सामान्यतया फिजियोथेरापी वा जनबोलिमा 'थेरापी' भनेर चिनिने भौतिक चिकित्सा जसमा भौतिक माध्यम जस्तै ताप, करेन्ट, ध्वनि, कसरत, म्यानुल, मुभमेन्ट वा चालको प्रयोगबाट उपचार गर्ने पद्धति भन्ने बुझिन्छ।
उपचारात्मक मात्र नभएर स्वास्थ्य प्रवर्द्धनात्मक, निदानात्मक र पुनर्स्थापनात्मक क्षेत्रमासमेत फिजियोथेरापीको विशेष भूमिका हुन्छ। स्नातक तहमा ४ वर्षको पढाइ र ६ महिनाको क्लिनिकल अभ्यास (इन्टर्नसिप)पछि फिजियोथेरापी लाइसेन्सको लागि योग्य भइन्छ। नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिने उक्त लाइसेन्स परीक्षा पास भइसकेपछि मात्रै फिजियोथेरापिष्टको रूपमा क्लिनिकल अभ्यास गर्न पाइन्छ।
विशेषज्ञ फिजियोथेरापिष्टको लागि भने २ वर्षको स्नाकोत्तर गर्नुपर्छ। जसमा विभिन्न विषयहरु रोज्न पाइन्छ। हालसम्म नेपालमा मस्कुलोस्केलेटल, न्युरोलोजी, कार्डियोपल्मुनरी, कम्युनिटी फिजियोथेरापी, अब्टे्टिक एण्ड गाइनोकोलोजी, स्पोर्टस् गरि विभिन्न विधामा विशेषज्ञ अनुसारको फिजियोथेरापिष्ट दर्ता भइरहेको छ। यसको लागि पनि विशेषज्ञ अनुसारको लाइसेन्स परीक्षा नेपाल स्वास्थ्य व्यवसायी परिषदले संचालन गर्दछ।
जनमानसमा के छ त बुझाइ?
फिजियोथेरापी भन्नाले हाडजोर्नी वा नशा सम्बन्धी दिर्घ रोगहरूको निदानात्ममक उपचार भन्ने बुझाइ छ। धेरै जनाको बुझाइ फिजियोथेरापी भनेपछि वैकल्पिक उपचार वा औषधि र शल्यक्रियाको विकल्प भन्ने पनि पाइन्छ।
साथै थेरापी जोडिएका कतिपय गैरफिजियोथेरापी पद्धति जस्तै प्राकृतिक चिकित्सा, अकुपंचर, रेकी, सेराजेम, योगलाई पनि एउटै एउटै हो भन्ने प्रचलन आम जनतामा कायम छ। हालको स्थितिलाई थप अन्योल फिजियोथेरापी वा फिजियोथेरापी जस्तै लाग्ने पद्धति एउटै सेन्टरबाट सेवा प्रवाह गर्ने गरेकाले पनि हुन सक्छ। केही व्यवसायीहरुले अफ्नो सामानहरू भाइब्रेटर, सेक्ने प्याड, मसाजरमा फिजियो वा थेरापी शब्द प्रयोग गर्दा थप दुविधा उत्पन्न भएको हो।
फिजियोथेरापी पुनर्स्थापनाको एक अङ्ग हो, जसमध्ये मेडिकल, सर्जरी, स्पिच थेरापी, अकुपेशनल थेरापी, पोर्थेटिक्स अर्थोटिक्स, साइक्याटिस्ट, साइको-सोसिएल काउन्सलर, सामाजिक सल्लाहकार पनि आवश्यकता अनुसार समावेश हुन्छ। फिजियोथेरापीमा विभिन्न कार्यक्षेत्र जस्तै अस्पताल, पुनर्स्थापना केन्द्र, खेलकुद क्लब, समुदायिक इकाइ साथै अन्य स्वास्थ्यसँग सम्बन्धित क्षेत्रहरू लागायतका हुन सक्छन्। विशेषज्ञता अनुसारको फिजियोथेरापी तालिम र तालिम अनुसारको अभ्यास हुनु नितान्त आवश्यक छ।
विशेषज्ञता अनुसारको अभ्यासको अवस्था
