काठमाडौं- नेपालमा २५ जना कोभिड-१९ संक्रमितमध्ये एक जना मात्र सरकारको सम्पर्कमा पुग्ने देखिएको छ। सरकारले नै गरेको सर्भेक्षणले यस्तो देखाएको हो।
इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले गरेको सेरो प्रिभिलेन्स सर्भेले करिब पाँच प्रतिशत संक्रमित मात्र सरकारको सम्पर्कमा पुग्छन्। गएको असार २१ देखि साउन ३१ सम्म कोभिड-१९ को अवस्था पत्ता लगाउन दोस्रो पटक सेरो प्रिभिलेन्स सर्भे गरिएको थियो। सर्भेका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, केन्द्रीय तथ्यांक विभाग र विश्व स्वास्थ्य संगठनको आर्थिक प्राविधिक सहयोगमा नमूना संकलन गरिएको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पाँच महिनाभन्दा माथि उमेर समूहका १३ हजार १६१ जनासँग नमूना संकलन गरिएको थियो। जसमा ६८ दशमलब ६ प्रतिशत व्यक्तिमा कोभिड-१९ को एन्टीबडी देखिएको छ। यसको मतलब नेपालमा संक्रमण समुदायस्तरमा फैलिएको पौडेलले बताए। परीक्षण गरिएको तथ्यांकभन्दा सर्भेको रिपोर्टले बढी मानिस संक्रमित भइसकेको देखाएको छ।
कोरोनाको पहिलो डोज खोप लगाएका ८० र दुवै डोज लगाएका ९० प्रतिशतमा एन्टीबडी देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसले खोप प्रभावकारी रहेको देखाएको पौडेलले बताए। स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत रहेका डा पौडेलले सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, शहरका सबै लिंग, उमेर, पेसा तथा सबै समूहमा समान एन्डीबडी देखिएको बताए।
के हो र किन गरिन्छ सेरो प्रिभिलेन्स सर्भे?
कृष्णप्रसाद पौडेल, प्रमुख इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा
हाम्रो देशमा कोभिड-१९ संक्रमण कुन तहमा पुग्यो भन्ने पत्ता लगाउन सेरो प्रिभिलेन्स सर्भे गरिएको हो। हामी कहाँ कति व्यक्ति संक्रमित भए भन्ने पनि यो सर्भेले देखाउँछ। त्यस्तै कति व्यक्तिमा एन्टीबडी विकास भएको छ भन्ने पनि पत्ता लाग्छ।
पहिलो सर्भे गत कार्तिकमा गरेका थियौंँ। त्यो बेलामा नेपालमा कोरोना संक्रमण उच्च तहमा थियो। दोस्रो सर्बेका लागि गत चैत महिनादेखि तयारी गरिएको थियो। हामी सबैलाई थाहा छ, चैतको तेस्रो हप्तादेखि कोभिड संक्रमणदर बढ्दै गयो। वैशाखमा त निषेधाज्ञा नै गर्नुपर्ने अवस्था आयो।
दोेस्रो लहरमा विशेष गरी डेल्टा भेरिएन्ट बढी फैलियो। पहिलो लहरमा भन्दा बढी संक्रमित भए। संक्रमित हुने क्रम पनि दुई गुणाले बढ्यो। अस्पतालमा अक्सिजनको अभाव भयो। कोभिड संक्रमणबाट हुने मृत्युदर पनि बढ्यो। त्यसकारण सर्भे चैतमा नै हुन सकेन। असारको अन्त्यमा सुरु गरेर साउनभरिमा सकायौँ।
सर्भेका क्रममा देशका सातै प्रदेश, ७७ वटै जिल्लाबाट नमूना लिइएको छ। धेरै जनसंख्या भएको काठमाडौं उपत्यका, प्रदेशका सदरमुकाम भएका सहर र संक्रमण बढी भएको क्षेत्रबाट नमूना संकलन भयो। अन्य तीन कलस्टरहरु कम जोखिम, मध्यम जोखिम र बढी जोखिम भएका ठाउँबाट पनि नमूना लिइएको थियो।
किनभने, कतिपय जिल्लाबाट कम रिर्पोटिङ भएको थियो। उदाहरणको लागि हुम्ला, बाजुरा जिल्लाको कम रिर्पोटिङ छ। कम रिर्पोटिङ भएका जिल्लाबाट धेरै नमूना र धेरै संक्रमित भएको ठाउँमा थोरै नमूना संकलन गर्नुपर्ने रणनीति रहेछ। त्यस हिसाबले पनि प्रदेशगत रुपमा सुदूरपश्चिम प्रदेशको सबैभन्दा धेरै नमूना लिइएको थियो।
