काठमाडौं- डा. योबिन यादवले नेपाल मेडिकल काउन्सिलको सदस्यमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन्। स्वास्थ्य क्षेत्रको सुधार र काउन्सिलको कार्यशैलीलाई आधुनिक बनाउने उद्देश्यसहित उनले उम्मेदवारी दर्ता गरेको जानकारी दिएका छन्।
डा. यादवले काउन्सिल सदस्य निर्वाचित भएसँगै संस्थाको समग्र विकास र विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरेका छन्। काउन्सिललाई पूर्ण रूपमा पेपरलेस बनाउने, सेवाहरूलाई डिजिटलाइज गर्दै पारदर्शिता बढाउने तथा चिकित्सकहरूको प्रोटोकलअनुसारको अभ्यासको प्रभावकारी अनुगमन गर्ने आफ्नो प्रमुख कार्यसूची रहेको उनले बताए।
उनका अनुसार मेडिकल काउन्सिलजस्तो नियामक निकायले आधुनिक प्रविधि र व्यवस्थापकीय सुधारमार्फत सेवा गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकता छ। 'अब काउन्सिलले समयअनुसार बदलिनुपर्छ, चिकित्सक र सेवाग्राही दुवैलाई सहज बनाउने सुधार आवश्यक छ,' उनले भने।
उनी जनस्वास्थ्य र स्वास्थ्य नीतिका क्षेत्रमा पनि सक्रिय रुपमा काम गर्दै आइरहेका छन्।
काउन्सिलको पुसमा हुने निर्वाचनका लागि उम्मेदवारी प्रक्रिया जारी छ। शुक्रबारदेखि उम्मेदवारी दिने क्रम सुरु भएको हो। आज आइतबार अन्तिम दिनसम्म उम्मेदवारी दिन पाइने छ।
काउन्सिलमा एक उपाध्यक्ष र ८ सदस्यका लागि निर्वाचन हुन लागेको हो।