२०४५ सालको कुरो हो। बन्दना मिश्र भर्खर एसएलसी पास गरेर त्रिवि इन्स्टिच्युट अफ मेडिसिन (आइओएम) अन्तर्गतको विराटनगर नर्सिङ क्याम्पसमा पिसिएल पढ्दै थिइन। पहिलो वर्षमा कलेजले फिल्ड भिजिटको लागि विद्यार्थीलाई एक महिना समुदायमा लैजान्थ्यो।
समुदायमा उनीहरुको काम त्यहाँका मानिसको स्वास्थ्य स्थितिबारे जानकारी लिने र बेलुका मानिसमा के–कस्ता समस्या रहेछन् भनेर कलेजमा रिपोर्ट बुझाउने हुन्थ्यो।
समुदायमा जाँदा उनीहरुले रातो साडी लगाउनुपथ्र्यो। उनीहरुले स्वास्थ्यको जानकारी लिने मात्र होइन, आवश्यक परेमा परिवार नियोजन र बालबालिकालाई खोप लगाउनुपर्छ भनेर जानकारी पनि दिनुपथ्र्यो।
सुरुसुरुमा समुदायमा पुग्दा उनीहरुले निकै सास्ती खेप्नुपथ्र्यो किनभने समुदायका मानिस उनीहरुका कुरा सुन्न मन पराउँदैनथे। गाउँलेलाई सम्झाउन खोज्थे तर गाउँले उनीहरुलाई देख्नासाथ ढोका बन्द गरिदिन्थे।
समुदायमा जाँदा ५/६ दिनसम्म यस्तै समस्या भोग्नुपर्यो तर पनि उनीहरुले हार मानेनन्। उनी भन्छिन्, ‘दिनभरि गाउँ डुल्यो तर बेलुका कलेजमा बुझाउने केही नहुने, गाउँलेहरुले ढोका बन्द गरिदिए भनेर रिपोर्ट बुझाउन पनि नमिल्ने निकै गाह्रो थियो।’
त्यसपछि बन्दना र उनका साथीले एउटा जुक्ति निकाले– गाउँलेहरुले घरको ढोका बन्द गरेर के भयो। अब गाउँलेले काम गर्ने स्थान खेतबारीमै जाने।
खेतबारीमा जाँदा पनि गाउँलेले उनीहरुलाई देख्दा परैबाट आँखा तरेर हेर्थे। नजिक गएर नमस्ते गर्दा पनि देखेको नदेख्यै गर्थे।
गाउँलेले जति बेवास्ता गरे पनि उनीहरु दैनिक काम गर्ने ठाउँमा पुग्थे र कुरा गर्ने कोशिस गर्थे। धेरै दिनपछि एक जना महिला उनीहरुका कुरा सुन्न तयार भइन्। ती महिला बारीमा घाँस काट्दै थिइन्।
कुरा गर्दै जाँदा थाहा भयो– उनका ५ जना बच्चा रहेछन्। धेरै बच्चा जन्मिएकोले होला उनको पिसाब चुहिने समस्या उत्पन्न भएको रहेछ। सुरुमा त आफ्नो समस्या भन्न लजाइन् तर धेरै सम्झाएपछि मात्र आफ्नो समस्या सानो स्वरले भनिन्।
बन्दना र उनका साथीले उनलाई अस्पताल गएर उपचार गर्न सुझाव दिए। उनीसँग कुरा गरेको भोलिपल्ट ती महिलाकी साथी आफ्नो स्वास्थ्यका समस्या लिएर बन्दना र उनका साथीहरु भएको ठाउँमा आइन्। विस्तारै एकपछि अर्को गर्दै त्यहाँका महिला बन्दना र उनका साथीका कुरा सुन्न तयार भए। आफ्नो स्वास्थ्यबारे खुल्न थाले।
त्यसपछि भने उनीहरुलाई रिपोर्ट बनाएर कलेजमा बुझाउन कुनै अप्ठ्यारो भएन।
०००
