रेबिजविरुद्धको खोप सरकारले नि:शुल्क तथा निजी फार्मेसीबाट पनि सहजै पाहिन्छ। तर रेबिजबाट मृत्यु हुनेहरुको संख्यामा कमी भने आएको देखिँदैन। रेबिज रोगको बारेमा धेरैले सुनेका तथा यसविरुद्धको खोप पनि छ भन्ने थाहा हुँदाहुँदै पनि रोगलाई कम आकलन गर्ने वा हल्का रुपमा लिँदा मृत्यु हुने क्रम जारी रहेको देखिन्छ। त्यस्तै, कस्तो अवस्थामा खोप लगाउनु पर्दछ भन्ने जानकारी नहुँदा पनि संक्रमितले रेबिजबाट मृत्युबरण गरिरहनु परेको देखिन्छ।
यसको ज्वलन्त उदाहरण केहि दिन अगाडि घटेको घटनालाई लिन सकिन्छ। ५१ बर्षीय एक पुरुषलाई झन्डै तीन महिना अगाडि बाटोमा हिँडिरहेको बेलामा पप्पी (कुकुरको छाउरा) ले खुट्टाको औलामा टोकेको रहेछ। कुकुर सानो (छाउरा) भएको र टोकेको घाउ पनि सानो हुँदा रेबिज खोप लगाउनु पर्छ भन्ने ती व्यक्तिलाई नलागेको रहेछ। परिणाम, हावा तथा पानीबाट डराउने जस्ता रेबिजका मुख्य लक्षणहरु देखा पर्न शुरु भयो। शुरुवातमा ढाडको तल्लो भाग दुखेकोले यसको उपचार गर्न अस्पताल भर्ना भएका थिए तर उपचारकै क्रममा रेबिजका लक्षणहरु एक पछि अर्को देखिन शुरु भयो। र, पहिले कुकुरले पनि टोकेको इतिहास हुँदा रेबिज शंका गरियो। लक्षणहरु देखिएको ३ दिनमा संक्रमितको रेबिजबाट मृत्यु भयो।
मृतकका आफन्तहरु बीच पनि रेबिजको त्रास फैलिएको देखियो। उनीहरुमा रेबिज पनि कोरोना भाइरस जस्तै सहजै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ भन्ने लागेको रहेछ। कोरोनाको महिनौं/बर्षौ त्रासमा रहेको बेला यस्तो सोच आउनु अस्वाभाविक भने थिएन। रेबिजको नाम सुनेको भएता पनि भाइरस कसरी सर्दछ भन्नेमा भने उनीहरुमा अनविज्ञता देखिन्छ। मृतकको हेरचाह/सहयोग गर्नेहरुले रेबिजविरुद्धको खोप लगाएको भएता पनि उनीहरु मार्फत तेस्रो व्यक्तिहरुमा पनि रेबिज सर्दछ भन्ने त्रास रहेछ र त्यसैले विशेषत उनीहरुका परिवारका सदस्यहरु तथा आफन्तहरु रेबिज त्रसित भएका देखिन्थे। उनीहरु तथ्य सत्य थाहा पाउन लेखकसँग परामर्शका लागि आइपुगेका थिए। तर संक्रमितसँग रेबिजका लक्षणहरु देखिनु पूर्वसंगै बस्दा रेबिज सर्दैन भन्ने जानकारी भएको भए यसरी आत्तिनु पर्ने वा त्रासमा रहनु पर्ने आवश्यकता रहँदैन थियो। नेपाल सरकारले कस्तो अवस्थामा रेबिजको खोप लगाउनु नपर्ने/ जोखिम नहुने भन्ने निर्देशिका बनाएको भएता पनि त्यसको वितरण नेपालका सबै स्वास्थ केन्द्रहरुसम्म नपुगेको देखिन्छ। लेखकको बर्षौ अनुभवले रेबिज बारेमा जानकारी/तालिम औषधि पसलमा काम गर्नेहरुलाई पनि दिनु पर्दछ भन्ने देखाउदछ। माथि उल्लेखित मृतकका आफन्तले खोप लगाउन औषधि पसल जाँदा पनि मृतकसंग रहेको २४ घण्टा पार गरिसकेकोले खोप लगाउनुको कुनै अर्थ नहुने भन्दै खोप नलगाइदिएको लेखकलाई जानकारी दिएका थिए। खोप जति सक्दो चाँडो लगाउनु त पर्दछ तर ढिलो भने कहिल्यै हुँदैन। यसबाट पनि रेबिजविरुद्धको खोप लगाउनबाट हामी कहाँ/कसरी चुकिरहेका छौं भन्ने देखाउँदछ।
रेबिज भाइरस प्राणघातक संक्रामक रोग हो। लक्षण देखिन शुरु भए मृत्यु लगभग निश्चित प्राय हुन्छ। तर समयमा नै खोप लगाउन सके रेबिजबाट सहजै बच्च सकिन्छ। खोप नेपाल सरकारले विगतदेखि नै नि:शुल्क उपलब्ध गराउँदै आइरहेको छ। आफैं किनेर लगाउनेहरुले पनि निजी औषधि पसलहरुबाट खोप सहजै पाउन सक्दछन्। तर यति सहज रुपमा खोप उपलब्ध हुँदाहुँदै पनि रेबिजको कारणले मृत्यु हुने क्रम निरन्तर हुनु दुभाग्यपूर्ण हो। खोपको प्रयोग कतिबेला अनिवार्य हुन्छ भन्नेमा टोकाइ खाने स्वयं घाइतेलाई पूर्ण जानकारी नहुनु तथा स्वास्थकर्मीको परामर्श समेत नलिने/आवश्यक नठान्ने बानीले गर्दा रेबिजबाट हुने मानविय क्षतीले निरन्तरता पाइरहेको छ। माथि उल्लेखित घटनाले पनि यहि देखाउदछ। तसर्थ कुकुर ठुलो वा सानो होस्, टोकेको घाउ ठुलो वा सानो होस् अपरिचित कुकुरले अचानक टोकेमा खोप अनिवार्य लगाउनु पर्दछ। आवश्यक परे चिकित्सकको सल्लाह लिन पनि हिच्किचाउन/अल्छी गर्नु हुँदैन। अहिलेको मुख्य समस्या भनेको खोप नपाउनु/अभाव होइन, सर्बसुलभ रुपमा नि:शुल्क/किनेर पाहिने खोपको प्रयोग कतिबेला गर्ने भन्ने जानकारीको अभाब हो भन्ने देखिन्छ।
(डा शेरबहादुर पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)