बाल्यकाल काठमाडौंमै बित्यो। दरबार स्कुलमा पढे र त्रिचन्द्रबाट आइएस्सी गरे। त्यतिखेर हरेक घरमा बाबुआमाको सपना हुन्थ्यो– छोरालाई राम्रो शिक्षा दिएर डाक्टर बनाउने। उनको परिवार पनि यही चाहन्थ्यो। साथमा उनको सपना पनि मिसियो। आइएस्सीमा बायोलोजी लिएर पढ्दा मानव जीवनका रहस्यप्रति झन् चासो बढ्यो। एक दिन पितालाई मनको कुरा खोले– डाक्टर बन्छु। छोराको सपनामा कुन पिताले अवरोध गथ्र्यो र?
आइएस्सीमा राम्रै मेरिट आएको थियो, त्यसैले कोलम्बो प्लानमा नाम निकाल्न पनि गाह्रो भएन। २०१८ सालमा १८ वर्षको उमेरमा एमबिबिएस पढ्न उनी पञ्जाबस्थित अमृतसर मेडिकल कलेजमा पुगे। कलेजको शैक्षिक वातावरण राम्रै थियो। बिहान ७ देखि अपरान्ह १ बजेसम्म कक्षा हुन्थ्यो। शिक्षकहरु कहिल्यै अनुपस्थित हुँदैनथे। सैद्धान्तिक कक्षा सकिएपछि होस्टेलबाट करिब तीन किलोमिटर टाढाको विजय मेमोरियल अस्पतालको वार्डमा गएर बिरामी हेर्थे। मल्होत्रा थरका प्रोफेसर थिए, उनैका कारण मेडिसिनमा रुचि जाग्यो।
एमबिबिस सकिएपछि हाउस जबमा अफर आएको थियो। तर, विदेशमा ५ वर्षभन्दा कति बस्नु जस्तो लागेर नेपाल फर्किए। अध्ययनका क्रममा विजय मेमोरियल अस्पतालमा काम गर्दाका ती दिन अहिले पनि सम्झिरहेका छन् उनी। रोगको ‘प्याटर्न’ नेपालकै जस्तो थियो। हृदयाघातमा त्यो बेला पनि रगत पातलो हुने औषधि दिइन्थ्यो। तर, बिरामीलाई ६ हप्ता सुताइन्थ्यो। अधिकांश मानिस क्षयरोग, डायरिया, जन्डिसको समस्या लिएर आउँथे।
०००
सन् १९६७ मा नेपाल फर्किएपछि सुरुको ६ महिना वीर अस्पतालमा काम गरे हाउसअफिसरका रुपमा। त्यसपछि तेह्रथुम पोस्टिङ भयो। त्यहाँ जाँदा उनको रोमाञ्चक अनुभव गरे। काठमाडौंमै जन्मे–हुर्केका, जानुपर्ने थियो पहाडी दुर्गम क्षेत्रमा। एक भरिया लिएर धरानबाट तेह्रथुमतिर हिँडे। धनकुटा पुग्न दुई दिन र अर्को दुई दिनमा तेह्रथुम पुगे। अस्थायी नियुक्ति लिएर हिँडेका उनी आफ्नै खर्चमा गएका थिए। सदरमुकामस्थित स्वास्थ्य केन्द्रमा पहिलो डाक्टरका रुपमा पुगेका थिए उनी। मानिसहरु निकै खुसी भए। बिरामीक हेर्नै भ्याइनभ्याई। औषधिको अभावका बाबजुद उनले दुई वर्षको बसाइका क्रममा रातदिन नभनी थुप्रै बिरामीलाई सेवा दिए। स्वास्थ्य केन्द्र नजिकै डेरा थियो। राती पनि बोलाउन आउँथे। भर्ना गर्नुपर्ने खालका बिरामी आए भने धनकुटा पठाउनुपथ्र्यो। दुई वर्षपछि काठमाडौं फर्किए। मेडिसिनमा काम गर्ने रुचि थियो। तर, वीर अस्पतालमा तत्काल काम गर्न पाएनन्।
