काठमाडौं- नेपाल मेडिकल काउन्सिल (एनएमसी)को आसन्न निर्वाचनका लागि उम्मेदवारी प्रक्रिया जारी छ। शुक्रबारदेखि उम्मेदवारी दिने क्रम सुरु भएको हो।
काउन्सिलको सदस्यका लागि डा सम्राट पराजुलीले समेत उम्मेदवारी घोषणा गरेका छन्। लुम्बिनी प्रदेशको 'साझा उम्मेदवार' बन्ने लक्ष्यसहित विभिन्न खेमा-आस्थाका वरिष्ठ चिकित्सको उपस्थितिमा उनले घोषणा गरेका हुन्।
आइतबार उम्मेदावरी दिने उनले बताएका छन्। उम्मेदवारी घोषणा कार्यक्रममा उनले भने, 'गहिरो जिम्मेवारीबोधका साथ म आगामी नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दछु। हामी सबै मिलेर मजबुत, न्यायसंगत र भविष्यमुखी मेडिकल काउन्सिल निर्माण गर्न सकौं।'

उनले आफू कुनै निश्चित आस्था वा विचारबाट भन्दा पनि सबैको साझा उम्मेदवारका रुपमा सदस्यमा उम्मेदवारी दिन गइरहेको बताए। उनले भने, 'आजकै उपस्थितिले पनि धेरै कुरा बताउँछ। निश्चित आस्था र विचार भएकादेखि विशुद्ध पेशामा सक्रिय वरिष्ठ चिकित्सकले मलाई उम्मेदवार बनाउनुभएको छ।'
काउन्सिलको एक उपाध्यक्ष र आठ जना सदस्यका लागि निर्वाचन हुन लागेको हो। कात्तिक ३० गते ४ बजेसम्म उम्मेदवारी दिइसक्नुपर्नेछ। निर्वाचन उपत्यकाबाहिर पुस ४ र ५ गते हुनेछ भने उपत्यकाभित्र पुस ११ र १२ गते हुनेछ।