पर्सा- नेपाल डेन्टल एशोसिएसन (एनडीए) पर्सा शाखा र मेडप्लसको संयुक्त आयोजनामा २०२५ नोभेम्बर १४ मा वीरगन्ज स्थित होटल लर्ड दियालोमा व्यापक कन्टिन्युइङ डेन्टल एजुकेशन (सीडीई) कार्यक्रम सम्पन्न गरिएको छ। दिउँसो ३ बजेदेखि राति १० बजेसम्म सञ्चालन भएको कार्यक्रममा १०० भन्दा बढी दन्त चिकित्सक,विशेषज्ञदन्त चिकित्सक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ता, सम्माननीय अतिथि तथा एनडीए पर्साका नयाँ निर्वाचित पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका मुख्य अतिथि वर्तमान नेपाल डेन्टल एशोसिएसनका केन्द्रीय अध्यक्ष डा. अजय शाह थिए। उनीसँगै विशिष्ट अतिथिका रूपमा नेपाल मेडिकल एशोसिएसन (एनएम) का उपाध्यक्ष डा. निराज सिंह तथा एनएमए पर्सा शाखाका अध्यक्ष डा. मनोज गुप्ता उपस्थित थिए, जसले दन्त–चिकित्सा क्षेत्रको संगठनात्मक एकता र पारस्परिक सहकार्यलाई बलियो बनाएको सहभागीहरूले बताए।
कार्यक्रममा एनडीए पर्साका नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र र सम्मान प्रदान गरिएको थियो। सम्मानित हुनेमा अध्यक्ष धनञ्जय माली, उपाध्यक्ष डा. हरीश कुमार शाह, महासचिव डा. रियाजुल हक, कोषाध्यक्ष डा. बिकास पटेल, संयुक्त सचिव डा. रुद्र प्रताप साह, सदस्यहरू डा. रामप्रकाश रोय, डा. स्वाति रानी गुप्ता, डा. सुर्वी मिश्र, डा. मुकुन्द दाहाल रहेका छन्।
उनीहरूको आगामी कार्यकालमा दन्त स्वास्थ्य प्रवर्द्धनमा सक्रिय भूमिका रहने अपेक्षा गरिरएको छ। 'यस्ता कार्यक्रमले दन्त चिकित्सकको सीप र ज्ञान अद्यावधिक /अपडेट गरिएको हुन्छ,'उपाध्यक्ष डा. शाहले भने। डा शाहले कार्यक्रमको लक्ष्यमाथि प्रकाश पार्दै यस्ता सीडीई कार्यक्रमहरूले दन्त चिकित्सकको सीप, दक्षता र वैज्ञानिक प्रमाण–आधारित ज्ञानलाई निरन्तर अद्यावधिक राख्ने बताए।
उनले थपे, 'दन्त चिकित्सा क्षेत्र अत्यन्त गतिशील छ। विश्वव्यापी रूपमा नयाँ अनुसन्धान, प्रविधि र उपचार पद्धति विकसित भइरहेका छन्। नेपालका चिकित्सकले पनि यिनै परिवर्तनसँग तालमेल राख्न यस्ता कार्यक्रम अपरिहार्य हुन्छन्।'