भर्खरै खोलिएको कान्ति अस्पतालमा पोस्टिङ भयो। त्यहाँ उनले एक वर्ष काम गरे। शिक्षा मन्त्रालयले बेलायतमा एमआरसीपी पढ्न जाने छात्रवृत्तिको विज्ञापन खोल्यो। उनले पनि निवेदन दिए। प्रतिस्पर्धामा मन्त्रीका मान्छे पनि छन् भन्ने सुनेका थिए उनले। तर, मेरिटका आधारमा उनकै नाम छनौट भयो। पछि मन्त्रीले आफ्नो मान्छे पठाउन अर्र्काे कोटा मगाए भन्ने पनि सुनियो। त्यसपछि उनी एमडी सरहको एमआरसीपी (मेम्बर अफ रोयल कलेज अफ फिजिसियन्स) पढ्न बेलायत गए। साढे तीन वर्ष बेलायत बस्दा विभिन्न ठाउँमा काम गरें। सम्झन्छन्– बेलायतमा यहाँको जस्तो नियमित कक्षा लिने र घोक्ने पद्धति थिएन। काम गर्ने र त्यसैका आधारमा मूल्यांकन हुन्थ्यो। रोग किन भयो, के कारणले भयो भनेर सिकाइन्थ्यो। नेपालमा बिरामी आएपछि अनावश्यक रुपमा विभिन्न ल्याब परीक्षण गर्न लगाइन्छ। तर, बेलायतमा बिरामीलाई हेरेर मात्र क्लिनिकल जाँचपड्ताल गर्न लगाउने चलन थियो। डाक्टर भएकै आधारमा बिरामीभन्दा सुपेरियर नठानी उनीहरुप्रति आदरपूर्ण व्यवहार गर्ने त्यहाँको परिपाटी उनलाई राम्रो लाग्यो। त्यहाँ ‘अल्वेज थिङ्क अल्टरनेटिभ’ (जहिले पनि विकल्प सोच) भनिन्थ्यो। नेपालमा मल्टिपल ड्रग थेरापी दिइन्छ, त्यहाँ त्यस्तो छैन।
०००
सन् १९७३ को अन्त्यतिर फर्किएर वीर अस्पतालमा फिजिसियनका रुपमा काम गरे। त्यसअघि तेह्रथुमबाट फर्किएपछि नै स्थायी भइसकेका थिए। बेलायतबाट फर्किएपछि मेडिसिनमा चार वर्ष काम गरे। तेह्रथुममा बस्दा उनले बुझेका थिए– बिरामीलाई खास सेवा गर्नेहरु हेल्थ असिस्टेन्ट रहेछन् । उनीहरुलाई दक्ष नबनाई नेपालको स्वास्थ्य सेवा विस्तार हुन सक्दैन भन्ने उनलाई लाग्यो। अहेव, अनमीले सेवा पुर्याएको पनि देखे। वीरमा काम गर्दा पनि हेल्थ असिस्टेन्ट, अहेवलाई सिकाउँथे। वीरमा काम गर्दासम्म राजपत्रांकित द्वितीय श्रेणीको फिजिसियनमा उनको नियुक्ति भइसकेको थियो। त्यतिखेर वीरमा काम गर्न पाउनु अहोभाग्य ठानिन्थ्यो। त्यसमाथि उनी दोस्रो तहमा पुगिसकेका थिए। प्राक्टिस पनि राम्रैसँग चलिरहेको थियो।
त्यति नै बेला आइओएमले मेडिकल कलेज खोल्ने भन्ने हल्ला चल्यो। विज्ञापन पनि भयो। आइओएममा सन् १९७२ देखि नै हेल्थ असिस्टेन्ट, अहेब तथा नर्सको पढाइ सुरु भइसकेको थियो। उनलाई दोधार भयो– वीर अस्पताल छाडेर जाने कि नजाने ? तर, सोचे– वीरमा बसेर खाली फिजिसियन मात्र बनिन्छ। आइओएम गयो भने मेडिकल शिक्षाका क्षेत्रमा योगदान पनि गर्न सकिन्छ। तेह्रथुममा बस्दा डाक्टर अभाव पनि देखेको थिए उनले। त्यसैले ‘जुवा नै खेलौ’ं भनेर निर्णय गरे र निवेदन दिए। छनौट भए पनि।
त्यसपछि मन्त्रालयबाट राजीनामा दिए। मोइन शाह, हेमांग दीक्षित, दामोदर उपाध्याय र उनीसहित मिलेर एमबिबिएस पढाइ सुरु भयो। विभिन्न अस्पतालबाट फ्याकल्टी काजमा ल्याएर काम चलाए। एसोसियसट प्रोफेसर उनीमात्र एकजना थिए। स्थायी सरकारी जागिर छाडेर कोही आउन नचाहने। त्यसैले बाहिरबाट फ्याकल्टी काजमा ल्याउनुको विकल्प थिएन। १९७४ देखि उनी आइओएम छिरे, १९७८ देखि एमबिबिएस सुरु गरियो। उनी सम्झन्छन्, ‘म आइओएम आएपछि बिरामीहरु वीरमा आएर खै त डा. गोपाल भन्दा रहेछन्। तर, मेरा इष्र्या गर्नेहरु अब त त्यो कहाँ डाक्टर, टिचर भैसक्यो भन्दा रहेछन्।’
०००
