सरकारले स्वास्थ्यका विषयमा नीति कार्यक्रम तथा बजेट बनाउँदा स्वास्थ्यका विषयमा गरिने अध्ययन अनुसन्धान प्रभावकारी मान्छिन्। स्वास्थ्य क्षेत्रको अध्ययन तथा अनुसन्धान तब मात्र प्रभावकारी हुनसक्छ जब त्यो तथ्यांकमा आधारित हुन्छ। अस्पताल तथा स्वास्थ्य प्रदायक संस्थाहरु तथ्यांकको भण्डार हुन्। तर तथ्यांकको भण्डार स्वास्थ्य प्रदायक निकायमा हुने तथ्यांकको सहि व्यवस्थापन र प्रयोग भइरहेको छ त? स्वास्थ्य क्षेत्रमा तथ्यांक महत्व किन छ? हामीले विगत १५ वर्षदेखि स्वास्थ्य तथ्यांकशास्त्रको प्राध्यापन तथा अनुसन्धान कार्यमा संलग्न तथा काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्समा स्वास्थ्य तथ्यांकशास्त्र अध्यापनरत किशोर खनालसँग कुराकानी गरेका छौं:
स्वास्थ्य क्षेत्रमा तथ्यांकशास्त्र कति महत्वपूर्ण छ? किन महत्वपूर्ण छ?
स्वास्थ्य क्षेत्रमा मात्र होइन, सम्पूर्ण क्षेत्रमा नै तथ्यांकशास्त्र महत्व धेरै नै बढ्दै गइरहेको छ। अहिले हामीले भन्ने गर्छौं ‘इभिडेन्स बेस्ड पोलिसी’, ‘इभिडेन्स बेस्ड मेडिसिन’। इभिडेन्स बेस्ड भन्ने वित्तिकै तथ्य र तथ्यांकको कुरा आउँछ। तथ्य सिधै नाप्न सकिन्छ तर तथ्यांक सिधै नाप्न सकिँदैन। अप्रत्यक्ष रुपमा ‘मेजर’ गर्नुपर्ने हुन्छ। प्रत्यक्ष रुपमा मेजर गरेपनि त्यो तथ्यांक नै हो। त्यही तथ्यांकको आधारमा हामीले नीति निर्माण बनाउने हो। अध्ययन अनुसन्धान गर्ने हो। त्यसैले यसको महत्व धेरै नै छ।
नेपालमा स्वास्थ्य क्षेत्रमा तथ्यांकको उच्चतम व्यवस्थापन तथा प्रयोग हुन सकेको छ वा छैन?
स्वास्थ्य क्षेत्रमा तथ्यांकको उच्चतम व्यवस्थापन र प्रयोग हुन सकेको त छैन। तर जति भइरहेको छ त्यसको प्रतिफल चाँही राम्रो छ। आजभन्दा १० वर्षअघि अध्ययन अनुसन्धानमा तथ्यांकको त्यति धेरै प्रयोग हुँदैन थियो। आजभोलि भइरहेका अध्ययन अनुसन्धानमा तथ्यांकको प्रयोग हुन थालेको पाइन्छ। स्वास्थ्य क्षेत्रमा पनि प्रत्येक अनुसन्धानमा बायोस्टाटेस्टिसियनको संलग्नता अनिवार्य जस्तै भइसकेको छ। अन्य क्षेत्रमा पनि जस्तै अर्थशास्त्रमा इकोनोमिक स्टाटेस्टिक वा इकोनोमिसियन अनिवार्य मानिन्छ। मनोविज्ञानको क्षेत्रमा साइकोमेट्रिसियनहरुको संलग्नता हुने गर्छ। सबै क्षेत्रमा तथ्यांक शास्त्रीको संलग्नता बढेको छ। तर जति हुनुपर्ने हो त्यति व्यवस्थित भने हुन सकेको छैन।
नेपालमा स्वास्थ्य क्षेत्रमा तथ्यांकहरुको व्यवस्थापन र प्रयोग किन व्यवस्थित हुन नसकेको हो?
कारण धेरे छ। एक त हाम्रो देशमा अध्ययन अनुसन्धानको इतिहास धेरै पुरानो छैन। अनुसन्धानमा तथ्यांकशास्त्रीको संलग्नता हुनै पर्छ भन्ने सचेतना आउन थालेको ८,१० वर्ष मात्र भयो। विगतमा अध्ययन अनुसन्धानमा लागेका विज्ञहरुले तथ्यांकशास्त्र र तथ्यांकशास्त्रीको महत्व बुझ्नुपर्यो। तथ्यांकको सहि प्रयोग गरेका गरिएका अध्ययन अनुसनधानहरुको रिलायविलिटी र भ्यालिडिटी हाइ हुन्छ भन्ने कुरा बुझे मात्र पनि तथ्यांकशास्त्रको व्यवस्थापन र प्रयोग राम्रोसँग हुनेछ।
स्वास्थ्य क्षेत्रको अनुसन्धानका लागि तथ्यांक कति महत्वपूर्ण छ? कस्ता कुरालाई आधार बनाएर तथ्यांकमा आधारित अनुसन्धानहरु गर्न सकिन्छ?
