डा उज्वल न्यौपाने
२१औं शताब्दीकै सर्वाधिक डरलाग्दो रोगको रुपमा संसारभर आतंक मच्चाइरहेको कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापी रुपमा करोडौं मानिसलाई संक्रमण गरिसकेको छ भने लाखौंको ज्यान लिइसकेको छ।
अहिलेसम्मको तथ्यांक हेर्दा युवा जनशक्ति तथा दीर्घकालीन रोग नलागेका व्यक्तिमा लक्षण र मृत्युदर थोरै मात्र देखिएको छ। तर विभिन्न जोखिम कारकहरुको उपस्थितिमा मृत्युदर पनि बढेको पाइन्छ। यस्ता जोखिम कारकहरुमा दीर्घकालीन रोगहरु जस्तैः मधुमेह, क्यान्सर, दम, मुटुरोग, पुरानो मिर्गौला रोग आदि पर्दछन्।
त्यस्तै वृद्ध तथा बाल जनशक्ति, मोटोपन, उच्च रक्तचाप, आदिमा पनि जटिल प्रभावहरु पर्नेसक्ने देखिएको छ। यस लेखमार्फत आज मधुमेह के हो, मधुमेहका बिरामीलाई कोरोना भाइरसले कस्तो असर पार्छ र जोखिम कसरी कम गर्ने भन्ने विषयमा केही जानकारी पस्किने प्रयास गरिएको छ।
के हो मधुमेह?
खानेकुराबाट शरीरले ग्लुकोज प्राप्त गर्छ। उक्त ग्लुकोज शरीरका कोषहरुले उपयोग गरेर शरीरको हरेक कार्यमा ऊर्जाको रुपमा प्रयोग हुन्छ। मधुमेहमा रगतमा ग्लुकोजको मात्रा बढ्ने गर्छ जसले विभिन्न समस्या उत्पादन गर्छ। मानिसको पेटमा अग्न्याशय ९प्यांक्रियाज० नामक ग्रन्थी हुन्छ, जसले इन्सुलिन नामक हर्मोन उत्पादन गर्छ।
साधारणतया शरीरमा ग्लुकोजको मात्रा बढेमा उक्त इन्सुलिन सक्रिय भएर रगतमा ग्लुकोजको मात्रा नियन्त्रणमा राख्छ। मधुमेह रोगमा इन्सुलिन हर्मोनमा अनियमितता भई रगतमा ग्लुकोजको मात्रा अनियन्त्रित भएर बढ्ने गर्छ।
रोगको कारकको आधारमा मधुमेहलाई प्रकार–१ र प्रकार–२ मा विभाजित गरिएको छ। मधुमेह प्रकार–१ स्वतः प्रतिरक्षा रोग हो, जुन मधुमेह रोगीमध्ये १० प्रतिशतमा देखिन्छ। यसमा शरीरको रोग प्रतिरोधी प्रणालीले इन्सुलिन उत्पादन गर्ने कोषमा आक्रमण गर्छ। मधुमेह प्रकार–२, जुन ९० प्रतिशत मधुमेहको रोगीमा देखिन्छ, यसमा शरीरले इन्सुलिनको प्रयोग नै प्रतिरोध गर्छ, जसकारण शरीरमा ग्लुकोज जम्मा हुने गर्छ। त्यसरी जम्मा भएको ग्लुकोजले आँखा, मिर्गौला, मुटु, स्नायु तथा अन्य अंगहरुमा प्रभाव पार्छ। प्रकार–२ मधुमेहमा वंशाणुगत प्रभाव रहेको हुन्छ। त्यस्तै मोटापन, वृद्धावस्था, उच्च रक्तचाप, उच्च कोलेस्टोरोल, निष्क्रिय जीवनशैली आदिको पनि प्रकार–२ मधुमेह गराउन प्रमुख भूमिका रहेको देखिन्छ।
मधुमेहका लक्षण तथा जटिलता
