छाउनीचोकको देब्रेतिरको गल्लीबाट ५० मिटर अगाडि गएपछि संग्रहालयमार्ग घर नं ६२ लेखिएको नीलो गेट आइपुग्छ। त्यसको दाहिने छेउमा रंग खुइलिइसकेको नेमप्लेट छ, डा. पुष्पलाल राजभण्डारी, वरिष्ठ बालरोग विशेषज्ञ। अरु बेहोरा केही पनि बुझिँदैन।
यही घर सम्झेर सोध्दै, खोज्दै लामो सफर गरिवरी कैयौँ हजुरआमाहरु नुवाकोट, धादिङ, गोरखा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोकदेखि आफ्ना नातिनातिना च्यापेर आइपुग्छन्। यसरी हजुरआमादेखि नातिनातिनासम्मको तीनपुस्ते बिरामी आफैँले हेर्न पाउँदा डा. राजभण्डारी रमाइलो मान्छन्। सके त डाक्टरको फी पनि मिनाहा गरिदिन्छन्।
६० वर्षभन्दा लामो डाक्टरी करिअर बनाएका डा. राजभण्डारी अहिले पनि बिरामी हेरिरहेका छन्। तर, सम्झेर आउनेलाई मात्र। अवस्था कस्तो छ भने नयाँ पुस्ताका ९० प्रतिशत डाक्टरले उनलाई चिन्दैनन्। मुलुककै पहिलो बालरोग विशेषज्ञ हुनुको गौरव पनि उनलाई प्राप्त छ।
यी पुराना डाक्टर काठमान्डुको ओमबहालमा ८५ वर्षअघि व्यापारिक परिवारमा जन्मेका हुन्। उनका पिताले स्वीटजरल्यान्डबाट दुईवटा मेसिन झिकाएर वीरगन्जमा बिजुली कम्पनी खोलेका रहेछन्। जुद्धोदय पब्लिक स्कुलमा लेखपढ भयो उनको। त्यहीँबाट २००० सालमा एसएलसी दिए। त्रिचन्द्र क्याम्पसमा आईएस्सी पढे। त्यो समयमा डाक्टरी पढ्नु मुस्किल थियो। तैपनि उनले प्रयास गरे।
त्यतिखेर लन्डनपछि अंग्रेजको दोस्रो राजधानी थियो, कोलकाता। डाक्टरी पढ्ने उद्देश्यले उनी त्यहाँ पुगे। तर, आईएस्सीमा बायोलोजी नलिएकाले बीएस्सी पढ्नुप¥यो। त्यसको डेढ वर्षपछि मात्र एमबीबीएस भर्ना पाए, कारमाइकल मेडिकल कलेज (हालः आरजी कार मेदी मेडिकल कलेज) मा।
राणाको जुगजमानामा डाक्टरको रहर आफैँमा आश्चर्य हो। ‘चाकरी, चाप्लुसी नगरी बीए पासले समेत जागिर नपाउने स्थिति देखेर,’ उनी भन्छन्, ‘मलाई अरुभन्दा डाक्टरी स्वाधीन पेशा लाग्यो र यसमै मरिमेटेर लागेँ।’ नामको अघिल्तिर डाक्टर झुण्डाएपछि मेडिकल अफिसरका रुपमा उनको पहिलो पोस्टिङ भयो, वीर अस्पतालको चेस्ट क्लिनिकमा। त्यहाँ तीन, चार महिना बिताए। डाक्टर गौरीशंकर लाल दास बेलायत पढ्न गएपछि टोखा सेनिटोरियममा सुपरिटेन्डेन्टका रुपमा खटाइयो उनलाई। तलब र भत्ता गरी दुई सय रुपियाँ थाप्थे हरेक महिना।
त्यहाँ डेढ वर्ष बस्दा उनले अमेरिकन लाइब्रेरीमा काम गर्ने साथीसँग केही किताब मागेर पुस्तकालय खोलेछन्। कता कताबाट समाचार फुकेछ रेडियो नेपालले। त्यही चाल पाएर एक शनिबार आफैँ पुगेछन् राजा महेन्द्र।
