विसं १९९० को दशक। नयाँ सडक क्षेत्रमा लोभलाग्दो शान थियो डा. जितसिंह मल्लको। शहरका धैरै मानिस उनको शान देखेर लोभिन्थे। तिनैमध्ये एक थिए डा.बद्रीराज पाण्डे। डा.मल्लले स्थानीयलाई गरेको सहयोग र उनले पाएको आदर देख्दा पाण्डेको बाल मष्तिष्कमा एउटा सपना रोपिन्थ्यो, आफू पनि त्यसैगरी घाँटीमा आला लगाएर सहयोग गर्दै हिड्ने।
बुबा रुद्रराज पाण्डे चर्चित उपन्यास रुपमतिका लेखक हुन्। उनी १९८२ मा दरबार हाइस्कूलका पहिलो नेपाली प्रधानअध्यापक भएका थिए। पछि उनी ००७ सालमा शिक्षा सचिव र २०११ मा त्रिभुवन विश्वविद्यालका उपकुलपतिसमेत भएका थिए।
बाबु शिक्षक भएपछि छोराछोरीको पढाई सहजै भयो। बद्रीराज घरमै अध्ययन गरी कक्षा पाँचमा भर्ना भए। चिकित्सक बन्न राम्रो पढाई हुनुपर्छ भन्ने सायद उनले राम्रोसंग बुझेका थिए। उनले त्यही कुरालाई पछ्याए। विद्यालय भर्ना भएलगत्तै लगातार तीन वर्ष प्रथम भए। तर कक्षा ८ मा नयाँ विद्यार्थी आएपछि उनी पछि परे। डा. मोइन शाह पहिला भए भने उनी दोस्रा भए। यद्यपि दुबैले प्रथम श्रेणीमै एसएलसी पास गरे।
एसएलसीलगत्तै विज्ञान पढ्न त्रिचन्द्र भर्ना भए। २००७ सालमा सञ्चालित नेशनल क्याडेट कोरमा तालिम लिए। राम्रो नम्बर ल्याएर आइएस्सी पास पनि भए। तर, उमेर नपुगेका कारण आइएस्सी पास भइसकेपछि पनि डाक्टर बन्ने सपना पूरा गर्न एक वर्ष कुर्नुप¥यो। त्यसपछि उनले कोलम्बो प्लान छात्रवृत्तिका लागि आवेदन दिए। त्यसअघि बिएस्सी पढ्न उनी भारतको इलाहाबाद गएका थिए। तर, फाइनल इयरमा पढ्दाखेरि नै उनी कोलम्बो प्लानअन्तर्गत एमबिबिएस गर्न ग्वालियर मेडिकल कलेज गए।
तिनताका नेपालमा धेरै डाक्टर थिएनन्। तर पनि जागिर खान मुस्किल थियो। उनी पढेर फर्कदा आइएस्सीसम्म सँगै पढेका डा.मोइन शाहले जागिर खाइसकेका थिए। पछि शाह पिजि पढ्न लन्डन जाने भएपछि उनको खाली ठाउँमा पाण्डेले स्वयम्सेवकको रूपमा काम थाले।
त्यो बेला वीर अस्पतालको कम्पाउन्डमा सिभिल मेडिकल थियो। अस्पताल पनि वीर अस्पताल मात्र थियो। पढेर आएका डाक्टर सबै वीरमा सेवा गर्न चाहन्थे। सबैको रोजाई वीर नै हुन्थ्यो। तर, उनलाई वीर अस्पतालको व्यवस्थापनले काम गर्न लोभ्याउन सकेन। वार्डमा बिरामी सुताइएको हुन्थ्यो। त्यही कुकुर आएर खाना खाइरहको हुन्थ्यो। उनलाई निकै वितृष्णा लाग्यो।
पछि उनलाई वीरमा पोष्टिङ गर्ने कुरा आयो। तर, अस्वीकार गरे। काठमाडौँ बाहिर जहाँ भए पनि जान तयार भए। त्यहीबेला चितवनमा मलेरिया उन्मुलनको कार्यक्रम चलेको थियो। त्यहाँ अस्पताल पनि सञ्चालन हुने भएकाले त्यही जान भनिएपछि उनी तयार भए। तर विभागले पोष्टिङ नगरी झुलाएर राख्यो। पछि पाल्पा जान निर्देशन आयो। उनले चितवन नै जाने अड्डी लिए। पछि थाहा भयो, चितवनमा त अरू नै मान्छे पठाउने तयारी रहेछ। विभागका निर्देशकले पाल्पा नगए कारवाही गर्ने चेतावनी दिए। उनले त्यो चुनौती सामना गर्न तयार भएको अभिव्यक्ति दिए।
