हामी एउटा लयमा काम गरिरहेका छौँ। निर्वतमान तथा यसअघिका मन्त्रीज्यूहरुलाई धन्यवाद। यो नयाँ मोडल अपनाउन सहमति दिनुभयो। यो नयाँ अवसरको रुपमा हामीले प्रयोग गरिरहेका छौँ। पहिला मन्त्रीज्यू बिदा हुने र त्यसपछि नयाँ मन्त्रीलाई स्वागत गर्ने परम्परा थियो। हामीले यो परम्परालाई यसवर्ष सँगै राखेर गर्ने अवसर प्राप्त भयो।
हामी कोरोना संक्रमणको उच्च जोखिममा छौँ। हामी कोरोना नियन्त्रणका लागि काम गरिरहेका छौँ। म स्वास्थ्य मन्त्रालय आएपछि पनि तीन जना मन्त्रीको नेतृत्वमा काम गर्ने मौका पाए। हाम्रा समस्याहरु अझै जटिल छन्। यसको पूर्ण व्यवस्थापनमा हामी सक्षम भइनसकेको अवस्था छ। यो युद्धमा स्वास्थ्यकर्मीहरु चिकित्सकहरु थाकिसकेको अवस्था छ। तरपनि उहाँहरु निरन्तर रुपमा लागिरहनु भएको छ। भाइरसले आफ्नो उत्पात गर्ने काम पनि जारी गरिरहेको छ। सहरबाट यो भाइरस गाउँतिर छिरिरहेको छ र गाउँबाट फेरी फर्केर सहर आउँदा यसको जोखिम अहिले नै आकलन गर्न सकिदैन।
महामारीलाई उपचारबाट व्यवस्थित गर्न खोजियो भने असाध्यै कठिन हुने रहेछ। महामारीको व्यवस्थापनका लागि रोकथाम तथा नियन्त्रणमै हाम्रो ध्यान पुर्याउनु पर्ने हुन्छ। यसको ट्रान्समिसन कसरी घटाउने र ट्रान्समिसन हुन नदिन सबै नागरिकलाई खोपको पहुँचमा पुर्याउनु आवश्यक छ। सकेसम्म छिटो खोप ल्याउन धेरै पहल र प्रयास भए।
विगतमा हामी फागुनदेखि असोजसम्म कोरोनाको पहिलो लहरसँग लडिरहेका थियौँ। असोजबाट हामीले खोपबाट यो भाइरस नियन्त्रण गर्न बाहेक अरु संभव छैन भनेर ठम्याई गर्यौं।
हामीले एउटा यस्तो टेक्नीकल नोट तयार गर्यौं, मलाई लाग्छ साउथ इष्ट एसियामा सबैभन्दा राम्रो खोप टेक्नीकल नोट पाएका छौँ। त्यही भएर हामीले पहिलो लहरपछि दोस्रो लहरमा खोप लगाउन सक्यौं। करिब २८ लाखको हाहारीमा हामीले खोप लगाउन सकेका छौं। करिब सात लाखलाई दुुई डोजकै खोप लगाइसक्यौं र अरु खोपहरु पनि दुई डोजका रुपमा लगाइसकेका छौं। खोपमा गर्नुपर्ने लगानीका हिसाबले करिब २८ अर्ब यो अवधिमा एसियाली विकास बैंक र विश्व बैंकसँग निगोशेसन सम्पन्न गरिसकेका छौँ। मलाई लाग्छ, मन्त्रीज्यूको नेतृत्वमा बित्तिय लगानीको पाटोमा सबैभन्दा ठुलो उपलब्धी हो।
