यस वर्षको स्वास्थ्य खबर हेल्थ अवार्ड अन्तर्गत उत्कृष्ट स्वास्थ्य अभियान्ताको अवार्ड उज्ज्वल विक्रम थापाले पाएका छन्।
उज्ज्वल विक्रम थापा जलनबारे सचेतना फैलाउन विभिन्न स्कुल-समुदायमा पुग्छन् । त्यसक्रममा उनले सोध्ने साझा प्रश्न हुन्छ- तपाईंले जलनको अनुभव गर्नुभएको छ? आफ्नो अनुभूति सुनाउन तँछाडमछाड गर्ने भीडले जम्मा दुईटा घटना सुनाउँछन्- तरकारी/अन्डा फ्राइ गर्दा उछिट्टिएको तेलले हात चसक्क पारेको र तातो कराइ समात्दा डामेको।
त्यसैले उज्ज्वल अचेल कसैले जलनबारे कुरा गरौं भन्ने प्रस्ताव गर्यो भने किर्तीपुर अस्पतालमा बोलाउँछन्, ताकि त्यसबारे कुरा गर्ने जलनको अर्थ भित्रैबाट महशुस गरोस्। कान्ति अस्पतालमा झन्डै २२ वर्षअघि त्यो दृष्य नेदेखेको भए उनी आफैंले पनि यति गहिरोगरी कहाँ महशुस गर्थे र?
त्यो दिन सम्झिन्छन्, ‘एकदिन अर्कै बिरामी भेट्न कान्ति अस्पताल पुगेको थिएँ। त्यहाँ एउटा झुलले छोपिएको केही थियो। उनले सोधे, ‘के भयो?’ जब झुल उठाइयो, उज्ज्वलले जे देखे- त्यो यहाँ वर्णन गर्न सक्दैनन्। समाजसेवा त गरिरहेकै थिए। त्यही घटनाले उनलाई जलनमा केन्द्रीत गरायो। उनलाई लाग्यो, ‘जलनको पीडा, जसले शारीरिक मात्र नभई मानसिक तहमा पनि मानव जीवनलाई पीडा दिन्छ।‘
उनले त्यसपछि निरन्तर जलन पीडितलाई सहयोग गरिरहे। भूकम्प आयो। आफ्नै बलबुतामा ५०० भन्दा बढीलाई राहत दिए। उपचार गराए। तर, उनी यी सवैकुरा चुपचाप गरिरहेका थिए। नेपालीमा एउटा उखान छ- दायाँ हातले दिएको, बायाँ हातलाई समेत थाहा नहोस्। उनले सहयोग ‘गर्ने कुरा हो, भन्ने कुरा होइन’ भन्ने मान्यता पछ्याइरहे। त्यो उनले आफ्नै सेवी बुवाको प्रेरणाबाट आत्मसाथ गरेका थिए।

तेजाव आक्रमण : एउटा अर्को मोड
त्यही क्रममा उनको उनको जीवनमा फेरि मोड आयो। एसएलसी दिने तयारीमा रहेका दुई किशोरी सीमा बस्नेत र संगीता मगरमाथि भएको एसिड आक्रमण। उनी अन्य बिरामीको उपचार सहयोग गर्न वीर अस्पताल पुगेका बेला उनले घाइते ती किशोरीलाई देखे । संगीताको शरीरको ठूलो हिस्सा पग्लेको थियो। सीमा बस्नेतलाई केही कम लागेको थियो। संगीताको त्यहाँ उपचार सम्भव भएन। त्यसपछि काठमाडौं मेडिकल कलेज पुर्याएर उपचारको प्रबन्ध मिलाए। त्यसैगरी तत्कालीन गृहमन्त्री बामदेव गौतमलाई भेटेर सीमालाई अस्पतालबाटै एसएलसी परीक्षा दिने व्यवस्था मिलाए।
उज्ज्वल एक विज्ञानको विद्यार्थी भएकाले एसिडका रासायनिक प्रभावबारे केही जान्दथे। ‘म तेजाबबाट ल्याबमा हुने दुर्घटना बारे सुन्थेँ। तर मान्छेमाथि यो अपराधले गर्दा शरीर पग्लिन सक्छ भन्ने कुरा पहिलोपटक त्यतिबेला थाहा पाएँ। तेजावले मान्छेलाई जलाउँदैन, पगाल्छ,’ उज्ज्वलले भने।
