आज मे ५ तारिखका दिन अन्तर्राष्ट्रिय मिडवाइफहरुको दिवस ‘आँकडालाई अनुसरण गरौं, मिडवाइफमा लगानी गरौं’ भन्ने नाराका साथ विश्वभर मनाइँदै छ। मिडवाइफहरुले महिला तथा नवजात शिशु स्वास्थ्य सेवा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्नको लागि वार्षिक रुपमा यस दिवस मनाइन्छ। विश्वभर विशेषत मिडवाइफ्री सेवा र जनशक्ति भएका राष्ट्रहरुमा यस वर्षको नाराले नीति निर्माणकर्ता, योजनाकार, सरकार, सरोकारवाला तथा दातृ निकायहरुलाई प्रजनन, मातृ, नवजात शिशु तथा किशोरकिशोरी स्वास्थ्याको उपलब्ध आँकडालाई विश्लेषण गरी तथ्य प्रमाणलाई अनुसरण गरी मिडवाइफ्री सेवा र शिक्षाको विकास र विस्तारका लागि लगानी गर्न आह्वान गरेको छ।
अमेरिकी व्यवस्थापन सल्लाहकार प्राध्यापक डा विलियम एडवर्ड्स डेमिङ्गका अनुसार ‘८५ प्रतिशत असफलताको कारण कर्मचारीहरु भन्दा प्रणाली र प्रक्रियागत कमजोरी हुन्। व्यवस्थापनको भूमिका भनेको राम्रो काम गर भनि कर्मचारीलाई बारम्बार भन्नुभन्दा प्रकृयामा परिवर्तन गर्नु हो।’
सुरक्षित मातृत्व क्षेत्रमा नेपालमा विगत दुई दशकदेखी जसरी लगानी भइरहेको छ (सरकार लगायत दातृनिकायहरु) सो राष्ट्रिय स्वास्थ्य सेवा प्रणाली र प्रक्रियाको सुधार गर्नु भन्दा पनि सहायक स्तरको स्वास्थ्यको जनशक्तिहरु उत्पादन गर्न र निरन्तर रुपमा सेवा कालीन तालिमहरु प्रदान गरी उनीहरु मार्फत नै गुणस्तरीय सेवा प्रदान गरोस् भनि लगानी गर्दै आइरहेको पाइन्छ। फलस्वरूप लगानी गरे अनुसार जुन उपलब्धी हासिल गर्नु पर्ने हो सुरक्षित मातृत्व सेवा क्षेत्रमा सो हासिल नगरेको बोधात्मक अनुभूति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सम्बन्धित नीति निर्माण र निर्णय तहतप्कामा रहेका व्यक्तिहरुले सम्मेलनहरु मार्फत विभिन्न बैठक, सभामा सुन्दै आइरहेका छौं। अहिले कोरोना कालमा नेपाल सरकारलाई थप चुनौती थपिएको छ, सुरक्षित मातृत्व तथा लैङ्गिक समानताको दिगो विकास सम्बन्धित लक्ष्यहरु सन् २०३० सम्म प्राप्ति गर्नको लागि।
कोरोना भाइरसको विश्व महामारीले विद्यामान नियमित सेवाहरुमा पुर्याएको अवरोध र आर्थिक र मानवीय क्षतिलाई मध्ये नजर गरी सरकारले उपलब्ध आँकडा र तथ्यगत प्रमाणहरुको आधारमा मिडवाइफ्री शिक्षा र सेवामा लगानी गर्नुको विकल्प छैन। यदि आफ्नो देश र समाजको महिला स्वास्थ्य तथा लैङ्गिक समानताको क्षेत्रमा विकास र निकास चाहने हो भने सरकारले लगानी बढाउनै पर्छ।
यद्यपी हाम्रो देशमा सन् २००६ को सिपयुक्त प्रसूतिकर्मी (एसबिए)को राष्ट्रिय नीतिको दीर्घकालीन (पूर्व सेवाकालिन) रणनीति अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवसायिक मिडवाइफ नयाँ जनशक्ति सुरक्षित मातृत्वको लागि महत्वपूर्ण मानव संसाधनको रूपमा विकास आरम्भ गर्ने प्रक्रिया अघि बढाउने जसले देशका लागि मिडवाइफ्रीमा सेवा र नेतृत्व प्रदान गर्दछ भनि उल्लेख गरेका पाइन्छ।