यो सँगै स्वास्थ्य पूर्वाधारको विकास पनि गरेका छौँ। २६ सयको आइसीयूलाई ३ हजार पुर्यायौँ। करिब ५ सय भेन्टिलेटर थप गर्न सक्यौं। २ हजार जति एचडीयू बेड थप्यौं। अब ६८० बेडको आइसीयू थप्दै छौँ। अब करिब १४ सय बेडहरु एचडीयू थप्दैछौँ। करिब २७ वटा अक्सिज ट्यांकहरु विभिन्न अस्पतालमा राख्दैछौं। १९ वटा प्लान्टहरु राख्दैछौं र बच्चाहरुको आइसीयू र भेन्टिलेटरहरु थप्दैछौं। अस्पतालको बेडहरु सञ्चालन गर्दैछौं। ६४९ वटा आधारभूत अस्पतालहरुलाई अस्थायी अस्पतालको रुपमा सञ्चालन गर्ने गरी जनशक्ति तयार गर्दैछौं। स्वास्थ्य पूर्वाधारको हिसाबले यो समयमा निकै ठूलो उपलब्धी हो।
जनशक्ति व्यवस्थापनमा चाँही हाम्रा केही बुझाईहरु छन्। जनशक्तिको विभाजन संघ, प्रदेश र स्थानीय तहमा हुने हुँदा अर्थ मन्त्रालयसँग बसेर नै छलफल गर्नुपर्यो। स्थानीय तहको आधारभूत अस्पतालहरुमा जनशक्तिको व्यवस्थापन छिट्टै गर्नुपर्नेछ। स्वास्थ्य बीमा र संघीय अस्पतालहरुको जनशक्ति निरुपणको काम छिट्टै गर्नुछ। वीर अस्पतालको जनशक्ति थप्नुपर्नेछ।
वीर अस्पताललाई छुट्टै कोभिड डेडिकेटेड अस्पतालको रुपमा सञ्चालन गर्ने गरी बजेटमा राखिसकेका छौं। त्यसको कार्यान्वयन गर्नुपर्नेछ। यसको कार्यान्वयनका लागि अस्पतालको पूर्वाधार, जनशक्ति र संरचनाका विषयमा हामीले दिएका निर्णयहरु असाध्यै सान्दर्भिक रहेको हाम्रो ठम्याई छ।
स्वास्थ्यका सूचकहरु कोभिडका कारण बिग्रिएको छ। पहिले र अहिले पनि कोरोनाका कारण बन्दाबन्दीको अवस्था भएर स्वास्थ्यका सूचकहरु कमजोर भएका छन्। यी कुराहरुलाई सुधार गर्नुपर्नेछ।
कोरोनाको नियन्त्रण गर्न अझै पनि एकदेखि डेढ महिनासम्म प्रयास गर्नैपर्छ। अस्पतालहरुमा अझै पनि सिकिस्त भएर आउने बिरामीहरुको क्रम घटेको छैन। बेडहरु खाली छैनन्। निजी क्षेत्रमा रहेका बेडहरु भने खाली हुँदै गएका छन्। हामीले निषेधाज्ञा जारी गरेकाले पनि संक्रमणको दर रोकिएको हुन सक्छ। तर संक्रमण दर अझै घटेको छैन। हामी अझै पनि संक्रमणको उच्च जोखिममा छौं। यसको नियन्त्रणका लागि हामीले पर्याप्त मात्रा ध्यान दिनुपर्छ।
अब लकडाउन खोल्नुपर्छ भन्ने कुराहरु पनि आउन सक्छ। तर हामीले अहिले नै लडकाउन खोल्यौं भने संक्रमण ह्वात्तै बढ्न पनि सक्छ। अबको लगानी र हाम्रो ध्यान खोप र स्वास्थ्य सूचकमा गर्नुपर्नेछ। पोष्ट कोभिड पछाडी आउन सक्ने स्वास्थ्य जोखिमको विश्लेषण गरी अघि बढ्नुपर्नेछ।