वर्षैपिच्छे बच्चा जन्माउनुपर्ने भएकोले अधिकांश महिला पाठेघरसम्बन्धी समस्या भएको बताउँथे। सुरुसुरुमा आफ्नो स्वास्थ्यको बारेमा भन्न लजाउने गाउँलेहरु उनीहरु गाउँमा बस्दासम्म आफ्नो समस्या खुलेर भन्न सक्ने भएका थिए।
एक महिना गाउँमा बस्दासम्म बच्चालाई खोप लगाउनु पर्छ र पोलियो थोपा खुवाउनु पर्छ भनेर त्यसको महत्वबारे उनीहरुले समुदायमा चेतना फैलाए। बच्चामा पोषणको कमी भएको देखेर पोषणयक्त खानेकुरा खुवाउन गाउँलेलाई आग्रह गरे।
बच्चाको रहर पुगेकाहरुलाई परिवार नियोजन गर्नुपर्छ भनेर सम्झाउने गर्थे। सुरुसुरुमा लजाए पनि पछि आफ्ना श्रीमान्लाई लिएर परिवार नियोजनका साधन प्रयोग गर्न स्वास्थ्य चौकी पुग्थे महिलाहरु।
एक महिनासम्म गाउँमा बस्दा उनीहरुले आफ्नै परिवारका सदस्यलाई जस्तै व्यवहार गर्न थालेका थिए। आफ्नो घरमा पाकेको खानेकुरा दिन थालेका थिए। बन्दना भन्छिन् ‘आफ्नै घरपरिवार जस्तै लाग्न थालेको थियो।’
०००
बन्दनाको जन्म मोरङमा भएको हो। त्यो बेलामा तराईमा छोरीलाई धेरै पढाउनु हुँदैन भन्ने दृष्टिकोण थियो। समाजमा नर्सहरुलाई हेर्ने दृष्टिकोण पनि राम्रो थिएन।
गाउँमा छोरी पढाउनु हुँदैन भने पनि उनको घरको माहोल फरक थियो। शिक्षित परिवार भएकोले होला उनको घरमा छोराछोरीलाई नै शिक्षा दिनुपर्छ भन्ने मान्यता थियो।
उनका बुबा गाउँकै सर्वोदय माध्यमिक विद्यालयका हेडमास्टर थिए भने उनका काका हेल्थ असिस्टेन्स। काका हेल्थ असिस्टेन्स भएकाले उनको घरमा बिरामीको घुइँचो हुन्थ्यो। गाउँमा सामान्य रुघा, खोकी, ज्वरो आएका बिरामी उपचार गराउन आउँथे। त्यसैले पनि बन्दनालाई काकाजस्तै स्वास्थ्य क्षेत्रमा लागेर बिरामीको सेवा गर्ने रहर थियो। एसएलएसीपछि स्वास्थ्य क्षेत्रमा लागेर बिरामीको सेवा गर्छु भन्ने सोचेकी थिइन्।
उनले बुबाले पढाउने स्कुलबाट एसएलसी पास गरिन्। एसएलसीपछि भने उनका बुबा र काकाले इन्स्टिच्युट अफ मेडिसिन (आइओएम) विराटनगरमा पिसिएलमा भर्ना गरिदिए।
सानैदेखि स्वास्थ्य क्षेत्रमा लाग्ने रहर भए पनि सुरुसुरुमा पिसिएलको पढाइ निकै गाह्रो लाग्यो। भर्खर सरकारी स्कुलबाट पढेर गएकी थिइन्। पिसिएलको पढाइ अंग्रेजी माध्यमबाट हुन्थ्यो। केही समयसम्म उनलाई पढाएको बुझ्न निकै मुस्किल पर्यो।
प्रयोगात्मक अभ्यासको क्रममा पनि त्यस्तै सास्ती खेप्नु परेको थियो। उनी भन्छिन्, ‘अहिलेको जस्तो पन्जा र माक्सको व्यवस्था थिएन। जस्तोसुकै इमर्जेन्सी बिरामी आए पनि मास्क, पन्जाको प्रयोग बिनानै बिरामी छुनु पथ्र्यो। स्वास्थ्यकर्मीलाई रोग सर्ने सम्भावना हुन्थ्यो। बिरामीको नजिक जाँदा मलाई केही भइहाल्छ की भनेर डर लागेको थियो।’
०००
पिसिएल पास गरेपछि पहिलो पटक स्टाफ नर्स भएर ओम नर्सिङ होममा एक वर्ष काम गरिन् उनले। सेभ द चिल्ड्रेन नामक संस्थामा इन्चार्ज भएर भुटानी शरणार्थीमा काम गरिन्।
त्यसपछि उनले टिचिङ अस्पतालमा सरकारी नर्स भएर ८ वर्ष काम गरिन्। टिचिङ अस्पतालको सबैजसो वर्डमा काम गरेकी छिन् उनले। यो बेलामा विभिन्न दलका नेताहरु टिचिङ अस्पतालमा आफ्नो स्वास्थ्य समस्या लिएर आउने गर्थे।
टिचिङमा काम गर्ने बेलामा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला आफ्नो छातीको समस्या लिएर टिचिङ अस्पताल पुगेका थिए। त्यो बेला यति ठूलो मान्छेलाई कसरी सेवा दिने होला, यदि केही गल्ती भइहाल्यो भने के गर्ने होला भनेर अनेक कुरा खेलेका थिए।
‘उनी सम्झिन्छन्, ‘पहिलो पटक गिरिजाप्रसाद कोइरालाको सेवामा खटिँदा मुटु नै ढक्क फुलेको थियो।’
पछि बच्चा हुकाउनु पर्ने भएकोले उनले टिचिङ अस्पतालको सरकारी जागिर छोडिन्। २०६४ सालदेखि बन्दना ब्लु क्रस हस्पिटलमा सिनियर वार्ड इन्चार्ज रुपमा कार्यरत छिन्।
भुल्न नसक्ने त्यो घटना
आजभन्दा ५ वर्ष अगाडि लगभग २५ वर्षीय एक युवती एक्कासि पेट दुखेर इमर्जेन्सीमा आइन्। रातभरि उनलाई इमर्जेन्सीमै राखियो। जाँच गर्दा उनको गर्भसयमा चौथो स्टेजको क्यान्सर भएको पत्ता लाग्यो। आफूलाई क्यान्सर भएको थाहा पाउँदा उनलाई सम्हाल्न निकै मुस्किल परेको थियो परिवारलाई। एक जना युवक उनलाई दिनरात कुरेर बस्थे। ती युवक रहेछन्, उनका हुनेवाला श्रीमान्। २ दिन अगाडि मात्र उनीहरुको इन्गेजमेन्ट भएको रहेछ।
सबै जाँच गरेपछि ती युवतीको गर्भासयमा रहेको टुयुमर शल्यक्रिया गरेर निकालियो। परिवारका अन्य सदस्य ती युवतीलाई भेट्न आउँथे, दिनभरि बस्थे, राति सुत्न घर जान्थे। ती युवकले उनलाई एकछिनको लागि पनि एक्लै छोडेनन्। उनीहरुको माया देखेर बन्दनाले ती युवतीलाई छिटो निको होस् भनेर प्रार्थना गरेकी थिइन्।
अन्तिम स्टेजको क्यान्सर भएकोले किमो दिँदादिँदै केही समयपछि उनको मुत्यु भयो। मुत्यु भएपछि ती युवकलाई सम्हाल्न निकै गाह्रो परेको थियो। युवक लास समातेर ठूलो स्वरमा रुन्थे।। धेरै बेरसम्म परिवारलाई लास उठाउन पनि दिएका थिएनन्। परिवारका सदस्यले सम्झाएपछि धेरै बेरपछि लास उठाउन दिए। अस्पतालमा यस्तो दृश्य देख्दा अस्पतालमा भएका हरकोहीको आँखा रसाएका थिए। त्यो बेलामा बन्दना आफ्नो क्याबिनमा आएर धेरै बेर रोएकी थिइन्।