तर सो नीति अनुसार कार्यान्वयनमा भने निकै ढिलासुस्ती गरेको पाइन्छ। उदाहरणको लागि करिब १० वर्षपछि मात्र मिडवाइफ्री शिक्षाको पाठ्यक्रम तर्जुमा गर्नको लागि नेपाल सरकारले बजेट विनियोजन गरी सन् २०१६ मा काठमाडौँ स्थित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान स्नातक तहको मिडवाइफ्री शिक्षा शुरुवात गरे। त्यसै गरी जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सन् २०१७ मा उक्त शैक्षिक कार्यक्रम शुरुवात गरे भने निजी स्तरमा संचालित काठमाडौँ विश्वविद्यालयले सर्वप्रथम सन् २०१६ मा सो कार्यक्रम शुरुवात गरे।
हाल देशमा १४ जना व्यवसायिक मिडवाइफहरु उत्पादित भइ सकेका छन्। ती मिडवाईफहरु परोपकार स्त्री तथा प्रसूति अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत नेपाल सरकारको विभिन्न अस्पतालहरुमा कार्यरत छन् भने करिब ९० जना मिडवाइफ्री अध्ययनरत विद्यार्थीहरु तीन शिक्षण संस्थाहरुमा छन्।
प्रजनन, मातृ, नवजात शिशु तथा किशोरकिशोरी स्वास्थ्य सम्बन्धीको दिगो विकास लक्ष्य प्राप्तको साथै गुणस्तरीय स्वास्थ्य सेवाको सर्वव्यापी पहुँचको सुनिश्चित गर्नको लागि देशमा करिब ९ हजार मिडवाइफहरुको आवश्यकता रहेको नेपाल सरकारको आँकडाले देखाएको छ भने विश्व भरमा ९ लाख मिडवाइफहरुको खाँचो रहेको उपलब्ध तथ्यले बताउछ।
हाम्रो देशमा विद्यामान उच्च मातृ, नवजात शिशु र गर्भमा मृत्यु हुने शिशुको दरलाई घटाउनको लागि साथै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार, २०७५ अनुसारको गुणस्तरी प्रजनन सेवा र सम्मानजनक प्रसूति सेवा प्रदान गर्नको लागि मिडवाईफ्री जनशक्ति अपरिहार्य भएको नेपाल सकरारले आत्मसात गरेको पाइन्छ। त्यसैले सबै प्रादेशिक अस्पतालहरुको परिसरमा मिडवाइफको नेतृत्वमा प्रसूति सेवा केन्द्र (अनसाइट मिडवाइफ लेड बर्थ युनिट) स्थापना गरी अनावश्यक शल्यक्रिया गरी बच्चा जन्माउने दरलाई कम गर्नुको साथै विद्यामान प्रसूति वार्डहरुको भीडलाई न्यूनीकरण गर्ने योजना र लक्ष्य रहेको छ।
यसबाट के बुझ्न सकिन्छ भने नेपाल सरकारले उपलब्ध आँकडाहरुको विश्लेषण गरेरै मिडवाइफ्री शिक्षा र सेवा लगानी गर्न केहि हदसम्म जोड दिएको छ। तर कार्यान्वयनको पक्ष भने एकदम सुस्त गतिमा रहेको पाइन्छ। नेपाल सरकारको पन्ध्रौँ योजना आव २०७६/७७ देखि २०८०/८१ को स्वास्थ्यसंग सम्बन्धित नीति अन्तर्गतको कार्यनीतिमा समेत मातृ मृत्युदर घटाउन तथ्यमा आधारित मिडवाईफ शिक्षा तथा सेवा लगायत विशेष कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिनेछ भनि उल्लेख छ।
अन्तर्राष्ट्रिय मिडवाइफहरुको संघ, विश्व स्वास्थ्य सङ्गठन र यूएनएफपीएको अनुसार मिडवाईफ्री शिक्षा र सेवा विकास र बिस्तारमा लगानी गरेमा जीवन रक्षा गर्छ, स्वास्थ्य सुधार हुन्छ र स्वास्थ्य सेवा प्रणाली सुदृढ हुन्छ।
मिडवाइफद्वारा गुणस्तरीय प्रजनन, मातृ, नवजात शिशु तथा किशोरकिशोरी स्वास्थ्यको सर्वव्यापी पहुँच गर्न सकेमा ६७ प्रतिशत मातृ मृत्यु, ६४ प्रतिशत नवजात शिशुको मृत्यु र ६५ प्रतिशत गर्भमा शिशु मृत्यु हुनबाट रोकथाम गर्न सकिन्छ। यसरी वार्षिक रुपमा ४३ लाख जीवनहरुको रक्षा गर्न सक्छन्।