यो एकदमै महत्वपूर्ण छ। स्वास्थ्य भन्ने वित्तकै इभिडेन्स बेस्ड हुन्छ । त्यतिकै स्वास्थ्य सम्बन्धि अध्ययन अनुसन्धान हुँदैन। कुनै पनि बिरामीलाई यत्तिकै औषधि दिन मिल्दैन, केही न केही आधार (तथ्यांक) चाहिन्छ। जस्तो अस्पतालमा उपचारका लागि पुगेको बिरामीलाई उसको पहिला नाम, थर, उमेर, उचाई, तौल सोधिन्छ। जस्तो आएको छ भने तापक्रम कति छ? विभिन्न परीक्षणहरु गरिन्छ। यो सबै तथ्यांक नै हो। हाम्रो नेपालमा हेल्थ पोष्ट, जिल्ला अस्पतालहरुमा तथ्यांकहरु छन्। त्यो तथ्यांकहरुलाई सरकारले नीति निर्माणहरु बनाउँदा प्रयोग गर्ने गरेको छ। तर यो निजी नर्सिङ होम, मेडिकल कलेजहरुमा पनि अथाह तथ्यांकहरु छन् तर त्यसलाई भने सरकारले प्रयोग गर्न सकेको छैन।
स्वास्थ्य क्षेत्रमा तथ्यांक महत्वपूर्ण छ भने त हरेक अस्पताल, नर्सिङ होम तथा स्वास्थ्य प्रदायक संस्थामा स्वास्थ्य तथ्यांकशास्त्री हुनुपर्छ होला नि नेपालमा स्वास्थ्य तथ्यांकशास्त्री कति छन्?
नेपालमा स्वास्थ्य तथ्यांकशास्त्री कति छन् भन्ने त थाहा छैन। स्वास्थ्य तथ्यांक शास्त्रीहरुको कुनै एसोसियसन तथा काउन्सिल छैन। तर पहिलाको तुलनामा अहिले संख्या बढ्दो छ। प्रत्येक नर्सिङ होम, अस्पताल तथा स्वास्थ्य प्रदायक संस्थामा स्वास्थ्य तथ्यांकशास्त्री हुनु राम्रो कुरा हो। अन्य देशहरुमा हेर्ने हो भने प्रत्येक अस्पतालमा स्वास्थ्य तथ्यांकशास्त्री र स्वास्थ्य तथ्यांकशास्त्रको युनिट नै हुन्छ। उनीहरुले अस्पतालमा भएको तथ्यांकलाई व्यवस्थापन गरेर राख्ने काम गर्छन्। हाम्रो देशमा अलि व्यवस्थित भइसकेको छैन। अस्पतालहरुमा स्वास्थ्य तथ्यांकशास्त्रीको दरवन्दी छ। कतिपय कलेजमा प्mयाकल्टीहरु छ तर नर्सिङ होमहरुमा भने अझै छैन।
स्वास्थ्य तथ्यांकशास्त्री बन्नका लागि न्युनतम योग्यता के हो? स्वास्थ्य तथ्यांकशास्त्रीमा कस्ता ज्ञान र अनुभव हुन आवश्यक छ?
न्युनतम योग्यताको कुरा गर्नुपर्दा उसले गर्ने काम के हो भन्नेमा भर पर्छ। साधारण तथ्यांकको व्यवस्थापन मात्र गर्ने हो भने स्नातक तह सरह अध्ययन गर्नुपर्छ। त्यो भन्दा माथि अध्ययापन नै गराउने हो भने स्नातकोत्तर तहको अध्ययन गरेको वा विद्यावारिधी गरेको भए राम्रो हुन्छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले र त्यहाँ अनुमति पाएका विभिन्न संघसंस्थाहरुले पनि तथ्यांकमा आधारित भएर अनुसन्धानहरु गरिरहेको देखिन्छ। यसरी भइरहेको अनुसन्धान प्रभावकारी छ?
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गर्ने अनुसन्धानहरु उच्चकोटीको छ। नेपालमा त्यो स्तरको अनुसन्धान अन्त सायद भएको छैन। परिषद्मा अनुसन्धानकर्ताहरुको ठूलो टिम छ। सबै अनुभवी अनुसन्धानकर्ताहरु हुनुहुन्छ। परिषद्ले अन्तराष्ट्रिय मापदण्डमा आधारित भएर अनुसनधान गर्ने गरेको छ।
सरकारले स्वास्थ्य तथ्यांकको उच्चतम प्रयोग र अनुसन्धान गर्न कस्तो नीति ल्याउन आवश्यक छ?
त्यसका लागि सरकारले सबै मन्त्रालयमा यो नीति बनाउन आवश्यक छ। स्वास्थ्य मात्र होइन, सबै मन्त्रालयमा तथ्यांकलाई व्यवस्थापन गर्ने तथ्यांक निकाय हुन आवश्यक छ।
नेपालको स्वास्थ्य क्षेत्र डाटा (तथ्यांक) मा भन्दा दातामा बढी भर परेको छ भन्छन् नि?
यो कुरा अर्धसत्य हो। किनकी यो गलत पनि होइन। कतिपय अवस्थामा दाताहरुको चाहना अनुसार पनि काम गर्नुपर्ने बाध्यता हुनसक्छ । तर मैले चाँही त्यस्तो भोगेको छैन। तर कतै कतै हुन्छ भन्ने सुनेको छु।
तथ्यांक र अनुसन्धानको कामलाई व्यवस्थित र विकास गर्न सरकारलाई के सुझाव दिनुहुन्छ?
सरकारले इभिडेन्स बेस्ड पोलिसीमा फोकस गर्नुपर्छ। अहिले ग्लोबल्ली पनि इभिडेन्स बेस्ड पोलिसीलाई नै प्राथमिकता दिएको देखिन्छ। सबै क्षेत्रमा नीति निर्माण तथा कार्यक्रम सुरुवात गर्दा इभिडेन्स बेस्ड पोलिसीमा आधारित भएर गर्नुपर्छ। सरकारले पनि इभिडेन्स बेस्ड पोलिसी बनाउँदा सबैलाई फाइदा हुन्छ।