'क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं' भन्ने मुल नारासहित आज क्षयरोग दिवस संसारभर विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरि मनाइदै छ। प्राचिन कालदेखि नै हाम्रो समाजमा यो रोग समस्याको रुपमा रहदै आएको छ।
यो रोगलाई समाज विकासको अवस्थाको सूचांकको रुपमा पनि हेर्ने गरिन्छ। खासगरि जुन समुदाय, समाज तथा देशमा यो रोगको ब्यापकता रहन्छ त्यहाँ न्यून सामाजिक विकास रहेको हुन्छ। अफ्रिका, दक्षिण पूर्वी यसिया तथा ल्याटिन अमेरिकाका देशहरु लगायत नेपालमा पनि क्षयरोग एक जनस्वास्थ्य समस्याको रुपमा रहदै आएको छ।
नेपालमा करिव ४५ प्रतिशत व्यक्तिहरुमा क्षयरोगको किटाणु शुषुप्त आवस्थामा रहेको अनुमान गरिएको छ। प्रतिवर्ष अनुमानित ४४ हजार व्यक्तिहरुमा नयाँ क्षयरोगका बिरामीहरु देखिन्छन भने प्रत्येक वर्ष करिव ५ देखि ७ हजार बिरामीहरुको मृत्यु हुनेगर्दछ। राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमले लिएको डट्स नीति १९९५ – २००५, क्षयरोग रोकौ निति २००६ – २०१५ तथा क्षयरोग अन्त्यको निति २०१६ – २०३५ अनुसार विभिन्न नियन्त्रण तथा रोकथामका कार्यक्रमहरु संचालन हुँदै आएको भएता पनि यो रोगको रुग्णता दर पेक्षितरुपमा घट्न सकिरहेको छैन।
नेपाल राष्ट्रिय प्रिभ्यालेन्स सर्वेक्षण २०१९ अनुसार करिव १ लाख १७ हजार बिरामीहरु (४१६ प्रतिलाख) रहेको, प्रत्येक वर्ष ६९ हजार बिरामीहरु (२४५ प्रतिलाख) थपिदै आएको छ र तिमध्ये औषत जम्मा २८ हजार बिरामीहरु उपचारको दायरामा आउने गर्दछन। त्यस्तै करिव ५४ प्रतिशत बिरामीहरु यो रोगको निदानको दयारामा आउन सकेका छैनन्। नेपालमा प्रतिदिन अनुमानित १९२ जना नयाँ बिरामी पत्ता लाग्दछन भने दैनिक ४७ जनाको मृत्यु यो रोगको कारणले गर्दा हुन्छ। साथै ११२ जना बिरामी उपचारको दयारामा ल्याउन सकिएको छैन।
क्षयरोग एक सरुवा रोग हो, यो रोग माइक्रोब्याक्टेरियम ट्यूबरकुलोसिस नामक किटाणुले हुनेगर्दछ। खोंक्दा, हाच्छ्युँ गर्दा हावाको मध्यमबाट संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ। क्षयरोग खास गरि अस्वस्थता, कुपोषण, सरसफाई र स्वस्छताको अभाव, आर्थिक विपन्नता, गरिवी लगायत धुम्रपान, मद्यपानको गर्ने व्यक्तिहरुमा बढी हुने गर्दछ। समुदायमा पनि अझै धेरै व्यक्तिहरु खासै आफ्नो स्वास्थ्यप्रति संवेदनशील नभएको र अस्वस्थकर जीवनशैली, रोग प्रतिरोधात्मक शक्ति कम भएका, वृद्धवृद्धा, दृघ रोग, भिडभाड, सुरक्षाका उपायहरु कम अवलम्बन गर्नुले झनै यो रोग को जोखिम बढेको छ।
स्वास्थ्यको विकास नै समग्र विकास हो भन्ने आम बुझाई अनुरुप स्वास्थ्यमा धेरै लगानीहरु हुदै आएको छ। तर नेपालमा भने तीन तहको सरकार भए पनि पर्याप्त निति तथा कार्यक्रम बनेको देखिदैन। स्वास्थ्यका विभिन्न निति तथा कार्यक्रम तर्जुमा गरेर आफ्नो तहबाटै बजेट विनियोजन गर्ने जस्ता कार्य प्राथमिकतामा रहेको छैन। अझै पनि भौतिक विकास नै समग्र विकास हो भन्ने आम बुझाई रहदै आएको छ।