हाम्रो जस्तो निम्न आम्दानी भएको मुलुकमा पर्याप्त स्वास्थ्य जनशक्ति उत्पादन र सेवा उपलब्ध नहुनु स्वाभाविक हो। वर्तमान स्थितिमा २००० फिजियोथेरापी जनशक्ति दर्ता भए पनि ३०० भन्दा कम विशेषज्ञ दर्जामा सुचित छन्।
उक्त संख्या जनसंख्या र भौगोलिक अवस्थाको यो संख्या न्यून र त्यसमाथि सुगम केन्द्रित रहेको पाइन्छ। थप विदेशीएको वा फिजियोथेरापी आभ्यास नगर्नेको लेखाजोखा छैन। सीमित जनशक्ति, जनचेतनाको कमी, विशेषज्ञताको कम पहिचान, सबै किसिमका सेवा प्रवाह गर्नुपर्ने बाध्यताले फिजियोथेरापीको महत्व त्यसमाथि पनि यसको गुणस्तरमा आँच पुर्यासउँछ।
फिजियोथेरापी डिप्लोमा र स्नातकको अध्ययनको लागि सिमित भएपनि शैक्षिक संस्था उपलब्ध छन् तर स्नाकोत्तर को लागि कुनै व्यवस्था नहुँदा विदेशिनु पर्ने वा ठुलो व्ययभार पर्ने स्थिति रहेकोले नेपालमै फिजियोथेरापी स्नाकोत्तर अध्यापन हुनुपर्ने देखिन्छ। राष्ट्रिय स्वास्थ्य नीति अनुसार आधारभूत स्वास्थ्य सेवा अन्तर्गत जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सँगै फिजियोथेरापी र पुनर्स्थापना को व्यवस्था सबै तहका स्वास्थ्य संस्थाबाट निशुल्क हुनुपर्ने व्यवस्था उल्लेख छ। स्वास्थ्य सेवा नियमावली २०५५ अनुसार फिजियोथेरापी सेवा समूह कायम छ भने कुनै उपसमूहको प्रावधान छैन।
स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नती सम्बन्धी कार्यविधि अनुसार ५० शय्या क्षमताको अस्पतालमा कम्तिमा १ जना विशेषज्ञ फिजियोथेरापिष्ट हुनुपर्ने व्यवस्था छ।
एवंरीतले अस्पतालको क्षमता अनुसार जनशक्तिको आवश्यकता हुन्छ। यद्धपी नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ मा फिजियोथेरापी सेवाको उपसमूह उल्लेख नभएकोले विशेषज्ञ फिजियोथेरापीको प्रावधान अझैसम्म स्थापना भएको छैन। यसको निम्ति नियमन निकायबाट नीति योजनामा परिमार्जन गरि कार्यान्वयन सम्म आउनुपर्ने र सेवाग्राही पनि यस विषयमा जानकार हुनपर्ने उत्तिकै महत्वपूर्ण छ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७८ फागुन ४ को सुचना अनुसार स्वास्थ्य सेवा नियमावली २०५५ को संसोधन/परिमार्जनको निमित्त सरोकारवाला माग गरेको राय सुझावमा नेपाल फिजियोथेरापी सघंको तर्फबाट स्वास्थ्य मन्त्रालय समक्ष ज्ञापनपत्र बुझाएको थियो। उक्त ज्ञापनपत्रमा विशेषज्ञता अनुरुपको उपसमूह थप गर्नुपर्ने सम्बन्धमा ध्यानाकर्षण सहितको माग पनि उल्लेख छ।
प्रस्तुत विषय सान्दर्भिक रहेको र समयानुकूल परिमार्जन हुनुपर्ने जोड दिँदै स्वास्थ्य मन्त्रालय सकारात्मक रहेको जानकारी प्राप्त भएको छ। तर फिजियोथेरापी विशेषज्ञताको बारेमा जनमानसमा पर्याप्त चेतना नभएको महसुस भएको हुनाले यो लेख तयार पारिएको हो।
किन चाहिन्छ विशेषज्ञका अनुसारको अभ्यास?