३९६ वटा आधारभूत अस्पतालहरुको निर्माणलाई तिव्रता दिनुपर्नेछ। बाँकी रहेका अस्पतालहरुको निर्माणलाई ध्यान दिनुपर्नेछ। काठमाडौंमा ३ सय बेडको सरुवा रोग अस्पताल बनाउने कुरालाई पनि अझै प्राथमिकताका साथ अघि बढाउनुपर्नेछ। सबै प्रदेशहरुमा सरुवा रोग अस्पताल बनाउने कामलाई तिव्रता दिनुपर्नेछ। सबै संघीय अस्पतालहरुलाई ५ सय बेडमा पुर्याउने, प्रादेशिक अस्पतालहरुलाई २ सय बेडमा पुर्याउने र जिल्ला अस्पतालहरुलाई ५० बेडमा पुर्याएर कम्तीमा १० प्रतिशत क्रिटिकल केयरको व्यवस्था गर्ने हामीले थालेको प्रयास हो।
मेरो पनि एक वर्ष पुग्यो। यो अवधिमा मैले तीन जना मन्त्रीसँग काम गर्दैछु। मलाई लाग्छ मेरो जागिरको जीवन १२÷१३ महिना मात्र हो। मैले उहाँहरुसँग सहज तरिकाले काम गर्न पाएँ। आफ्ना बिचारहरु ढुक्कसँग राख्न पाएँ। अरु देशहरुको तुलनामा कोभिड महामारीको व्यवस्थापनमा हामी अलि अब्बल नै छौं। स्वास्थ्य मन्त्रालय र अन्य मन्त्रालयसँग समन्वय नहुँदा केही समस्या देखिएको हो। जनस्वास्थ्यको लडाई हो, यसलाई स्वास्थ्यको नेतृत्व हुनुपर्छ। अक्सिजनको व्यवस्था हामीले राम्रोसँग गरिरहेका थियौं, तर बीचमा सीसीएमसीले गर्ने भनिएपछि समस्या भएको हो।
नयाँ कानूनले नयाँ संरचना सहितको कुरा ल्याएको छ। हामीले त्यो कानूनलाई फरक ढंगले प्रस्ताव गरेका छौं। आउने बेला फरक ढंगले अध्यादेश आइसकेको छ। यसको कार्यान्वयन गर्ने हामी सार्वजनिक प्रशासनको साथीहरुले गर्नुपर्ने हुन्छ। तर यसले ल्याउने समस्याहरु समन्वयमा, कार्यान्वयनमा, त्यसको रोकथाम तथा निदानका क्रममा समस्याहरु आउन सक्छ। यसलाई सम्बोधन गर्न नसके अन्यौलताका बीचमा तेस्रो वेभ आए यो भन्दा बढी क्षति हुन सक्छ। त्यसैले तेस्रो वेभको रोकथाम नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयको प्रणाली विभाजित होइन एकजुट हुने गरी परिचालित गर्नुपर्ने हुन्छ। निरुत्साहित होइन स्वास्थ्यकर्मीहरुलाई उत्प्रेरित गर्नुपर्छ। चिकित्सकहरुको सल्लाह लिने परिपाटीको विकास गर्नुपर्ने हुन्छ। यी कुराहरु गर्न सक्यौं भने यो युद्धमा हामी जित्न सक्छौं।
स्वास्थ्य मन्त्रालय विभाजित छ। प्रदेशमा छ, स्थानीय तहमा छ, समुदायमा छ। यसलाई स्वास्थ्यमन्त्रीको नेतृत्वमा एकीकृत गर्न सकिएन भने यो विभाजित प्रणालीले काम गर्न सक्दैन। यो चुनौतीलाई राजनीतिक रुपमै हल गर्नु आवश्यक छ।
(स्वास्थ्य सचिव अर्यालले मन्त्रालयमा आयोजित नवनियुक्त मन्त्री शेरबहादुर तामाङको स्वागत र निवर्तमान मन्त्री हृदयेश त्रिपाठीको बिदाईं कार्यक्रममा व्यक्त गरेको धारणामा)
यो पनि