राजा डाँडामा पुग्दा डा.राजभण्डारी भने साइकल कुदाउँदै सहरतिर झरिसकेका थिए। ‘पुस्तकालय हेरेपछि राजाले डाक्टर खोइ भनेर सोधेछन्,’ उनी सम्झन्छन्, ‘तर, माइन्ड गरेनन्।’ राजाले उनको कामको भव्य प्रशंसा गरेछन्। डा. दास फर्किएपछि बाहिर पढ्न पठाउने आश्वासन दिए राजाका सचिव एवं नातेदार मधुसूदन राजभण्डारीले।
अहिलेजस्तो भए राजाकहाँ तु पुग्थे डा.राजभण्डारी। तर, त्यतिखेर पक्की सडक लैनचौरसम्म मात्र थियो। पानीपोखरीको ढुंगेनी ठाडो उकालो हुँदै साइकलमा नारायणथानसम्म पुग्नै एक घन्टा लाग्थ्यो। त्यसपछि साइकल थन्काएर पैदलै उकालो चढ्नुपथ्र्यो। टोखाबाट बिहान टन्नै कुहिरो लाग्दा काठमाडौं तालजस्तो लाग्थ्यो। गजुरजस्तो देखिन्थ्यो स्वयम्भू।
टोखापछि डा. राजभण्डारी वीर अस्पतालमै फर्किए। भक्तपुर हुँदै फेरि वीरमै आइपुगे। ०११ सालमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालको स्वास्थ्य क्षेत्रमा तत्काल सुधारका निम्ति प्रतिनिधि पठायो। त्यसले के सुझाव दियो भने, तत्काल नेपालसँग मेडिकल कलेज खोल्ने क्षमता छैन। जनता सानातिना रोगबाट मरिरहेकाले मिडिल क्लास वर्करले काम चल्छ।
त्यसै सुझावअनुसार नेपालमा नर्सिङ स्कुल र हेल्थ असिस्टेन्ट ट्रेनिङ सेन्ट खोलिने भयो। नभन्दै अर्को वर्ष चेत भवन (हाल ¥याडिसन होटल) मा सेन्टर खुल्यो पनि। दुईवर्षे कोर्स तयार भयो। न्यूनतम एसएलसी शैक्षिक योग्यता तोकिएकोमा आईएस्सीवाला समेत आए। त्यसको नेसनल डाइरेक्टर नियुक्त भए, डा. राजभण्डारी। सेन्टरमै रहँदा उनलाई डब्लूएचओले पब्लिक हेल्थ अध्ययनका निम्ति कोलकाता युनिभर्सिटीअन्तर्गतको इन्स्टिच्युट अफ पब्लिक हेल्थ एन्ड हाइजिनमा पठायो। उनले डिप्लोमा इन पब्लिक हेल्थ (डीपीएच) गरेर आए।
सेन्टरमा उनको तलब पाँच सय ५० रुपियाँ पुग्यो। त्यतिखेर स्वास्थ्यको महानिर्देशक डा. रघुवीर वैद्यले जम्मा चार समय रुपियाँमात्र पाउँथे। तल्लो तहको कर्मचारीले ‘हाइएस्ट पे’ भएको भनेर विरोध पनि भयो। ‘मानिसहरु यो डाक्टर त कति भाग्यमानी, कति चलाख भन्थे,’ उनी सम्झन्छन्।
यति हुँदाहुँदै पनि उनलाई के लाग्यो भने सधैँ मास्टरीमा मात्र लाग्नु भएन। यसरी त जिन्दगी खेर चाहन्छ। त्यसैले ०१५ सालमा उनले कमन वेल्थ कोलम्बो प्लान पाए र इन्स्टिच्युट अफ चाइल्ड हेल्थ युनिभर्सिटी अफ लन्डनबाट डीसीएच (डक्टरेट इन चाइल्ड हेल्थ) को उपाधि लिए।
