स्वास्थ्य बीमा मानव स्वास्थ्यमा अचानक आईलाग्ने रोगहरुको कारणले अप्रत्यासित आर्थिक जोखिम न्युनीकरण गर्ने एक मात्र बलियो आधार हो। तसर्थ स्वास्थ्य बीमालाई भविष्यमा हुनसक्ने आर्थिक जोखिम कम गर्न राज्यद्वारा पूर्ण स्वामित्वमा संचालित सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने नतिजामुखि कार्यक्रमको रुपमा चिनिने गरिएको छ। स्वास्थ्य बीमा हरेक नागरिकको सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने कार्यक्रम भएकोले यसलाई हरेक नागरिकले अङ्गिकार गरी एक असल नागरिकको कर्तव्य पुरा गर्नुपर्छ।
यस कार्यक्रममा मुख्य भूमिका तीनवटा तत्वको रहेको देखिन्छ। प्रथम तत्व एवं व्यवस्थापक तथा नियमनकारी निकायको रुपमा समेत परिचित स्वास्थ्य बीमा बोर्ड रहेको छ। दोस्रो तत्व स्वास्थ्य बीमामा आवद्ध स्वास्थ्य संस्थाहरु रहेका छन्। जसले सम्पूर्ण बीमितहरुका लागि सुचिकृत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको पाइन्छ। यस्तै तेस्रो तत्व स्वास्थ्य बीमामा आबद्ध नेपाली नागरिकहरु हुन् जो पहिले योगदान रकम तिरी स्वास्थ्य बीमाको सेवा सुविधा लिन योग्य हुन्छन्।
उपरोक्त तीन तत्वहरु मध्ये बीमितहरु उपभोक्ताका रुपमा रहेकोले स्वास्थ्य बीमा बोर्ड र सुचिकृत स्वास्थ्य संस्थाको भूमिका एकदमै महत्वपूर्ण रहेको पाइन्छ। स्वास्थ्य बीमामा आबद्ध भएपश्चात हरेक बीमितले सुचिकृत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपभोग गर्न पाउने ग्यारेन्टी स्वास्थ्य बीमा ऐन २०७४ तथा स्वास्थ्य बीमा नियमावली २०७५ ले गरेको छ।
व्यवहारिक दृष्टिकोणले हेर्दा स्वास्थ्य बीमाको विश्वसनियता एवं बैद्यता स्वास्थ्य संस्थाहरुले बीमितहरुलाई दिने गुणस्तरीय स्वास्थ्य सेवा तथा सुविधामा निहित रहेको पाइन्छ। हरेक स्वास्थ्य संस्थाले बीमितहरुप्रति संवेदनशील भई सम्बन्धित स्वास्थ्य संस्थामा उपलब्ध सुचिकृत सेवा सुविधा बिभेदरहित ढङ्गले दिनुमै श्रेयस्कर मानिन्छ। स्वास्थ्य एक अत्यन्त संवेदनशील विषय भएको हुनाले यस प्रति हरेक व्यक्ति सचेत हुनु नितान्त आवश्यक रहेको पाइन्छ। यदाकदा रोग लागिसकेको खण्डमा स्वास्थ्य बीमामा आबद्ध हुने बढी चलन रहेकोले यस चलनलाई बिस्थापित गर्दै हरेक नेपाली नागरिकले रोग लाग्नुभन्दा पहिले नै स्वास्थ्य बीमामा निश्चित योगदान रकम तिरी आबद्ध हुनु नै एकमात्र विकल्प रहेको छ। किनभने रोग बिना सूचना आउन सक्छ र समयमै निदान गर्न नसकेको खण्डमा ज्यान समेत लिन सक्छ तसर्थ स्वास्थ्य बीमा निर्विकल्प राज्यद्वारा संचालित एक अत्यन्त महत्वपूर्ण कार्यक्रमको रुपमा रहेको छ।