मधुमेहमा देखिने प्रमुख लक्षणहरुमा धेरै तिर्खा लाग्ने, भोक लाग्ने र बारम्बार पिसाब लाग्ने पर्दछन्। त्यस्तै अन्य लक्षणहरु तौल घट्ने, आँखा धमिलो देख्ने, ज्यादा थकान महसुस हुने, चोटपटक लाग्दा निको हुन धेरै समय लाग्ने आदि हुन्। यसका साथै पुरुषमा मांसपेसीको तागत कम हुने, कामेच्छा घट्ने साथै नपुंसकता समेत हुनसक्छ। त्यस्तै महिलामा पिसाबको संक्रमण, छाला चिलाउने, बारम्बार संक्रमणहरु देखिइरहने हुनसक्छ। रगतमा ग्लुकोजको मात्रा बढी भएर निको हुन कठिनाइ भई यस्तो समस्या देखिने गर्छ।
मधुमेहका कारण देखिने दीर्घकालीन प्रभाव तथा जटिलतामा मुटु रोग, हृदयघात, मस्तिष्कघात, स्नायु क्षति, मिर्गौला क्षति, आँखाको रेटिना क्षति, कानको सुन्ने शक्तिमा ह्रास आउने, खुट्टामा निको नहुने घाउ, छालाको संक्रमण, डिप्रेसन आदि देखिने छन्।
उपचार पद्धति
मधुमेहको जाँच गर्न उपवास ग्लुकोज मात्रा हेरिन्छ, जसमा आठ घन्टा खाली पेट रहेर ग्लुकोजको मात्रा नापिन्छ। त्यस्तै एवनसी ९ए÷सी० जाँच पनि मधुमेह जाँच्न प्रयोग हुन्छ, जसले पछिल्लो ३ महिनाको ग्लुकोज मात्रा देखाउने गर्छ। त्यस्तै खाना खाएको २ घन्टामा नापिने पोस्ट–प्रान्डियल ग्लुकोज पनि मधुमेह पत्ता लगाउन सहयोगी हुन्छ। व्यक्तिका लक्षण र रगतको जाँचको माध्यमबाट मधुमेह निदान गरिन्छ।
कतिपयमा शारीरिक व्यायाम र उचित भोजन नै ग्लुकोजको मात्रा सन्तुलन गर्न पर्याप्त हुन्छ। जीवनशैली परिवर्तनको माध्यमबाट रोग नियन्त्रणमा नआएमा औषधोपचार आवश्यक पर्छ। धेरै प्रयोगमा आउने औषधिहरुमा मेटफर्मिन, ग्लिपिजाइड, ग्लिमेपेराइड इन्सुलिन आदि पर्छन्। आवश्यकताका आधारमा एउटाभन्दा बढी औषधि लिनुपर्ने हुनसक्छ। इन्सुलिनको प्रयोग मधुमेह प्रकार–१ को रोकथाममा प्रयोग गरिन्छ भने प्रकार–२ मा पनि केही अवस्थामा प्रयोग गरिन्छ।
मधुमेहमा भोजनमा कार्बोहाइड्रेटको मात्रा मापन गरी ग्रहण गर्नु जरुरी हुन्छ। त्यस्तै तौल घटाउने, व्यायाम गर्ने र दिनभरमा थोरै मात्रामा धेरै पटक खाने बानी बसाल्नु पर्छ। मधुमेहका रोगीले खान नहुने भोजनहरुमा गुलियो तरल पदार्थ, ट्रान्सफ्याट, मह, जंक फुड, गुलियो स्वाद भएका खानेकुरा, फलफूलका जुस, आलु, चामल आदि हुन्।