डाक्टरीमा पनि उनले बालरोग विशेषज्ञता रोज्नुको पनि कारण छ। ‘मेरा तीन, चारवटा भाइबहिनी सानै उमेरमा सामान्य रोग लागेर बिते,’ उनी त्यसको कारण खुलाउँछन्, ‘आमाबाबुमा त्यसको वेदना देखेपछि मैले के अठोट गरेँ भने डाक्टरीमा पनि बच्चाकै विषय पढ्छु।’
उनी लन्डनमा पढ्दा राजा महेन्द्र बेलायत पुगेका थिए। त्यहाँबाट फर्किएको केही महिनामै ०१७ को ‘कू’ भएको खबर पाए उनले। त्यहाँ डा. मृगेन्द्रराज पाण्डे उनका सहपाठी थिए। कोरा सैद्धान्तिक ज्ञान भएर मात्र पुग्दैन भनेर उनले लन्डनका बाल अस्पतालमा डेढ वर्षजति काम गरे र फर्किए २०१९ सालमा।
फेरि रुटिन भयो, बिहान वीर अस्पताल, दिउँसो हेल्थ असिस्टेन्ट ट्रेनिङ सेन्टर। पहिलो बालरोग विशेषज्ञ भएको नाताले छुट्टै बाल अस्पताल खोल्नका निम्ति मन्त्री र सचिवकहाँ निकै धाए। सेतो दरबारको एउटा समारोहमा मन्त्रिपरिषदको अध्यक्षतासमेत लिएका राजा महेन्द्रंसँग बिन्ती गरे। राजाले हुन्छ पनि भनेनन्, हुन्न पनि भनेनन्। त्यसको केही समयपछि मन्त्रीबाट बोलावट भयो। मन्त्रीले भने, ‘तपाईंले भनेजस्तो छुट्टै अस्पताल खोल्न सम्भव छैन। भएकै अस्पतालमा केही बेड व्यवस्था गर्न सकिन्छ भने भन्नुस्।’
डा. राजभण्डारीले के थाहा पाए भने रसियन अस्पताल बन्दैछ महाराजगन्जमा। त्यहाँ कसो होला ? राजा महेन्द्र तत्कालीन सोभियत संघको राजकीय भ्रमणमा गएका बेला राष्ट्रपति ख्रुस्चेवले एउटा जनरल अस्पताल बनाइदिने सम्झौता गरेका रहेछन्। त्यसैअनुसार बन्न लागेको अस्पताललाई नै बाल अस्पताल बनाउने लबिङ गरे उनले। ५० वटामा २० वटा बाल बेड राख्न सफल भए। त्यसको प्रशासनिक जिम्मेवारी पाए उनले। त्यहाँ डा. सजनोभको नेतृत्वमा डाक्टर, सर्जन, प्याथोलोजिस्ट, रेडियोलोजिस्ट, फिजियोथेरापिस्ट आदि १० जनाको छुट्टै रसियन टिम थियो ।
रसियन टिमसँग काम गर्न निकै गाह्रो भयो उनलाई। नाम कान्ति भए पनि ‘रसियन अस्पताल’ भनिन्थ्यो जनबोलीमा। रसियनहरु महँगा महँगा चिज मगाउने। अस्पतालमै नभएको औषधि लेखिदिने। बिल तिर्नुपर्ने उनले। सरकारी नियमले घाँटी समाउने पनि उनकै। अझ बिरामीलाई एक सुका टिकट लिन थालेपछि रसियन टिम नराम्ररी चिढियो। कम्युनिस्ट मुलुकका डाक्टरहरु भन्न थाले, ‘ह्वाट इज दिस ? ह्वाट इज दिस ?’ उनीहरुले यसमा सरकारी नीतिलाई भन्दा पनि डा. राजभण्डारीलाई नै दोषी देखे।
रसियन समर्थक वामपन्थी अखबारले डा. राजभण्डारीको पानीखेदो नै गरे। अन्ततः काम गर्न नसकिने निष्कर्षसहित रसियन टिम दुईवर्षे सम्झौता नसकिँदै बिदावादी भयो। त्यसपछि अस्पताल सुनसान भइहाल्यो। डा.राजभण्डारीका एक मात्र सहयोगी थिए, डा. हेमबहादुर बस्नेत।
