तीर्थराज अधिकारी
नेपालले रेडियोधर्मी विकिरणको प्रयोगलाई कानुनी रुप दिइसकेपछि यसको प्रयोग अबका दिनमा बढ्दै जाने निश्चित छ। विगतमा रेडियोधर्मी विकिरण खासगरी स्वास्थ्य क्षेत्रमा प्रयोग हुँदै आइरहेको थियो भने अब कानुनले नै अरु क्षेत्रमा प्रयोग गर्नसक्ने व्यवस्था गरेपछि यसको प्रयोग कृषि, पारवाणिक उद्योग जस्ता क्षेत्रमा पनि बढ्ने छ।
कृषि क्षेत्रमा रेडियो आइसोटोपहरू र नियन्त्रित विकिरण कीटनाशक औषधिको रुपमा, खाद्यान्न बाली सुधार गर्न, खाना संरक्षण गर्न, खाध्य पदार्थ तथा फलफूल निर्मलीकरण गर्न, भूमिगत जल स्रोतहरू निर्धारण गर्न प्रयोग हुन्छ। उद्योगहरुमा उच्च क्षमताका प्रदूषणरहित पावर हाउसहरु निर्माण गरी विद्युत निकाल्न प्रयोग हुन्छ भने अस्पतालहरुमा बिरामीको डाइगोनोसिस अर्थात् बिरामी पत्ता लगाउन र उपचार गर्न तथा रगत निर्मलीकरणमा प्रयोग हुन्छ। र, अर्को प्रयोग भनेको अनुसन्धानमा हो; जस्तै: हार्मोनको विश्लेषण, वातावरणीय प्रदूषण अध्ययन र आणविक टेक्निक तथा टेक्नोलोजी। मानिसको दैनिक जीवनमा आवश्यक स्वस्थ खाना, पानी र स्वास्थ्य जीवनका लागि रेडियो आइसोटोपहरू र नियन्त्रित विकिरणको महत्वपर्ण भूमिका हुन्छ।
रेडियोधर्मी विकिरणको नियन्त्रित प्रयोग अति आवश्यक हुन्छ। अनियन्त्रित प्रयोगले मानव जीवनमा ठूलो असर पर्छ। ज्यानै पनि जान सक्छ। सन् २०११ को जापानको फुकुसिमा आणविक दुर्घटना, १९६८ को चेर्नोबिल दुर्घटना, १९७९ को तीन माइल टापु दुर्घटना र १९६१ को एसएल १ दुर्घटनालाई खतरनाक आणविक दुर्घटनाको रुपमा लिइन्छ जहाँ सयौंको मृत्यु भएको थियो भने हजारौ संख्यामा मानिसहरु अपाङ्ग हुनुका साथै करोडौको धनमाल क्षति भएको थियो।
त्यसतै हजारौं मानिसको केही समय अन्तरालमा रेडियसनको कारण क्यान्सर भई मृत्यु भएको थियो। आणविक दुर्घटना बाहेक रेडियोधर्मी विकिरण अस्पतालमा सही रुपमा प्रयोग नहुँदा पनि यो मानव जीवनका लागि खतरापूर्ण हुन्छ। रेडियोधर्मी विकिरणको सही प्रयोग नहुँदा सन् २००१ मा दक्षिण अमेरिकी देश पानामामा घटेको घटना उदाहरणको लागि लिन सकिन्छ। पनामाको इन्सिटिटो ओन्कोलोजीको नासिनलमा पेसेंट एस्पेसिफिक गुणस्तर परीक्षण बिना र विकिरण नाप्ने प्रोटोकल परिमार्जन गरी उपचार गर्दा २८ जना प्रोस्टेट क्यान्सर र सर्विक्स क्यान्सरको उपचार प्राप्त गर्ने बिरामीले विकिरणको प्राणघातक डोज प्राप्त गरेका थिए।
त्यस्तै सन् २००५-०६ मा फ्रान्सको इपिनलमा रहेको जिन मोनेट अस्पतालमा डोजिमेट्री सफ्टवेयर समस्याको कारण उपचार गरिएका ७५०० बिरामीमध्ये ५ जनाको मृत्यु भएको थियो भने २४ जना गम्भीर घाइते भएका थिए। ७०० जना सिग्निफिकेंटली ओभररेक्सपोज्ड भएका थिए भने ४५०० जना ओभररेक्सपोज्ड भएका थिए। सन् २०११ मा अमेरिकाको न्युयोर्क सहरमा रहेको न्युयोर्क सिटी हस्पिटलमा ओरोफ्यारेन्जियल क्यान्सरको रेडियसन उपचार गरिरहेका ४३ वर्षीय जेरोम पार्कको ओरोफाइरिङ्ग्समा डोज दिनुपर्नेमा मस्तिष्क काण्ड र घाँटी डोज जाँदा निधन भएको थियो।