सन् १९८२ मा उनी आइओएमका डिन भए। एमबिबिएसको पहिलो ब्याच निकाल्ने चुनौती उनकै काँधमा थियो। उनी वीर अस्पतालका साथीहरुले भनेको सुन्थे– नेपाली टिचरले पढाएर कस्तो डाक्टर निकाल्छन् खै ? डाक्टर कस्ता हुने हुन् ? हेल्थ असिस्टेन्ट लिएर के कार्यक्रम बनाएको ? आदि। उनी पहिलो ब्याचलाई गुणस्तरीय बनाउन कम्मर कसेर लागे।
पहिलो ब्याचमा बाबुराम मरासिनी, आनन्द रेग्मी, केशव ढ्ुंगाना, मधुसूदन वाग्लेलगायत २२ जना थिए। पढाइ चल्दै गर्दा फ्याकल्टीको पनि तालिम पनि हुँदै गयो। मेडिसिनमा उनी एक्लै थिए, सर्जरीमा डा. अन्जनीकुमार शर्मा थिए। एनेस्थेसियामा डा. रोशनी अमात्यलाई ल्याइयो। गुणस्तर कमजोर हुन नदिन उनले भएभरका उपाय अपनाए।
भारतको एम्स, क्यानडा, पिजिआई चण्डीगढ, मुम्बईको जसलोक अस्पताललगायतबाट विदेशी परीक्षक ल्याइए। पहिलो ब्याचमा ६० प्रतिशत पास भए। सञ्चार माध्यममा समाचार आयो। विदेशबाट आएका परीक्षकसँग अन्तर्वार्ता लिए मिडियाले। उनीहरुले ‘तिमीहरुका डाक्टर कति राम्रा, पाए त हामी लैजान्थ्यौं’ भन्दा बल्ल उनले सन्तोषको श्वास फेरे।
डिनबाट निस्किएपछि अर्को उत्तरदायित्व आइपर्यो उनका सामु। हेमांग दीक्षित डिन भएका बेला जापान सरकारसँग सहमति भएको थियो, शिक्षण अस्पताल बनाउने। त्यसलाई कार्यान्वयन गर्ने जिम्मा उनको काँधमा थियो। टिचिङ बनाउन तीन वर्ष लाग्यो। त्यसपछि अर्को चुनौती थियो, अस्पताल सञ्चालन गर्ने। पहिलो वर्ष बिरामी त्यति आएनन्। दैनिक सय–दुई सय मात्र हुन्थे।
दोस्रो वर्षदेखि बिरामीको भीड बढ्न थालिहाल्यो। जापानी अस्पताल भनेर नाम फैलियो। इण्डोस्कोपी तथा इको जाँच पहिलोपटक सुरु भयो। वीरको विकल्प पनि पाए मान्छेले। तर, अहिले शिक्षण अस्पताल त्यो अवस्थामा रहेन भन्ने सुनेका छन् उनले। बिरामी खुसी भएर जाने अवस्था छैन। बिरामीको भीड र जनशक्तिलाई व्यवस्थापन गर्न नसक्दा यस्तो भएको लाग्छ उनलाई।
शिक्षण अस्पतालमा त्यतिखेर सबै विशिष्ट व्यक्ति उपचार गर्न आउँथे। अहिलेको जस्तो अलिकता केही भइहाल्यो भने पनि विदेश गइहाल्ने परिपाटी थिएन। नेपाली डाक्टरलाई नै विश्वास गर्थे नेताहरुले पनि। पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला संसदमा बेहोस भएको बेला होस् या मनमोहन अधिकारी बिरामी भएका बेला, सबैले त्यहीँ उपचार गराए। कतिपय देशका राजदूत पनि त्यहीँ भर्ना हुने गर्थे। उनी भन्छन्, ‘निष्पक्ष रुपमा भन्नुपर्दा शिक्षण अस्पतालमा अहिले पनि सेवा राम्रो छ। तर, व्यवस्थापन गर्न सकेको छैन र बढ्ता राजनीतिकरणजस्तो भयो।’
०००
उनले देखिरहेका छन्– आइओएममा मनपरी र योग्यता नपुगेका व्यक्तिलाई फ्याकल्टी नियुक्ति गरिएको छ, टप्प टिपेर निर्देशक–डिन बनाइएको छ, सिनियरिटीको कुनै मतलब छैन, दुनियाँमा नभएको राजनीतिक पार्टीको भागबण्डाका आधारमा पदाधिकारी नियुक्ति गर्ने कोटा सिस्टम ल्याइएको छ। विचारधारा नमिल्नेलाई एकै ठाउँमा राखिएको छ । अनि कसरी संस्था चल्छ ?