शिक्षा विभागअन्तर्गत एउटा डिस्पेन्सरी थियो सरस्वती सदन घण्टाघरमा। त्यहाँको नियुक्ति लिए। स्वास्थ्यमा पुनः पाल्पा जान दबाब आउँदा उनले त्यो नियुक्ति पत्र देखाए। यो विषय मन्त्रिपरिषद्मा समेत पुगेछ। स्वास्थ्यको मान्छे शिक्षामा कसरी गयो भनियो। तर, त्यो बेला स्वास्थ्य सेवा समूह गठन भैसकेको थिएन। पोष्टिङमा भएको राजनीतिसँग विरक्त लागेको थियो। तर, स्वास्थ्य सेवाप्रति विरक्तिएका थिएनन्। पिजी पढ्न जाने समयमा शिक्षामा काम गर्ने मान्छेलाई स्वास्थयको कोटामा पठाउँन मिल्दैन भनेर आपत्ति जनाइयो। उनले शिक्षा मन्त्री र सचिवलाई भेटे। शिक्षामा आएको छात्रवृत्तिमा स्वास्थ्यको हस्तक्षेप भयो भनेपछि उनी मन्त्री र सचिवको समर्थनमा पिजी पढ्न बेलायत गए। १७ दिनको यात्रापछि उनी मुम्बईबाट पानीजहाजमार्फत् १ जनवरी १९६० मा लण्डन पुगे।
लन्डनस्थित कन्ज्वाइन्ट बोर्डबाट उनले बाल स्वास्थ्यमा पिजी पूरा गरे। मनको इच्छा भने पब्लिक हेल्थ पनि पढ्ने थियो। त्यसैले अध्ययन बिदा सकिएपछि पुनः बेतलबी बिदा लिएर पब्लिक हेल्थ पनि पढे। यसैबीचमा विभिन्न अस्पतालमा विभिन्न पदमा काम गरे। बेलायतमै बसेर काम गर्न दबाब आउँथ्यो। तर, सेवा गर्न आफ्नै देश फर्किए।
त्यतिबेला स्वास्थ्य सेवा विभाग सिंहदरबारमा थियो। फर्किनासाथ डिपिएच पास गरेको भनी सरकारले उनलाई विभागमा सहायक महानिर्देशकको जिम्मेवारी दियो। विभागमा उनी ट्रेनिङ एन्ड प्लानिङ हेर्थे। छात्रवृत्तिको काम पनि सोही शाखाबाट हुन्थ्यो। जथाभावी गर्ने प्रवृत्ति अन्त्य गर्न उनले मापदण्ड बनाए। मापदण्डलाई मन्त्रीले सदर गरेपनि पछि कार्यान्वयनमा खटपट भयो। मन्त्रीले एक जना आफ्ना मान्छेलाई छात्रवृत्तिमा पठाउन चाहे, तर मापदण्डअनुसार नमिल्ने भन्दै पाण्डेले दिन मानेनन्। केही समयपछि उनको इच्छाविरुद्ध वीर अस्पतालको डेपुटी मेडिकल सुपरिटेण्डेन्टमा सरुवा गरियो।
त्यतिखेर रुसको सहयोगमा बनेको अस्पताललाई कान्ति बाल अस्पतालमा परिणत गरिएको थियो। सरकारसंग निकै कम मात्रै बाल रोग विशेषज्ञ थिए। बालरोग पढेकाले उनलाई कान्ति पठाइयो। कान्तिमा त्यतिबेला धेरै बिरामी आउँदैनथे। दैनिक ५÷७ जना बिरामी हेरेको भरमा उनलाई चित्त बुझेन। त्यहीबीचमा थापाथली प्रसूति गृहको नियोनेटल युनिटमा स्वयम्सेवकको रूपमा काम गर्न पनि थाले। जनस्वास्थ्यमा काम गर्ने रहर थियो। एमबिबिएसलगत्तै परिवार नियोजन संघका संस्थापक सदस्य पनि भएकाले उनलाई त्यही क्षेत्रमा केही गर्ने इच्छा जाग्यो।
