डा सीताराम जोशी नाम होइन, कामबाट पहिचान बनाएका व्यक्तित्व हुन्। उनकै भिजन र मिसनको नतिजा हो, नेपालका ल्याब पनि 'गुणस्तर प्रमाणपत्र' प्राप्त छन्। उनीहरुमाथि निरन्तर रहने निगरानीका कारण दायाँबायाँ गर्ने छुट छैन।
उनले त्योबेला नेपालमा प्रयोगशालाले आफ्नो परीक्षण नतिजा विश्वसनीय बनाउन 'आईएसओ' मान्यताप्राप्त हुनुपर्ने अभियान चलाए, जतिबेला सरकारले ल्याबको बर्गीकरणबारे सोच्न भ्याइसकेको थिएन। हरेक औषधि पसलमा नमुना संकलन गर्ने र कुनैपनि भर्याङमुनीको अँध्यारो कोठाबाट रिपोर्ट दिने प्रचलन व्याप्त थियो।
अहिले सरकारले ल्याब बर्गीकरण गर्ने गरेको छ। स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ मा प्रयोगशालाले 'ए' वर्गको मान्यता प्राप्त गरेको दुई वर्षभित्र उपलब्ध सेवाहरुमध्ये न्यूनतम पचास वटा परीक्षणहरु आइएसओ १५१८९ मान्यता प्राप्त हुनुपर्ने बताएको छ। सो अवधीमा यो प्रावधान पूरा गर्न नसकेमा स्वतः 'बी' वर्गमा जाने उल्लेख छ।
नेपालमा उक्त मान्यता प्रदान गर्ने एकमात्र संस्था हो- एक्रिडिटेसन एजुकेसन रिसर्च एन्ड साइन्टिफिक सर्भिस सेन्टर (एईआरएसएससी)। जसका संस्थापक हुन् डा सीताराम जोशी। जुन संस्थाले हालसम्म १२ वटा ल्याबलाई एक्रिडिटेसन (आइएसओ १५१८९ मान्यता) दिइसकेको छ । सन् २०२५/०२६ संख्या २० पुर्याउने लक्ष्य छ । एक्रिडिटेसन लिन सुरु गर्नेमा निजीतर्फ नाम चलेको ल्याब सम्यक डाग्नोस्टिक, काठमाडौं प्याथ ल्याब थिए। सरकारीमा नेतृत्वदायी प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यही संस्थाबाट गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ।
-1739443125.jpg)
सम्यक डायग्नोस्टिकलाई गुणस्तर प्रमाण पत्रप्रदान गरिँदै
नेपाली प्रयोगशालालाई गुणस्तर प्रमाण पत्र प्रदान गर्ने एईआरएसएससी एशिया प्यासिफिक एक्रेडिटेसन को-अपरेसनको एशोसिएट सदस्य र इन्टरनेसनल ल्याबोरेटरी एक्रेडिटेसन को-अपरेसनको एशोसिएट सदस्य रहेको छ।
दृढ इच्छा शक्तिले बनेको संस्था
धेरैलाई लाग्छ- सरकारी ल्याबलाई समेत गुणस्तर प्रमाण पत्र दिने संस्था पनि किन प्राइभेट? निजीस्तरको प्रयास भएका कारण यसबारे धेरै बुझ्न भ्याइनसकेकाहरुले सुरुमा 'अविश्वास' समेत गर्छन्। जब यो संस्थामाथि समेत निगरानी राख्ने प्रणाली थाहा पाउँछन्, गुणस्तर मापन प्रक्रिया बुझ्छन्, त्यसपछि मात्रै ढुक्क हुन्छन्।
सरकारी बनाउने प्रयास गरिएको तर त्यता सफल नभएपछि निजीस्तरबाट जन्मिएको हो। यो संस्था जन्मिनुको कथा पनि बेग्लै छ । जहाँ डा जोशीको दृढ इच्छाशक्ति जोडिएको छ। जीवनका ३५ वर्ष सरकारको गुणस्तर तथा नापतौल विभाग अन्तर्गत रहेर सेवा गरे डा जोशीले। हरेक सेवा तथा वस्तु गुणस्तरीय हुनुपर्ने अभियानमै उनको जीवन बित्यो। फिजिक्सका विद्यार्थी उनी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए, महानिर्देशक भएर अवकाश लिए।
