फिचर

‘एम्बुलेन्स चालकहरु कोरोना संक्रमित बोक्नुपर्ला भनेर मोबाइल बन्द गरेर बस्थे’

श्रीमान्–श्रीमती नै फ्रन्टलाइनर

काठमाडौं– कोरोना संक्रमण फैलिन थालेको सुरुवाती चरणमा सबैभन्दा बढी चर्चा बाँकेको नरैनापुरको भयो। कोरोनाको डरले मानवीयता नै झन्डैझन्डै हराएको आभास हुन थालेको थियो त्यो बेला। नरैनापुरमा त्यही झल्को देखिएको थियो।

त्यतिबेला नरैनापुरका एक २५ वर्षे युवाले समयमा उपचार पाउन नसक्दा ज्यान गुमाएका थिए। त्यही कुराले आज पनि पोलिरहन्छ स्वास्थ्य कार्यालय बाँकेका कोभिड–१९ फोकल पर्सन नरेश श्रेष्ठलाई। भन्छन्, ‘कति रात सुत्न सकिनँ। समयमा उपचार गर्न सकेको भए ती बिरामी बाँच्थे जस्तो लाग्छ।’

ती युवालाई आवश्यक परेको समयमा एम्बुलेन्समार्फत नेपालगञ्जमा ल्याउन सकिएको भए सायद आज स्थिति फरक हुन पनि सक्थ्यो। श्रेष्ठलाई त्यस्तै लाग्छ।

जनस्वास्थ्य अधिकृत श्रेष्ठ कोरोना संक्रमण सुरु भएदेखि नै बाँकेमा कोरोना नियन्त्रण र रोकथामका काममा खटिएका फ्रन्टलाइनर हुन्।

नरैनापुरको घटना सम्झँदै श्रेष्ठ भन्छन्, ‘त्यसबेला शव व्यवस्थापन गरेको कुरा सम्झँदा अहिले पनि अप्ठ्यारो लाग्छ। एम्बुलेन्सले संक्रमित बोक्न पनि नमान्ने, शव छुन त झन् परको कुरा। निकै भयाभह स्थिति थियो।’

जब जेठको २ गते बाँकेमा पहिलो कोरोना संक्रमितको मृत्यु भयो। संक्रमितको शव व्यवस्थापन गर्न निकै समस्या भएको थियो। 

श्रेष्ठ भन्छन्, ‘सबै जना शव नजिक जानै नै डराउने। परिवारका सदस्य नजिक जान डराउने। कोरोना भाइरसको भय नै त्यस्तो थियो।’ उक्त डरबीच डोजरले खाल्डो खनेर डोजरले नै शव उठाएर व्यवस्थापन गरिएको थियो।

शव व्यवस्थापन मात्र होइन, भारतबाट दिनहुँ सयौँको संख्यामा आउने मानिसलाई क्वारेन्टाइन राख्ने काम पनि कम चुनौतीपूर्ण थिएन। नरैनापुरमा क्वारेन्टाइन व्यवस्थापनका लागि कयौँ दिन नसुतेरै काममा खटिएका छन् उनी। यही व्यस्तता अहिले पनि जारी छ।

बाँकेको नरैनापुरमा कोरोना संक्रमणले आतंक फैलाउँदा त्यहाँको कोरोना नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मीको पनि निद्रा उडेको थियो।

त्यहाँको व्यवस्थापन पक्षले कमजोरी गरेको भन्दै आलोचना नै भयो। तर त्यो समयमा खटिने बाँकेका स्वास्थ्यकर्मीहरुले हरसम्भव प्रयास गरिरहेका थिए। त्यसमा रातभर खटिएका थिए श्रेष्ठ। 

कोरोना संक्रमण नियन्त्रण, रोकथाम, उपचार र व्यवस्थापनमा खटिँदा श्रेष्ठले कस्तो अनुभव गरे त? उनकै शब्दमा :

बाँके जिल्लाबाट फागुनको १७ गते ३ जनाको कोरोना परीक्षणका लागि पहिलो पटक नमुना जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो। सो समयमा टेकुमा मात्र कोरोना परीक्षण हुने गथ्र्यो। त्यसपछि पनि २, ३ दिनको फरकमा नमुना पठाइरहेको थियो।