नेपालमा क्षयरोग महामारीको पछिल्लो एक दशक हेर्ने हो भने वर्षेनी करिव ३ प्रतिशतका दरले यो रोग लाग्ने दर घट्दै गएको छ। तर दिगो विकास लक्ष्य हासिल गर्ने हो नै भने तत्काल एक जरुरी क्षयरोग अन्त्यको प्रतिकार्य आवश्यक रहेको छ, जसले गर्दा क्षयरोग अन्त्यको बाटो २०३५ हासिल हुनसक्दछ। राष्ट्रिय तथ्यांक हेर्ने हो भने अझै पनि हामीले बालबालिकामा अपेक्षित क्षयरोग बिरामी पत्ता लगाउन सकेका छैनौ। बालबालिकामा हुने कुपोषणले थप चुनौती थपेको छ।
लक्षण हेरी रोग निदान गर्ने परिपाटीको अन्त्य गरेर समुदायमा लक्षणविहिन अवस्थामा रहेका संक्रमित व्यक्तिहरुको निदान गर्न आवश्यक रहेको छ। उपचारमा नरहेको एक क्षयरोग बिरामीले १ वर्षमा औषत १०-१२ जना व्यक्तिहरुलाई रोग सर्न सक्दछन् । रोग निदान भएका व्यक्तिहरुको उचित कन्त्यक्ट ट्रेसिंग तथा फलोप भएको देखिदैन। समुदाय स्तरमा अति विपन्न वर्गका बिरामीहरु सेवाको पहुँचमा कमि, बिचैमा उपचार छोडी भारत तिर जान बाध्यत्मक परिस्थिति रहेको छ।
पछिल्लो समयमा कोभिड-१९ को महामारी, नयाँ तथा पुनः संक्रमितहरुमा बहुऔषधि तथा ब्यापक औषधि प्रतिरोधी, एचआइभी,क्षयरोग सहसंक्रमण, उपचार पुरा नगरी बिरामी हराउने आदिले झन् यो रोग नियन्त्रण कार्यक्रमको लक्ष्य हासिलमना चुनौती थपेको छ।
समुदाय स्तरका स्वास्थ्य संस्थाहरुमा नियमितरुपमा औषधिको आपूर्ति, माइक्रोसकोपि केन्द्रको सवलिकरण तथा जनशक्तिहरुलाई समयसापेक्ष क्षमता अभिबृद्धि तालिम आवश्यक रहेको देखिन्छ। निजि क्लिनिक तथा अस्पतालहरुसँग समन्वय कम हुनु, ओपिडीमा श्वासप्रश्वासका बिरामीको अनुपातमा खकारको माइक्रोस्कोपी, जिन एक्स्पर्ट तथा एक्सरे नहुनु साथै बिरामीको ढिलो रोगको निदान हुनु, समयमा औषधि नखानु, समयमा रोगको प्रतिवेदन नहुनु जस्ता समस्याहरु रहेका छन।
विश्वब्यापी कोभिड १९ महामारीले हाल सम्म विश्वब्यापी रुपमा हसिल गरेको उपलब्धि गुमेको छ साथै संयुक्त राष्ट्र संघले गरेको ऐतिहासीक प्रतिवद्धतालाई हासिल गर्न धेरै वर्ष पछाडी धकेलेको छ। दृढ संकल्प, आशाका साथ हामीले महामारीले निम्त्याएको खाडल पुर्नका लागि लगानी अपरिहार्य रहेको छ। यो रोगको अन्त्यका लागि तिनै तहको सरकारको प्रतिवद्धतामा, सबैको पहुँचमा गुणस्तरीय सेवा, आधारभूत स्वास्थ्य सेवा केन्द्र, निजि क्लिनिक तथा अस्पतालहरुमा गुणस्तरीय सेवाको विस्तार तथा समन्वय, समुदायमा जनचेतना तथा शिक्षा तथा सबै तह बाट यसका लागि निति, कार्यक्रम तथा बजेट तर्जुमा जस्ता अति महत्वपूर्ण कुराहरु पुरा गर्नुपर्ने आजको आवश्यकता रहेको छ। फलस्वरूप सन् २०५० सम्म यो रोगको निवारण गर्न टेवा पुग्नेछ।
(लेखक बर्दगोरिया गाउँपालिका कैलालीमा जनस्वास्थ्य निरिक्षककाे रुपमा कार्यरत छन्)