शरीर सफा गर्ने ५ विधिहरुको सैद्धान्तिक ज्ञान तथा प्रयोगात्मक अभ्यासलाई पञ्चकर्म भनिन्छ। शरीर स्वस्थ हुनका लागि शरीरभित्र उत्पन्न हुने विकार पदार्थहरुको निस्कासन नियमित भइरहेको हुनुपर्छ।
तर, बदलिँदो जीवनशैली, अस्वस्थकर आहार, शारीरिक निस्क्रियता र व्यायामको कमीजस्ता कारणले मानव शरीर मेसिनजस्तै हुँदैछ। जसको कारक तत्व शरीरभित्र सञ्चित हुँदै जाने अनावश्यक वोसो तथा अन्य विकार पदार्थ हुन्। त्यसैले यस्ता विकार पदार्थ बाहिर निकाली शरीरका भित्रि अंग सफा गर्ने संशोधन क्रिया (इलिमिनेसन थेरापी) लाई पञ्चकर्म चिकित्सा भनिन्छ। यो आयुर्वेद चिकित्साको एउटा महत्वपूर्ण अंग हो।
पञ्चकर्म चिकित्सामा निम्न ५ विधि प्रयोग गरिन्छः
१. वमन (इमेटिक थेरापी)
२. विरेचन (पर्गेटिभ थेरापी)
३. नश्य वा शीरोविरेचन (इन्हेलेसन थेरापी)
४. वस्ति (टाइप अफ इनिमा)
५. रक्तमोक्षण (ब्लड लेटिङ थेरापी)
पञ्चकर्म गर्नुभन्दा पहिला पूर्वकर्म गर्नुपर्छ। जसलाई स्नेहन, स्वेदन भनिन्छ। स्नेहन भनेको तेल मालिस थेरापी हो। विभिन्न किसिमका औषधीय गुण भएका तेल प्रयोग गरी विधिपूर्वक तेल मालिस गर्ने क्रियालाई स्नेहन भनिन्छ। स्नेहन क्रियापछि विभिन्न जडिबुटी र पानीको बाफद्वारा शरीर सेक्ने कामलाई स्वेदन भनिन्छ। पूर्वकर्म क्रियाले पञ्चकर्ममा सहजता प्रदान गर्दछ।
वमन (उल्टि): शरीरभित्र सञ्चित भई रोग उत्पन्न गर्ने विकार पदार्थ तथा मललाई मुखबाट बान्ता गराइ बाहिर निकाल्ने क्रियालाई वमन भनिन्छ।
यो क्रियामा नुन, मह तथा विभिन्न जडिबुटी मिसाएर तयार गरिएको औषधि काडा प्रयोग गरिन्छ। तयार गरिएको औषधि पानीलाई बिस्तारै पिउँदै जानुपर्छ। चार–पाँच लिटर पानी पिइसकेपछि हातको माइली औँला र साहिँली औँलाले जिब्रोलाई मालिस गर्नुपर्छ। त्यसपछि उल्टी हुन थाल्छ। पेटभित्र रहेको विकार पदार्थसहित पुरै पानी निस्किसकेपछि यो क्रिया बन्द गर्नुपर्छ।
वमन कर्मपछि एक घण्टा आराम गरेपछि तरकारीको सुप, मुगको दाल वा जाउलो र घिउ खुवाउनु पर्दछ । यो क्रियापछि बिरामीले चिसो चिज, माछा मासु, पेय पदार्थ, शारीरिक व्यायाम, मैथुन क्रिया र तेल मालिस गर्नुहुँदैन। केही दिन सात्विक र सन्तुलित आहार सेवन गर्नुपर्छ।
वमन क्रियाका फाईदाः सबै किसिमका कफ दोष भएका रोगी, दम, रुघाखोकी, खाना अरुची, पिनास, टन्सिल, चर्मरोग, बातरक्त, रक्त अल्पता, हाइड्रोशील, विष सेवन, धुमपान, मद्यपान गर्नेहरु र मोटोपन जस्ता रोगहरुमा वमन लाभदायी मानिन्छ।
वृद्ध व्यक्ति, मुटु रोगी, मासिक श्रावको अवस्था, नेत्र रोगी, कलेजोको समस्या र धेरै कमजोरी अवस्थामा वमन क्रिया गर्नुहुँदैन। अत्यधिक गर्मी वा जाडोको समयबाहेक सबै ऋतुहरुमा वमन गर्न गराउन सकिन्छ।
विरेचनः शरीरभित्र विशेषत पेटमा सञ्चित भएका विकार पदार्थ, मल तथा अन्य फोहोर मैला आदिलाई औषधि पानीको प्रयोग गराई गुदामार्गबाट बाहिर निकाली पेट सफा गर्ने क्रियालाई विरेचन भनिन्छ। विरेचन क्रियामा रोगीको अवस्था हेरेर विभिन्न औषधि प्रयोग गर्न सकिन्छ।
