इथियोपियामा पहिलो पटक मारबर्ग भाइरस रोग देखा परेको छ। देशको दक्षिणी ओमो प्रदेशमा नौ जनामा संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले औपचारिक रूपमा पहिलो प्रकोप घोषणा गरेको हो। उक्त क्षेत्र दक्षिण सुडानको सिमानामा रहेको र त्यहाँको स्वास्थ्य प्रणाली कमजोर रहेकोले जोखिम अझ बढी रहेको अधिकारीहरूले बताएका छन्।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोसले इथियोपियाको स्वास्थ्य मन्त्रालय र सरोकारवाला निकायहरूको ‘छिटो र पारदर्शी प्रतिक्रिया’ को प्रशंसा गरेका छन्। सामाजिक सञ्जालमा उनले, ‘यसरी तुरुन्तै कदम लिँदा सरकारले प्रकोपलाई चाँडै नियन्त्रणमा ल्याउने प्रतिबद्धता देखाउँछ,’ भनेका छन्।
विश्व स्वास्थ्य संगठनले इथियोपियामा ‘भाइरल ह्यामोरेजिक ज्वरो’ का शंका लागेका बिरामीहरू देखिएको भन्दै जाँच भइरहेको जानकारी दिएको एक दिनपछि प्रकोप पुष्टि भएको हो। मारबर्ग भाइरस इबोला भाइरसकै (फाइलो भाइरस) परिवारमा पर्दछ र धेरै गम्भीर मानिने रोग हो। अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्रले यसलाई ‘दुर्लभ तर अत्यन्तै जोखिमपूर्ण’ रोगको रूपमा वर्णन गरेको छ।
यो भाइरस सामान्यतया इजिप्शियन फ्रुट ब्याट नामक चमेरोबाट उत्पन्न हुने मानिन्छ र संक्रमित व्यक्तिको रगत वा अन्य शारीरिक तरल पदार्थ, वा तिनले छोएका सामग्री (लुगा, ओछ्यान आदि) मार्फत सर्ने गर्छ।
उच्च ज्वरो आउने, छालामा डाबर आउने, र गम्भीर रक्तस्राव हुने जस्ता लक्षणहरू यो रोग लाग्दा देखिन्छन्। अहिलेसम्म प्रभावकारी उपचार वा खोप उपलब्ध छैन, उपचार मुख्यतः सहायक सेवा-आराम, तरल पदार्थ, र लक्षणअनुसारको व्यवस्थापनमा निर्भर रहन्छ।
अफ्रिका अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्रका महानिर्देशक जीन कासेयाले दक्षिण सुडान नजिकै भएकाले जोखिम बढी रहेको उल्लेख गर्दै ध्यान दिनुपर्ने बताए।
विश्व स्वास्थ्य संगठनले इथियोपियालाई प्रकोप नियन्त्रण, संक्रमितहरूको उपचार, र सीमा क्षेत्रमा रोग सर्न नदिन सहकार्य गरिरहेको जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण भेटिएका व्यक्तिहरूलाई छुट्टै राखेर उपचार भइरहेको छ। सम्भावित सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान तथा समुदायस्तरमा स्क्रिनिङ र जनचेतना अभिवृद्धि कार्यक्रम पनि सुरु गरिएको मन्त्रालयले जानकारी गराएको छ।
मन्त्रालयले सर्वसाधारणलाई नआत्तिन, स्वास्थ्यसम्बन्धी निर्देशन पालना गर्न र कुनै लक्षण देखिएमा तुरुन्त स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको छ।