पीजी गर्न लण्डन जानुअघि नै डा.पाण्डेसहित, डा नारायणकेसरी शाह, डा. जयनारायण गिरी, डा लक्ष्मण पौडेल मिलेर नेपाल मेडिकल एशोसियसनअन्तर्गत परिवार नियोजन कमिटि बनाए। तत्कालिन स्वास्थ्य सहायक मन्त्री द्वारिकादेवी ठकुरानी पनि चिकित्सकको आग्रहअनुसार अध्यक्ष बन्न तयार भइन् र अन्य समाजसेवी महिलाहरूले पनि साथ दिए। यसरी सुरुवात भयो नेपाल परिवार नियोजन संघ।
अहिले त हाम्रो समाजमा मानिसहरू परिवार नियोजन गर्न हत्तपत्त अघि सर्दैनन्। त्यो थियो आजभन्दा पाँच दशकअगाडिको समाज। परिवार नियोजनको एजेण्डा बोकेर हिड्न जोखिमपूर्ण थियो। तर काम सही भएकाले उनी यो अभियान पूरा गरिछाड्ने अठोट बोकेर हिडेँ। परिवार नियोजन संघ गठन भइसकेपछि काठमाडौंबाहिर प्रचारको सिलसिलामा जाँदा पोखरामा सारा गाउँले मिलेर घेर्न आए। पृथ्वीनारायण क्याम्पसमा बसेर कुरा भइरहेको थियो। त्यहीबेला मान्छेहरू घेर्न आएपछि उनीहरू पछाडीको ढोकाबाट निस्केर भागे। त्यतिबेला परिवार नियोजन भनेको नै अश्लिल मानिन्थ्यो। जहाँ गयो छोरीबुहारी बिगार्ने भन्दै गाली गर्थे।
प्रसूति गृहको नियोनेटल युनिटमा पाण्डेले २०२९ सालमा नेपालमै पहिलोपटक पूरै रगत परिवर्तन गरेर एक बच्चाको ज्यान बचाए। ओ नेगेटिभ समूहकी ती बच्चालाई जन्मनासाथ जन्डिस भएको थियो। विश्व स्वास्थ्य संगठनमा कार्यरत एक नर्सको ओ नेगेटिभ रगत थियो। मध्यरातमा उनलाई उठाएर रगत लिई परिवर्तन गरिएको थियो।
अस्पतालमा रहँदा थोरैको मात्र सेवा गर्न सकिने भएपछि धेरै जनताको सेवा गर्नुपर्छ भनेर उनले पब्लिक हेल्थतिर जाने निर्णय गरे। क्लिनिकलमा रहँदा समाजमा पुग्न सकिन्न भन्ने बोध भएकाले उनी परिवार नियोजनको क्षेत्रमा लागे।
अस्पताल छाड्दा धेरैले बेबकुफ भने। क्लिनिक खोलेर बस्नुपर्छ भन्ने शुभचिन्तकको सल्लाह थियो। तर उनलाई समाजमा पुगेर स्वास्थ्य चेतना फैलाउने उनको चाहनाअनुसार उनको सरुवा परिवार नियोजन तथा मातृ स्वास्थ्य कल्याण परियोजनामा भयो। त्यहाँ २०३२ देखि २०४० सम्म प्रमुख भई काम गरे। एकै पदमा यति लामो समय काम गरे। त्यतिबेला क्लिनिकल डाक्टरलाई तीन सय ‘ननप्राक्टिस’ भत्ता दिइन्थ्यो। परियोजनामा कार्यरत डाक्टर प्राक्टिस गर्न पाउँदैनथे। मातृ शिशु मृत्युदर घटाउन परिवार नियोजनको अनिवार्यता बोध गराउन विभिन्न उपाय अबलम्बन गरे। त्यतिबेला परिवार नियोजनको कुरा सुन्ने गाउँघरमा कमै हुन्थे। उनले धामीझाँक्रीलाई तालिम दिन र परिवार नियोजनका कुरा र बच्चालाई झाडापखालाबाट बचाउने उपाय सिकाउन उनले दोलखाको एउटा गाउँलाई नमूनाका रूपमा छनौट गरे। डाक्टरका कुरै नपत्याउने समाजले त्यही कुरा धामीझाँक्रीको मुखबाट सुन्दा भने पत्यायो।