सरकारले अर्को व्यवस्था गर्न नसकेपछि वीर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. महेन्द्र प्रसादले त्यहीँका डाक्टरलाई पार्टटाइमरका रुपमा पठाइदिए। डा. मृगेन्द्रराज पाण्डे, डा. अन्जनीकुमार शर्मा, डा. कान्ति गिरी, डा. एनडी जोशी आउन थालेपछि डा.राजभण्डारी त हिसाबकिताब राख्ने कारिन्दाजस्तो मात्र भए।
डाक्टरहरु समयमा नआउने, कहिले आउँदै नआउने। एक वर्ष त्यत्तिकै चल्यो। वीर अस्पतालको म्यानेजमेन्ट बोर्ड अन्तर्गत रहेको त्यो समयलाई कान्तिको ‘डार्कनेस पिरियड’का रुपमा अथ्र्याउँछन् डा.राजभण्डारी। राजाको मुमाको नामको अस्पताल वीरशमशेरको अन्डरमा ? त्यतिबेला राजावादीले त्यसरी पनि उकासेछन्।
रसियनहरु गएको एक वर्षपछि बल्ल ¥याङठ्याङ मिल्यो। तत्कालीन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गौरीशंकर लाल दास, स्वास्थ्य मन्त्री गेहन्द्रबहादुर राजभण्डारी र स्वास्थ्य सचिव चित्रबहादुर केसी सबैले डा. राजभण्डारीलाई साथ दिए। त्यसपछि कान्ति पूर्णरुपेण बाल अस्पताल भयो, फ्री बेड पनि भयो। त्यतिबेला राजा महेन्द्र भने रसियनले आफू फर्किएपछि त्यसो गर्दा नराम्रो मान्लान् भनेर हिचकिचाएछन्।
‘मैले धेरै र नयाँ त केही गरेको होइन, आफ्नो पद र ठाउँबाट सकेको गरेको हुँ,’ उनी भन्छन्, ‘बाल अस्पताल बनाउने निर्णय सरकारको हो। त्यसमा प्रयास मेरो थियो।’ आफूले अग्रसरता नलिएको भए कान्ति अहिले पनि वीर अस्पतालकै पेइङ विङका रुपमा खुम्चिने अवस्था हुन्थ्यो जस्तो लाग्छ उनलाई।
कान्तिमा काम गर्दागर्दै उनलाई कहिले यता कहिले उता हुत्याइयो। त्यसबाट वाक्क भएर २०३१ सालतिर डब्लूएचओतिर नजर डुलाए उनले। त्यसका लागि पब्लिसिटी र कन्ट्रिब्युसन चाहिन्थ्यो। त्यसैले उनले शृंखलाबद्ध रुपमा लेख छपाए ‘द राइजिङ नेपाल’मा। लेखमा उनले नेपालमा परिवार नियोजन, मलेरिया, बिफरजस्ता थुप्रै परियोजना सञ्चालनमा रहेको र तिनका छुट्टाछुट्टै कार्यकर्ता रहेकाले एकीकृत स्वास्थ्य सेवा योजनाको आवश्यकता औँल्याएका थिए।
ती लेख पढेछन् राजाका स्वास्थ्य हेर्ने सचिव सुरेन्द्रमान सिंहले। राजा वीरेन्द्र पनि त्यसबाट प्रभावित भएछन्। अनि त पहिलोपटक सिरहा र सप्तरीमा एकीकृत स्वास्थ्य योजना लागू भइहाल्यो। आफैँले बनाएको भूमरीमा फसे डा.राजभण्डारी। सगरमाथा अञ्चल हेर्नगरी ‘सिभिल सर्जन’को पोस्ट खडा गरी खटाइयो उनलाई। ‘खासमा मेरो मेरो स्वार्थ अर्कै थियो, डब्लूएचओमा जाने,’ उनी भन्छन्, ‘तर, तेरो आइडिया तै लागू गर् भनेर पठाइदिए।’