सबैभन्दा क्रिटिकल समय
बाँकेमा केही सम्भावित केसहरु थिए। तर हामीले लकडाउनबारे पहिला सोचेनाँै। हाम्रो तयारी पनि जनचेतनामै बढी केन्द्रित थियो। दुई, तीन दिनको फरकमा हामीले केही सम्भावित व्यक्तिको नमुना संकलन गरी टेकुमा परीक्षणका लागि पठाइरहेका थियौँ। 

तर, चैत १० गते लकडाउन भयो, त्यो समयमा हामीलाई नमुना पठाउन समस्या भयो। किनभने, सबैखाले यातायातका साधन बन्द भए। हामीले लकडाउन अघि कसरी नमुना पठाउने लकडाउनपछि भन्नेबारे तयारी गर्न सकेनाँै। त्यो समय मलाई निकै क्रिटिकल लाग्छ।

हामीले नमुना संकलन गरेर राख्यौँ तर पठाउने कसरी? हाम्रो म्यानेजमेन्ट पक्षले पहिले यो कुरा सोच्न नकेन। जसको कारण समस्या भयो।

चैत ११ देखि १६ गतेसम्म संकलित नमुना होल्ड भएर बस्यो। यो समय हामीलाई कसरी नमुना काठमाडौं पठाउने भन्ने को–अर्डिनेसन गर्नमै बित्यो। त्यसबीच चैत १७ गते पहिलो पटक स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा ७ नमुना लिएर प्लेनबाट पठाइयो। त्यतिबेलासम्म सबै नमुना नेगेटिभ आएको थियो। 

त्यसपछि हामीले बाँके र वरपरका जिल्लामा समेत नमुना संकलित गरी नेपालगञ्जबाट टेकु पठाउन थाल्यौँ। त्यो समयसम्म कुनै पोजिटिभ केस नदेखिए पनि समस्या भने निकै थियो।

भिटिएम सुन जस्तो थियो
त्यो समय भिटिएम त सुन जस्तो थियो। एउटा, दुई वटा भिटिएम पाउनु पनि ठूलो कुरा थियो। म सात वटा भिटिएम लिन दाङ पुगेको थिएँ। भिटिएम नै नपाइने। दाङबाट ल्याएर नमुना संकलन गरी प्लेनबाट काठमाडौं पठायौँ। सबै नमुना नेगेटिभ आयो।

केस नदेखिए पनि हामीले तयारी भने बढायौँ। परीक्षण पनि बढायौँ। हामीले बाँकेमा धार्मिक सद्भाव पनि कायम रहोस भन्ने हेतुले बाँकेका सबै धर्मगुरुहरुसँग छलफल र समन्वय गरी सबै धार्मिक स्थलहरुमा परीक्षण गर्ने काम गर्‍यौं।

वैशाखको १९ गते बाँकेमा ६० वर्षे वृद्धमा कोरोना पोजिटिभ आयो। पहिलो पटक भएकोले त्यो बेला वातावरण पूरै सुनसान थियो। 

हामीले त्यसको ४५ दिनअघि भारतबाट आएका मानिसहरुलाई महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइमा राखेका थियौँ। त्यसबाट ५०० जना भागेका थिए। उहाँ पनि त्यहाँबाट भाग्नुभएको रहेछ।

हामीले खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा आइसोलेसन स्थापन गरिसकेका थियौँ।

उहाँलाई भेरी अस्पतालका निर्देशक डा प्रकाश थापा, म र एक जना प्रहरी भएर आइसोलेसनमा लिएर गएका थियौँ।

त्यसै दिन राति नै ११५ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्‍यौँं। र, भोलि पल्ट उक्त एरिया सिल गर्‍याँै। ती ११५ जनाको परीक्षण गर्दा २६ जनाको पोजिटिभ आएको थियो। उहाँ घरघरमा ट्युसन पढाउने भएकाले धेरैमा संक्रमण सरेको थियो। उहाँको परिवारका कुनै सदस्यलाई भने संक्रमण पोजिटिभ देखिएन। त्यसपछि केसहरु बढ्दै गए।

तर, अहिले पनि ती ६० वर्षे वृद्ध नै पहिले केस हो कि होइन भन्ने कुरामा क्लियर छैनौँ। इपिडिमियोलोजीको भाषामा इन्डेक्स केस भन्छ। विश्व स्वास्थ्य संगठनको टिम पनि आएको थियो।

