कोरोना भाइरस सर्ने पो हो कि भन्ने त्रासले अस्पतालको आँगन टेक्नुअघि अचेल धेरैको शरीरमा काँडा उम्रिन्छ। कोभिड–१९ का बिरामीको उपचार गरिरहेको अस्पतालको छेउछाउबाट त गुज्रिनै नपरोस् भन्ने चाहना धेरैको हुन्छ।
जो रातदिन कोरोना भाइरस भएका बिरामीको उपचारमा खटिइरहेको छ, उसलाई कस्तो महसुस हुँदो हो ? वा ती सबै डरभन्दा माथि उठेका मनुवा हुन् ? कि तिनीहरुले डर भन्ने शब्द दिमागको शब्दकोषबाट डिलिट हानिसके ?
नेपालमा कोरोना भाइरस सुरु भएदेखि नै कोभिड–१९ को उपचार भइरहेको टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलालाई भेट्न जानुअघि यस्ता अनेक प्रश्नहरुका उछाल उठिरहे। किनभने, डा बास्तोला ती व्यक्ति हुन्, जसले चीनको वुहानबाट संक्रमित भएर आएका पहिलो नेपाली संक्रमितको उपचार गरेका थिए। त्यसपछि कोरोना भाइरसको संक्रमण जति बढ्दै गयो, उनको सक्रियता चुलिँदै गयो। अहिले त झन् आइसियुमै राखेर उपचार गर्नुपर्ने सिकिस्त बिरामी छन्, निरन्तर खट्नुपर्छ।
उनीसँगको भेटपछि पहिलो जिज्ञासा नै त्यही थियो– बिरामीप्रतिको कर्तव्यले गर्दा डरलाई दबाएर सक्रिय हुनुपर्छ कि अब डरलाई जितिसकियो?
उनले प्रश्नकर्ताहरु डराइरहेको महसुस गर्दै मुस्कुराए। अनि छोटो वाक्य बोले, ‘सजग हुन्छौं। सजग रहे डर रहँदैन।’ उनी त्यसरी प्रस्तुत भए, मानौं डर उल्टो उनीहरुसँग डराउनुपर्छ। धेरैको डर त उपचारकर्मीहरु देखिपछि डराउँछ नै। एउटा कोभिड–१९ को बिरामी अस्पताल पुगेपछि आशावादी हुनु भने उनीहरुको डर डाक्टरदेखि डराउनु नै त हो !
हामी अहिले डराएका छौं। डाक्टर पनि सबैभन्दा त्रसित यही कालखण्डमा भएका होलान् भन्ने अनुमान गर्ने रहेछौं। तर सरुवा रोग विशेषज्ञ त डराउँदै, त्यसलाई जित्दै, फेरि डराउँदै जित्दै गरेर जीवनभर डरसँग लुकाछिपी खेलिरहेका हुँदा रहेछन्। अर्थात् सरुवा रोग अस्पताल वा डाक्टरकहाँ पुग्ने हरेक बिरामी सरुवा रोगले ग्रस्त हुन्छ। सरुवा रोग भनेपछि सम्पर्कमा पुग्नेलाई सर्ने जोखिम भइरहन्छ। सरुवा रोगका डाक्टर त सधैं जोखिमसँग पौंठेजोरी खेलिरहेका हुन्छन्। जो जोखिमसँग पौंठेजोरी खेल्न चाहँदैनन्, ती सरुवा रोग विशेषज्ञ हुनै सक्दैनन्।
सरुवा रोगसँग ज्यादिविधि डराउने चिकित्सक भयो भने बिरामीको उपचार सही ढंगले हुँदैन भन्ने महसुस डा बास्तोलाले करिअरको सुरुवातमै गरेका हुन्। सरुवा रोगका बिरामीले महसुस गरेको विभेद चिर्ने चाहनाले उनलाई सरुवा रोग विशेषज्ञ बनाएको हो।
२०६३ सालमा मेडिकल अफिसरका रुपमा लोकसेवा पास गरेपछि उनलाई दार्चुला पठाइयो। त्यहाँ उनले दुई वर्ष निशंकोच बिताए। त्यसपछि उनको सरुवा टेकु अस्पतालमा भयो। टेकु अस्पताललाई त्यो समय चिकित्सा क्षेत्रमा ‘पढ्न पाइने अस्पताल’ ठानिन्थ्यो। किनभने धेरै बलियो संरचना थिएन। थोरै बिरामी आउँथे। उपचारमा धेरै खट्न नपर्ने भएकाले डाक्टरहरु थप अध्ययनको तयारी गर्न पाउँथे। डा बास्तोलालाई पनि लागेको थियो, ‘पोस्ट ग्र्याजुएटका लागि तयारी गर्न पाइने भयो।’
