पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठानको एमबिबिएस कार्यक्रममा ‘समुदायमा आधारित शिक्षा’पाठयक्रम छ। यो पाठ्क्रमको अभ्यासका लागिएमबिबिएसविद्यार्थीलाई विभिन्न समुदायमा लगिन्छ। त्यहाँ उनीहरुलेउक्त समुदायको भौगोलिक, सामाजिक, आर्थिक र रहनसहनबारे अध्ययन गर्नुपर्छ।
नाम जे भए पनि नेपालका प्रायः सबै मेडिकल कलेजमा यो पाठ्यक्रम पढाइ हुन्छ। एमबिबिएस तेस्रो वर्षको अन्तिम परीक्षाअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि १४ दिनको लागि काठमाडौंबाहिर गोरखा, धादिङ र मकवानपुरका विभिन्न प्राथमिक स्वास्थ्य उपचार केन्द्र (पीएचसीसी) लगेको थियो।
पहिला एक महिना हुने यस्तो अभ्यासकोभिड–१९महामारीले शैक्षिक–पात्रोमा पारेको असरका कारण१४ दिनमा झरेको हो।कलेजको कार्यक्रम अनुसार नै हामी माथी उल्लिखित जिल्लाका स्वास्थ्य केन्द्रमा पुग्यौं। म मकवानपुरको मनहरी गाउँपालिका वडा नं.७स्थित मनहरी अस्पताल पुगेँ।
केही महिनाअघि मात्र स्वास्थ्य मन्त्रालयले यो प्राथमिक स्वास्थ केन्द्रलाई अस्पतालमा रुपान्तरणका लागि अनुमति दिएको रहेछ। अस्पतालका लागि नयाँ भवन बनाउन बोलपत्रको पनि सकिइसकेको रहेछ।
मनहरी बजारको एक होटलमा हामी १० जना बसेका थियौं। बिहान १० बजे अस्पताल पुगेर हामी ४ बजे कोठामा फर्किन्थ्यौँ।पालैपालो गरेर राति पनि ड्युटी बस्यौं। पूर्व–पश्चिम राजमार्ग नजिकै भएकाले होला, इमर्जेन्सीमा चोटपटकका बिरामी धेरै आउँथे।
ओपीडीमा पनि बिरामीको चाप धेरै हुन्थ्यो। खासगरी ज्वरोका बिरामी धेरै थिए। अस्पतालमै रहेको प्रयोगशालाका कारण बिरामीलाई धेरै सहयोग पुगेको रहेछ। यसबाहेक खोप कार्यक्रम, सुरक्षित मातृत्व कार्यक्रम, डेलिभरी जस्तासेवा पनि रहेछ। मनहरी अस्पतालमा आउने लगभग ९० प्रतिशत बिरामीको स्वास्थ्य बीमा भएको रहेछ। यो निकै उत्साहजनक जानकारी थियो। अस्पतालका कर्मठ स्वास्थ्यकर्मीका कारण यो सम्भव भएको थियो।३५०० सय रुपैयाँ तिरेर एक लाखसम्मको स्वास्थ्य उपचार पाइनेस्वास्थ्य बीमा कार्यक्रमका कारण धेरै निम्न वर्गका नागरिकले सुविधा पाएका थिए।
त्यहाँ उपचार हुन नसक्ने बिरामीका लागि अन्य ठूला अस्पतालमा रिफर गरिने रहेछ। खासगरी हेटौँडाका हेटौँडा र चुरे हिल्स अस्पताल तथा चितवनका पुरानो मेडिकल कलेज, चितवन मेडिकल कजेल र भरतपुर अस्पतालमा बढी रिफर हुन्थ्यो।
त्यहीबीचमा सरकारले ४५ वर्षमाथीका सबै र १८ वर्षमाथीका विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप लगाउने भनेको थियो। मनहरी अस्पतालमा खोप लगाउन आउनेहरुको कारण भिड बढ्नु स्वाभाविक थियो। मैले पनि त्यहाँका स्वास्थ्यकर्मीको सहयोगमा करिब पाँच दिनमा २०० जनालाई कोभिडको खोप लगाइदिएँ।
८० वर्ष पुगेका धेरै आमाबुवाले पनि पहिलो डोज लाए। धेरैले पहिला जानकारी नभएर लाउन नपाएको गुनासो गरे। म आफैँले भने वैशाख पहिलो हप्तातिर कोभिडसिल्डको दोस्रो मात्रा पाटन अस्पतालमै लगाइसकेको थिएँ। तर, कोभिडमहामारी कम नभएकाले आफ्नो सुरक्षाका लागि मास्क र ग्लोब्स लाएरै काम गरेँ।
मनहरी बसाइको नवौँ दिन थियो। मसँगबस्ने धेरै साथीहरुलाई रुघाखोकी, हल्का ज्वरो र घाँटी दुख्ने समस्या देखा प¥यो। साथीहरुले मनहरी अस्पतालकै मेडिकल अफिसरसँग जाँच गराएर पारासिटामोल, सेट्रिजिन, अजिथ्रोमाइसिनलगायत खान सुरु गरे।
करिब तीन दिनपछि मलाई पनि साथीहरुको जस्तै लक्षण देखिन थाल्यो। मैले पनि औषधि खान थालेँ। अलि हल्का भयो। १४औं दिन हामी हेटौँडा–दामन–पालुङ हुदै काठमाडौंआयौँ। अग्लो स्थानमा रहेको दामनमा चिसो थियो। खाना खायौं। खानाको स्वाद नै महसुस हुन सकेन। प्याज सुँघ्दा गन्ध आएन।