आइओएमको विषयमा यति धेरै लफडा भएकोमा उनी दुःखित छन्।
डा. गोविन्द केसीको विवाद पनि अनावश्यक लाग्छ उनलाई। भन्छन्, ‘मेडिकल कलेज खोल्न उहाँलाई किन आपत्ति ? मेडिकल कलेज नेपालमा चाहिने कि नचाहिने भन्ने उहाँले भन्ने होइन। के आधारमा खोल्ने, जनसंख्या कति छ, डाक्टर कति छन्, सरकारको योजना, नीति के छ, त्योअनुसार निर्णय गर्नुपर्ने कुरा हो। सरकारको नीतिअनुसार अस्पताल खोल्ने हो।’
सहस्राब्दी विकास लक्ष्यअनुसार सन् २०२० सम्म २२ हजार डाक्टर पुर्याउन पनि थप मेडिकल कलेजको आवश्यकता रहेजस्तो लाग्छ उनलाई। उनका अनुसार त्यो लक्ष्य पूरा गर्न अझै ६, ७ हजार जनशक्ति चाहिन्छन्। स्टाण्डर्ड मेडिकल एजुकेसन दिन तोकिएका न्यूनतम आधार पूरा गर्नेलाई मेडिकल कलेज खोल्न दिनुपर्ने उनको भनाइ छ।
उनीपछि मदन उपाध्याय डिन भए। उपाध्यायले एक दिन प्रस्ताव गरे, ‘आइओएम बनाउन योगदान गरेका पूर्व डिनका नाममा भवनको नाम किन नराख्ने ?’ त्यसअनुसार आइओएमको एउटा भवनको नाम ‘मोहेगो’ राखियो। आइओएमका पहिलो डिन मोइन शाह, दोस्रो डिन हेमांग दीक्षित र तेस्रा डिन गोपाल आचार्यको नामबाट नाम राखिएको थियो। त्यो प्रस्तावलाई त्रिविले पनि स्वीकृति दियो। त्यसअघि नै उनी डिन हुँदा नै निर्देशक बनाइएका भीष्मराज प्रसाईंका नामबाट भीष्म उद्यान बनाइएको थियो।
यस्तै, मेडिकल शिक्षाको विकासका लागि उनले आइओएममा डाइरेक्टर अफ मेडिकल एजुकेसन भएर काम गरे भने पहिलोपटक एमबिबिएसको पाठ्यक्रम उनकै पालामा बन्यो र टिचर्स ट्रेनिङ कार्यक्रम पनि सुरु गरे। आइओएममै रहँदै उनले स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष भएर स्वास्थ्य अनुसन्धानको प्रबद्र्धनमा महत्वपूर्ण योगदान दिए। त्यसबीचमा उनी सन् १९९६ मा बर्माको राजदूत पनि भए।
०००
सन् २००८ मा उनी त्रिविबाट रिटायर्ड भए। त्यसपछि विश्व स्वास्थ्य संगठनको कन्सल्टेन्ट भएर जापान, भारतलगायतका देशमा काम गरे। पछि फर्केर आएपछि किस्ट मेडिकल कलेजमा काम गरे। उनी अहिले मनमोहन मेडिकल कलेजका प्रिन्सिपल छन्। उनको अबको लक्ष्य भनेको नै अझै मेडिकल शिक्षाको क्षेत्रमा योगदान दिँदैं जाने हो। उनैले आइओएममा गाइनो, आँखा, इएनटीलगायत सात आठवटा विषयमा डिप्लोमा सुरु गराए। आइओएमका कार्यरत रहेका बेला त्रिविको नियमअनुसार निजी क्लिनिकमा बिरामी हेर्ने क्रम छुट्यो। त्यो अहिले पनि छैन। तर अझै पनि अस्पतालमा मेडिसिन र कार्डियोलोजीका बिरामी हेर्ने गर्छन्।
०००
उनका दुई सन्तानमध्ये छोरा अमेरिकामा कार्डियोलोजी विशेषज्ञका रुपमा कार्यरत छन् भने छोरी इन्टर्नल मेडिसिनमा कार्यरत छिन्।