काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएच) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालय (सेरो) की विवादास्पद क्षेत्रीय निर्देशक साइमा वाजेदलाई निलम्बन गरिएको छ। उनलाई शुक्रबारदेखि बिदामा राखिएको डब्लुएचओको सर्कुलरमा उल्लेख छ। बंगलादेशको भ्रष्टाचारविरुद्धको आयोग (एसीसी) ले उनीविरुद्ध ठगी, कागजात किर्ते र शक्ति दुरुपयोगको आरोपमा दुईवटा मुद्दा दायर गरेको चार महिनापछि लिइएको हो।
डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयेससले कर्मचारीहरूलाई पठाएको एउटा छोटो आन्तरिक इमेलमा वाजेदलाई शुक्रबारदेखि बिदा दिइएको जानकारी गराउँदै डब्लुएचओकी सहायक महानिर्देशक डा. क्याथरिना बम्हेले वाजेदको स्थानमा कार्यवाहकको रूपमा जिम्मेवारी सम्हाल्ने बताएका छन्। डा. बम्हे १५ जुलाई, मंगलवारमा नयाँ दिल्लीस्थित सेरो कार्यालय पुग्नेछन्। वाजेद कहिले फर्किन्छिन् भन्नेबारे केही जानकारी दिइएको छैन।
वाजेद, जो बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीनाकी छोरी हुन्, उनीविरुद्धको केही आरोप डब्लुएचओको क्षेत्रीय निर्देशक बन्ने अभियानसँग सम्बन्धित छन्। नोभेम्बर २०२३ मा सेरो सदस्य राष्ट्रहरूबाट क्षेत्रीय निर्देशकमा निर्वाचित भएकी वाजेदको उम्मेदवारी प्रक्रिया नै विवादित थियो, किनभने उनको आमा शख हसिनाले आफ्नी छोरीको नियुक्तिमा शक्तिको प्रयोग गरेकी थिइन्।
तर केही महिनामै बंगलादेशभर प्रदर्शनहरू भएसँगै शेख हसीना ५ अगस्टमा देश छाडेर भाग्न बाध्य भइन्। जनवरी २०२५ मा एसीसीले अनुसन्धान सुरु गर्दै वाजेदले आफ्नो शैक्षिक योग्यता बारे झूटा कागजात प्रयोग गरेको रोप लगायो, साथै उनी अगाडि बसेको "शुचोना फाउन्डेसन"का लागि उठाइएको रकमको दुरुपयोग पनि भएको बताएको छ।
मार्चमा दायर गरिएको औपचारिक मुद्दाअनुसार वाजेदले आफ्नो शैक्षिक योग्यता बारे झूटा विवरण दिएकी थिइन्, जुन बंगलादेशको फौजदारी संहिता अनुसार धारा ४६८ (ठगीका लागि किर्ते) र धारा ४७१ (कागजात किर्ते) उल्लंघन हो। साथै उनले बंगबन्धु शेख मुजिब मेडिकल युनिभर्सिटीमा मानार्थ पदमा रहेको दाबी गरिन्, जुन विश्वविद्यालयले अस्वीकार गरेको छ।
उनीमाथि आफ्नो प्रभाव प्रयोग गरेर बैंकहरूबाट झन्डै २.८ मिलियन अमेरिकी डलर "शुचोना फाउन्डेसन"को नाममा संकलन गरेको र त्यस रकमको प्रयोगबारे स्पष्ट विवरण नदिएको आरोप पनि छ। यस्ता कार्यहरू बंगलादेशको भ्रष्टाचार निवारण ऐन, १९४७ को धारा ५(२) र फौजदारी संहिता अनुसार धारा ४२० (ठगी र सम्पत्ति हडप्ने मनसायले छल) अन्तर्गत अपराध मानिन्छ।
मुद्दा दायर भएपछि वाजेदको गिरफ्तारीका लागि वारेन्ट जारी गरिएको छ। त्यसपछि डब्लुएचओको बंगलादेश कार्यालयले उनलाई क्षेत्रीय निर्देशकको रूपमा मान्यता नदिएको र उनी अन्य देशहरूमा भ्रमण गर्न नसकेको बताइएको छ।