यदि मिडवाइफद्वारा प्रदान गरिने प्रजनन, मातृ, नवजात शिशु तथा किशोरकिशोरी स्वास्थ्य २५ प्रतिशतले वृद्धि गर्न सकेमा प्रत्येक ५ वर्षमा ४१ प्रतिशत मातृ मृत्यु, ३९ प्रतिशत नवजात शिशुको मृत्यु र २६ प्रतिशत गर्भमा शिशु मृत्यु हुनबाट रोकथाम गर्न सकिन्छ।
सन् २०३५ सम्ममा यसरी वार्षिक रुपमा २२ लाख जीवन बचाउन सकिन्छ। सामान्य रुपमा गुणस्तरीय प्रजनन, मातृ, नवजात शिशु तथा किशोरकिशोरी स्वास्थ्य मिडवाइफद्वारा प्रदान गर्न १० प्रतिशतले प्रत्येक ५ वर्षमा वृद्धि गर्नसकेमा २२ प्रतिशत मातृ मृत्यु, २३ प्रतिशत नवजात शिशुको मृत्यु र १४ प्रतिशत गर्भमा शिशु मृत्यु हुनबाट रोकथाम गर्न सकिन्छ।
यसरी वार्षिक रुपमा १३ लाख जीवन बचाउन सकिन्छ। मिडवाइफले जीवन र मरणसँग सम्बन्धित सेवा मात्र प्रदान नगरी समग्र स्वास्थ्य सेवा सुधार गर्न योगदान गर्छन्।
मिडवाईफहरुले ९० प्रतिशत आवश्यकीय यौन, प्रजनन, मातृ, नवजात शिशु तथा किशोरकिशोरी सेवा जीवनपथ अवधारणा अनुरुप प्रदान गर्न सक्षम हुन्छन्।
मिडवाइफ्री सेवा र शिक्षा विकास र विस्तार गर्न लगानी गरेमा स्वस्थ परिवार, अधिक उत्पादक समुदाय र अधिक मजबूत स्वास्थ्य सेवा प्रणाली विकास गर्न योगदान हुन्छन्।
देशमा विद्यामान सीपयुक्त प्रसूतिकर्मी (एसबिए) कमिको लागि दीर्घकालिन रुपमा समस्या हल गर्न सन् २०१० मा बंगलादेशको सरकारले मिडवाइफ्रीमा लगानी गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता जाहेर गरी लगानी गरे बमोजिम मिडवाइफ्री शिक्षा र सेवामा लगानी गरी मिडवाइफ्री जनशक्तिलाई समुदाय–आधारित सेवामा परिचालन गरेमा मातृ तथा नवजात शिशुको जीवन बचाएर र अनावश्यक शल्यक्रियामा लाग्ने खर्च लागत हटाएर १६ गुणा प्रतिफल प्राप्त गर्न सक्दछ।
प्राथमिक स्वास्थ्य सेवाको लागि एक ‘सर्वश्रेष्ठ खरिद’ हो भन्ने तथ्य प्रमाणमा आधारित निष्कर्ष विश्व स्वास्थ्य सङ्गठन, यूएनएफपिए र अन्तर्राष्ट्रिय मिडवाइफहरुको संघको रहेको छ। तर गुणस्तरीय मिडवाइफ्री सेवा विकास र विस्तार गर्न चुनौतीपूर्ण रहेको आत्मसात गरी लेन्सेटमा प्रकाशित निष्कर्ष अनुसार गुणस्तरीय मातृत्व तथा नवजात शिशु सेवाको लागि प्रयासहरु विस्तार गर्ने क्रममा उच्च गुणस्तरीय मिडवाइफ्री सेवाको प्रणालीगत अवरोधहरु सम्बोधन गर्नु पर्दछ।
उदाहरणको लागि मिडवाइफ्री भनेको के हो? त्यसले के गर्न सक्दछ? भन्ने प्रतिको बुझाइमा कमि, समाजमा महिलाको तल्लो अवस्था, अन्तर–व्यवसायी प्रतिस्पर्धा र बच्चा जन्माउने अनियन्त्रित व्यापारीकरण, विश्व स्वास्थ्य संगठनको २०१९ मा प्रकाशित एक प्रतिवेदनमा बेलायतको किङ्गस कलेज लण्डनको समाज विज्ञान तथा महिला स्वास्थ्यको प्राध्यापक डा जेन सेन्डलको अनुसार शिक्षित र नियमन गरेका मिडवाईफहरुले महिला तथा नवजात शिशुहरुलाई आवश्यक पर्ने ८७ प्रतिशत सेवाहरु प्रदान गर्न सक्दछ। मिडवाइफ्री सेवाको सर्वव्यापी पहुँच (९५ प्रतिशत) सुनिश्चित गर्न सकेमा मातृमृत्यु ८२ प्रतिशत र नवजात शिशु र गर्भमा शिशु मृत्यु घटाउन सकिन्छ। उनको अनुसार मिडवाइफ्री सेवाको पहुँच १० प्रतिशत सुनिश्चित गरेमा २७ प्रतिशतले मातृ मृत्यु घटाउन सकिन्छ भने २५ प्रतिशत मिडवाइफ्री सेवाको पहुँचको सुनिश्चतताले ५० प्रतिशत मातृमृत्यु घटाउन सकिन्छ।
