काठमाडौं- देशभर कोरोना संक्रमितको संख्या बढेसँगै संक्रमितको उपचारमा फ्रन्टलाइनमा कार्यरत स्वास्थ्यकर्मीहरु पनि अछुतो रहेनन्। कोरोना संक्रमितको प्रत्यक्ष उपचारमा खटिनुपर्ने चिकित्सक, नर्सका साथै अन्य स्वास्थ्यकर्मी नै कोरोना संक्रमित हुन थालेपछि कतिपय जिल्लामा त उपचार नै प्रभावित भएका समाचार सुनिन थालेका छन्।
कोरोना संक्रमितको उपचार गरिरहेको चितवनको भरतपुर अस्पतालमा पनि ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएका छन्। अस्पतालका चिकित्सक, नर्स, कार्यालय सहयोगी गरेर ८ जना अस्पतालको आइसोलेसन वार्डमा उपचाररत रहेका छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी पनि संक्रमित भएका छन्। उनी गत शनिबारदेखि अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन्।
साउन २७ गतेदेखि सुख्खा खोकी लाग्ने, जिउ दुखाइको महसुस हुने, स्वाद÷गन्ध कम आउने, टाउको दुख्ने जस्ता लक्षण देखा परेको भए पनि सुरुमा तिवारीलाई अस्पतालको कामले गर्दा धेरै थकाइ महसुस भएको हो कि भन्ने लागेको थियो।
अस्पतालको फन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीको २ हप्तामा स्वाब परीक्षण गर्ने गरिन्छ। त्यसैले उनले पनि अन्य कर्मचारीले जस्तै साउन २८ गते दिउँसो स्वाब परीक्षण गर्न दिए।
साउन ३० गते बेलुका १०१.८ डिग्री ज्वरो आएपछि भने उनलाई कतै कोरोना संक्रमण त भएन भनेर मनमा चिसो पस्यो।
हुन त उनी नेपालमा कोरोना संक्रमण फैलिएदेखि नै आफ्नो घरको भुर्इंतलामा छुट्टै बस्दै आएका थिए। अन्य बेलामा बस्दा छुट्टै बसे पनि खाना खान एउटै किचन प्रयोग गर्थे, तर स्वाब परीक्षण गर्न दिइसकेपछि भने उनी किचेनमा पसेनन्। आफ्नो कोठामा नै खाना खानुका साथै अन्य चाहिने सम्पूर्ण सामग्री त्यहीं मगाए। उनले आफूले आफैंलाई पूरै आइसोलेट गरेका थिए। ज्वरो आएपछि भने परिवारले कतै यसलाई कोरोना संक्रमण त भएन भनेर चिन्तित भएका थिए।
नभन्दै ३१ गते शनिबारको दिन राति १०.३० बजे आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि भयो। उनी ३२ गते बिहान ७ बजे अस्पतालमा गएर आइसोलेसनमा भर्ना भए।
आफूलाई कोरोना संक्रमण भइसकेपछि भने तिवारीलाई परिवारको चिन्ताले सताउन थाल्यो। घरमा वृद्ध आमाबुबा भएकोले कतै परिवारलाई त सरेन भनेर उनी निकै चिन्तित थिए। ‘हुन त म बिहानै घरबाट निस्कने र राति घर पुगेर सुत्थें तर पनि मनमा कतै संक्रमण त सरेन भनेर मनमा डर लागेको थियो। परिवारको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आइसकेपछि ढुक्क भएको छु,’ उनी भन्छन्।
पछिल्लो समय अस्पतालमा ओपिडीमा पनि बिरामीको भीड बढ्नुका साथै कोरोना संक्रमण समुदायमा फैलनबाट रोक्न र निजी अस्पतालसँग कसरी समन्वन गरेर अगाडि बढ्न सकिन्छ भनेर डा तिवारी विभिन्न छलफलमा सहभागी हुँदै आएका थिए। त्यस्तै आइसोलेसनमा बेलाबेलामा निरीक्षण गर्न जाँदा त्यहीँ आफूलाई कोरोना संक्रमण भयो कि भन्ने उनको आशंका छ।
‘चितवनमा कोरोना नियन्त्रणमै थियो। हामी सबैको सामूहिक प्रयासबाट समुदायस्तरमा फैलनबाट रोक्न सफल भएका थियौं। तर पछिल्ला दुई हप्तादेखि केसहरु बढ्न थालेका थिए। त्यसलाई कसरी कम गर्न सकिन्छ भनेर विभिन्न पक्षहरुसँग मिलेर रणनीति बनाउन धेरै मिटिङ छलफल र दौडधुपमा अति बढी व्यस्त भएँ,’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालय, सिडियो, जिल्लास्तरीय क्राइसिस म्यानेजमेन्ट कमिटी, जिल्ला स्वास्थ्य कार्यालय, अस्पताल विकास समिति, विभागीय प्रमुखहरु, कोभिड क्लिनिकल म्यानेजमेन्ट टिम लगायतसँग छुट्टाछुट्टै, साना–साना समूहमा छलफल र रणनीति बनाउन व्यस्त रहें। सायद त्यहीँ कतैबाट संक्रमण भयो कि!’
