काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्स लगायत स्वास्थ्यकर्मीहरुको सेवा सुविधा सम्बन्धमा गठन गरेको कार्यदलमा सात सदस्य थप गरेको छ।
कार्तिक २१ गते बसेको मन्त्रालयको बैठकले विभिन्न पेशागत संघ संगठन तथा समाजको तर्फबाट सात सदस्य थप गर्ने निर्णय गरेको हो। निजी तथा सामुदायिक स्वास्थ्य संस्था एवं शिक्षण अस्पतालहरुमा कार्यरत नर्सिङ स्वास्थ्यकर्मीहरुको सेवा सुविधा सम्बन्धी प्रतिवेदन पेश गर्न यो कार्यदल गठन गरिएको थियो।
नेपाल मेडिकल एशोसिएसनका महासचिव डा सन्जिव तिवारी, नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एशोसिएसनका अध्यक्ष माइकल देवकोटा, नेपाल फर्मास्युटिकल्स एशोसिएसनका अध्यक्ष ललित मोहन पन्त, नेपाल पब्लिक हेल्थ एशोसिएसनका कार्यवाहक अध्यक्ष तेजप्रसाद दुलाल कार्यदलमा रहेका छन्।
यस्तै, नेपाल रेडियोलोजीकल सोसाइटीका अध्यक्ष मुकेश कुमार झा, मेडिकल ल्याबोरेटरी अफ नेपालका अध्यक्ष राजेन्द्र खड्का र हेल्थ असिस्टेन्ट संघ नेपालका अध्यक्ष दाताराम अधिकारी सदस्यका रुपमा थप गरिएको मन्त्रालयले जनाएको छ।
न्यूनतम पारिश्रमिक तथा सेवा सुविधाको माग राखी नर्सहरु आन्दोलनमा उत्रिएका बेला मन्त्रालयले कार्तिक २ गते उक्त कार्यदल गठन गरेको थियो। आन्दोलित नर्सहरुको माग सम्बन्धमा सहजीकरण गर्नुका साथै अल्पकालीन एवं दीर्घकालीन सुझाव सहितको कार्यान्वयन प्रतिवेदन गर्नुपर्ने जिम्मेवारी यो कार्यदललाई दिइएको छ।