालीलाई बलियो बनाइसकेपछि यहाँको समस्या समाधान गर्दै जानुपर्छ। नागरिकको स्वास्थ्य जस्तो संवेदनशील विषयमा गम्भीर बन्नैपर्छ। नागरिकले कसरी चौबीसै घन्टा सहज, सुलभ, छिटो र गुणस्तरीय सेवा पाउँछन् भन्ने विषयमा ध्यान केन्द्रित गरी कार्य सम्पादन गरिरहेको छु।
विशेषगरी महिला तथा नवजात शिशुहरु प्रभावित नहोउन् भनेर आमा सुरक्षा कार्यक्रम अन्र्तगत चिसो समयलाई मध्यनजर गर्दै न्यानो झोला खरिद गरेर वितरण कार्य सुरु गरेका छौं। सुत्केरी आमालाई पोषक तत्वको कमी नहोस भनेर उनीहरुलाई अस्पतालबाट दिइने खानामा दूध र अन्डा समेत थप गरेका छौं। रातिको समयमा आउने बिरामीहरु ल्याब टेस्ट र एक्स-रेको लागि अन्यत्र जानुपर्ने अवस्था थियो। तत्काल आवश्यक जनशक्ति राखेर चौबीसै घन्टा यी सेवा सुचारु गरेका छौं।
नेपाल सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाका लागि प्रदान गर्ने सुत्केरी प्रोत्साहन भत्ता र यातायात खर्च बापतको रकम रोकिएको रहेछ, यो पनि सुचारु भइसकेको छ। अस्पतालमा थप सेवा विस्तार गर्ने सोचमा छौं। जसअन्र्तगत हाडजोर्नी सम्बन्धी बिरामीहरु बढी देखिएका कारण फिजियोथेरापी सेवाका लागि उपल्लो निकायसँग छलफल भइरहेको छ र जनशक्ति समेत थपिसकेका छौं। आवश्यक उपकरण उपलब्ध हुनासाथ सेवा सुरु गर्ने छौं। सुरुवातको चरण छ, सबै समस्यालाई प्राथमिकतामा राखेर कार्य सम्पादन गरिरहेको छु।
अस्पतालमा डाक्टर नै छैनन् भन्ने गुनासो आइरहन्छ, यहाँ डाक्टर दरबन्दीको अवस्था के छ? सबै पदपूर्ति भएको अवस्था हो?
दैनिकजसो २ सयको हाराहारीमा बिरामी आउने अस्पतालमा प्रायः गरेर ३०/३२ वटा बेड बिरामीले भरिएका हुन्छन्। ५० शय्याको जिल्ला अस्पतालमा मेडिकल अधिकृत र कन्सल्ट्यान्ट एमडी गर्नुभएका १४ जना डाक्टरहरुको अहिले दरबन्दी छ। त्यसमध्ये अहिले ३ जनाको मात्र पदपूर्ति भएको छ। ९ जना कन्सल्ट्यान्ट डाक्टर हुनुपर्ने यो अस्पतालमा अहिले कोही पनि नरहेको अवस्था छ। १ जना कन्सल्ट्यान्ट डाक्टर करारमा हुनुहुन्छ। ५/६ जना मेडिकल अफिसरहरु करारमा हुनुहुन्छ। यो टिमलाई बिरामीको चाप थेग्न सारै अप्ठ्यारो छ। तैपनि हाम्रो टिममा आउनुभएका सबै डाक्टर निरन्तर र गुणस्तरिय सेवा प्रदान गरी अस्पतालको अवस्था सुधार गर्न प्रतिबद्ध भएर लाग्नुभएको छ। हाम्रो उद्देश्य भनेकै नागरिकको स्वास्थ्यप्रति सचेत बनी सहज रुपमा सेवा प्रदान गर्नु हो।
अस्पतालप्रति नागरिकको गुनासो बढी छ। उता डाक्टरहरु हरेक बहानामा आउन चाहनु भएको छैन। यो दुवै किसिमको समस्यालाई कसरी समाधान गर्न सकिएला?
यो समस्या अन्त्यका लागि सबैले निजी स्वार्थभन्दा संस्थागत स्वार्थमा बढी ध्यान दिनुपर्छ। त्यसको लागि सबैतिरबाट पहल हुन जरुरी छ। नागरिक समाज, जनप्रतिनिधि, नगरपालिका, गाउँपालिका स्थानीय बासिन्दा लगायत सम्पूर्ण सरोकारवालामा मैले पनि केही गर्नुपर्छ भन्ने भावना हुनु जरुरी छ। बाहिरबाट आएका दुई-चार जना डाक्टरले मात्र गरेर केही हुँदैन। सबैले आआफ्नो क्षेत्रबाट अस्पतालको विकासमा सहयोग पु¥याउने र गुणस्तरीय सेवातर्फ ध्यान दिने हो भने यो अस्पताललाई प्रदेशकै नमुना अस्पतालको रुपमा विकास गर्न सकिन्छ।
यो अस्पताल ५० शय्यामा स्वीकृत भएको अस्पताल हो, यो मापदन्ड अनुसारको विकास गर्न के गर्नुपर्छ?
यो अस्पताल २०७३ सालमा १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति भएको देखिन्छ। यहाँ एघारौं तहको मेडिकल सुपरिटेन्डेन्ट हुनुपर्छ। त्यसपछि ९-१० तहका ९ जना मेडिकल कन्सल्ट्यान्ट हुनुपर्छ। यी सबै दरबन्दी आजसम्म रिक्त छन्। हामीकहाँ अहिले एक जना एमडिजिपी डाक्टर हुनुहुन्छ। उहाँ निक साइमनबाट आउनु भएको हो। उहाँले हामीलाई धेरै सहयोग गर्नुभएको छ। वास्तवमा यो अस्पतालको विकासको लागि सबैको सहयोग आवश्यक छ। स्वास्थ्यकर्मीहरुको सुरक्षा लगायतका विषयमा स्थानीयबासी सहित सरोकारवाला सबै जिम्मेवार हुनुपर्छ। सबैको पहल आवश्यक छ।
पचास शय्याको अस्पताल बनाउनका लागि न्यूनतम ३५ रोपनी जग्गा चाहिन्छ। अहिले अस्पतालको ३१ रोपनी जग्गा मात्र छ। यसको लागि यहाँका स्थानीयहरुले खेल्ने भूमिका प्रमुख रहन्छ। हामीले गर्ने काममा भने कुनै कसर बाँकी राख्दैनौं।