जाडो ठाउँ भएर होला कि भनेर अड्कल काटेँ। ज्वरो ९९ डिग्री फरेन हाइट मात्र थियो। मेरो भने आँखाको भित्री भाग पनि दुखिरहेको थियो। कोभिडको दुवै डोज लगाइसकेको थिएँ। अस्पतालमा काम गर्दा पनि सुरक्षा अपनाएकै थिएँ। कोभिड लागेको होइन भन्ने ढुक्कजस्तै थिएँ।
पालुङदेखि नौबिसे आउँदा एक ठाउँमा कुकुर मरेको रहेछ। साथीहरुले नाक थुने। मलाई गन्ध नै आएन।
काठमाडौं पुगेर पाटन अस्पतालकै डाक्टरसँग जाँच गराएँ। पीसीआर पनि गरेँ। भोलिपल्ट रिपोर्ट आयो, म संक्रमित भइसकेको थिएँ। मनहरी अस्पताल बस्दा गरेका काम, दिइएको जिम्मेवारीबारेरिपोर्ट प्रस्तुत गर्नुपर्ने थियो, तर म अस्पतालबाट सिधै घर पुगेँ। लगनखेलको पाटन अस्पतालदेखि सुकेधारा बाइकमा एक्लै गएको थिएँ। अनि म घरैमा आइसोलेसनमा बसेँ।
कोभिडको पहिलो लहरमा नेपालगन्जमा मेरो दाइ र गर्भवती भाउजूलाई कोभिड भएको थियो। दाइ भाउजुको स्याहार तथा पकाउने र खुवाउने मैले नै गरेको थिएँ। त्यस्तै, दोस्रो लहरमा कालिकोटमा मेरी ७३ वर्षकी हजुरआमालाई कोभिड भएर १० दिन जिल्लाकै कोभिड अस्पताल बस्नु परेको थियो। हजुरआमा निको हुनुभयो।
काठमाडौमै मसँग बसेको भाइलाई पनि कोभिड भएको थियो, मैले नै हेरविचार गरेको थिएँ। होम आइसोलेसन कस्तो हुन्छ, बिहानदेखि बेकुकासम्म के–के गर्ने, के–के खाने कुरा खाने, घरको एक मात्र ट्वाइलेट कसरी प्रयोग गर्ने, सकारात्मक सोच राख्न के गर्ने र के नगर्ने, मानसिक तनाव कसरी कम गर्ने जस्ता महत्त्वपूर्ण कुरा मैले अरुलाई सिकाएको थिएँ। त्यही भएर म जानकार थिएँ।
बेला–बेला अक्सिजन लेभल नाप्ने, ज्वरो नाप्ने, बेसार पानी खाने, बाफ लिने, ध्यान गर्ने, बिहान–बेलुका व्यायाम गर्ने, गीत बजाउने अनि एक्लै नाच्ने गरिरहेँ।योबाहेक पोशिलो खानेकुरा खाने, फलफूल खाने, भिटामिन ‘सि’ लिने पनि गरेँ। ज्वरो १०० डिग्री माथि गएन।अक्सिजनको लेभल ९३ भन्दा तल झरेन।पसिना आउने, खोकी लाग्ने चाहीँ भइरह्यो।
आइसोलेसनको नवौँ दिनमा दसैँको टीकाको दिन थियो। कालिकोटबाट मेरी ७३ वर्षकी हजुरआमाले हौसला दिनु हुन्थ्यो– ‘यो दशँै नआएर के भयो त! अर्को दसैँमा आउलास्। झर्को नमानेस, मलाई त निको भयो। तलाइ पनि हुन्छ।’ हजुरआमाका यस्ता कुरा मेरा लागि शक्तिशाली वाणी हुन्थे। उहाँ मैले घर छोड्ने बेला सधैँ गहभरि आँसु पार्नुहुन्थ्यो। तर, यसपालिउहाँले अस्पतालमा डाक्टर नर्सले बिरामीलाई दिएको जस्तै उर्जा दिनुभयो।
हराएको स्वाद र गन्ध दसैँसम्मै आएन। विजया दशमीको दिन बेलुकातिर फेसबुकमा कतिपयले टीका र जमरा लगाएको सुन्दर तस्बिर राखे। मेरो थिएन, मैले टीका र जमरा लाउन पाइनँ। बुढी हजुरआमालाई सम्झिदै एउटा तस्बिर मैले पनि राखेँ।अनि लेखेँ– ‘यो दसैँ यस्तै भयो, आउने दसैँ यस्तो नहोला नि आमा!’
होम आइसोलेसनको ११ दिनपछि जिब्रोले स्वाद थाहा पाउन थाल्यो। गन्ध फर्कियो।स्यानिटाइजर फेरि गन्हाउन थाल्यो। दालमा नुन नपुगेको थाहा भयो। शरीरको तापक्रम पनि सामान्य भयो।खोकीले चाहीँ बेलाबेला छाती नै दुख्ने गरि चस्किरहेको छ। पूरै निको भएपछि फेरि छातीको एक्स–रे गर्नुपर्ने छ।
मैले कोभिड लाग्नुअघि र लागेपछि अहिलेसम्मको कथा सुनाउनुको एउटै उदेश्य हो– कोभिड–१९ अझै सकिएको छैन। खोप लाइसकेपछि पनि सुरक्षाका उपाय अपनाइरहनु पर्छ। तर, सबै जनताले कहिलेसम्म खोप पाइसक्छन् निश्चित छैन। कहिले खोप आउँछ सरकारलाई नै थाहा छैन। अझै देशका ७० प्रतिशत जनताले खोप नपाएका कारण सबैले होसियारी अपनाउनै पर्छ।
-(लेखक पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत छन्।)