सामुदायिक सेवा यात्रा कहाँबाट सुरु गर्ने त ? आधारभूत अध्ययन बिरलै थियो। उनको नेतृत्वमा सन् १९७६ तिर लंगिच्युड्नल हेल्थ सर्भे भयो। बच्चा र आमाका बारेमा गरिएको सो अध्ययनले मातृमत्युदर एक लाख जीवित जन्ममा ८ सय ५० भएको देखायो। पछि यो अध्ययन नै राष्ट्रिय तथ्यांक बन्यो। त्यसैताका वल्र्ड फर्टिलिटी सर्भेअन्तर्गत नेपाल फर्टिलिटी सर्भे सञ्चालन गरे। यसैले अन्तर्राष्ट्रिय स्तरको तथ्यांक उपलब्ध गराउन सफल भयो। त्यतिबेलै भएको अर्को अध्ययनमा नेपालमा प्रजनन दर ६.२ देखियो। दुई मुख्य समस्यालाई हल गर्ने एउटै विधिको रुपमा आयो दुई सन्तानको योजना। उनले आफैले पहिला त्यसलाई कार्यान्वयनमा ल्याए। सन् १९७५÷७६ तिर सिंगापुरमा दुई सन्तानको योजना ल्याइएको थियो। त्यसबेला नेपालमा परिवार नियोजनका साधनको प्रयोगदर पनि कम थियो। जनसंख्यासँग जोडेर परिवार नियोजनका कार्यक्रम अगाडि बढाइए। त्यतिबेला गठन भएको जनसंख्या बोर्डको उनी सदस्य भए। केही समयपछि प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय जनसंख्या बोर्ड बन्यो।
परिवार नियोजन र मातृ शिशु कल्याण सेवाको पहुँच गाउँघरमा पु¥याउन उनले स्थानीय कार्यकर्ता खासगरी महिलालाइ तालिमको व्यवस्था गरे। घुम्ती टोलीबाट स्थायी बन्ध्याकरण सेवाका साथै शिशुका लागि खोप कार्यक्रम विकट क्षेत्रमा पु¥याए। सबै साधनहरू निःशुल्क प्राप्त भएपनि किन्न चाहनेका लागि शहरी क्षेत्रमा कण्डोम र खाने चक्कीको नामाकरण क्रमशः ढाल र गुलाफ गरी बिक्री वितरणको व्यवस्था मिलाए। वर्तमान सिआरएस प्रालिको सुरुवात यसरी भयो। ४० जिल्लामा कार्यालय स्थापना गरी आर्थिक तथा प्रशासनिक कार्य विकेन्द्रिकरण गरी सुशासनको परिचय दिए। सूचना प्रसारका लागि रामशाहपथस्थित नेपाल परिवार नियोजन तथा मातृशिशु कल्याण भवन (हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय) मा आधुनिक रेकर्डिङ स्टुडियो स्थापना गरे। रेडियो नेपालले पनि यसको प्रयोग गथ्र्यो।
सन् १९८० मा दुई सन्तानको नीतिलाई सम्बोधन गर्नेगरी प्रस्ताव तयार भएर मन्त्रिपरिषद्मा पुग्यो। त्यसमा दुई बच्चामा सीमित गर्नेलाई स्वास्थ्य शिक्षामा सहुलियत दिने र दुईभन्दा बढी सन्तान भएमा राज्यले सहुलियत नदिने व्यवस्था थियो। बढी सन्तान जन्माउनले निर्वाचन लड्न नपाउने व्यवस्था थियो। नीति पास भएपनि कहिल्यै कार्यान्वयनमा आउन सकेन। पछि उनी बोर्डको सदस्य–सचिवबाट हटाइए।