स्वास्थ्य बीमाप्रति हरेक स्वास्थ्य संस्था तथा चिकित्सक सकारात्मक हुन आवश्यक छ किनभने यस कार्यक्रमले लाखौँ अतिगरीब, एचआइभी संक्रमित,क्षयरोग पीडित लगायतका नागरिकहरुको शतप्रतिशत मुफ्तमै बीमा गरी उनीहरुको सामजिक सुरक्षाको प्रत्यक्ष प्रत्याभूत गरेको छ। यो कार्यक्रम नाफामूलक नभएर सेवामूलक भएकोले यस कार्यक्रमको मर्म अनुसार हरेक स्वास्थ्यकर्मी बीमितहरुलाई संबेदनशील भएर स्वास्थ्य सेवा नदिएसम्म यस कार्यक्रमको औचित्य पूरा भएको मानिदैन।
स्वास्थ्य बीमामार्फत् बीमितहरुलाई सेवा सुविधा उपलब्ध गराउन पाउनु स्वास्थ्य संस्थाहरुको लागि गौरवको विषय हो किनभने राज्यले आह्वान गरेको कार्यक्रम संचालन गर्न पाउनु राष्ट्रकै लागि एक प्रकारको योगदान हो। स्वास्थ्य संस्थाहरु र स्वास्थ्य बीमा बोर्ड एक अर्काको परिपूरकको रुपमा रहेका छन्। यी दुबैको घनिष्ट एवं नतिजामुखि सम्बन्धमै बीमितहरुले पाउने गुणस्तरीय सेवा सुविधा निहित रहेको छ। अर्थात कुनै पनि हालतमा कुनै पनि बिमितले संविधानद्वारा ग्यारेन्टी गरिएको मौलिक हकको रुपमा रहेको स्वास्थ्य सुबिधाबाट बञ्चित हुनु भएन।
स्वास्थ्य बीमामा आबद्ध बीमितहरु जति सजिलै स्वास्थ्य सुविधा पाउछन त्यति नै स्वास्थ्य बीमाप्रतिको आकर्षण बढ्दै जाने भएकोले हरेक सुचिकृत स्वास्थ्य संस्थाहरुले गम्भिरताको साथ बीमितहरुलाई उपलब्ध सुचिकृत सेवा सुविधा नदिएसम्म स्वास्थ्य बीमामा आबद्ध स्वास्थ्य संस्थाहरुप्रति बीमित नागरिक हरुको सोचाइमा परिवर्तन आउँदैन। त्यही भएर स्वास्थ्य बीमाबाट सेवा गर्ने मोका पाएका स्वास्थ्य संस्थाहरुले बीमितहरुप्रति सचेत एवं सजग भई मितव्ययी ढङ्गले आवश्यक एवं उपलब्ध स्रोत साधन परिचालन गरी गुणस्तरीय नतिजा उन्मुख सेवा प्रदान गर्नु एक मात्र बलियो आधार रहेको छ। निजि वा संस्थागत लापरबाही गरेको खण्डमा आम नागरिकको ज्यानसमेत जाने अवस्था आउन सक्छ तसर्थ कुनै पनि हालतमा कसैले पनि ज्यान गुमाउनु हुँदैन। यस विषयलाई लक्षित गरी आवश्यक योजना निर्माण गरिदैँ स्वास्थ्य सेवा २४सै घन्टा बीमितहरुलाई दिनु नै सम्पूर्णको उद्धेश्य हुनुपर्छ।
स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्य संस्थाहरुलाई जसरी नियमन गर्ने एउटै निकाय रहेको छ त्यस्तै यि दुबैको लक्ष्य पनि एउटै रहेको छ। तसर्थ सचेत एवं सजग भई बीमितहरुलाई हरेकले सकेसम्म उपलब्ध सेवासुविधा दिनुमै प्रतिबद्ध रहनुपर्ने हो। यी दुबैको सम्बन्ध सूर्य र यसको किरण जस्तो सुन्दर र सौहार्दपूर्ण रहेको हुनुपर्छ।
- (लेखक स्वास्थ्य बीमा बोर्ड संखुवासभाका दर्ता अधिकारी हुन्।)