महानिर्देशक हुँदा उनलाई लाग्यो- ल्याब एक्रिडिटेसनको प्रणाली बसाएर जाउँ। ल्याब परीक्षणका विषयमा आइरहेका गुनासोले आक्रान्त उनलाई लाग्यो- सरकारले नै आइएसओ मान्यता प्रदान गर्ने अवस्था बन्यो भने राम्रो हुन्छ। उनकै नेतृत्वमा त्यसका लागि ऐन ड्राफ्ट भयो। सबै प्रावधानमा तत्कालीन मन्त्री (जसको डा जोशी नाम लिन चाहदैनन्) राजी भए । ती मन्त्रीको एक ठाउँमा संशोधन रह्यो- एक्रिडिटेसन दिने त्यो संस्थाको प्रमुखचाहिँ राजनीतिक नियुक्ति हुनुपर्छ।
२०३३ सालदेखि २०६८ सालसम्म गुणस्तर तथा नापतौल विभागमा रहेका डा जोशीले त्यहाँ धेरै कुरा देखे-भोगेका थिए। त्यसमध्ये एउटा थियो- सेवा वा सामानमा गुणस्तर प्रदान गर्न नखोज्ने तर जसरी हुन्छ सरकारबाट 'गुणस्तरीय' प्रमाणपत्र खोज्ने। कर्मचारीबाट काम फत्ते गर्न नसक्दा उनीहरु राजनीतिक पहुँच प्रयोग गर्थे । जसको दबाब बेलामौकामा डा जोशीले पनि खेपे। मन्त्रीसँग उनको यही बुँदामा विवाद भयो। उनले अड्डी कसे- राजनीतिक नियुक्ति हुँदैन।
लागेपछि एकोहोरो लाग्ने स्वभावका डा जोशी आफ्नो अड्डीबाट कुनैपनि हालतमा पछि हटेनन्। मन्त्रीका निकटस्थले एक दिन त पानीसमेत खान नदिइ कोठामा थुनिराखे। उनले त्यस्तो प्रावधानयुक्त ड्राफ्टमा हस्ताक्षर गरेनन् र उक्त विभागबाट बिदा भए। त्यो योजना र ऐन त्यत्तिकै तुहियो। तर, डा जोशीले अठोट गरे- म त्यो काम अवकाशपछि पनि गर्छु।

२०६८ सालमा उनले अवकाश प्राप्त गरेपछि उनले आफ्नो लक्ष्य थाले। उक्त लक्ष्यका आडभरोसा थिए, भारतमा गुणस्तरीय स्वास्थ्यको अभियानमा सक्रिय र नेपाललाई समेत लामो समयदेखि सहयोग गरिरहेका डा थुप्पिल वैंकटेस र डा गिरिधर ज्ञानी। आफू अभियानमै रहेको ती दुई व्यक्तित्वलाई सुनाएपछि उनीहरुले नेपालमा गुणस्तरीय ल्याब सेवाका लागि स्वयंसेवा गर्ने भए। सुरुमा त्यो अवधारणा र प्रावधानका विषयमा नेपालका प्याथोलोजिस्टलाई जानकारी गराउनु थियो। डा वैंकटेस ७ दिनका लागि नेपाल आउने सन्दर्भ पारेर डा जोशीले सेमिनार आयोजना गरे।
जसले बुझे महत्व, बनाए गुणस्तरीय
गुणस्तरीय ल्याबका लागि काम गरिरहेका केही प्याथोलोजिस्ट तथा ल्याबकर्मी त्यो सेमिनारमा सहभागी भएका थिए। डा जोशीका अनुसार तीमध्येमा थिए सम्यक डायग्नोस्टिकका डा केयूर गौतम र काठमाडौं प्याथल्याबका डा शिवराज केसी।
ती दुईजनाले एक्रिडिटेसनको महत्व बुझे। त्यसले आफूलाई गुणस्तरीय सेवा दिन गर्ने सहयोग महशुस गरे। त्यसपछि आइएसओ १५१८९ मान्यताका लागि निरन्तर ल्याबलाई स्तरीय बनाउन लागिपरे। सन् २०१५ मा ती दुई ल्याबले गुणस्तर प्रमाण पत्र प्राप्त गरे।
गुणस्तरीय ल्याब, विश्वसनीय रिपोर्ट र सहज प्रणालीका लागि सम्यक डायग्नोस्टिक प्रालि त देशकै अग्रणी प्रयोगशाला बनेको छ। आफूले अपनाएको पद्धति र प्रणालीका लाभबारे सम्यकका अध्यक्ष डा गौतम विभिन्न ठाउँमा बताउँदै आएका छन्। कतिपय प्रयोगशालालाई गुणस्तर मापदण्डमा पुर्याउन उनले सघाएका छन्। डा जोशी आफ्नो गुणस्तरको अभियानमा सुरुदेखि नै काँधमा काँध मिलाएर हिँड्नेहरुमध्ये अग्रसूचीमा नाम लिनेमध्येमा डा गौतम पर्छन्।