सन् १९८१÷८२ तिर परिवार नियोजनका साधन प्रयोग दर बढ्दै आएको पाइयो। परिवार नियोजन कार्यक्रममा रहँदा उनले नै केन्द्रको अधिकारलाई विकेन्द्रित गरे। जनशक्ति नियुक्ति तथा सामान खरिदको काम स्थानीय स्तरमै हुन्थे। तर तत्कालिन केन्द्रका प्रशासकहरूले त्यो कुरा मन पराएनन्। अधिकार विकेन्द्रीकरण नै उनलाई त्यहाँबाट हटाउनुको कारण बन्यो। परिवार नियोजन कार्यक्रमबाट उनलाई मन्त्रालयको योजना महाशाखा प्रमुख बनाइयो। मन्त्रालयमा कम्प्युटर पनि नभएको अवस्थामा उनले कम्प्युटर जोडे। स्वास्थ्य नीति कार्यक्रम योजना तर्जुमामा सक्रिय भए। जनतालाई आधारभूत न्यूनतम सेवाका लागि योजना कार्यक्रम तर्जुमा गरे।
त्यतिबेला स्वास्थ्यका विषयमा दरबारको विशेष चासो हुन्थ्यो। सचिवहरू ब्रिफिङका लागि नियमित दरबार जान्थे। उनी पनि एक दिन सचिवसँगै दरबार गए। त्यहाँ वीर अस्पतालको कुरा उठ्यो। अधिकांशले चिकित्सकहरू अनुशासनहीन भएर समस्या आएको बताए।
केही दिनपछि उनलाई दरबारका सचिवले खोजेको भनेर बोलाइयो। उनी भेट्न गए। वीर अस्पतालको निर्देशक भएर जान आदेश दिइयो। तर, वीर अस्पतालमा काम गर्ने उनको इच्छा पहिल्यै मरिसकेको थियो। सचिवसंग ठाडै भने, ‘वीर अस्पतालमा काम गर्दिन’। पब्लिक हेल्थमा काम थालिसकेकाले पनि वीरमा जाने इच्छा नभएको बताए। सुर्खेत सरुवा गर्ने धम्की आएपनि बरु त्यसलाई स्वीकार्ने बताए। पछि सचिवले रानीको आदेश भन्दै मानिदिन आग्रह गरेपछि बल्ल उनी तयार भए। १३ महिना वीरमा काम गरे। तोकिएको समयमा अस्पतालमा हाजिर भई अनिवार्य बस्नैपर्ने बाध्यकारी व्यवस्था लागु गर्न कोशिस गरे। अस्पतालका बरिष्ठहरूले पनि दरवार जानुपर्ने भन्दै समयमा आउन नसकेको भनेर उम्किन खोजे। तर उनी डराएनन्। उनले कुर्सीमा रहन्जेल इमान्दारीपूर्वक काम गर्ने धर्म निर्वाह गरिरहे।
सक्दो राम्रो व्यवस्थापन गर्ने कोशिस गर्दागर्दै पनि उनी वीरबाट बाहिरिनुपर्ने कारण बन्यो रंगशाला काण्ड। २०४४ साल फागुन २८गते दशरथ रंगशालामा त्रिभुवन च्यालेन्ज शिल्ड कपको फाइनल भइरहँदा आएको हावाहुरीका कारण भागदौड मच्चिदा ७४ जनाको ज्यान गयो। कयौं घाइते भए। सबै एकैसाथ इमर्जेन्सीमा आएका ती घाइतेलाई व्यवस्थापन गर्न निकै हम्मेहम्मे प¥यो। वीर जानेबित्तिकै यो÷यो कुरा चाहिन्छ भनेर सूची दिएपनि कार्यान्वयन भएको थिएन। त्यही कुराको अभाव त्यो संकटका बेला खड्कियो। राजारानीसमेत अस्पताल आए। राजा ‘तपाईंले गरेको कामले म खुसी भएँ’ भन्दै फर्किए। घटनाबारे छानविन गर्न आयोग बन्यो।
एकदिन बिहान सबेरै डा.पाण्डेलाई फोन आयो। फोनमा सचिवले अघिल्लो दिन आयोगले क्याबिनेटमा प्रतिवेदन बुझाएको जानकारी दिदैं भने, ‘अहिले बिहान रेडियोमा तपाईंको नाम आउँछ सुन्नुहोला।’ प्रतिवेदनले सरकार नै ढल्ने अवस्था भएकाले तपाई ‘बलिको बोका बन्नुभयो’ भने सचिवले। त्यसैदिन डा.पाण्डेलाई मन्त्रालयमा हाजिर गराइयो। त्यसताक राजनीतिज्ञबाहेक कर्मचारीको नाम रेडियोमा आउँदैनथ्यो।