त्यही क्रममा संगीता मगरले एसिड छ्याप्नेबिरुद्ध मुद्दा दायर गरिन्। तर कानुनमा ‘तेजाव आक्रमण’ शब्दसमेत थिएन। उज्ज्वलले महसुस गरे- नेपालमा जलन पीडितको लागि कानुन नै थिएन। त्यहीँबाट सुरु भयो, तेजाव पीडितका लागि न्याय दिलाउने यात्रा । संगीताको केसमा अदालतले ५० हजार जस्तो जरिवाना र ३ वर्ष जति कैद फैसला गर्यो। जबकी तेजाव आक्रमण भएपछि पहिलो चरणको उपचार नै १२-१५ लाख घटी नहुने थापा बताउँछन्। संगीताको उपचार उपचारका लागि आवश्यक रकम जोहो गर्न पनि उनी सक्रिय भए।
उनी त्यसपछि लागे, सरकारले नै यसको उपचारको ग्यारेन्टी गर्नुपर्छ भनेर । प्रशासन, अदालत, महिला आयोग पुग्न थालें र सिंहदरबार धाए। प्रधानमन्त्री केपी शर्मा ओली भएको समयमा एउटा पत्रकारले अन्तर्वार्ता गरे। जुन तत्कालीन महान्याधिवक्ता अग्नि खरेलले हेर्न पुगेछन्।
त्यसपछि तेजाव आक्रमणका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने मेसो मिल्यो। अग्नि खरेलको नेतृत्वमा ड्राफ्ट भयो र अध्यादेश आयो। अध्यादेशमार्फत तेजाब हान्नेलाई सजाय सम्बन्धीको मुलुकी अपराध संहिता २०७४ को व्यवस्था संशोधन गरेर २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवसथा गरियो।
तेजाव आक्रमण गर्नेलाई मात्रै होइन, जथाभावी विक्रीवितरण गर्ने पनि कानुनी सजायको भागिदार हुने अवस्था बन्यो। जसका कारण तेजाव आक्रमण नियन्त्रणमा आएको थापा बताउँछन्। केही दिनअघि गोवा कन्फ्रेन्समा गएका थिए। जहाँ उनले विश्वकै अग्रणी कानुन नेपालमा बनेको बताउँदै भने, ‘तीन वर्षदेखि तेजाव आक्रमण शून्यमा झारिएको छ।‘ उनी यहाँनेर दुईटा कुरा क्लियर गर्न चाहन्छन्- पहिलो यो महिलामाथि मात्रै हुँदैन । भोग्नेमा ७२ प्रतिशत पुरुष हुन्छन्। दोस्रो, गरिबीले ल्याएको अपराध होइन, धनीमा देशमा गनिने इग्ल्यान्डमा धेरै छ।‘
पिताको प्रेरणाले समाजसेवा
पुर्ख्यौली सिन्धुली भएका थापा काठमाडौंमै जन्मेहुर्के । तर, काठमाडौंमा रहेको उनको घर गाउँबाट आएका आफन्त र सहयोगापेक्षीले कहिल्यै खाली भएन। उनी भन्छन्, 'अहिले पो काठमाडौंमा बास जता पनि पाइन्छ। सल्लाह जसले पनि दिन्छ । त्योबेला सम्भव थिएन । त्यसैले हाम्रो घर खोज्दै आउनुहुन्थ्यो।'
काठमाडौंमा उपचारका लागि आएका उनीहरुलाई सम्बन्धित अस्पताल पुर्याएर उपचार गराउने काम थापाको हुन्थ्यो। उनका पिताले सम्झाइरहन्थे- 'तिमी पढे-लेखेको छौ थाहा छ, यिनीहरु जान्दैनन्। सघाउनुपर्छ।'
