भ्रम नं १: अस्पतालहरूले बिरामीलाई अनावश्यक रूपमा आइसीयूमा भर्ना गर्छन्!
आइसीयू अस्पतालको सबैभन्दा जटिल संरचना हो। औसतमा आइसीयू बेडले कुल अस्पतालको शय्याको १० देखि २० प्रतिशत मात्र ओगटेको हुन्छ जुन संख्यात्मक रुपमा निकै कम हो। जसकारण, कुनै पनि स्वास्थ्य सेवा प्रणालीमा आइसीयू बेडको अभाव हुने गर्दछ। अनावश्यक बिरामीलाई आइसीयूमा राख्दा आवश्यक बिरामीलाई आइसीयू बेड नपाउने सम्भावना हुन्छ। त्यसैले बिरामीलाई अनावश्यक रूपमा आइसीयूमा राखिँदैन। साथै यस्तो अभ्यासले ल्याउन सक्ने कानूनी नतिजाबारे स्वास्थ्य संस्थाहरू पनि राम्ररी सचेत छन्।
भ्रम नं २: आइसीयूमा भर्ना भएपछि बिरामीको मृत्यु हुने सम्भावना बढी हुन्छ!
आइसीयू भनेको उपचारको सम्भावना रहेका जटिल अवस्थाका बिरामी राख्ने ठाउँ हो। विशेष उपचार विधि र निगरानीमा राखि आइसीयू कक्षमा गम्भिर अवस्थाका बिरामीको उपचार गरिन्छ। त्यसैले अस्पतालको अन्य ठाउँको तुलनामा आइसीयूमा धेरै बिरामीको मृत्यु भएको देखिए तापनि आइसीयूमा बिरामीको सुस्वास्थ र उपचारको लागि राखिन्छ र भर्ना भएका अधिकांश बिरामी निको हुन्छन्। उदाहरणका लागि, नेपालमा प्रतिवर्ष करिब १० देखि १५ हजार मानिसहरू आइसीयूमा भर्ना हुन्छन् र मृत्युदर (मृत्यु हुनेहरूको संख्या) लगभग १५ देखि ३० प्रतिशत छ। यो तथ्याङ्क अन्य विकसित देशहरूको तुलनामा अलिकति मात्र बढी हो।
भ्रम नं ३ः भेन्टिलेटरहरू कुनै कामको छैनन्, तिनीहरू पैसा कमाउनका लागि हुन् !
भेन्टिलेटर वास्तवमै जटिल बिरामीहरूको लागि आइसीयूमा प्रयोग हुने परिष्कृत मेसिनहरू मध्ये एक हो र जटिल बिरामीहरूको उपचारको माध्यम हो। भेन्टिलेटरमा बिरामीको उपचार गर्न विशेष अवस्थाहरू हुन्छन्। रोग निको भएपछि बिरामीलाई भेन्टिलेटरबाट बाहिर निकाल्न सकिन्छ। आइसीयूमा भेन्टिलेटरमा भएका बिरामीको उपचारको लागत भेन्टिलेटरमा नभएका बिरामीको उपचार भन्दा बढी हुन्छ। तर भेन्टिलेटरमा रहेका बिरामीहरूको पनि समग्रमा मर्नेभन्दा बाँच्ने सम्भावना बढी हुन्छ।
भ्रम नं ४ः मृत बिरामीमा पनि भेन्टिलेटर प्रयोग गरिन्छ!
मृत बिरामीमा मुटुको धड्कन अनुपस्थित हुन्छ। मानिसको मृत्यु भएको १२ घण्टामा शरीर कडा हुन थाल्छ। यसलाई रिगोर मोर्टिज भनिन्छ। २४ घण्टापछि शव सड्न थाल्छ र शवको वरिपरि बस्न गाह्रो हुन्छ। त्यसैले, प्राविधिक रूपमा मृत व्यक्तिलाई भेन्टिलेटरमा राख्न असम्भव छ। अंगदान गर्ने योजना छ भने केही अपरिवर्तनीय मस्तिष्क क्षति भएका बिरामीहरूलाई भेन्टिलेटरमा राख्न सकिन्छ। अन्यथा मृत बिरामीलाई भेन्टिलेटरमा राखिँदैन। यसले स्वास्थ्य सेवा प्रदायकमा ठूलो कानूनी जटिलता ल्याउनेछ।
भ्रम नं ५ः आइसीयूमा सबै बिरामीहरूलाई हात खुट्टा बाँधेर राखिन्छ!
यो धेरै पहिले आइसीयूमा गरिने अभ्यास थियो। यो अभ्यास आइसीयूमा भर्ना भएका बेचैन, हिंस्रक बिरामीहरूको लागि प्रयोग गरिएको थियो। यसलाई शारीरिक संयम (Physical Restrain) भनिन्छ। धेरै अनुसन्धान अध्ययनहरूले यो अप्रभावी मात्र होइन, बिरामीको लागि हानिकारक पनि साबित गरेको छ। अहिले यस किसिमका अभ्यास आइसीयूमा विरलै प्रयोग गरिन्छ। जब यो प्रयोग गर्न आवश्यक हुन्छ तब परिवारबाट स्पष्ट लिखित सहमति लिनु पर्दछ। एक पटक लिएको शारीरिक संयमको सहमति २४ घण्टाको लागि मात्र मान्य हुन्छ।
भ्रम नं ६ः आइसीयूमा राखिएका बिरामीको परिवारलाई आइसीयूका डाक्टर र आफ्नै बिरामीलाई भेट्न गाह्रो हुन्छ !
बिरामीलाई भेट्ने समयको लागि प्रत्येक आइसीयूको आफ्नै नीति हुन्छ। कुनै आइसीयूले बिरामीलाई एक पटक भेट्न अनुमति दिन्छ भने कुनै दुई पटक। परिस्थिति अनुसार कुनै बिरामीलाई धेरै पटक भेट्न पनि अनुमति दिइन्छ। त्यसैगरी प्रत्येक आइसीयूमा चिकित्सकले निश्चित समयमा परिवारलाई भेट्छन् र अपडेट दिन्छन्। यसलाई दैनिक परामर्श भनिन्छ। परिवारले यस समयमा डाक्टरलाई भेट्न र प्रश्न सोध्न सक्छन्।
भ्रम नं ७ः आइसीयूको लागि मात्र भनेर छुट्टै विशेषज्ञ तालिम पाएका डाक्टरहरू हुँदैनन्!
चिकित्सा विज्ञानका अन्य विषयहरू जस्तै आइसीयू सम्बन्धि अध्ययन आफैमा एउटा फरक विशेषज्ञता हो। सघन उपचार (Critical Care) विषयमा तालिम पाएका डाक्टरहरूले आइसीयू सञ्चालन गर्छन। ती डाक्टरहरूलाई सघन उपचार विशेषज्ञ (Intensivist) भनिन्छ। नेपालमा अधिकांश कर्पोरेट अस्पताल र मेडिकल कलेजहरूको आइसीयू विशेषज्ञ द्वारा सञ्चालित छ। नेपालमा हाल करिब ३० जना मात्र विशेषज्ञ रहेका छन्।
-(खनाल सघन उपचार विशेषज्ञको रुपमा मेडिसिटी अस्पतालमा कार्यरत छन्।)