नेपालमा अहिले कोरोनाले आक्रान्त मच्चाएको छ। अस्पतालहरूमा बेडको चरम अभाव छ। अक्सिजनको मारामार छ। धेरैजसो बिरामी होम आइसोलेसनमा छन्। आइसियू भेन्टिलेटरको अभाव छ। न त जनताले भ्याक्सिन नै लगाउन पाएका छन्।
हामी पहिलो र दोस्रो दुवै चरणको कोरोना लहरमा असफल सावित भइसकेका छौं। कारण एउटै छ– हाम्रो ध्यान आउने संकटको लागि गर्नुपर्ने पूर्वतयारीतर्फ जान सकेन। यसकारण हालसम्म हजारौं हजार अर्थात् ७ हजारभन्दा धेरैै मानिसले ज्यान गुमाइसके। अझै धेरै मानिसले ज्यान गुमाउने छन्, धेरैले आफन्त गुमाउने छन्।
कोरोनाको पहिलो लहरमा हामीले मास्क, स्यानिटाइजर, आइसोलेसन सेन्टर, क्यारेन्टिन अभाव खेप्नुपर्यो। यस्तै, दोस्रो लहरमा हामीले अक्सिजन, आइसियू, भेन्टिलेटरको चरम अभाव खेपिरहनुपरेको छ। तर, तेस्रो लहरमा भने हामीले हाम्रो ज्यान जोगाउनका लागि नै अहोरात्र खटिरहेका अहिलेका महामानव अर्थात् चिकित्सककै अभाव खेप्नुपर्नेछ। हामीले सम्भावित तेस्रो चरणको कोरोना लहरमा डाक्टर, नर्स, पारामेडिकलहरूकै अभाव खेप्नुपर्ने सम्भावना प्रवल छ। किनभने, दिनहुँजसो हामीले ४–५ जना स्थास्थ्यकर्मी गुमाएका छौं।
अर्को, यस्तो परिस्थितिमा पनि स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भइरहेको छ। यस्तो अवस्थामा राज्यले चिकित्सकहरूको मनोवल बढाउने काम गर्नुपर्ने हो। तर, राज्य चिकित्सकको सम्मानका लागि गम्भीर भएको देखिँदैन। हालै भेरी अस्पतालमा भएको स्वास्थ्यकर्मीमाथिको दुव्र्यवहार घटनामा राष्ट्रपतिले गरेको ट्वीट विवादमा प¥यो। उनले दुव्र्यवहार घटनामा संलग्नहरूलाई कारबाही होइन, प्रोत्साहन गर्ने खालको ट्वीट गरेकी थिइन्।
पहिलो लहरमा धेरैजसो बिरामी ज्येष्ठ नागरिक थिए भने दोस्रो लहरमा सबै उमेरको भएता पनि धेरैजसो युवा र अधबैसे उमेरका छन्। पहिलो चरणमा ज्येष्ठ नागरिकहरूलाई कोरोना भ्याक्सिन लगाइयो। दोस्रो चरणमा युवाहरूले लगाउँदै छन्। पहिलो चरणमै सबै उमेर समूहका नागरिकलाई खोपमा प्राथमिकता नदिइएकै कारण दोस्रो चरणमा हामीले झन् विपत् खेपिरहनु परेको छ। डब्ल्यूएचओले १८ वर्षभन्दा मुनिका बालबालिकालाई खोप लगाउन भनेको छैन। यसकारण तेस्रो चरणको लहरमा बालबालिका समूह जोखिमको रेखामुनि रहने सम्भावना ज्याँदै छ।
उनीहरूको उपचारका लागि अहिलेको जनशक्ति पर्याप्त छैन। हालको जनशक्तिले त्यो सम्भावित कहर धान्ने स्थिति देखिँदैन। किनभने, बालबालिकाको उपचार र केयर त्यति सहज छैन, गाह्रो छ। साथसाथै तेस्र्रो लहरमा औषधिको अभाव पनि हुने निश्चित छ। नेपालमा कोरोनाको तेस्रो लहर माघ–फागुनतिर आउने सम्भावना छ। अन्य देशहरूमा तेस्रो लहर सुरू भइसक्यो। तयारीको अभावमा विकसित मुलुकहरू टाउकोमा हात राख्न परिरहेको छ। विदेशी मुलुकको तुलनामा हामी फिक्काजस्तै छौं। त्यसकारण हामीले तेस्रो चरणको लहरसँग लड्न पूर्वतयारी गरेनौं भने हामीलाई भारी पर्ने निश्चित छ। हामीले ठूलो क्षति व्यहोर्नुपर्नेछ।
तर, हामीले तेस्रो चरणको तयारी कहाँ हो कहाँ, अहिले चलिरहेको दोस्रो चरणको महामारी नियन्त्रणभन्दा पनि सरकार कुर्सीको खेलमा व्यस्त छ। नेताहरू कुर्सीका लागि मारामार गर्दैै छन्। सरकारले चुनाव घोषणा गरिसकेको छ। यस्तो महामारीका बेला सरकारले जनताको ज्यान जोगाउन तल्लीन हुनुपर्नेमा उल्टै फोहोरी राजनीतिमा लागेको छ। यो विडम्बना हो। सरकार जनस्वास्थ्यप्रति गम्भीर हुनैपर्छ।
यसकारण, हामीले सानो बच्चाका आमाबाबुलाई खोपको प्राथमिकतामा राख्नुपर्छ। अर्को, जो चिकित्सक पिजी परीक्षा कुरिरहेका छन्, उनीहरूलाई खटाउनका लागि सरकारले त्यो वातावरण बनाइदिनुपर्छ। सरकारले उनीहरूप्रति उदारता देखाउनुपर्छ। महामारीको लडाइँमा काम गरेका चिकित्सकहरूलाई पिजीमा आवेदन दिँदा निश्चित अंक थपको व्यवस्था मिलाइदिनुपर्छ।
यस्तै, चिकित्सकीय पढाइ सकेर परीक्षा कुरिरहेका सबैलाई समेत सरकारले मैदानमा उतार्नुपर्छ। उनीहरूलाई कि त स्वास्थ्य मापदण्ड तोकेर परीक्षा गराइ यो लडाइँमा उतार्नुप¥यो अथवा परीक्षापछि लिने गरी मैदानमा खटाउनुप¥यो। यसो भइदियो भने हामीले अहिले जुन चिकित्सकको अभाव खेपिरहेका छौं, त्यो अभाव केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ।
त्यस्तै, एउटा चिकित्सकले हजारौं सर्वसाधारणको ज्यान जोगाउँछन्। तर, कतिपय चिकित्सक उपचार अभावकै कारण ज्यान गुमाउँदै छन्। यसका लागि पनि सरकार गम्भीर हुन जरुरी छ। सरकारले चिकित्सकहरूका लागि डेडिकेटेड अस्पतालको व्यवस्थापन गरिदिनुपर्छ। यसो भइदियो भने चिकित्सकले उचित उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्दैन। अन्त्यमा, सरकार गम्भीर बनोस्, सरकारका लागि जनता प्राथमिकतामा परोस्।