काठमाडौं - कावासोतीकी ७ वर्षीया श्रेयालाई रुघाखोकी र ज्वरोले सताएको करिब चार दिन भयो। सुरुको केही दिन त सामान्य रुघाखोकी मात्र होला भनी उनको अभिभावकले उपचार सुरु गरेनन्। तर निको हुनुको सट्टा श्रेयालाई ज्वरोले सताउन थालेपछि उपचार सुरु गरेको आमा चन्दा बताउँछिन्।
'स्कुलबाट रुघाखोकी सरेको हो की जस्तो लाग्छ,' उनी भन्छिन्, ‘धेरै बिरामी भएपछि मैले २/३ दिन स्कुल पनि पठाइन। अहिले विस्तारै निको हुँदैछ।’
भरतपुर चितवनकी सन्जुले पनि आफ्नो ५ वर्षीय छोरालाई विद्यालय नपठाएको तीन दिन भयो। रुघाखोकी र ज्वरोले थला परेपछि औषधि खाएर उनको छोरा घरमै आराम गरिरहेका छन्। छोरा मात्र नभई टोलका अन्य धेरैजसो बच्चाहरु पनि रुघाखोकी र ज्वरोको कारण बिरामी भएको उनी बताउँछिन्।
‘चिसोले हो की के हो थाहा छैन। छोरालाई रुघाखोकी र ज्वरो धेरै आएको छ। मेरो छोरा मात्र होइन, अरु बच्चाहरु पनि यता बिरामी रहेछन्’ उनले भनिन्।
चिसोसँगै अहिले रुघाखोकी, ज्वरो आउनु, घाँटी दुख्ने जस्ता भाइरल फ्लुको संक्रमण पनि बढ्दो छ। चिसो मौसममा राइनो, एडिनो जस्ता भाइरस सक्रिय हुने भएकाले बालबालिकाहरुमा भाइरल फ्लुको संक्रमण देखिने गरेको कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डा राजकुमार बिक बताउँछन्।
यस वर्ष मात्र नभई चिसो सुरु हुने समयमा प्रत्येक वर्षजस्तो नै बालबालिकाहरुलाई भाइरल फ्लुले सताउने गरेको उनले बताए।
‘वर्षमा ६ देखि ८ पटकसम्म रुघाखोकी लाग्नु सामान्य मानिएपनि यो समस्या बढ्छ। चिसोमा भाइरसहरु पनि सक्रिय हुने भएकाले बालबालिकाहरु भाइरल फ्लुका कारण धेरै बिरामी पर्छन्,’ उनले भने।
कान्ति बाल अस्पतालको ओपिडीमा हाल दैनिकजसो नै भाइरल फ्लुको समस्या लिएर आउने गरेको उनले बताए। सरसफाईमा ध्यान दिए र चिसोबाट बचाए बालबालिकाहरुमा भाइरल फ्लुको संक्रमण रोक्न सकिने उनी बताउँछन्। भाइरसका कारण यो संक्रमण हुने भएकाले जथाभावी आफुखुशी एन्टीबायोटिकको प्रयोग नगरिदिन अभिभावकलाई उनको आग्रह छ।
उनले भने, ‘यो भाइरसका कारण हुने संक्रमण हो। त्यसैले यसमा एन्टीबायोटिक चलाउनु हुँदैन। विशेषज्ञ चिकित्सकले उपचारपछि दिएको औषधि मात्र प्रयोग गनुपर्छ।’
एक अर्काबाट सजिलैसँग सर्ने भएकाले सरसफाईमा ध्यान दिन, मास्क प्रयोग गर्न र पर्याप्त मात्रामा झोलिलो पदार्थ खान उनी थप सुझाव दिन्छन्। समयमै उपचार नगरे बालबालिकामा कानको संक्रमण हुने, दमको अट्याक, टन्सिल हुने र निमोनियाको जोखिम रहने उनले बताए।
सबै उमेर समूहका व्यक्ति भाइरल फ्लुको जोखिममा रहेपनि बालबालिकाहरु यसको उच्च जोखिममा पर्छन्। रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले बालबालिकाहरुमा संक्रमणको जोखिम सधै उच्च रहने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्।
श्वासप्रश्वासको माध्यमबाट सजिलै संक्रमण सर्ने र फैलिने हुँदा चिसोमा विशेष सतर्कता अपनाउनुपर्ने उनले बताए। उनका अनुसार भाइरल फ्लुको लक्षण १ देखि ३ दिनभित्र देखिने गर्दछ। बालबालिकाहरु एकै समूहमा बस्ने, खेल्ने भएकाले पनि विद्यालयबाट यस किसिमको संक्रमण सजिलैसँग सर्ने गरेको छ। लक्षण देखिना साथ घरमै छुट्टै आइसोलेसनमा राखेर उपचार गरे संक्रमण नफैलने उनले बताए।
उनले भने, ‘चिसोमा भाइरल फ्लु झनै बढ्न सक्छ। त्यसैले यसको लक्षण देखिना साथ तीन दिनजति छुटटै आइसोलेसनमा राख्ने हो भने संक्रमण फैलन पाउँदैन।’
विश्व स्वास्थ्य संगठन डब्लुएचओले यस किसिमको सिजनल भाइरल फ्लुका कारण वर्षेनी एक अर्ब मानिसहरु बिरामी पर्छन्। जसमा ३० देखि ५० लाख गम्भीर खालका हुन्छन्।