रेडियोधर्मी विकिरणको सुरक्षित प्रयोगको लागि पहिलो आवश्यकता भनेको रेडियसन डोजिमेट्री हो। यो रेडियसनको मात्रालाई नापजाँच गर्ने प्रक्रिया हो। यस प्रक्रियामा योग्य मेडिकल फिजिसिस्टको महत्वपूर्ण भूमिका हुन्छ। रेडियसनलाई नाप्ने यन्त्र भनेका रेडियसन डोजिमिटर हुन्। यी रेडियसन डोजिमिटरहरु अत्यन्त संवेदनशील हुन्छन्। रेडियसनबाट हुनसक्ने सम्भावित दुर्घटनाबाट बच्न रेडियसन डोजिमिटरको उचित प्रयोग हुन आवश्यक हुन्छ। यस्ता डोजिमिटरहरुले आयोनाइजिङ रेडियसन उत्पादन गर्ने मेसिनको रेडियसनको मात्रा नाप्नेदेखि लिएर ती मेसिनसँग काम गर्ने मानिसहरुले प्राप्त गर्ने रेडियसनको मात्रा पत्ता लगाउनका साथै वातावरणीय रेडियसन डोजको मात्रा नाप्न प्रयोग हुन्छ।
आयोनाइजिङ रेडियसनसँग सम्बन्धित कुनै पनि क्षेत्रमा रेडियसन डोजिमिटर प्रयोग गर्नुपूर्व यिनीहरुको क्यलिबेरेसन आवश्यक हुन्छ। जसबाट यिनीहरुको गुणस्तर नापजाँच हुन्छ। कुनै पनि कम्पनीहरुबाट उत्पादित रेडियसन डोजिमिटरहरुले 'प्राथमिक स्टेनडर्ड प्रयोगशालावा एक्रिडेटेड डोजिमेट्री प्रयोगशाला वा ब्युरेउ इन्टरनेसनल डेस पोइड इट मेजर्स' बाट गुणस्तर प्रमाणित भएपछि मात्र क्लिनिकल तथा नन-क्लिनिकलमा प्रयोग गर्न मिल्छ। त्यसपछि रेडियसन डोजिमिटरहरुको प्रयोगको समय अनुसार अन्तर्राष्ट्रिय मान्यता अनुरुप रेडियसनसँग कम गर्ने मानिसहरुले प्रयोग गर्ने डोजिमिटरलाई हरेक ३-३ महिना र मेसिनको रेडियसनको मात्रा नाप्न प्रयोग हुने डोजिमिटरलाई हरेक ३-३ वर्षमा अनिवार्य क्यलिब्रेसन गर्नुपर्छ। प्रयोग गरिएका रेडियसन डोजिमिटरहरुलाई "सेकेण्डरी स्टेनडर्ड प्रयोगशाला" मा क्यलिब्रेसन गरी प्रयोग गर्नुपर्ने हुन्छ। सेकेण्डरी स्ट्यान्डर्ड प्रयोगशालामा रेडियसन डोजिमिटरहरुलाई प्राथमिक स्ट्यान्डर्ड प्रयोगशालामा क्यलिबेरेट गरिएको स्ट्यान्डर्ड डोजिमिटरको रिडिङसँग दाँजी चेकजाँच गरिन्छ।
नेपालमा रेडियसन डोजिमिटरहरुको क्यलिब्रेसन गर्नको लागि आफ्नो सेकेण्डरी स्ट्यान्डर्ड प्रयोगशाला छैन। डोजिमिटरहरुको क्यलिब्रेसन गर्नको लागि नेपाल पूर्णत भारतमा निर्भर छ। अन्तर्रास्ट्रिय ऊर्जा संस्थाले नेपाल जस्ता कम विकसित मुलुकलाई रेडियसन डोजिमिटरहरुको क्यलिबेरेसन नि:शुल्क गरिदिन्छ तर नेपालबाट अस्ट्रिया पठाउन र फिर्ता लेउन झन्झटिलो र महँगो पर्छ।
नेपालमा हालसम्म २८० जना डाइगोनोस्टिक रेडियोलोजिस्ट, करिब तीन हजार रेडियसन टेक्नेसियन/टेक्नोलोजिस्ट, १५ जना मेडिकल फिजिसिस्ट, ५० जना रेडियसन ओन्कोलोजिस्ट र करिब २००० डेन्टल रेडियोग्राफी र रेडियसन सहयोगी/नर्स गरी करिब ५३४५ जना रेडियसन उत्सर्ग गर्ने मेसिनसँग कार्यरत रहेका छन्। त्यस्तै नेपालमा करिब ३००० एक्स-रे/डेन्टल एक्स-रे/मेमोग्राम मेसिन, १०० सिटी स्क्यान/सिटी सिमुलेटर, ४ वटा ब्रकिथेरापी मेसिन, ८ वटा मेडिकल लिन्याक, ४ वटा न्युकिलियर इमेजिङ मेसिनर एक रगत इरेडिएटर रहेका छन्।