जब अस्पताल आए, उनले गरेको अनुमान पूराका पूरा फेल खायो। त्यो एचआइभी संक्रमणले आतंक फैलिरहेको बेला थियो। अन्य सरुवा रोगका बिरामी पनि अस्पताल आइरहन्थे। ‘उनीहरुलाई समाजले हेर्ने दृष्टिकोण सकारात्मक त थिएन नै, अस्पतालमा पनि हेपिएको र हेला गरिएको महसुस गरिरहेका रहेछन्,’ उनी सम्झिन्छन्। मेडिकल अफिसरका रुपमा आफूले गर्न सक्ने सेवा गरे। सँगै लक्ष्य लिए, ‘अब म सरुवा रोग विशेषज्ञ बन्छु।’ त्यसपछि उनले सरुवा रोगमै विशेषज्ञता हासिल गरे र थेसिस चाहिँ एचआइभीमा गरे।
अध्ययन पूरा गरेपछि उनी फेरि यही अस्पताल फर्किए। १२ वर्षदेखि यही अस्पतालसँग जोडिएका छन्। यस क्रममा अहिले कोरोनाले सिर्जना गरेको भन्दा ठूला त्रासदी उनले महसुस गरिसकेका छन्। तिनलाई कसरी जित्ने भन्ने अनुभव समेत हासिल गरिसकेका छन्।
सन् २००९ मा फैलिएको मौसमी रुघाखोकीको उपचारमा पनि उनी अहिले जस्तै सक्रिय थिए। समाज र चिकित्सा क्षेत्रमा डर योभन्दा बढी थियो। त्यसपछि स्वाइन फ्लु आयो, आतंक सिर्जना भयो। चिकित्सकहरु पनि उनलाई भन्थे, ‘तैंले पो विवाह गरेको छैनस्, त्यसैले डर छैन।’ उनले डरभन्दा बढी आफ्नो पेशागत दायित्व सम्झिए र सेवामै समर्पित भए। त्यसैगरी कलेरा, डेंगु, मर्सहरुले आतंक सिर्जना गरिरह्यो।
नेपालका लागि सरुवा रोगको उपचार हुने अस्पताल टेकु थियो र उनी त्यहीँ विशेषज्ञ थिए। तयार भएरै बसे। एचआइभी संक्रमितबाटै सर्ने ‘एमडिआर टिबी’ जसको उपचार सम्भव छैन। त्यस्ता बिरामीको पनि उनले उपचार गरे। उनी सम्झिन्छन्, ‘अहिले जस्तो धेरै सावधानीका उपाय र साधन थिएनन्। एउटा मास्कको भरमा उपचार गथ्र्यौं।’ त्यसकारण उनलाई लाग्दो हो– त्यस्तो समय त गुजारियो। त्यसका अघि यो के ? तर उनी यसरी पनि प्रस्तुत हुँदैनन्। किनभने संक्रामक रोगमा हेलचेक्र्याईं गर्ने छुट एक पल हुँदैन। नडराउने तर हरपल सजग रहने गरेमा मात्रै फेरि यसैगरी कुशल उपचार व्यवस्थापनको कथा सुनाउन पाइन्छ।
नेपालमा पहिलो कोरोना संक्रमित उपचारका लागि टेकु अस्पताल आइपुग्दा धेरैमा त्रास थियो। किनकि विदेशमा कोरोना संक्रमितको मृत्यु भइरहेका समाचार आइरहेका थिए। यसको हानि र मृत्युदर यकिन भइसकेको थिएन। डा बास्तोलाले आफ्ना सहकर्मीका आँखामा पनि डरको छायाँ देखे। उनी आफैं पनि अन्योलमा थिए। उनलाई लाग्यो, ‘म पनि डराएँ भने कसले आँट गर्ला ?’ सुरक्षा कवच लगाएर उनले संक्रमितलाई जाँचे। आफ्ना सहकर्मीलाई हौस्याउन बिरामीसँग अँगालो मारे। त्यसपछि अरुलाई पनि आत्मविश्वास बढेको महसुस उनले गरेका छन्।