विशेषज्ञता अनुसारको तालिमले फिजियोथेरापी अभ्यासलाई प्रमाणमा आधारित बनाउन, केन्द्रित रहि परिणाम उन्मुख हुन, फिजियोथेरापी अभ्यासमा एकरुपता कायम गर्न, गुणस्तरमा सुधार ल्याउन सहयोग गर्दछ। जनशक्तिको अभाव हुँदा एउटै व्यक्तिले विभिन्न किसिमका सेवा प्रवाह गर्नु सो समयको लागि उपयुक्त नै भएपछि, जनशक्ति र श्रोतको उपलब्धि सँगै विशेषज्ञता अनुसारको सेवा प्रवाह समयानुकूल परिमार्जन हुँदै जानु अतिआवश्यक छ।
यसको दृष्टान्त हाम्रो दैनिक जीवनयापनसँग जोडिएको कतिपय उदाहरणले प्रष्ट पार्दछ। कुनै विकट गाउँको एउटै पसलबाट विभिन्न किसिमका सामाग्रीहरू जस्तै खाध्यान्न, लत्ताकपडा, भाँडाकुँडा बिक्री वितरण गरिरहेको हुन्छ। त्यहाँ एउटा भन्दा बढी पसल स्थापना गर्नै नसकिने, संचालन नहुने वा आवश्यकता नै नहुने भएकाले ठिक देखिन्छ भने सुगम ठाउँ जहाँ जनसंख्या धेरै र धेरै पसलहरुको आवश्यकता हुन्छ त्यहाँ खाध्यान्न सम्बन्धी छुट्टै पसल, लत्ताकपडा भाँडाकुँडा सम्बन्धी छुट्टाछुट्टै पसलहरु हुनु जरुरी हुन्छ।
यसो हुँदा त्यहाँ पाइने सामानहरू छान्न पाइन्छ, मुल्य समायोजित हुन्छ र गुणस्तरिय सामान पाइन्छ। मानवश्रोत नहुँदा वा सेवाग्राहीको अनुपातमा आवश्यकता कम हुँदा एकै जनाले विभिन्न किसिमका सेवा प्रवाह गर्नु सो परिस्थितिको लागि उत्तम उपाय हो। यस्तो अवस्थामा फिजियोथेरापिष्टले अरुको पनि भुमिका निर्वाह गर्न आवश्यक देखिन्छ। जस्तै सहायक सामग्रीहरू सिफारिस, स्पिच थेरापी, अकुपेशनल थेरापी।
यसलाई ट्रान्सडिसिप्लिनरी एप्रोच भनिन्छ। तर उपलब्ध भएसम्म मल्टिडिस्पिनरी एप्रोचको सेवा प्रवाह उपलब्ध हुँदा फिजियोथेरापी मात्र नभएर सम्पूर्ण पुनर्स्थापना सेवा नै प्रभावशाली हुन्छ।
यसलाई प्रभावकारी बनाउन फिजियोथेरापिष्ट स्वयंले आफ्नो विशेषज्ञता अनुरूप अभ्यास गर्नु पर्दछ। आवश्यक परेको खण्डमा एक अर्कासँग समन्वय गरी प्रेषण गर्ने व्यवस्था कायम गर्नुपर्छ।
जनमानसमा पर्याप्त मात्रामा फिजियोथेरापी विशेषज्ञ सम्बन्धी चेतना दिएर सेवा प्रवाह गर्नुपर्दछ। र मुख्यतया नेपालका सरकारी तथा गैरसरकारी संस्थामा स्नातकोत्तर तहको फिजियोथेरापिष्टको दरबन्दी सिर्जना गर्दा विशेषज्ञता अनुसारको बिज्ञापन गर्नुपर्ने देखिन्छ।
(कँडेल वीर अस्पतालका फिजियोथेरापी युनिट प्रमुख हुन्।)