बिरामीलाई विरेचक औषधि पानी टन्न खुवाइसकेपछि बिरामीले पेटभित्रका विकार पदार्थसहित पटक–पटक पातलो दिसा गर्न थाल्छ। धेरै पटक दिसा गरिसकेपछि सफा पानी आउन थाल्छ। त्यसपछि केही समय आराम गराई विभिन्न सुपजन्य झोल पदार्थ र घिउ जाउलो खुवाउन सकिन्छ ।
यो क्रियापछि केही दिनसम्म माछा मासु, पेय पदार्थ, धेरै चिसो चिज र गरिष्ठ खान दिनुहुँदैन । कडा व्यायाम तथा कडा परिश्रम केही दिनका लागि बन्द गर्नुपर्छ। विरेचन कर्म सामान्यत शरद ऋतुमा गर्दा धेरै प्रभावकारी मानिन्छ। वृद्ध व्यक्ति, कमजोर अवस्था, गर्भवति, धेरै मोटो व्यक्ति, लामो समयदेखि मद्यपान गर्ने व्यक्ति, सुत्केरी अवस्था र विभिन्न अप्रेसन गरेको अवस्था तथा कडा खालको मुटु रोगीजस्ता बिरामीमा होसियारी अपनाउनुपर्छ।
विरेचन कर्मको लाभः पुरानो ज्वरो, उध्र्वगत रक्तपित्त, गुल्म, अर्श, कब्जियत, पाचन क्रियाको कमजोरी र चर्मरोग आदिमा विरेचन कर्म प्रभावकारी छ। कुशलतापूर्वक गरिएको विरेचन कर्मले शरीरमा नयाँ उmर्जाको विकास गर्छ।
नस्य वा शिरोविरेचनः नाकबाट औषधिको चूर्ण, रस, क्वाथ वा घिउ तेल राखी शरीर, विशेषतः टाउकोमा सन्चित विकार पदार्थ बाहिर निकाल्ने कामलाई नस्य भनिन्छ। नस्य कर्म विशेषगरी नाक, कान, घाँटी र शिरो रोगमा प्रभावकारी छ। नस्य कर्म धेरै जाडो समय र गर्मी समयबाहेक बिहानको समयमा गर्नु उपयुक्त हुन्छ। गर्भवती महिला, मासिक श्रावको अवस्था, मैथुनक्रिया, भोजन गरिसकेको अवस्था र मद्यपान गरेको अवस्थामा नस्य कर्म गर्नु हुँदैन। टाउको, नाक, कान, घाँटी र आँखाको अप्रेसन, कडा खाले मुटुको समस्यामा पनि नस्य कर्म वन्चित गरिएको छ।
नस्य कर्मको लाभः कफज रोग, नाक, कान, घाँटी रोग, शिर सूल, पिनास, आइग्रेन, रुघाखोकी, अपस्मार, चर्मरोग, टन्सिल, खानाको स्वादमा आउने कमी र विभिन्न भाइरल संक्रमणजन्य रोगहरुमा नस्य कर्म प्रभावकारी छ। नस्य कर्ममा विशेष गरी बोझो मुल, काफल बोक्राको चूर्ण, अदुवा, प्याज, लसुन र विभिन्न जडीबुटीद्वारा भावना दिई तयार पारिएका तेल घिउको प्रयोग गरिन्छ।
वस्तीः विभिन्न किसिमका यन्त्रहरुको प्रयोग गरि रोगअनुसार तयार गरिएका क्वाथ, घिउ तेलजस्ता औषधिलाई गुदा मार्गद्वारा भित्र पठाउने क्रियालाई वस्ती क्रिया भनिन्छ । रोग र रोगीको अवस्था हेरेर वस्ती कर्मको विभाजन गरिएको छ। पुरानो छाला रोग, कुष्ठ, मधुमेह, मुत्र रोग, मोटोपन, पेटको अप्रेसन, अजीर्ण, स्वासप्रस्वासजन्य रोगी, क्षयरोग, मानसिक रोगी, गर्भवती अवस्था र कमजोर शरीरजस्ता समस्यामा वस्ती कर्म निषेध गरिएको छ। अनुकूल मौसममा खाली पेट गरिएको वस्ती कर्म प्रभावकारी मानिन्छ।