नरैनापुरको घटना
मिडियामा नरैनापुरमा भारतबाट आउनेको संख्या बढेको छ भन्ने समाचारहरु आउन थाले। हामीलाई पनि सो रिपोर्ट आएपछि नरैनापुरमा केन्द्रित भयौँ।

वैशाख २९ गते नमुना संकलन गरी परीक्षण गर्न थालिएको हो। जेठको १ गतेबाट पोजिटिभ रिपोर्ट आउन सुरु भयो। पहिलो लटमै ४७ जना, त्यस दिन साँझ अर्को लटमा १२ जना गरी एकै दिनमा ५९ जनामा पोजिटिभ देखियो।

यो समयमा कहाँ राख्ने, कसरी व्यवस्थापन गर्ने निकै गाह्रो भयो। एक त हरेक पटक नरैनापुरमा केस देखिएपछि आइसोलेसनमा ल्याउँदा हरेक पटक सुरक्षाकर्मी अघि लगाएर ल्याउनुपथ्र्यो।

धेरै संक्रमित लक्षण नभएका हुनाले मलाई केही भएको छैन भनेर आइसोलेसनमा बस्न जान नमान्ने स्थिति थियो।

त्यसअघि, त्यस्तो यति धेरै केस कहीँ देखिएको थिएन। यहाँ देखिएपछि हामीलाई आइसोलेसनका कुरामा निकै समस्या परेको थियो। हामीसँग भएको बेड क्षमता नेपालगञ्ज कै पहिलो केसबाट आएका पोजिटिभ केसले भरिएको थियो। नरैनापुरको कहाँ राख्ने भन्ने भयो।

नरैनापुरमा यति धेरै संख्यामा केस देखिएपछि कसरी व्यवस्थापन गर्ने, कहाँ राख्ने भन्ने कुरामा निकै अलमल भयो। उहाँहरुलाई व्यवस्थापन गर्नै २, ३ दिन लाग्यो। कोहलपुरको पिपरीमा राख्ने कुरा गर्दा पनि त्यहाँका जनताले विरोध गर्ने, टायर बाल्ने जस्ता गतिविधि भयो।

तेस्रो दिन सुरुक्षाकर्मी नै प्रयोग गरी हामीले ती संक्रमितलाई पिपरीमा राख्यौँ। त्यसपछि  भने हामीले पर्याप्त आइसोलेसनको व्यवस्थापन गरेपछि समस्या भएन।

त्यहाँ ९०० जनाको पिसिआर भयो। तीमध्ये १०८ जना पोजिटिभ आयो। अहिले पनि नरैनापुरमा र्‍यान्डम्ली परीक्षण भइरहेको छ। पोजिटिभ केस निकै कम छ अहिले।

स्थानीय पालिकाको सहयोग धेरै छ
मलाई लाग्छ, कोरोना नियन्त्रण गर्ने र व्यवस्थापन गर्ने कार्यमा स्थानीय पालिकाको धेरै लगानी भएको जिल्ला बाँके नै होला।

हामीलाई आइसोलेसन स्थापना गर्नका लागि संघ र प्रदेशबाट आर्थिक सहयोग नभइरहेको अवस्थामा बाँकेका आठै वटा पालिकाले १ करोड ३० लाख रुपैयाँ आइसोलेसन व्यवस्थापनका लागि उठाएर दिनुभयो। जिल्ला समन्वय समितिले समेत दिएको छ। 

अहिले पनि ९९ लाख रुपैयाँ थप भेरी अस्पतालमा आइसियु, भेन्टिलेटर सहित ७० बेड स्थापनाका लागि पालिकाले दिएको छ।

नत्र हामीलाई निकै समस्या हुन्थ्यो। आइसोलेसनमा बसेका एक संक्रमितलाई खाना खुवाउन मात्र ६०० रुपैयाँ लाग्थ्यो। अहिले पो होम आइसोलेसनको कुरा आयो। हामीले सकेसम्म होम आइसोलेसनमा नजाऔँं भनेर निकै ढिला मात्र त्यो कार्यान्वयन गरेका थियौँ।

हरेक पालिका नै आइसोलेसन सेन्टरहरु समेत स्थापना भए। त्यसपछि हामीलाई संक्रमित राख्न समस्या भएन।
अहिले होम आइसोलेसनको निगरानी गर्ने जिम्मा पालिकालाई दिएका छाँै। उहाँले होम आइसोलेसनमा बसेका संक्रमितको बारेमा हामीलाई जानकारी गराउनुहुन्छ।

