पछिल्लो केही दिन यता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा ४८ घन्टे 'मासु खाने ब्याक्टेरिया' उपनाम पाएको रोगको चर्चा चुलिएको छ। खासगरी जापानमा यो रोग बढेको/फैलिएको समाचारसँगै यो रोग प्रति विश्वको चासो ह्वात्तै बढेको छ। भर्खरै कोभिड-१९ को दलदलबाट निक्लेको अवस्थामा यस्तो घातक संक्रमण बढ्नु आफैंमा चिन्ताको विषय हो। धेरैको मनमा 'के यो नयाँ संक्रमण/रोग हो ? यसका लक्षणहरु के-कस्ता हुन्छन्? यसको जोखिममा कस्ता/कुन समूहमा पर्दछ ? यो कसरी फैलिन्छ? के यसको उपचार सम्भव छ? जापानमा नै किन बढिरहेको छ ? र के यो संक्रमण नेपालमा पनि होला? भन्ने जस्ता जिज्ञासा र प्रश्नवाचक चिह्नहरु खडा भइरहेका छन्।
के यो नयाँ संक्रमण/रोग हो?
यो नयाँ संक्रमण भने होइन। यो रोगलाई ४८ घन्टे 'मासु खाने ब्याक्टेरिया' उपनाम दिए पनि यसलाई एसटिएसएस अर्थात् 'इस्ट्रेपटोकोक्कल टक्सिक शक सिन्ड्रोम' भन्ने गरिन्छ। समुह 'ए' इस्ट्रेपटोकोक्कस (जीएएस) ब्याक्टेरियालाई एसटिएसएसको कारक मानिन्छ। र, यो पहिले नै स्थापित/पहिचान भइसकेको ब्याक्टेरिया हो। एसटिएसएसलाई घातक मानिए पनि दुर्लभ मानिन्थ्यो। तर पछिल्लो समय जापानमा बढ्दो क्रममा देखिएकोले विश्वको ध्यान हाल यो संक्रमण प्रति आकृष्ट भएको हो।
यसका लक्षणहरु कस्ता हुन्छन?
ज्वरो/जाडो लाग्ने, मांशपेशीका/जिउ दुख्नु र वाक-वाक/ बान्ता हुनु यसका प्रारम्भिक लक्षणहरु हुन्। तर बिरामीमा एकपछि अर्को द्रूत गतिमा रक्तचाप घट्ने, ढक्कन र श्वास-प्रश्वासको गति बढ्ने अनि रगतमा यसको टक्सिन (विषाक्त पदार्थ) फैलन गइ मुख्य अंगहरु जस्तै मृगौला, कलेजो, फोक्सो जस्ता मुख्य अंगहरुमा अबरोध/क्षति हुने (मल्टि-अर्गान फेलर), अचेत हुने (शक) र मृत्यु हुने गर्दछ।
त्यस्तै यसले शरीरका कोषिका/तन्तुलाई क्षति/मृत (निक्रोसिस) गराउँदछ। यसकारण पनि यसलाई 'मासु खाने ब्याक्टेरिया'को उपनाम दिइएको हो। अचेत र मल्टी-अर्गान फेलर भएको अवस्थामा आक्रामक उपचारका बाबजुत अधिकांश बिरामीको मृत्यु ४८ घण्टा भित्र हुने गर्दछ। यसको मृत्युदर औसतमा ३० प्रतिशत देखिएको छ। बृद्ध उमेर, दीर्घ रोग, ढिलो रोगको पहिचान मृत्युदर बढ्नुका मुख्य कारकहरु मानिन्छ।
यसको जोखिम कुन समुह/कस्ता अवस्थाकालाई हुन्छ?