सेन्ट जेभियर र नैनितालको एक स्कुल फढेका उनको विदाका धेरै समय कहिले कान्ति र कहिले वीर अस्पतालको चक्कर लगाउँदै कटेका छन्। सामाजिक क्षेत्रमा योगदान गर्ने तर चुप बस्ने उनका पिताले गाउँमा पनि सहयोग गरेका थिए। थापा भन्छन्, 'सिन्धुली बहुमुखी क्याम्पस २०३९ सालमा मेरो बुवाले १ लाख २० हजार धरौटी राखेर खुल्यो । त्यो कालखण्ड नै त्यस्तै थियो। जसले सक्छ, त्यसले गाउँका लागि गर्ने हो।'
त्यो सहयोग र पिताको धाप
सहयोगले ठूलो अर्थ राख्ने कुरा आफैंले पनि सानैमा महशुस गर्न पाए। उनी सानै थिए, साथीहरुसँग न्युरोड घुम्न जान खोजे। त्यहीबेला उनका पिताले बिजुली बिल समेत तिरेर आउन भन्दै बिल र १०० रुपैयाँ थमाएर पठाए।
उनी सम्झिन्छन्, 'न्युरोड घुमेर फर्किदै थियौं। न्युरोड अगाडि औषधि किन्ने पैसा नभएको भन्दै एक महिला रोएर मागिरहेको देखें। त्यसपछि मैले आफ्नो सय रुपैयाँ झिकें र त्यहाँ वरपर उभिएकासँग थप पैसा मागेर उनलाई दिएर घर आएँ।' उनका पिताले बिजुलीको बिलबारे खोजीनिधो गरे। उनले वीर अस्पतालको घटना दुरुस्तै बताइदिए। त्यसपछि उनका पिताले मोटरसाइकलमा राखेर उनले वीर पुर्याए। बुवाछोरा ती महिला खोज्दै वार्डतिर लागे। वार्डमा उज्जल पुग्नेवित्तिकै ती महिलाले श्रद्धाले नमस्कार गरिन् र औषधि किनेको जानकारी गराइन्। उनका पिताले काँधमा धाप मारे।
कोषमा २० रुपैयाँ र एकछाक खाने परिवार
जलन पीडितको आडमा उभिने अभियानमा लागेपछि उज्ज्वलले धेरै संघर्ष गर्नुपरेको छ। धेरै भोग्नुपरेको छ। उनी भन्छन्- 'त्यसको बदलामा मैले देशभर आफन्त प्राप्त गरेको छु। अरु भन्दिनँ म झाला भिरेर देश घुम्न हिँडे भने खान र बस्नको पीर हुँदैन।'
सवैभन्दा दु:खको समयमा भरोसा दिलाउन उभिएको मान्छेलाई हत्तपत्त नबिर्सिने उनी बताउँछन्। त्यसैले उनलाई देशभरीबाट निम्तो आइरहन्छ निको भएकाबाट। जलेकाहरुका तर्फबाट निकटस्थ, डाक्टर र अन्य सामाजिक व्यक्तिको फोन आइरहन्छ। सबैभन्दा गरिब मान्छेले भोग्नुपर्ने यो सबैभन्दा महंगोमा उपचारका लागि राज्यले अपेक्षित प्राथमिकता दिन सकेको छैन। त्यसकारण जलन उपचार कोष बनाइएको छ। जसको उज्ज्वल सामाजिक सञ्जाल र व्यक्तिगत चिनापर्ची मार्फत् सहयता मागिरहन्छन्। उनले दाताको सूची पल्टाउँदा भेटे, रु २० । धन नभएको तर मन भएको व्यक्तिले त्यो रकम पठाएका होलान्। उनले त्यसलाई ठूलो आशिर्वादका रुपमा ग्रहण गरेको बताउँछन्। उनी थप्छन्, 'त्यो सहयोगको सूचीमा अर्बपति-खर्बपति छैनन्।'
