नेपालले सन् २०३० सम्ममा संक्रमित कुकुरबाट रेबिज भाइरस सरेर हुने मानिसको मृत्यु संख्यालाई शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ। प्रतिबद्धता आफैमा सह्रानीय भएपनि हाल देखिदै आइरहेका नयाँ-नयाँ चुनौतीहरुलाई सम्बोधन गर्ने तर्फ ध्यान दिन भने सकेको देखिदैन। र यस्तै अवस्था रहिरहे 'सन् २०३०' को लक्ष्य पुरा हुनेमा प्रश्न बाचक चिन्ह खडा हुनेछ।
केहि हप्ता यता अस्पतालमा मात्र आधा दर्जन भन्दा बढी मानिसको मृत्यु रेबिज भाइरसको कारणले भएको छ।अस्पताल बाहिरको तथ्यांक नहुने भएकोले यो संख्या अझ बढी हुनसक्दछ। यी मृत्युहरु खोपको अभावले नभइ रेबिज भाइरसलाई अति हल्का रुपमा लिँदा र केहीको भने रेबिज सम्बन्धी पूर्ण वा सही जानकारी नहुँदा वा नपाउदा भएका पाउदछौं । तर यहाँ आश्चर्य के छ भने उनीहरुलाई (वा आफन्तलाई) रेबिज (वा कुकुरले टोकेर हुने रोग) र संक्रमण विरुद्ध खोप उपलब्ध छ भन्ने थाहा भएको पाइन्छ। तर पनि बर्षेनी कुनै न कुनै महिनामा आइपुगेर रेबिजका बिरामीहरुको जमघट भएको देखिन्छ/देखिदै आइरहेको छ।
'टोक्ने कुकुर र घाउ सानो थियो। गाउँमा कुकुरले दिनदिनै कसै न कसैलाई टोकिरहेको छ तर कसैलाई केहि भएको छैन। जिन्दगीमा यस्ता कुकुरको टोकाइहरु धेरै पटक भएका थिए, तर पनि केहि भएन। किन खोप लगाउने?' यो रेबिज लक्षण देखिएर भर्ना भएका एक वृद्धले आफ्नो परिवारका सदस्यलाई खोप लगाउने गरेको अनुरोधलाई दिएको जवाफ हो।
कोभिड-१९ को लहर अगाडि पनि यस्ता गल्तीहरु गर्दा धेरै जेष्ठ नागरिकहरु रेबिजको कारणले ज्यान गएका थिए। स-साना बच्चाहरुले भने अविभावकको गाली खाने डरले नभन्ने र खोप लगाउन चुक्नाले रेबिज आएका उदाहरणहरु पनि लेखकसंग प्रशस्तै छन। वृद्ध र बालबालिकामा रेबिज हुने गरेका दुई फरक दृष्टान्तले पनि खोप लगाउन फरक कारणले चुकिरहेका छौं भन्ने देखाउदछ। अर्को टिटानसको खोप लगाए मात्र पनि रेबिज संक्रमणबाट बचिन्छ भन्ने भ्रमले पनि कतिपय मानिसलाई रेबिजले मृत्युको मुखमा पुर्यारहेका पनि पाउदछौं। यसबाट टिटानस र रेबिज खोप फरक हुन भनेर धेरैलाई थाहा नभएको देखिन्छ।
संक्रमित जनावरले गहिरो, धेरै ठाउँमा, हातमा र घाँटी भन्दा माथि टोकेर घाउ बनाएको अवस्थामा थप तत्काल 'रेबिज इम्युनोग्लोबुलिन' सुइ दिनुपर्दछ। कोभिड-१९ को लहर भन्दा अगाडि र पछाडी (हालै) कतिपय रेबिजका बिरामी यही सुइ (खोप) नलगाउदा रेबिजबाट मृत्युवरण गर्नु परेका थिए। केहि महिना अगाडि स्वास्थ मन्त्रालयले हरेक प्रदेशमा 'रेबिज इम्युनोग्लोबुलिन' उपलब्ध गराएको भनेता पनि उनीहरु (घाइतेहरु) काठमाडौं आइरहेकाबाट ती प्रदेशहरुका स्वस्थाकर्मीहरुसम्म सो सुइबारे जानकारी नपुगेको संकेत गर्दछ। तसर्थ, हरेक प्रदेशको अस्पतालहरुमा 'रेबिज इम्युनोग्लोबुलिन' दिने व्यवस्था मिलाउने र मोफसलका प्राथमिक स्वास्थ केन्द्रहरुमा पनि यो सुइबारे जानकारी गराउनु पर्दछ। यसबाट घाइतेले शीघ्र जीवन रक्षक 'रेबिज इम्युनोग्लोबुलिन' सुइ लगाउन पाउने र राजधानी आउदा हुने आर्थिक भारबाट पनि मुक्त पाउने छन्।
यी माथि उल्लेखित समस्या/कमजोरीहरुलाई आधार मानेर रेबिज सम्बन्धी 'प्रश्न र उत्तर' हाते पुस्तिका देशभरी प्रत्येक प्राथमिक स्वास्थ चौकीहरुसम्म पुर्याउन सके नेपाल रेबिज मुक्त लक्ष्य नजिक पुग्न सहज हुनेछ। हाल एक पछि अर्को रेबिजका बिरामीहरु देखिदै गर्दै दुई/तीन महिना अगाडि रेबिज भाइरस समुदायमा सक्रिय रहेको अनुमान गर्न सकिन्छ। तसर्थ, यो समयको वरिपरी कसैलाई कुकुरले टोकेको भए/रहेछ भने खोप लगाउन लेखकले अनुरोध पनि गर्दछौं।