नेपालले अहिले एकजना रेडियसनसँग कम गर्नेको रेडियसन डोजिमिटर (पर्सनल डोजिमिटर) थर्मोलुमिनेसेन्ट डोजिमिटर रिड गर्नको लागि १८० नेपाली रुपैयाँ र मेसिनको रेडियसन मात्रा जाँच गर्ने रेडियसन डोजिमिटर-आयोनाइजेसन चेम्बर, सोलिड डिटेक्टर र इलेक्ट्रोमिटरक्यलिब्रेसन गर्न ३२,००० नेपाली रुपैयाँ भारतीय आणविक ऊर्जा संस्थालाई तिर्ने गरेको छ। यसरी हेर्दा नेपालले ९,६२,१०० रुपैयाँ पर्सनल डोजिमिटर रिडिङको लागि हरेक तीन महिनामा गरी प्रत्येक वर्ष ३८,४८,४०० रुपैयाँ र करिब ४५,००,००० रुपैयाँ मेसिनको रेडियसनको मात्रा जाँच गर्ने रेडियसन डोजिमिटर क्यलिब्रेसन गर्न भारतलाई तिर्दै आइरहेको छ।
यो बाहेक न्युक्लियर मेडिसिनको डोज क्यलिबेरेटरलाई क्यलिबेरेट गर्न, गाममा प्रोबको क्यलिबेरेट गर्न र वातावरणीय रेडियसन डोज नाप्ने डोजिमिटरको क्यलिब्रेसन र रिडिङ नापको समेत गरी नेपालले एक करोड बढी रुपैयाँ भारतको ऊर्जा संस्थालाई तिर्नुपर्ने हुन्छ। निकट भविष्यमा नेपालमा रेडियसनको प्रयोग बढ्ने भएकाले र त्यही अनुपातमा रेडियसन डोजिमिटरको क्यलिब्रेसन र रिडिङ गर्नुपर्ने भएकोले नेपालले हरेक वर्ष करोडौं नेपाली रुपैयाँ भारत तथा तेस्रो मुलुकलाई तिर्नुपर्ने हुन्छ।
नेपाल सरकारले रेडियोधर्मी विकिरणको शान्तिपूर्ण प्रयोग सम्बन्धी कानुन लागू गरिसकेको सन्दर्भमा रेडियोधर्मी विकिरणको सुरक्षित प्रयोगको ग्यारेन्टी राज्यले नै गर्नुपर्छ। वर्तमानमा नेपालबाट भारत तथा तेस्रो मुलुकमा रेडियसन डोजिमिटरको क्यलिब्रेसन र रिडिङको लागि पठाउँदा निकै झन्झट व्यहोर्नु परिरहेको, पठाउँदा र ल्याउँदा अत्यन्तै संवेदनशील डोजिमिटर टुटफुट भई क्षति हुने गरेको, समयमा क्यलिब्रेसन र रिडिङ गरी आइनपुग्ने समस्या रहेको र त्यसबाट रेडियसनसँग काम गर्ने स्वस्थ्यकर्मीहरुमा प्रत्यक्ष्य असर परिरहेको सन्दर्भमा र नेपालले हरेक वर्ष भारत तथा तेस्रो मुलुकलाई रेडियसन डोजिमिटरको क्यलिब्रेसन र रिडिङको लागि करोडौं खर्च गर्नु परिरहेको परिप्रेक्ष्यमा नेपालले आफ्नै सेकेण्डरी स्ट्यान्डर्ड प्रयोगशाला स्थापना गर्न जरुरी छ।
सेकेण्डरी स्ट्यान्डर्ड प्रयोगशाला निर्माण गर्न ठूलो धनराशिको आवश्यकता पर्दैन, मात्र राज्यको इच्छाशक्ति भए पुग्छ। जसबाट स्वदेशमै रोजगारीको अवस्था सिर्जना हुनेछ भने नेपालले रेडियसन डोजिमेट्रीमा आत्मनिर्भर हुनेछ। नागरिकको स्वास्थ्यप्रतिको जिम्मेवारी बहन गर्दै सेकेण्डरी स्ट्यान्डर्ड प्रयोगशाला स्थापना गर्नु राज्यको दाइत्व हो।
(अधिकारी बिपी कोइराला मेमोरिअल क्यान्सर अस्पताल चितवनका अन्तर्राष्ट्रिय मान्यताप्राप्त रेडियसन ओंकोलोजी फिजिसिस्ट हुन्।)