एम्बुलेन्सले बिरामी बोक्नै नमान्ने
त्यो समयमा एम्बुलेन्सले बिरामी बोक्नै नमान्ने। अहिले पनि कुनै संक्रमितको मृत्यु भयो भने शव व्यवस्थापन गर्दा छिटो उपचार गर्न पाएको भए बाँच्थ्यो होला जस्तो लाग्छ।

सबै एम्बुलेन्स चालकले फोन अफ गरेर बस्दा बिरामीलाई समयमा अस्पताल पुर्‍याउन नसकेर मृत्यु भएको छ।

एक पटक एउटा बिरामीलाई आधा घन्टा ढिलो अस्पताल पुर्‍याउँदा मृत्यु भएको छ। मलाई त्यो कुराले निकै ग्लानी हुन्छ। एम्बुलेन्सले बिरामी बोक्न नमान्ने, फोन अफ गर्ने भएपछि जिल्ला कोभिड–१९ व्यवस्थापन समितिले डेडिकेकेट एम्बुलेन्स राखेका छौँ। पालिकाहरुको पनि आफ्नै एम्बुलेन्स छ।

No description available.

हामी श्रीमान्–श्रीमती नै फ्रन्टलाइनर हौं 
मलाई कोरोना संक्रमणको त्यति डर लागेन। मेरी श्रीमती पनि स्टाफ नर्स हुन्। भेरी अस्पतालमा कार्यरत छिन्। दुवै स्वास्थ्यकर्मी भएकाले जुनसुकै अवस्थामा पनि सेवा गर्न छोड्नुहुन्न भन्ने सोच्छौँं।

त्यसैले परिवारमा कसैलाई संक्रमण नहोस। हामीबाट नसरोस् भनेर समय समयमा परिवारका सदस्यको क्रसचेक परी परिक्षण गराउँछु। सानो छोरा छ। आफूभन्दा पनि परिवारका सदस्यलाई केही नहोस भन्ने मनमा लाग्दो रहेछ।

बाँकेमा कोभिड व्यवस्थापनमा मेरो नाम मिडियाहरुमा सुन्न थालेपछि परिवारका सदस्य पनि खुसी छन्। राम्रो काममा खटिएको भनेर प्रोत्साहन गर्नुहुन्छ। 

बाहिरी ठेगाना लेखिएका केस समुदायमा छन्
पछिल्लो समय समुदायमा पोजेटिभ आएका मानिस पत्ता लगाउन समस्या भएको छ। प्रयोगशालामा परीक्षण भई पोजेटिभ रिपोर्ट आएका व्यक्तिहरुले बाहिरको ठेगाना लेख्ने तर उनीहरु बाँके जिल्लामै बस्ने कारण पत्ता लगाउन समस्या हुन्छ।

मलाई बाँकेका तीन वटा प्रयोगशालाको पोजिटिभ रिपोर्टको सूची आउँछ। बाहिरको ठेगाना भएपछि मैले ती जिल्लाका फोकल पर्सनलाई रिपोर्ट पठाउँछु। उहाँहरुले त्यहाँ खोज्दा केस हुँदैन। मलाई फोन गरेर हाम्रो जिल्लामा त केस छैन भन्नुहुन्छ। हामीले यहाँ खोज्दा पनि हुँदैन। यसरी संक्रमितलाई व्यवस्थापन गर्न नसक्दा समुदायमा संक्रमण फैलिरहेको छ। त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती छ।

अर्को चुनौती भनेको गरिबलाई कसरी उपचारको पहुँचमा ल्याउने भन्ने हो। पछिल्लो समयमा उपचार सशुल्क भएपछि संक्रमित गाह्रो हुँदा पनि अस्पताल आउन छाडेका छन्। यसले समस्या हुन्छ।

कति बिरामीले उपचार गराउँदा पैसा तिर्न नसकेपछि छुट गराइदिनुपर्‍यो भनेर फोन गर्नुहुन्छ। हामीले सक्ने सहयोग त गर्छौँ। तर सरकारले गरिबको उपचार ग्यारेन्टी गर्नुपर्छ। कोही पनि उपचार नपाएर मर्नुपर्ने स्थिति हुनु हुँदैन।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने