काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू), भारतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज र भारतका प्रतिष्ठित शैक्षिक संस्थाहरु इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी- हैदराबाद (आइआइटिएच) र इन्टरनेसनल इन्स्टिच्युट अफ इन्फर्मेसन टेक्नोलोजी- हैदराबाद (आइआइआइटिएच)बीच संयुक्त शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ।
सम्झौता अनुसार पुरानो मेडिकल कलेजको नाममा परिचित कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा हेल्थ केयर टेक्नोलोजीको अध्यापनसँगै हेल्थ केयर टेक्नोलोजीज् इनोभेसन सेन्टर (एचटिआइसी)को स्थापना पनि हुनेछ। एचआइटिसीले स्नातकोत्तर र पिएचडीका लागि आधारको भूमिका खेल्ने बताइएको छ।
सम्झौतापत्रमा बिहीबार हस्ताक्षर भएको छ। सम्झौता अनुसार हुने हेल्थ केयर टेक्नोलोजीको शैक्षिक कार्यक्रमहरु कलेज अफ मेडिकल साइन्सेज र हैदराबादमा प्राध्यापन हुनेछ। यसका साथै विद्यार्थी तथा भौतिक र वित्तीय स्रोतको आदानप्रदान समेत हुने बताइएको छ।
कलेज अफ मेडिकल साइन्सेजका निर्देशक डा भी नटराज प्रसादले नेपालको स्वास्थ्य क्षेत्रमा यो नयाँ शैक्षिक कार्यक्रम हो। उनले स्वास्थ्य उपचारका क्षेत्रमा प्रयोग भइरहेका प्रविधि तथा उपकरण लगायतका विषयमा आवष्कार केन्द्र नै स्थापना भएर अध्ययन तथा अनुसन्धानको काम अगाडि बढ्नु सुखद कुरा भएको बताए।
'स्वास्थ्यका क्षेत्रमा प्रविधिको धेरै प्रयोग भइरहेको छ। यसका साथै उपचारका क्षेत्रमा आइरहेका नयाँ नयाँ प्रविधिका विषयमा अध्ययन र अनुसन्धान नेपालमै हुनु खुशीको कुरा हो,' उनले भने, 'काठमाडौं विश्वविद्यालयसँग भारतका प्रतिष्ठत शैक्षिक संस्थाहरु इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी- हैदराबाद (आइआइटिएच) र इन्टरनेसनल इन्स्टिच्युट अफ इन्फर्मेसन टेक्नोलोजी- हैदराबाद (आइआइआइटिएच)बीच भएको यो सम्झौता निकै उत्साहप्रद छ। म यो पवित्र सम्झौतालाई सम्झौता भन्दा पनि संकल्प भन्न रुचाउँछु।'
केयूका उपकुलपति भोला थापाले स्वास्थ्यका प्राविधिकसँगै इन्जिनियरिङको क्षेत्रमा पनि संयुक्त शैक्षिक कार्यक्रम सुरु हुने जानकारी दिए। 'यो सम्झौताले दक्षिण एसिया क्षेत्रको लागि आवश्यक पर्ने सक्षम जनशक्ति उत्पादनमा सघाउ पुग्ने छ,' उनले भने।
उनका अनुसार भरतपुरमा हुने एचटिआइसीले स्नातकोत्तरको शैक्षिक कार्यक्रम र पिएचडीको शोध कार्यक्रम पनि सञ्चालन गर्नेछ। यी शैक्षिक कार्यक्रम सम्झौता अनुसार चारवटै संस्थामा हुने र विद्यार्थीको शैक्षिक प्रमाणपत्रमा पनि चारवटै संस्थाको दस्तखत र छाप हुनेछ।
समझदारी तथा सम्झौता हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि गरिएको उक्त सम्झौताका प्रसंशा गरे। उनले यसका लागि सरकारले पनि सहयोग गर्ने आश्वासन दिए।
शिक्षामन्त्री देवेन्द्र पौडेलले पनि सम्झौताको प्रसंशा गर्दै गुणस्तरीय शिक्षाका क्षेत्रमा विभिन्न देशका उत्कृष्ट शैक्षिक संस्थासँग भएका यस्ता पहलले नेपालमा दक्ष जनशक्ति उत्पादको बाटो खुलेको बताए।
कार्यक्रममा आइआइआई हैदराबादका निर्देशक प्राध्यापक बीएस मूर्तिले स्वास्थ्य सेवाका क्षेत्रमा भएका प्रविधिको विकाससँगै त्यससँग सम्बन्धित नयाँ नयाँ शैक्षिक कार्यक्रमको विकास भइरहेको जानकारि दिए। उनले नेपालको शैक्षिक संस्थासँग भएको यो सम्झौताले दुवै देशको शैक्षिक क्षेत्रमा नयाँ कोशेढुंगा भएको पनि बताए।