सरुवा रोग अस्पताल त हो टेकु। तर कहिल्यै राज्यको प्राथमिकतामा परेन। अस्पतालको संरचना डामाडोल थियो नै। जम्माजम्मी दुई वटा आइसियु बेड थिए। यस्तो अवस्थामा महामारी फैलिरहेको थियो र कुनै बेला नेपाल पनि आक्रान्त हुने कुरामा चिकित्सावर्ग निश्चिन्त थियो। डा बास्तोला लगायत टेकु अस्पतालका डाक्टरहरुले थोरै बिरामी हुँदाखेरी नै अस्पताललाई व्यवस्थित गर्ने तयारी थाले। कोभिड–१९ का बिरामीलाई राखिने वार्डहरुमा कसरी पस्ने र निस्किने भन्ने कुराको नक्सा डा बास्तोला आफैंले कोरेर दिए। सोही अनुसार बनाइयो। विस्तारै बिरामी बढ्दै गए। अस्पतालको संरचना व्यवस्थित हुँदै गयो। त्यहाँका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीमा हिम्मत पनि बढ्दै गयो। डा बास्तोला भन्छन्, ‘हामीकहाँ युवाहरु धेरै हुनुहुन्छ। त्यसैले उहाँहरुले डर जित्नुभएको छ।’
डा बास्तोलाका लागि टेकु अस्पताल एउटा अस्पताल मात्रै होइन, जीवनको धेरै समय बिताउन थलो हो। किनभने उनको विशेषज्ञतासँग मिल्ने दरबन्दी यहीँ मात्र छ। यसकारण पनि उनी यो अस्पताल सरुवा रोगको उपचारका लागि मात्रै होइन, अध्ययन र अनुसन्धानका लागि पनि बलियो संस्था बनोस् भन्ने चाहन्छन्। अहिले सरुवा रोगको उपचार केन्द्रका रुपमा परिचित छ। त्यो परिचय भरोसामा बदल्ने प्रयास यो अस्पतालका सबै कर्मचारीले गरिरहेका छन्।
गुणस्तरीय उपचारका लागि आवश्यक भौतिक संरचनादेखि चाहिने उपकरणसम्मको उपलब्धता पहिलो प्राथमिकता हो। अरुबेला छायाँमा पर्ने यो अस्पताल कोरोना महामारीका कारण सरकारको नजरमा छ। परिआउँदा आडभरोसा दिने अस्पतालका लागि सरकार गम्भीर भइरहोस् भन्ने चाहना डा बास्तोलाको पनि छ। त्यसैले उनी यतिबेला सेवा र प्रभाव दुवै छाड्नका लागि पनि आफूले सकेको धेरै समय र सिप प्रयोग गरिरहेका छन्।
अहिले पनि टेकु अस्पताललाई सरुवा रोगका विषयमा अध्ययन गर्ने र बुझ्ने अस्पतालका रुपमा लिइन्छ। तर आगामी दिनमा सरुवा रोगबारे यहीँ अध्ययन हुने र महत्वपूर्ण अनुसन्धान गर्न मिल्ने केन्द्र बनाउने उनको सपना छ। यो अस्पतालमा कार्यरतहरुको साझा सपना पनि हो यो। सपनालाई यथार्थमा परिणत गर्ने कुरामा डा बास्तोलासँगै अस्पतालको समूह सक्रिय छ। यसका लागि आवश्यक कुरा धेरै छ। तुरुन्तै भइहाल्ने विषय होइन भन्ने डा बास्तोलाले बुझेका छन्। तर प्रयास गरिरह्यो भने एक दिन सफलता मिल्ला भन्ने आशा छ । किनभने जहाँ इच्छा, त्यहाँ उपाय त हुन्छ। यसलाई अध्ययन र अनुसन्धानको केन्द्र बनाउने सरकारको इच्छा भयो भने उपाय उनीसँग प्रशस्त छन्। उनलाई लाग्छ, ‘अरु त टाढाका विषय भए। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको एउटा फ्याकल्टी बनाएर पनि त अघि बढ्न सकिन्छ।’