उनी अभियानमा लागेपछि जीवन-बोध गरेका छन्। 'हामी रेस्टुरेन्टमा जाँदा मेन्युमा के खाने टुंगो लगाउन सक्दैनौ तर एकछाक खाएर खुशी हुनेहरु छन्। एउटा केरा दिँदा उधुम खुशी हुनेहरु छन्,' उनले भने, 'यसले मेरो जीवनबाट गुनासोहरु हराए।'
एउटा घटना छ, किर्तीपुर अस्पतालको । जसको सन्तान जलेर बाआमा नै उपचार गर्न आएका थिए। आर्थिक अभावमा रहेको दम्पत्तीको छोराको उपचारको कुरा त परको भयो, खाना खाने पैसा थिएन। त्यसैले क्यान्टिनमा उनीहरु दुईजनालाई आफूले तिर्नेगरी खान दिन भने उज्ज्वलले। जब उज्ज्वलले उनीहरुको खानाको बिल देखे- चकित परे। दुईजनाले दुई छाक खाँदा ४ वटा खाना हुनुपर्ने तर हरेक दिनको बिलमा जम्मा दुईटा खाना थियो। उनले सोधे, 'मैले त दुवैजनालाई खाना भनिदिएको थिएँ। एउटाले मात्रै खानुभएछ।' ती दम्पत्तिका तर्फबाट जवाफ थियो- हामी दुवैले खायौं तर एकछाक खायौं। घरमा पनि खान पुग्ने एकछाक नै हो। निशुल्क पायौं भनेर किन दुई छा खानु?' यस्तै निश्चछल स्वभाव भएकाहरु भेट्छन् र उनी अभियानमा लाग्नुको अर्थबोध गर्छन्।
प्राप्ति : सम्बन्ध, भरोसा र खुशी
उनलाई प्रश्न आइरहन्छ- यता लागेर के प्राप्ति भयो? भन्नका लागि अहिले उनीसँग धेरथोक छन्। तर, उनी छोटोमा टुंग्याउँछन्- सम्बन्धऽ भरोसा र खुशी जलन अस्पतालबाट सिकेको हो।'
उनी प्रश्न गर्छन्- कुनचाहिँ ठूलो र व्यक्ति छ, जसले एक प्वाइएन्ट रगत दिएको छ ? चाहियो भने उहाँहरुले सोर्सफोर्स लगाएर पनि लिने, तर नदिने उहाँहरुको स्वभाव छ।' देशका गरिबका रगतले बाँचिरहेको कुरा उनी स्मरण गराउन चाहन्छन्। भन्छन्, 'रगत त उहाँहरुले दिनुपर्थ्यो । खानपान सही छ । जीवनशैली सही छ। स्वस्थ उहाँहरु हुनुहुन्छ।'
उनको अनुभव छ, ‘एउटा गरिब आफन्तका लागि आफूसँग भएको सबचीज लगाएर महिनौं अस्पतालमा बिताउँछ। कुनै गुनासो गर्दैन। उसले भनिरहन्छ- निको भइदेओस्। एउटा धनी, जो बाउले किनेको घर, उसको सम्पत्तिको कार र बाउकै सवथोकमा रमाएको छ । ऊ दुई दिन अस्पताल बस्न पर्दा बाउलाई सराप्छ।'
रोगमा पनि वर्गविभेद गरिएको उनी बताउँछन्। गरिबहरुले धेरै बेहोर्ने समस्या भएका कारण सहुलियतमा नसमेटिएको उनको भनाइ छ। उनी थप्छन्, 'नीति निर्मातालाई पनि पनि पर्ने ८ वटा रोगमा सहुलियत छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले ९ बनाउने बताउनुभयो। तर भएन।' यसपल्ट अर्थमन्त्री विष्णु पौडेल पनि जले, त्यसकारण उनले पीडा बुझेर बजेटमा राख्ने अपेक्षा उज्ज्वलहरुको थियो तर अपेक्षित प्रगति भएन।