मिडवाइफद्वारा प्रदान गरिने सेवाको निरन्तरताको नमुना बेलायतको प्रसूति सेवाको नीतिको केन्द्र बिन्दु हो जसबाट मातृ, नवजात शिशु तथा गर्भमा शिशु मृत्यु कम गराउने सहयोग पुर्याएको छ। मिडवाइफ्री शिक्षा र सेवामा लगानी गरेका हाम्रा एसियाली मुलुकहरु जस्तै श्रीलंका, मलेसिया, थाईल्याण्डको साथै बंगलादेशबाटै पनि नेपालले धेरै पाठहरु सिक्न सक्छ।
आफ्नो देशमा विद्यमान महिलाको सामाजिक तथा स्वास्थ्य अवस्था सुधार गर्नको लागि श्रीलंका, मलेसिया र थाइल्यान्डले महिला स्वास्थ्य तथा महिलाको सामाजिक अवस्थामा सुधार गर्नको लागि लगभग १०० वर्ष अघि लगानी गरेको पाइन्छ। जुन लगानीको प्रतिफल र उपलब्धि आज आएर उनीहरुले प्राप्त गरेका छन्। नेपालले पनि त्यसरी नै मिडवाइफ्री शिक्षा र सेवामा अहिले २१ औं शताब्दीमा लगानी गरेमा त्यसको प्रतिफल भावी पुस्ताहरुले प्राप्त गर्न सक्ने सुनिश्चित छ। जसको लागि स्वास्थ्य सेवा प्रणाली र प्रकृयामा सुधार गर्न आवश्यक छ।
‘यदि तिम्रो योजना एक वर्षको लागि हो भने धन उत्पादन गर्न लगाउनुहोस्; यदि तपाईको योजना दश वर्षको लागि हो भने रुखहरु रोप्नुहोस्। यदि तपाईको योजना एक सय वर्षको लागि छ भने बालबालिकाहरुलाई शिक्षित गर्नुहोस्’ भनि प्राचिन चीनको दार्शनिक कन्फिसियसले भनेका छन्।
त्यस्तै गरी ‘मलाई शिक्षित आमा देउ म तिमीलाई सभ्य राष्ट्र दिन्छु’ भनि फ्रान्सेली शासक नेपोलियन बोनापार्टले भनेका थिए।
त्यसैले राष्ट्रको नीति निर्माण तहमा रहेका उच्च अधिकारीहरुले यी यस्ता अतिनै गहन, गहिरो र गम्भीर भनाईलाई मनन गरी मिडवाइफ्री शिक्षा लगानी गरेमा भावी पुस्ताहरुले आजका महिला तथा नवजातशिशुहरुले जे जस्तो सामाजिक र स्वास्थ्यको परिस्थिति भोगेर अकालमा मृत्यु हुनु परेको छ सोबाट बचाउन सकिन्छ।
मिडवाइफ्री शिक्षामा राज्यले लगानी गर्नु भनेको शिक्षित र स्वास्थ्य आमाहरु देशमा उत्पादित गरी स्वस्थ र समृद्ध राष्ट्र निर्माण गर्न योदान गर्नु हो भन्ने तथ्य जुन राष्ट्रहरुमा राज्यले मिडवाईफ्री सेवा र शिक्षा विकास र विस्तारको लागि लगानी गरेका ती राष्ट्रहरुबाट पुष्टि हुन्छ। स्विडेन, डेनमार्क, नर्वे, आइस्लेण्डर फिन्डलेल्याण्डमा मिडवाइफ्रको लागि करिब २५० वर्ष अघि देखि नै लगानी गरेको पाइन्छ। फलस्वरूप आज आएर ती राष्ट्रहरुमा लैङ्गिक विभेदको विश्वमा सबै भन्दा न्यून अन्तर रहेको पाइन्छ। त्यसैले वर्तमान अवस्थामा नेपाल सरकारले दुरदर्शी भइ रणनीतिक रुपमा मिडवाइफ्रीमा लगानी गर्नु भनेको निकट भविष्यमा दिगो विकास लक्ष्य प्राप्त गर्न सकिने सुनिश्चित एक उच्च सटिक तथा परिशुद्ध स्पष्टता हो महिला स्वास्थ्य र लैङ्गिक समानताको लागि।
(डा तामाङ सोसाइटी फर मिडवाइफ्री नेपालकी अध्यक्ष हुन्)