सुरुवाती दिनमा खोकीले गर्दा बोल्न समेत उनलाई गाह्रो भएको थियो। तर अहिले उनको स्वास्थ्यमा सुधार हुँदै गएको छ। ‘भदौ २ गतेदेखि खोकी कम हुँदै गयो। जिउ दुख्न पनि कम भयो। थकान पनि कम हुँदै गएको छ,’ उनी भन्छन्, ‘अहिले अलि फ्रेस महसुस भएको छ। खोकी कम भइराखेको छ। जिउ दुख्ने, कमजोरी, थकान निकै कम छ। स्वाद थाहा पाउने र गन्ध कम आउने पनि राम्रैसँग सुधार भएको छ। श्वासप्रश्वासमा समस्या छैन।’
उनी थप्छन्, ‘म पनि छिट्टै निको भएर पुनः काममा फर्कन, कोरोना परीक्षणको दायरा अझ बढाउन, कोरोना उपचारलाई व्यवस्थित गर्न र अन्य निकायहरुसँगै सहकार्य गरी अघि बढ्न आतुर छु।’
सुरुका दिनमा खोकीका कारण आफूले लामो कुरा गर्न नसकेकोमा उनी असहज महसुस गरिरहेका छन्। ‘मलाई विभिन्न माध्यमबाट स्वास्थ्य लाभका लागि कामना गर्ने सबै महानुभावहरुप्रति आभारी छु,’ उनले भने, ‘छिट्टै निको भएर कोरोना उपचारमा फेरि खट्ने नै छु।’
कोरोना संक्रमणको अवस्था हेर्दा अब कुन बिरामी कोरोना संक्रमित छ, कुन छैन छुट्याउन सहज नभएको उनको भनाइ छ। ‘अब कुन कोभिड, कुन नन–कोभिड बिरामी छुट्याउन कसैले सक्दैन। किनभने शल्यक्रिया गरेकोमा, गर्भवती र एउटा रोगको उपचारको लागि भर्ना भएका अधिकांश बिरामीमा पनि कोभिड देखिन थालिसकेको छ,’ उनले भने, कम्युनिटी ट्रान्समिसनमा गएपछि छुट्याउन गाह्रो हुन्छ। त्यसैले सरकारी अस्पताल चाहिँ कोभिड अस्पताल र अन्य चाहिँ नन–कोभिड अस्पताल भनेर अब हुँदैन।’
स्वास्थ्य मन्त्रालयले पनि २० प्रतिशत बेड प्राइभेट अस्पतालले र एक तिहाइ बेड मेडिकल कलेजले छुट्याउनु पर्ने निर्देशन दिइसकेको छ। डा तिवारी मन्त्रालयको यो निर्णय स्वागतयोग्य भएको बताउँछन्। उनी भन्छन्, ‘यदि सरकारी अस्पतालले मात्र कोरोनाको उपचार गर्नुपर्छ, निजीले गर्नु हुँदैन भनेर बस्ने हो भने वीरगञ्जको जस्तै अवस्था आउन कुनै बेर लाग्दैन।’
कोरोना नियन्त्रणका लागि सबै सरकारी, गैरसरकारी निकाय, निजी अस्पताल, निजी मेडिकल कलेज सबैले जिम्मेवारीपूर्वक आआफ्नो ठाउँबाट कोरोना नियन्त्रण र उपचार हातेमालो र सहकार्य गर्दै जानुपर्नेमा उनको जोड छ।
कोरोना नियन्त्रणमा सफलता हासिल गर्न फ्रन्टलाइनमा काम गरिरहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्नुपर्ने डा तिवारीको राय छ। ‘विगत ६ महिनादेखि घरपरिवार छोडेर स्वास्थ्यकर्मीहरु सेवामा खटिरहनुभएको छ, उहाँहरुलाई नै हतोत्साही बनाउने काम कसैले पनि गर्नुहुन्न। यसले उहाँहरुको मनोबल कमजोर बनाउँछ, त्यसैले सबैले आआफ्नो ठाउँबाट प्रोत्साहन दिने काम गरौं,’ उनी भन्छन्।