गर्भावस्थामा आमाले मदिरा सेवन गर्दा हुने जोखिमबारे दशकौँदेखि चर्चा हुँदै आएको छ। वैज्ञानिकहरूले ५० वर्षभन्दा बढी समयदेखि गर्भावस्थामा मदिरा सेवनले भ्रूणको विकासमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिँदै आएका छन्। हालका अध्ययनहरूले त हप्तामा केवल एकपटक मदिरा सेवन गर्दा पनि बच्चाको मस्तिष्क विकास, संज्ञानात्मक क्षमता, व्यवहार र अनुहारको बनावटमा प्रभाव पर्न सक्ने देखाएका छन्।
तर अहिले अनुसन्धानकर्ताहरूले अर्को पक्षतर्फ ध्यान दिन थालेका छन्, बुबाले गर्भाधानअघि मदिरा सेवन गर्दा सन्तानमा कस्तो असर पर्छ?
लामो समयदेखि बेवास्ता गरिएको पक्ष
अनुसन्धानकर्ता माइकल गोल्डिङका अनुसार प्रजननसम्बन्धी अनुसन्धान अत्यधिक रूपमा महिलामुखी रहँदै आएको छ। उनका शब्दमा, 'हामीले पुरुष पक्षलाई पर्याप्त रूपमा अध्ययन गरेका छैनौँ।'
उनले वर्षौँदेखि यस्ता महिलाहरूको अनुभव सुन्दै आएका थिए, जसले गर्भावस्थामा मदिरा नपिएको दाबी गरे पनि उनीहरूको बच्चामा भ्रूणीय मदिरा स्पेक्ट्रम विकारका लक्षण देखिएका थिए र ती महिलाका श्रीमान् दीर्घकालीन मदिरा सेवनकर्ता थिए।
जनसंख्या अध्ययनहरूले के देखाए?
सन् २०२१ मा चीनमा आधा मिलियनभन्दा बढी दम्पतीमाथि गरिएको अध्ययनले गर्भाधानअघि बुबाले मदिरा सेवन गरेको अवस्थामा जन्मजात विकृतिको जोखिम बढ्ने देखायो। यसमा निम्न समस्याहरू समावेश थिए।
• चिरिएको तालु
• जन्मजात मुटु रोग
• पाचन प्रणालीसम्बन्धी विकार
अर्को अध्ययनमा ५,००० जन्मजात मुटु रोग भएका बालबालिका र ५,००० स्वस्थ बालबालिकाको तुलना गर्दा गर्भाधानअघिका तीन महिनामा दैनिक ५० मिलिलिटरभन्दा बढी मदिरा सेवन गर्ने पुरुषका सन्तानमा मुटु रोगको जोखिम झण्डै तीन गुणा बढी पाइएको थियो। यद्यपि समग्र जोखिम अझै पनि कम नै रहेको अनुसन्धानकर्ताहरूले स्पष्ट पारेका छन्।
मुसामा गरिएको प्रयोगले दियो चकित पार्ने नतिजा
मानिसमा यस्तो अध्ययन प्रत्यक्ष रूपमा गर्न नैतिक रूपमा कठिन भएकाले वैज्ञानिकहरूले मुसामा प्रयोग गरे।
गोल्डिङको टोलीले तीन समूह बनायो:
- केवल आमा मदिराको सम्पर्कमा रहेका
- केवल बुबा मदिराको सम्पर्कमा रहेका
- दुवै अभिभावक मदिराको सम्पर्कमा रहेका
नतिजाले दुवै अभिभावकले मदिरा सेवन गर्दा सन्तानमा समस्या झन् बढी देखियो। केही अवस्थामा केवल बुबाले मदिरा सेवन गरेको समूहमा जबडा, दाँतको दूरी, आँखा र अनुहारको संरचनासम्बन्धी असामान्यताहरू आमाले सेवन गरेको समूहभन्दा बढी स्पष्ट थिए।
गोल्डिङ आफैँ पनि यो नतिजाबाट अचम्मित भए। उनले अध्ययन पुनः दोहोर्याउन लगाए र हरेकपटक समान नतिजा प्राप्त भयो।
केली हफम्यानको टोलीले गरेको अर्को अध्ययनले मदिरा सेवन गर्ने बुबाका मुसा सन्तानमा निम्न प्रभावहरू देखाएको छ।
• मस्तिष्कको संरचनात्मक विकासमा भिन्नता
• सिकाइ क्षमता सुस्त हुनु
• सन्तुलन तथा मोटर कौशल कमजोर हुनु
• गतिविधिमा हिच्किचाहट
यस्तो किन हुन्छ?
वैज्ञानिकहरूका अनुसार यसको प्रमुख कारण एपिजेनेटिक्स हुन सक्छ। एपिजेनेटिक्स भन्नाले डीएनएको मूल संरचना नबदलिई जीनहरूको सक्रियता वा निष्क्रियता परिवर्तन हुने प्रक्रिया हो। अनुसन्धानहरूले मदिराले शुक्रकीटमा हुने डीएनए मिथाइलेसन तथा आरएनए संरचनामा परिवर्तन ल्याउन सक्ने देखाएका छन्। यस्ता परिवर्तनहरू भ्रूणमा सर्ने सम्भावना रहेको वैज्ञानिकहरूको भनाइ छ।
आमाको प्रभाव अझै पनि ठूलो
विशेषज्ञहरू जोड दिन्छन् कि आमाको मदिरा सेवनको असर अझै पनि धेरै प्रत्यक्ष र गम्भीर हुन्छ। एलिजावेथ एलिओटका अनुसार आमाको रगतमा रहेको मदिरा सिधै प्लासेन्टा हुँदै भ्रूणसम्म पुग्छ र मस्तिष्क, मुटु, फोक्सो, आँखा तथा अन्य अंगहरूको विकासमा असर पुर्याउँछ।
सार्वजनिक स्वास्थ्य सन्देश परिवर्तन हुन सक्छ?
अनुसन्धान अझै प्रारम्भिक चरणमा भए पनि विशेषज्ञहरू अब सार्वजनिक स्वास्थ्य अभियानले पुरुषलाई पनि लक्षित गर्नुपर्ने बताउँछन्।
इलियटका अनुसार गर्भावस्थामा महिलाले मदिरा सेवन गर्ने मुख्य कारणहरूमध्ये एक उनको पुरुष साथीले पनि मदिरा सेवन गरिरहनु हो। त्यसैले पुरुषलाई पनि सचेत गराउन सके आमाबच्चा दुवैको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्छ।
कति मदिरा सुरक्षित छ?
हालसम्म बुबाका लागि 'सुरक्षित' मदिरा सेवनको कुनै निश्चित सीमा निर्धारण गरिएको छैन। गोल्डिङका अनुसार अत्यन्तै कहिलेकाहीँ गरिने सेवनले सम्भवतः ठूलो जोखिम नल्याउन सक्छ। तर उनले आफ्ना छोराहरूलाई सल्लाह दिनुपरेमा गर्भधारणको योजना हुँदा पूर्ण रूपमा मदिरा त्याग्न सुझाव दिने बताउँछन्।
हालसम्मका प्रमाणहरूले गर्भावस्थामा आमाको स्वास्थ्य मात्र होइन, बुबाको स्वास्थ्य पनि सन्तानको विकाससँग सम्बन्धित हुन सक्ने संकेत दिएका छन्। अनुसन्धान अझै जारी रहेपनि वैज्ञानिकहरू एउटा कुरामा सहमत छन्, स्वस्थ बच्चाका लागि जिम्मेवारी दुवै अभिभावकको हो।