काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतम र नेपालको स्वास्थ्य क्षेत्रमा काम गरिरहेका द्विपक्षीय दातृ निकायहरूका प्रतिनिधिहरूसँग शिष्टाचार भेट भएको छ।
नेपालस्थित अमेरिकी राजदूतावासका प्रतिनिधि पाट्रिक एस गन र नुर पन्त, जर्मनीका राजदूतावासका प्रतिनिधि बेन्जामिन सिडेर र जन ड्रिक सेन, बेलायती दुतावासका प्रतिनिधि डिएगो मोरोसो र डा दिपक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधि मिजुकी मतसाजुकी र कृष्णप्रसाद लम्साल, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)का प्रतिनिधि सृष्टि चित्रकार र मिलन महर्जनसँग शिष्टाचार भेट भएको हो।
भेटका क्रममा मन्त्री गौतमले नेपालको स्वास्थ्य प्रणाली सुधारमा दातृ निकायले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरेकी छिन्। उनले मातृ तथा शिशु स्वास्थ्य, मानिसक स्वास्थ्य, स्वास्थ्य बीमा सुधार, राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि र प्रवासमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सुधार मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताइन्।
भेटमा दातृ निकायका प्रतिनिधिहरुले जनस्वास्थ्यका क्षेत्रमा नेपाल सरकारका प्राथमिकतामा रहेका कार्यक्रमरुमा आ आफ्नो क्षेत्रबाट निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन्।