मधुमेह भएको छ भन्नेबित्तिकै चिनी, चिनी मिसाइएको खानेकुरा, भात, आलु खान हुँदैन भन्ने गरेको पाइन्छ । हो, मधुमेह भएका बिरामीले चिनी खानु हुँदैन। चिनीको विकल्पमा सख्खर, गुड वा मिश्री भने खाने गरेको पाइन्छ । तर, सुगर लेभल बढाउने भएकाले यी खानेकुरा पनि खानु हुँदैन।
भात र आलु खानै नमिल्ने भन्ने होइन । यी खाने कुराहरु कम मात्रामा खान मिल्छ । भातसँगै तरकारी, दाल, साग, अचार पनि खानुपर्छ । मधुमेहका बिरामीका लागि ग्लाइसेमिक इन्डेक्स हेरेर पनि खानाको परिमाण निर्धारण गर्न सकिन्छ । ग्लाइसेमिक इन्डेक्स हेर्ने भनेको खाना खाँदा ब्लडमा सुगरको मात्रा कति समयमा कति बढ्छ भनेर हेर्ने हो । हरेक खानाको फरक–फरक इन्डेक्स आउँछ । सुगरका बिरामीले ग्लाइसेमिक इन्डेस लो भएको खानेकुराको सेवन गर्नुपर्छ । कुनै खाना सेवन गरेपछि एक वा दुई घण्टामा बिरामीको सुगर लेभल ह्वात्तै नबढाउने खालको अवस्थालाई लो ग्लाइसेमिक इन्डेक्स भनिन्छ । सागसब्जी, नट्स, अण्डा, माछा, मासुले सुगर लेबल ह्वात्तै बढाउँदैन ।
हाइ ग्लाइसेमिक इन्डेक्समा भात, मैदाले बनेका खानेकुरा जस्तैः बिस्कुट, चाउचाउ, ब्रेड, चिनी, ग्लुकोज, प्याकेटका खानेकुराहरु पर्छन्।
मधुमेहका बिरामीले ध्यान दिनैपर्ने कुरा
–बिहान नास्ता खाँदा गुलियो खानेकुरा नखाने ।
–दाल, भात, तरकारी खानुभन्दा पहिले सलाद खाने ।
–खाना खाँदा भातभन्दा तरकारी दोब्बर खाने ।
– खाना छिटो–छिटो नखाने, विस्तारै चपाएर खाने ।
– खानामा नियमित प्रोटिनयुक्त खानेकुरा समावेश गर्ने ।
–पनिर, गेडागुडी, माछामासु, अण्डा खाने ।
–सलाद, साग र हरियो तरकारी नियमित खाने ।
– खाना खाएको १५ मिनेटसम्म नसुत्ने, नपल्टिने ।
–खाना खाएपछि १० मिनेट विस्तारै हिड्ने ।
कति समयको अन्तरालमा खाने ?
मधुमेहका बिरामीले खाना दिनमा कतिपटक र कति समयको अन्तरालमा खाने भनेर पनि सोचविचार गर्नुपर्छ । बिहानको नास्ता वा खाना खाएको ३ देखि ४ घण्टापछि मात्र खाजा खान सकिन्छ । जसले गर्दा तौल पनि नियन्त्रणमा आउँछ र मधुमेह पनि नियन्त्रणमा आउँछ । खानपानले मात्र नभइ तनाव वा अनिद्राले पनि मधुमेह अनियन्त्रित हुन्छ । त्यसैले मधुमेहलाई नियन्त्रणमा राख्न तनावमुक्त रहनुपर्छ भने निद्रा पनि पूरा भएको हुनुपर्छ । यस्तै शारीरिक व्यायाम पनि महत्वपूर्ण हुन्छ । कार्बोहाइड्रेड बढी भएको खानेकुरालाई कम गर्दै फाइबर तथा पोषणयुक्त सन्तुलित आहार नियमित आए मधुमेह नियन्त्रण गर्न सकिन्छ।
(पोषणविद् सिंह नर्भिक अस्पतालमा कार्यरत छिन्।)