जापानको 'नेशनल इन्सटिच्युट अफ इन्फेकसियोस डिजिज'का अनुसार (सन् २०१८ देखि २०२२ सम्मको तथ्यांक अनुसार) एसटिएसएसको मृत्युदर २३ प्रतिशत देखिन्छ भने मृत्यु विशेष गरेर ज्येष्ठ नागरिक (६० बर्ष माथिका) र दीर्घ रोग भएकालाई देखिन्छ। तर सन् २०२३ को जुलाई यता ५० वर्ष मुनि उमेर समूहमा पनि यो संक्रमण बढेको भनिएको छ। यद्यपि यसको जोखिम कुनैपनि उमेर समूहकालाई हुन सक्दछ। त्यस्तै छालामा चोटपटक वा संक्रमणको कारणले घाउ भएको अवस्थामा पनि एसटिएसएसको जोखिम बढ्ने गर्दछ।
यो कसरी फैलिन्छ?
सामनातय समुह 'ए' इस्ट्रेपटोकोक्कस (जीएएस ) विशेषत: संक्रमित व्यक्तिको थुकको छिटाबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। बोल्दा, खोक्दा वा हाछ्यु गर्दा ब्याक्टेरिया अर्को व्यक्तिमा सर्न सक्दछ। संक्रमितको थुकको छिटा भएको वस्तुमा छोई नाक वा मुखमा छोएमा पनि संक्रमण सर्न सक्दछ। केही अनुसन्धानहरुले पारिवारिक सदस्य र अस्पताल कर्मचारीबीच यो ब्याक्टेरिया फैलिएको देखाएका थिए।
के यसको उपचार सम्भव छ?
यसको उपचार सम्भव छ तर यसको लागि संक्रमणको शिघ्र निदान र एन्टिबायोटिक जति सक्दो चाँडो प्रयोग अनिवार्य हुनु पर्दछ। यसको पहिचान रगत, घाउ लगायत शरीरका बिभिन्न तरल पदार्थको जाँच गरेर पत्ता लगाउन सकिन्छ।
जापानमा नै किन बढिरहेको छ?
यसको सटिक उत्तर भने छैन। जापान विकसित, व्यवस्थित र सफाइको मामलामा अग्रस्थानमा रहेको देश हो। तरपनि एसटिएसएसका केशहरु वर्षेनी बढ्दै जानुको कारण थाहा नहुँदा स्वास्थ्यमा चुनौती थपिएको छ। समुह 'ए' इस्ट्रेपटोकोक्कस (जीएएस ) ब्याक्टेरिया सम्बन्धि भइरहेको थप अनुवंशिक अध्ययनको नतिजाले यो ब्याक्टेरिया बढ्नु/फैलनुको रहस्य पत्ता लगाउन मद्दत मिल्न सक्ने अपेक्षा गर्न सकिन्छ।
के यो संक्रमण नेपालमा पनि होला?
माथिनै उल्लेख गरिसके अनुसार यो संक्रमण नौलो नभएकोले नेपालमा हुन सक्छ। समुह 'ए' इस्ट्रेपटोकोक्कस (जीएएस ) ब्याक्टेरिया सम्बन्धि बिभिन्न अध्यन/अनुसन्धानहरु नेपालमा पनि भएका छन्। तर अनुबांशिक स्तरमा भने खासै काम गरेको देखिदैन। जसले गर्दा हाल जापानमा देखिएको जस्तै 'जीन क्यारी' गरेको/गर्ने समुहका समूह 'ए' इस्ट्रेपटोकोक्कस (जीएएस ) ब्याक्टेरिया छ/छैन भनिहाल्ने अवस्था छैन। तर जापानमा ४८ घन्टे 'मासु खाने ब्याक्टेरिया' उपनाम पाएको रोग वर्षेनी बढ्दै जाँदा नेपालले पनि अनुवंशिक स्तरमा ब्याक्टेरियाको पर्याप्त अनुसन्धान गरी जोखिमको आंकलन गर्दै सम्भावित प्रकोपलाई रोक्ने योजना बनाउन आवश्यक देखिन्छ।
(डा शेरबहादुर पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)