एईआरएसएससी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रयोगशाला मान्यता प्राप्त गर्नुका अनेक लाभ छन्। डा जोशीका अनुसार सेवाग्राहीहरुलाई विश्वसनीय परीक्षण, मापन र क्यालिब्रेसन सेवाहरू चिन्न र छनौट गर्न सजिलो हुन्छ। यस्तो मान्यताप्राप्त प्रयोगशालाहरूद्वारा जारी रिपोर्ट विश्वसनीय हुन्छन् र विश्वस्तरमै मान्य हुन्छन्।
उनी भन्छन्, 'प्रयोगशालाहरूले आफ्नो गुणस्तरमा विश्वस्त हुने प्रणाली र प्राविधिक क्षमता कस्तो छ भन्ने बारेमा सुझाव प्राप्त गर्छन्, जसले उनीहरूको सञ्चालन सुधार गर्न मद्दत गर्छ। मान्यता प्राप्त प्रयोगशालामा परीक्षण गरिएकाले अन्य देशमा पुन: परीक्षण जरुरी हुँदैन । जसले समय र लागत दुबैको बचत हुन्छ।'
एईआरएसएससी नेपालको एक मात्र त्यस्तो निकाय हो, जसले ल्याबहरुलाई एक्रिडिटेसन दिने काम गरिरहेको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त यस संस्थाले निष्पक्षता, न्यायोचित, दक्षता र पारदर्शिताका साथ मान्यता प्रदान गर्ने प्रणाली बसाएको छ। 'मान्यता स्विकृति तेस्रो पक्षबाट गरिने प्रक्रिया हो, जसले तोकिएको मूल्याङ्कन विधिमा बसेर उनीहरु त्यसका लागि योग्य भए/नभएको प्रमाणित गर्छ,' डा जोशीले भने।
स्वयंसेवी अभियानको निरन्तरता
गुणस्तर प्रमाणपत्रको अवधारणा नेपालमा प्रवेश गराउने डा जोशी हुन्। त्यसका लागि उनले वातावरण बनाए। संस्था बनाए। तर, त्यसको आवश्यकता भने गुणस्तरीय प्रयोगशाला सेवा दिन चाहने हरेकलाई हुनुपर्ने डा जोशीको मान्यता छ।
त्यसका लागि उनले निरन्तर तालिम, सेमिनार र कार्यक्रम गरिरहेका हुन्छन्। विदेशबाट प्रशिक्षक समेत बोलाएर गरिने तालिमका लागि उनी अतिरिक्त शुल्क लिँदैनन्। उक्त तालिममा सहभागीले आफ्ना लागि आफैं दालभातको जोहो गर्नुपर्छ। 'सादा जीवन' अनुशरण गरेका डा जोशीले यसलाई विशुद्ध अभियान बनाएका कारण त्यसबाट अतिरिक्त लाभको कहिल्यै लोभ गरेनन्।

प्रशिक्षण दिँदै डा थुप्पिल वैंकटेस
कुनैपनि लाभ नलिएर स्वयंसेवा अभियानका रुपमा संस्था चलाएकोमा यो संस्था सदस्य भएका विदेशी संस्थाले प्रश्न गरे। 'नियमित आर्थिक आर्जन प्रणाली नबसाएको र आफूले समेत कुनै लाभ नलिने भएपछि यसको निरन्तरतामा कसरी विश्वस्त हुन सकिन्छ?' उनीहरुको प्रश्न थियो।
डा जोशी भने आफ्नो अभियानको निरन्तरताका लागि निरन्तर सक्रिय छन्। उनको मनोभाव बुझेकाहरुले सघाएका कारण अभियान जारी छ। नेपालमै एउटा यो तहको संस्था निर्माण भएको छ, जसलाई जोगाउनुपर्ने धारणा राख्नेहरु समेत छन्। तर, अहिले कतिपयले गुणस्तरको प्रमाण पत्रमा समेत सहजता खोज्न थालेका छन्। डा जोशीको संस्थाले प्रमाणपत्र प्रदान गर्दा अन्तर्राष्ट्रिय नीति, पद्धति र मान्यता हुबहु लागु गर्छ। पद्धतिअनुसार आफूलाई गुणस्तरीय बनाउने भन्दा पनि गुणस्तर प्रमाण पत्र हासिल गर्ने चाहना भएका प्रयोगशाला सञ्चालक समेत छन्। यस्ता प्रमाणपत्रहरु 'मिलाएर दिन सक्ने' भारतीय 'दोकान'को समेत नेपाल प्रवेश बढ्न थालेको छ। त्यसमा डा जोशी सचेत गराउँछन्, 'दिनेले त टुँडिखेल दान दिन्छु भन्ला, तर दान लिनेले विचार गर्नुपर्छ।'