थोरै लिइएको प्रदेशको १५ सय र धेरै लिइएको सुदूरपश्चिमको २७ सय नमूना लिइएको छ। हामीले १३ हजार ७०० जनाको नमूना संकलन गरेका थियौं। त्यसमा ६ महिना उमेरदेखि माथिका सबै उमेर समूहबाट नमूना लिएका थियौँ।
यो सर्भेमा देशभर ठूलो अन्तर देखिदैन। विशेषगरी ४ वर्षमुनिका बालबालिकामा ५० प्रतिशत, ४ वर्षमाथि ५५ प्रतिशत, ७५ वर्षभन्दा माथिका उमेर समूहमा ७५ प्रतिशत हाराहारीमा एन्टीबडी विकास भएको देखिन्छ। ७५ वर्षमाथिका धेरैले पहिलो मात्रा कोभिड खोप लगाइसक्नु भएकोले पनि धेरै देखिएको हुनसक्छ। किसानमा ६६ प्रतिशत, विद्यार्थीमा ५९ प्रतिशत छ। अफिस स्टाफमा ८० प्रतिशत छ।
पेसागत रुपमा पनि स्वास्थ्यकर्मीमा कोभिड-१९ को एन्टिबडी अन्य पेसा समूहभन्दा उच्च देखिन्छ। अन्य पेसाका व्यक्तिमा ७० को हाराहारीमा छ भने स्वास्थ्यकर्मीमा ८० प्रतिशतको हाहाहारीमा देखिन्छ।
हिमाल, पहाड र तराईमा ठूलो फरक देखिदैन। हिमालमा पनि ६० प्रतिशत मानिसमा एन्टिबडी छ। पहाडमा ६३ र तयारीमा ७३ प्रतिशत छ।
ठूला सहरमा धेरै परीक्षण भएको, कम जनसंख्या भएको ठाउँमा कम परीक्षण भएको पायाँै। तर, कम परीक्षण भए पनि संक्रमण बढी भएको देखिन्छ। शहरमा ६८ र गाउँमा ६६ प्रतिशत मानिसमा एन्टिबडी देखिन्छ।
पहिलो सेरो प्रिभिलेन्स सर्भेमा सहभागी देशभरको औसत १४ प्रतिशत थियो। त्यतिखेर प्रदेश २ मा २७ प्रतिशत थियो। यो पटक प्रदेश २ मा ८४ प्रतिशत छ। सबैभन्दा कम गण्डकी प्रदेशमा ६० प्रतिशत देखिएको छ। प्रदेश १ मा ६३ प्रतिशत, बागमती प्रदेशमा ६८, लुम्बिनीमा ७३, कणर्ालीको ६३ र सुदूरपश्चिमको ६४ प्रतिशतमा एन्टिबडी देखिएको छ।
काठमाडौं उपत्यकामा ६० देखि ६४ प्रतिशतको हाराहारीमा छ। काठमाडौं जिल्लाभरि ६४ र शहरमा ६० प्रतिशतमा एन्टिबडी बनिसकेको छ। यसको बिस्तृत रिर्पोट आउन केही समय लाग्छ। जसमा कति व्यक्तिले एक पटक कोरोना परीक्षण गरेका थिए, कतिले खोप लगाएका थिए लगायतको तथ्यांकहरु समावेश हुन्छ।
यसले के देखाउँछ भने अझै पनि हाम्रो परीक्षण पुगेको छैन। लक्षणविहीन, सामान्य लक्षण भएका परीक्षण बाहिर रहेका धेरै संक्रमित भइरहेको सेरो प्रिभिलेन्सको तथ्यांकले देखाउँछ। खोप र परीक्षण अभियान बढाउँदै सँगसँगै लैजानुपर्ने हुन्छ।
हामीले अब तथ्याकले देखाएअनुसार गाउँगाउँमा, जहाँ मानिसको भीडभाड बढी हुन्छ त्यस्तो ठाउँमा परीक्षण बढाउनुपर्छ। जोखिम क्षेत्रमा परीक्षण बढाउने रणनीति लिनुपर्ने हुन्छ। अहिले हामीले गरेको परीक्षणले २५ जना व्यक्ति संक्रमित छन् भने हामीले १ जना मात्रै भेटेका छौँ। यो सेरो प्रिभिलेन्सको तथ्यांकले देखाउँछ। यसको अर्थ हामी करिब ५ प्रतिशत संक्रमित मात्र ‘क्याच’ गर्न सकेको रिर्पोटले देखाएको छ।
अहिलेसम्म ४४ लाखको मात्र परीक्षण भएको छ। तर, संक्रमित ६८ प्रतिशत भनेको त धेरै हो। त्यो स्याम्पल रिप्रेन्जेटेटिभ छ। यो सर्बेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, केन्द्रिय तथ्यांक विभाग र विश्व स्वास्थ्य संगठनको आर्थिक प्राविधिक सहयोगमा नमूना संकलन गरिएको थियो।
महत्वपूणर् कुरा के हो भने, एन्टीबडी छ भनेर हामी ढुक्क हुने अवस्था छैन। तर, यो एन्टीबडीले हामीलाई कति समय सुरक्षित राख्छ भन्ने स्पष्ट छैन। अझै पनि कोरोना महामारीको खतरा कायम रहेको र भाइरसले आफ्नो रुप परिपर्वत गरहने जोखिम कायम रहेकाले संक्रमण रोकथाम र नियन्त्रण प्रभावकारी उपाय हो, भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, भीडभाड कम गर्ने र सरसफाइमा ध्यान दिने।