वस्तीकर्मका लाभः सम्पूर्ण किसिमका वातब्याधी, उदावर्त, वात रक्त, खडजुरे ज्वरो, उदर रोग, अम्लपित्त, पाचन क्रियाको कमजोरी, मुत्र विकार, हृदय रोग, मधुमेह, रक्त प्रदरजस्ता रोगमा वस्ती कर्म अत्यन्तै प्रभावकारी छ। कुशलतापूर्वक गरिएको वस्ती कर्मले सम्पूर्ण शरीरमा निस्कृय भएका कोष, धातु र अंगहरुमा सक्रियता ल्याउन मद्दत गर्दछ। रोग र रोगीको अवस्था हेरेर आस्थापन वस्ती, अनुवासन वस्ती र उत्तर वस्तीको प्रयोग गर्न सकिन्छ ।
रक्तमोक्षणः वमन, विरेचन, नस्य र वस्ती कर्मद्वारा शरीरमा सन्चित भएका विकार पदार्थलाई बाहिर निकालिन्छ भने रक्तमोक्षण विशेष गरी रगत सफा गर्ने विधि हो। विभिन्न कारणले शरीरभित्र दुषित भएको रगतलाई शरीरबाट बाहिर निकाल्ने कामलाई रक्तमोक्षण भनिन्छ। त्रिदोश (वात, पित्त, कफ) को अवस्था र विभिन्न रोग अनुसार शस्त्रद्वारा गरिने रक्तमोक्षण र शस्त्रविना गरिने रक्तमोक्षणको विभाजन गरिएको छ।
शस्त्रद्वारा गरिने रक्तमोक्षणलाई पच्छान र शिरावेध भनिन्छ भने शस्त्रविना गरिने रक्तमोक्षणलाई श्रृगाअवचारण, जलौकाअवचारण, अलावुअवचारण र घटियन्त्र प्रयोग भनिन्छ । रक्तमोक्षणका लागि उपयुक्त समय शरद ऋतु हो। यो ऋतुमा रक्त एवम पित्तदोषमा आउने उतारचढाव धेरै हुने भएकाले यो ऋतुमा गरिएको रक्तमोक्षण क्रिया प्रभावकारी मानिन्छ। अति आवश्यक परेमा वर्षा ऋतुमा बादल नलागेको समय र गृष्म ऋतुमा बिहानको समय तथा हेमन्त ऋतुमा मध्यान्हको समयमा रक्तमोक्षण प्रभावकारी हुन्छ ।
अत्यन्तै चिसो मौसम, गर्मी समय, बादल लागेको अवस्थामा रक्तमोक्षण गर्नुहुँदैन। पक्षघात, मुटुरोगी, विभिन्न अप्रेसन गरेको समय, गर्भाषयशोथ, क्षयरोग, शारीरिक अवस्थामा कमजोरी र मनोबल गिरेको अवस्थामा रक्तमोक्षण निषेध गरिएको छ।
रक्तमोक्षणका लाभः विशेषगरी रक्त एवम पित्त प्रकोपबाट उत्पन्न हुने रोगमा यो क्रिया लाभदायी छ । विभिन्न कारणबाट भएको पुरानो घाउ, छालाको समस्या, विसर्प तथा एक्जीमा, शोथ, दाह, वातरक्त, कुष्ठ, पिलो आइरहने अवस्था, स्लीपद्, छालाको एलर्जी, छुद्र रोग, शरिरका विभिन्न भागमा आइरहने गाठागुठी, स्तन रोग, मोटोपन, नेत्रपाक, कर्ण रोग, मुख तथा नाकमा आउने दुर्गन्ध, कलेजोका समस्या जस्ता रोगहरुमा रक्तमोक्षण क्रिया प्रभावकारी छ।
पूर्वीय चिकित्सा विधा आयुर्वेदको एक प्रमुख अंग पञ्च कर्म चिकित्सा विधि अहिलेको अवस्थामा नसर्ने रोग व्यवस्थापनका लागि पनि महत्वपूर्ण छ। विधिपूर्वक सैद्धान्तिक ज्ञानको व्यवहारिक उपयोग गर्दै गरिएको प्रयोगात्मक अभ्यासले धेरै रोग न्यूनीकरण गर्न र मनका अनावश्यक भावहरु हटाउँदै चेतना विस्तारमा समेत महत्वपूर्ण भएको विभिन्न अध्ययनहरुले पुष्टि गरेका छन्। पञ्चकर्मजस्ता विधिहरुलाई नागरिक स्वास्थ्यसग जोडेर लैजान सकेमा सिंगो स्वस्थ्य क्षेत्रमा महत्वपूर्ण टेवा थपिन्छ। पञ्चकर्म चिकित्सा सुविधासम्पन्न आयुर्वेद अस्पतालहरुमा सम्वन्धित क्षेत्रका विशेषज्ञहरुको प्रत्यक्ष निगरानीमा मात्रै गर्नुपर्दछ।
लेखक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वका निमित्त कार्यालय प्रमुख तथा योग अभियन्ता हुन्।