प्राडा बुद्धि प्रसाद पौडेलको मोबाइलमा मंगलबार अपराह्न साढे ४ बजेतिर प्रधानमन्त्री कार्यालयको नम्बरबाट फोन आयो। उताबाट सिधै सुनियो- बधाई छ डासाब!
धेरै दिनदेखि सुन्न आतुर शब्द थियो तर सुनिसकेपछि भने उनलाई विश्वास लागेन। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपुकुलपतिको प्रतिष्पर्धामा ६ जनाको नाम थियो। सर्च कमिटीले ३ जनाको पठाउनुपर्ने थियो । कमिटीले गोप्य रुपमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पठाएको नाममा प्राडा पौडेलको क्रम संख्या १ मा थियो।
कुलपति ओलीसमक्ष उनीनिकटले उक्त सूची तेर्स्याए। ओलीले सर्रर हेरेर सदाबहार ठट्यौलो पारामा भने- क्रम संख्या १ मै भएकोलाई नियुक्ति पत्र दिए हुने रहेछ त ! सूचीको अन्तिममा भएको कर्णाली भएका अन्य तीन प्रतिष्ठानको सिफारिस सूचीमा हाल उपकुलपति नियुक्त नै पहिलो नम्बरमा थिए। किनकि उनीहरुको नामको पहिलो अक्षर ‘बी’ थियो।
त्यसपछि बजेको थियो प्राडा पौडेलको फोनमा घन्टी। त्यो फोनको घन्टी विस्तार भयो। प्राडा पौडेल उपकुलपति हुनुपर्छ भनेर सक्रियहरु बधाई दिन थाले। प्राडा पौडेललाई खोज्दै उनी भएको ठाउँमा आउन थाले। खादामाला पहिराउन थाले तर उनी आफैं भनिरहेका थिए- बधाई दिन हतार नगरौं । सामाजिक सञ्जालमा त राख्दै नराखौं।
पत्र नपाउन्जेल आफूलाई उपकुलपति मान्न तयार नभएका उनलाई उपकुलपति बनेको हेर्न चाहने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र नै प्रशस्त थिए। उनीहरुले सकेको लबिङ गरे। उनलाई नजिकबाट चिन्ने चिकित्सकहरु थिए, उनीहरुले लबिङ गरे। सत्ताको नेतृत्वमा रहेको नेकपा एमालेमा कार्यरत नेताहरु पनि थिए- उनीहरुले पनि भने- ‘त्यत्तिको बौद्धिक र भलाद्मी’ चिकित्सकलाई उपकुलपति बनाउनुभए हुन्छ प्रधानमन्त्रीज्यू।
यी अनेक संयोगहरु एक भए र यसपल्ट उनी उपकुलपति भए। उनीमा उपकुलपति हुनुको अभिमान किन झल्किएको थिएन भने सफलताको यो उचाइ ‘लिफ्ट’को सहारामा तय गरेका होइनन्। उनी संघर्षका स-साना सिढी चढेर यहाँसम्म आइपुगेका हुन्।
चिकित्सा क्षेत्रको सबैभन्दा भूइँतह सीएमए (अहेव)देखि चिकित्सा शिक्षाको उच्च तहसम्म अध्ययन/अध्यापन हुने संस्थाको नेतृत्वसम्म यात्रा सामान्य संघर्षबाट पूरा हुँदैन।
२०४३ सालमा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत पाल्पाको तानसेनस्थित सीएमए क्याम्पसबाट १२ महिने सीएमए तालिम पूरा गरेका हुन् उनले। त्यसपछि उनी गोरखाको लिगलिग कोटस्थित युनाइटेड मिशन टू नेपालद्वारा सञ्चालित आँपपिपल अस्पतालमा सेवा दिन थाले। त्यहीँ भेट भयो- अमेरिकन चिकित्सक डा. मार्क जिम्मरम्यानसँग।