उनी आश्चर्यमा परे। एकपटक पनि उनीसंग स्पष्टीकरण नलिई आयोगले कसरी हटाउने सिफारिस ग¥यो ? भोलिपल्ट वीरमा उनलाई बिदाई हुन पनि जान दिइएन। तर अस्पतालका कर्मचारी र चिकित्सकले एक घण्टा पेनडाउन गरेर विरोध जनाए। यसलाई बिबिसीले पनि समाचार बनायो। डा.पाण्डेले पनि हटाउनुपर्ने कारण नै नभई हटाइएको भनेर पत्रिकामा स्पष्टिकरण छपाए। उनलाई ‘पब्लिक सर्भेन्ट’ भएर मिडियाबाजी किन गरेको भनेर सोधियो। उनले आफूमाथि अन्याय पर्दा किन बचाऊ गर्न नपाउने भनी जवाफ दिए।
उनलाई वीर अस्पतालबाट हटाइएको जानकारी विश्व स्वास्थ्य संगठनसम्म पुगेछ। केही समयपछि उनको नाममा चिठी आयो, छोटो अवधिका लागि कन्सल्टेन्सीका लागि आउनु भनेर। तर सरकारले स्वतः अनुमति दिएन। उनलाई ‘पहिला अन्यायमा परेकाले बढुवा गर्छौं’ भनेर प्रलोभन देखाइयो। तर, उनी विश्व स्वास्थ्य संगठनको कार्यालय रहेको इजिप्टको अलेक्जाण्ड्रियातिर हिडे। अवधि थपिदंै गई डेढ वर्षपछि सरकारी सेवाबाट राजीनामा दिन फर्के। त्यतिबेला धेरैले जागिर नछोड्न र बिदामा जान भनेका थिए। तर उनलाई विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय कार्यालयमा आएपछि दुईतिर पद ओगट्दा आफूभन्दा जुनियरलाई बढुवाको बाटो खुला थुनिन्छ भन्ने लाग्यो र राजिनामाको बाटो रोजे।
पहिला लण्डन पढ्न जाने समयमा १७ दिनको पानीजहाजको यात्राका क्रममा भूमध्य सागरमा पुगेपछि उनलाई लागेको थियो, ‘यस्तो ठाउँमा काम गर्न पाए हुन्थ्यो।’ विश्व स्वास्थ्य संगठनमा काम गर्न जाँदैं गर्दा उनले त्यही सपना पूरा भएको महसुस गरिरहेका थिए। पूरानो कल्पना साकार भएको थियो। उनी डेढ वर्षसम्म अलेक्जेण्ड्रियामै बसे। त्यसपछि नयाँदिल्लीमा विसं २०५३ सम्म संगठनमा काम गरे।
सेवा निवृत्त भएपछि पनि उनी स्वास्थ्य क्षेत्रमै सक्रिय छन्। २०५५ मा नेपाल स्वास्थ्य अर्थशास्त्र संघ स्थापना गरे र विभिन्न अनुसन्धानमा कार्यरत भए। साथै, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा अल्पकालिन परामर्शदाता भई काम गरे। सन् २००६ देखि उच्च्स्तरीय स्वास्थ्य नीति सल्लाहकार समितिमा कार्यरत रहे र निःशुल्क स्वास्थ्य सेवाको अवधारणाको कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गरे।
नेपाल जनस्वास्थ्य प्रतिष्ठानका उपाध्यक्ष तथा कार्यवाहक कार्यकारी प्रमुख साथै पोलियो उन्मुलन सर्टिफिकेसन कमिटिका अध्यक्षको जिम्मेवारी निर्वाह गरेका छन्। र २७ मार्च २०१४ मा विश्व स्वास्थ्य संगठनको तत्वावधानमा उनले क्षेत्रीय कार्यालयमा सञ्चालित समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई नेपाल पोलियोमुक्त घोषित भएको प्रमाणपत्र दिएका थिए।
- See more at: http://swasthyakhabar.com/news-details/751/2016-09-17#sthash.QyPQDjXN.dpuf