फाइल तस्विर
काठमाडौं - सरकारले बारा र पर्सामा ९० प्रतिशत जनसंख्यालाई हैजा विरुद्धको खोप दिएको छ। एक महिनासम्म सञ्चालन गरेको खोप अभियानबाट सरकारले ९० प्रतिशतलाई हैजा विरुद्धको खोप दिएको हो।
सकारले गत असोज २६ गतेदेखि पर्सा र असोज २९ गतेदेखि बारामा एक महिने खोप अभियान सञ्चालन गरेको थियो। पर्साका सबै स्थानीय तह र बाराका ६ स्थानीय तहमा खोप अभियान दुई चरणमा सम्पन्न गरिएको परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा अभियान गौतमले बताए। बारामा ८८ दशमलव २५ प्रतिशत र पर्सामा ९० प्रतिशतलाई खोप दिइएको उनले जानकारी दिए।
बारामा ३ लाख २२ हजार ९२६ र पर्सामा ५ लाख ८९ हजार ३५४ जनालाई हैजाको विरुद्धको खोप दिइएको उनले स्वास्थ्यखबरलाई बताए । डा गौतमले यो खोप अभियान हालसम्मकै सबैभन्दा धेरै कभरेज रहेको दाबी गरे। घरघरमा गएर पनि खोप लगाइएकोले बढी प्रभावकारी भएको उनी बताउँछन्।
‘लक्ष्य शत प्रतिशत कभरेजको भएपनि ९० प्रतिशत मात्रै भयो,’ उनले भने, ‘हैजा विरुद्धको खोप अभियानको हालसम्मकै उच्च कभरेज हो। अझै थोरै संख्यामा छुटेका छन्।’
बारा र पर्साका धेरै स्थानमा खानेपानीको स्रोत ढल नजिकै देखिएकोले त्यहाँका बासिन्दालाई खानेपानी उमालेर मात्रै पिउन उनको सुझाव छ।
गत भदौ ६ गते पर्साको वीरगन्जबाट हैजा फैलिएपछि महामारी आउन सक्ने आंकलन सहित सरकारले पर्साका १४ वटै स्थानीय तहहरू र बाराका ६ वटा स्थानीय तहहरूमा विशेष खोप अभियान सञ्चालन गरेको थियो। बारा र पर्सामा गरी १ हजार ६ सय ८५ हैजाका केशहरु पुष्टि भएका थिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उक्त हैजा ओवान सेरोग्रुपको रहेको पुष्टि गरिसकेको छ।
खोप अभियानका लागि खोप सामग्री र सञ्चालन खर्च इन्टरनल कोडिनेसन ग्रुप अन भ्याक्सिन प्रोभिजन मार्फत सहयोग स्वरूप प्राप्त भएको थियो। सरकारले विद्यालय तथा स्वास्थ्य केन्द्र गरी पर्सामा १८ सयको हाराहारी तथा बारामा १२ सयको हाराहारीमा खोप केन्द्र तोकेर अभियान सञ्चालन गरेको थियो।
नेपालमा हैजाको इतिहास
नेपालमा हैजा पहिलो पटक सन् १८२३ मा पुष्टि गरिएको थियो। त्यसपछि काठमाडौं उपत्यकामा सन् १८३१, १८४३, १८५६, १८६२ र १८८७ मा महामारीको शृङ्खला चलेको थियो।
सन् २००९ मा सबैभन्दा ठूलो हैजाको महामारी नेपालको मध्य–पश्चिमी क्षेत्र जाजरकोटमा देखिएको थियो, जसमा ३० हजारभन्दा बढी मानिस प्रभावित भएका थिए। ५०० भन्दा बढीको मृत्यु भएको थियो। त्यसैगरी सन् २०१४ को वर्षायाममा रौतहटमा फैलिएको महामारीमा ६०० भन्दा बढी मानिस संक्रमित भएका थिए।
हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखाला सम्बन्धी रोग हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार हैजाका जीवाणु खाना वा पानीको माध्यमबाट लाग्ने गर्दछ। सरसफाइ तथा स्वच्छ खानेपानीमा ध्यान नदिंदा हैजा फैलिने जोखिम रहन्छ।
डा पुनका अनुसार हैजा संक्रमण भएको दिनदेखि पाँच दिनसम्म लक्षणहरु देखिन सक्छ। पातलो तथा पानी जस्तो दिसा आउने, बान्ता हुने, कडा जलवियोजन हुने समस्या देखिएमा हैजाको लक्षण हुनसक्ने डा पुन बताउँछन्। आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुने, तिर्खा लाग्ने, छाला सुक्खा हुने, रक्तचाप कम हुने, पिसाब पहेँलो हुने र पिसाबको मात्रा कम हुने लगायतका समस्या देखिएमा हैजाको गम्भीर लक्षण हुनसक्छ।