त्यो भेट प्राडा पौडेलको चिकित्सा-करियरको सबैभन्दा ठूलो घुम्ति थियो। डा जिम्मरम्यानले उनको लगन-खटन र सेवाप्रतिको नियालेपछि भनिरहे- तिमी यतिमै रोकिनुहुँदैन । डा जिम्मरम्यानकै प्रेरणाले प्राडा. पौडेलको मनमा आकांक्षा नयाँ पालुवा पलायो- एकदिन डाक्टर बन्नुपर्छ।’ महत्वाकांक्षा भएर पुग्दैन, त्यसलाई पूरा गर्ने संकल्प चाहिन्छ। उनले संकल्प गरे। त्यहाँ १५ महिना सेवा दिएपछि २०४५ मा महाराजगञ्ज मेडिकल क्याम्पसमा हेल्थ असिस्टेन्ट (एचए) कोर्समा भर्ना हुन आइपुगे। दुई वर्षको अध्ययन पूरा गरेर पुनः आँपपिपल अस्पताल फर्किए र ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिन थाले। त्यतिखेरसम्म डा मार्क पाटन अस्पतालको मेडिकल डाइरेक्टर भइसकेका थिए।
२०५० सालमा एमबिबिएसको प्रवेश परीक्षाको तयारीको क्रममा उनी ललितपुरको मिनभवनस्थित डा जिमरम्यानको आवासमै बसेर उनले तयारी गरे। त्यसक्रममा उनी डा जिम्मरम्यानसँग पाटन अस्पताल आइरहन्थे। भव्य संरचना, व्यवस्थित उपचार प्रणाली, सफा तथा अनुशासित कर्मचारीहरु देख्दा उनलाई लाग्थ्यो- यहाँ काम गर्न पाए त … !
त्यहाँ काम गर्ने अवसरका लागि उनले एमबीबीएस अध्ययन सक्नुपर्थ्यो। एमबीबीएस अध्ययनका लागि उनले प्रवेश परीक्षा पास गर्नुपर्थ्यो। उनी घोटिए। सो वर्षको एमबिबिएस प्रवेश परीक्षामा उनले सयौंको भिडमा दोस्रो स्थानमा नाम निकाल्न सफ भए। महाराजगञ्ज मेडिकल क्याम्पसमा भर्ना भएर बिसं २०५५ मा गोल्डमेडलसहित एमबिबिएस पास गरे।
एक वर्षे इन्टर्नशिपपछि २०५६ सालमा पाटन अस्पतालमा मेडिकल अफिसरका रूपमा कार्य प्रारम्भ गरे। त्योबेलासम्म उनले देखेको त्यो उच्चतम सपना थियो। त्यसैले उनले त्यसअघिको महत्वाकांक्षा बोकेनन्। उनी इमानका साथ लागिपरे। आजको दिनको परिकल्पना उनले गरेका थिएनन्। सेवामा समर्पित भएर लाग्ने स्वभाव, लगन, निरन्तरको मेहनत र इमानदार यात्राको परिणाम उनलाई प्राप्त भयो।
उनले पाटन अस्पताल करिब १८ महिना मेडिकल अफिसरका रुपमा मेडिसिन विभागमा सेवा गरे। त्यसपछि उनलाई इन्टरनल मेडिसिन विषयमै पोस्ट ग्र्याजुयसन गर्नुपर्छ भन्ने लाग्यो र त्यही अनुरुप २०५८ सालमा त्रिभुवन विश्वविद्याल चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जमा एमडी इन्टरनल मेडिसिनमा भर्ना भए। २०६१ सालमा उक्त कोर्स पूरा भयो।। तत्पश्चात २०६१ सालमा इन्टरनल मेडिसिन विभागको रजिष्ट्रार पदमा पाटन अस्पतालको मेडिसिन विभागमा आवद्ध हुन पुगे। प्राडा पौडेल हालसम्म उक्त विभागमै कार्यरत छन्।