रोग लागिसकेपछि उपचार गर्नका निम्ति नियमित औषधि सेवन गर्नुपर्ने झन्झटबाट जोगिन रोग लाग्नुपूर्व नै सचेतना अपनाउने र रोकथामका उपायहरु अपनाउनु नै बुद्धिमानी हुन्छ। रोकथामका लागि दैनिक व्यायाम गर्ने, तौल नियन्त्रणमा राख्ने, सन्तुलित तथा स्वस्थ भोजन खाने, चिल्लो मसलेदार खाना कम खाने, चुरोट, खैनी, अल्कोहोलजन्य पेय पदार्थ नखाने तथा बेलाबेलामा आफ्नो रगतमा ग्लुकोजको मात्रा मापन गर्नु जरुरी छ। त्यस्तै वृद्ध तथा वंशाणुगत जोखिममा रहेका व्यक्तिहरुले विशेष ध्यान राख्नु आवश्यक हुन्छ।
मधुमेहका बिरामीमा कोरोनाको डर
मधुमेहका बिरामीमा ग्लुकोजको मात्रा तलमाथि भइरहने तथा विभिन्न जटिलता देखिने हुनाले कोरोना संक्रमण भयो भने उपचारमा थप समस्या आउँछ। यसका मुख्य कारणमा शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुनु हो, जुन मधुमेहको परिणाम हो। त्यसैगरी ग्लुकोजको मात्रा बढी भएको वातावरणमा भइरस छिटो फस्टाउने हुनाले पनि समस्या देखिन्छ।
संक्रमणसँग लड्न शरीरले विभिन्न हर्मोन बनाउँछ जसले ग्लुकोजको मात्रा एकदमै बढाउने गर्छ। जसका कारण इन्सुलिनले समेत नियन्त्रण गर्न कठिन पर्छ। त्यसैले मधुमेहका रोगी तथा परिवारले स्वास्थकर्मीसँग सहकार्य गरेर अन्य रोग लागेका बेलामा ग्लुकोजको मात्रा कतिमा राख्ने, औषधिको मात्रा कसरी मिलाउने, आवश्यक परेको बेला यथाशक्य छिटो स्वास्थ्य सेवा कसरी प्राप्त गर्न सकिन्छ तथा कतिकति समयमा ग्लुकोजको मात्रा नाप्ने भन्ने बुँदाहरुमा छलफल गरी योजना बनाउनुपर्छ।
त्यस्तै आवश्यक औषधिको व्यवस्था गर्ने उपाय अथवा लामो समयसम्मको लागि औषधि संकलन गर्न सकिन्छ। औषधिको नियमित सेवन, झोल पदार्थ धेरै खाने, तौल सन्तुलनमा राख्ने, ज्वरो नाप्ने आदि गर्नाले संक्रमणका कारण हुने जटिलतालाई समयमै रोक्न सकिन्छ। प्रकार–१ मधुमेहका बिरामीले इन्सुलिन नियमित लिने, इन्सुलिनको मात्रा बढाउनुपर्ने परिस्थिति बुझेर मात्रा मिलाउने, प्रत्येक चार घन्टामा ग्लुकोज मात्रा नाप्ने, गुलियोको मात्रा नभएको झोल पदार्थ प्रशस्त पिउने र ग्लुकोजको मात्रा ११० देखि १८० भित्र सीमित राख्ने गर्नु आवश्यक रहन्छ।
साथै, धेरै बान्ता भएमा, २४ घन्टाभन्दा बढी ग्लुकोजको मात्रा अनियन्त्रित भएमा तथा अन्य जटिल लक्षण देखा परेमा तुरुन्त नजिकैको स्वास्थ्य संस्था वा आफ्नो स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुपर्छ। कोरोना भाइरस (कोभिड–१९) तथा अन्य छिटो सर्ने खालका संक्रमणबाट जोगिन मधुमेहका रोगीले अन्य सामान्य व्यक्तिले भन्दा बढी स्वास्थ्य सतर्ककता अपनाई तोकिएका नियमहरु पूर्ण परिपालन गरेर जटिल समस्याबाट बच्न सकिन्छ।
(न्यौपाने केएमसीमा इन्टर्न गर्दैछन्।)