काठमाडौं – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा पछिल्लो साता रुघाखोकी तथा ज्वरोका बिरामी बढेका छन्।
अस्पतालका निर्देशक डा. युवानिधि बसौंलाका अनुसार चिसो सुरु हुनासाथ रुघाखोकी तथा निमोनियाका बिरामीको संख्या बढ्न थालेको छ।
उनले भने, “ओपीडीमा रुघाखोकीका बिरामीको संख्या बढेको छ। भर्ना भने घटेको छ। दैनिक ८ सयदेखि १ हजार बिरामी ओपीडीमा आउँछन्। त्यसमध्ये रुघाखोकी र ज्वरोका ४०–५० जना दैनिक परीक्षणका लागि आउने गरेका छन्।”
दम, रुघाखोकी तथा ज्वरोका बिरामी बढ्न थालेको करिब दुई साता भएको उनले बताए।
देशभर डेंगुको संक्रमण बढ्दै गए पनि अस्पतालमा उपचारका लागि आउने बिरामी संख्या उल्लेख्य रूपमा नबढेको डा. बसौंलाको भनाइ छ।
उनका अनुसार, “हिजो राति डेंगुको आशंकामा गरिएको १८ परीक्षणमध्ये १ जनामात्र पोजिटिभ देखियो। देशका केही ठाउँमा केस बढे पनि हाम्रो अस्पतालमा बिरामीको संख्या धेरै बढेको छैन।”
चिसो बढेसँगै दैनिक १९–२० जनाले रुघाखोकीविरुद्धको खोप लगाइरहेको जानकारी उनले दिए।
चिसोसँगै श्वासप्रश्वासका संक्रमण जोखिम बढ्ने
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार चिसो बढेसँगै श्वासप्रश्वाससम्बन्धी रोगको संक्रमण बढ्ने भएकाले विशेष सावधानी अपनाउन आवश्यक छ।
उनले भने, “रुघाखोकीसँगै घाँटी दुख्ने, चिलाउने, जिउ दुख्ने समस्या पनि यतिबेला बढ्छ। चिसो समयमा निमोनिया, कोल्ड डायरियाका बिरामी बढ्ने गर्दछ। बालबालिका तथा ज्येष्ठ नागरिकमा यस्तो समस्या बढी देखिन्छ।”
यस्ता समस्याबाट जोगिन बाहिर निस्कँदा धुलो–धुवाँबाट बच्न सकभर मास्क प्रयोग गर्न उनले सुझाव दिए।
मधुमेह, उच्च रक्तचापका बिरामी, ज्येष्ठ नागरिक तथा गर्भवती महिलामा फ्लुको जोखिम बढी हुने भएकाले चिकित्सकको सल्लाहअनुसार खोप लगाउन उनले आग्रह गरे।
तसर्थ चिसो समयमा पर्याप्त झोलिलो खाना सेवन गर्न तथा फ्रिजमा राखिएका खाना तातो बनाई मात्र खाने बानी बसाल्न उनले सुझाव दिएका छन्।