बाथरोगमा विशेषज्ञता गर्ने चाहना उनलाई आफ्नै बुवालाई दुख दिएपछि जागेको हो। उनका बुवालाई कडा किसिमको बाथरोग भयो। तर त्यो समयमा नेपालमा बाथरोग विशेषज्ञ (र्र्युमटोलोजिष्ट) थिएनन्। उनलाई लाग्यो- त्यो अभाव मै पूरा गर्छु। त्यसैअनुसार उनले २०६५ सालमा क्यानडाको विश्व प्रसिद्ध युनिभर्सिटी (युनिभर्सिटी अफ टोरन्टो) बाट एडल्ट र्र्युमटोलोजी विषयमा क्लिनिकल फेलोशिप पूरा गरे।
यस अगाडी उनले इटलीको ‘युनिभर्सिटी अफ क्याटानिया’बाट क्लिनिकल इन्डोक्राइनोलोजी बिषयमा पनि क्लिनिकल फेलोशिप पूरा गरिसकेका थिए।
यस अघि उनले २०६२ चैत्रमा इन्टरनेशनल डायबिटिज फेडेरेसनको ‘लाइफ फर चाइल्ड’ कार्यक्रम पहिलोपटक नेपालमा पहिलोपटक भित्र्याए, जसले २५ वर्षमुनिका टाइप १ डायबिटिज भएका बालबालिकालाई निःशुल्क एचबीए१सी जाँच, इन्सुलिन र ग्लुकोमिटर प्रदान गर्छ । पाटन अस्पतालबाट सुरु भएको यस कार्यक्रम हाल देशका विभिन्न अस्पतालमा विस्तार भएको छ, जसले सयौं मधुमेही बालबालिकाको उपचारमा उल्लेखनीय सुधार ल्याएको छ।
स्वदेश फर्केपछि विदेशमा सिकेको ज्ञान उपयोग गर्दै सन् २०१८ देखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपालमै पहिलो दुई वर्षे र्यूमटोलोजी फेलोसिप कार्यक्रम सुरु गरे, जसबाट हालसम्म ६ जना बाथरोग विशेषज्ञ उत्पादन भई देशविदेशका नामुद अस्पतालमा सेवारत छन् भने हालको व्याचमा दुईजना अध्ययनरत छन्।
मेडिकल अफिसरबाट सुरु भएको सेवा यात्रा आज पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको इन्टरनल मेडिसिन विभागको प्रमुख हुँदै उप कुलपतिसम्म पुगेको छ। यो उपलब्धि पछाडि छन्- दशकौंको कठोर परिश्रम, अनगिन्ती अनिँदो रातहरू र बिरामीको सेवा गर्दै बितेका अनगिन्ती घटनाहरु छन्।
रूपन्देहीको एक साधारण किसान परिवारमा जन्मिएका प्राडा पौडेलको उपकुलपतिसम्मको यात्रा चिकित्सा विज्ञानको एउटा आमविद्यार्थीका लागि प्रेरणादायी समेत छ। स्रोत साधनको कमी, व्यक्तिगत कठिनाइ र विभिन्न अवरोध-चुनौतीहरुको उनले कहिल्यै हिसाब राखेनन्।
लाई उनले परिश्रम, दृढता, नैतिकता र ईमानदारीताले पार गरे। आज,उपकुलपति पदमा निर्वाचित हुनु केवल उनको व्यक्तिगत उपलब्धि मात्र होइन,सम्पूर्ण देशकै लागि पनि प्रेरणाको स्रोत हो। उनलाई लाग्छ- एउटा सामान्य परिवेशबाट आएको मान्छे पनि दृढ इच्छा शक्ति, अटुट परिश्रम, ईमान्दारिता र निस्वार्थ सेवा भाव बोकेर अघि बढ्दा पुग्ने गन्तव्य साँच्चे सुन्दर हुने रहेछ।'