अन्ततः दुई वर्षमा कान्तिमै फर्काउने सर्तमा गए र आफ्नो मिसनमा सफल पनि भए। जिल्ला अस्पतालअन्तर्गत जिल्ला स्वास्थ्य कार्यालय रहने भयो। त्यसपछि उनलाई पब्लिक हेल्थ पनि पढेको मान्छे भनेर स्वास्थ्य मन्त्रालयको योजना प्रमुखका रुपमा सरुवा गरे। त्यहाँ रहेर उनले पाँचौंको अन्तिम र छैठौं योजना बनाए।
बनाए पनि के भन्नु ? आफूले चाहेको गर्न नपाउने, सुझाव नलिने, फड्के किनाराको साक्षी बन्नु परेपछि उनको मन त्यहाँ रमाएन। योजना प्रमुख मन्त्रालयमा ‘सेकेन्डम्यान’ भए पनि त्यतिबेला डाक्टरलाई सचिव बनाउने गुन्जायसै थिएन।
कान्तिमा फर्कन उनले तत्कालीन स्वास्थ्य मन्त्री पद्मसुन्दर लावतीसँग हारगुहार, रोइकराई गरे। किनभने उनलाई त कान्तिमै ५० बेड थपेर सयवटा पु¥याउनु थियो। नर्सिङ क्वाटर, आउट प्यासेन्ट भवन अनि मेडिकल सुपरिटेन्डेन्टको क्वाटर बनाउनु थियो। ती काम गर्दागर्दै २० वर्ष बित्यो कान्तिमा।
०४२ सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारले डा.राजभण्डारीसहित चार डाक्टरलाई ३० वर्षे लगाएर अवकाश दियो। नियमअनुसार ६० वर्षमा अवकाश हुन्थ्यो। मेडिकल सुपरिटेन्डेन्ट एवं सिनियर पेडियाट्रिक कन्सल्ट्यान्टका रुपमा ५५ वर्षमै अवकाश पाएपछि उनले सरकारी कार्यालयतिर चिहाएर पनि हेरेनन्। बरु डा. सचेकुुमार पहाडी, डा. श्यामबहादुर पाण्डेसँग मिलेर साझा भवननेर पोलिक्लिनिक खोले। उनी त्यहाँ बिहान र बेलुकी साइकल चढेर बिरामी जाँच्न पुग्थे।
मोटर घरमा थन्काएर साइकल चढ्यो भनेर उनलाई ‘कन्जुस डाक्टर’ भन्थे कतिपय। ट्रमा सेन्टर बनाउने क्रममा साझा भवन भत्काइएपछि उनी विरक्तिए। घरमा आइहाले भने बिरामी जाँच्ने डाक्टरमा खुम्चिए।
बालरोग विशेषज्ञका रुपमा उनलाई थाहा छ, डाक्टर मात्रै भएर पुग्दैन। केटाकेटीलाई बुझ्ने सामथ्र्य पनि चाहिन्छ। उनका अगाडि केटाकेटी आएर खेल्छन्। चस्मा झिक्छन्, घडी तान्छन् अनि दोस्ती गर्छन्। यसपछि मात्र डाक्टरलाई विश्वास गर्छन् केटाकेटीले। ‘सुइँ सुइँ औषधि लेखिदिएर मात्र डाक्टरको कर्तव्य पूरा हुँदैन,’ उनी भन्छन्, ‘बच्चाले आफैँ भन्न सक्दैन। त्यसैले आमासँग बुझेपछि मात्र धेरै कुरा थाहा हुन्छ।’
केटाकेटीलाई ओभरडोज औषधि दिनु अपराधजस्तो लाग्छ उनलाई। ‘मुसा मार्न बन्दुक चलाउने ? बन्दुकले मुसा मार्न मिल्छ ?’ उनी आक्रोशित हुन्छन्, ‘अहिले क्वान्टिटी बढ्यो, क्वालिटी छैन। पहिले डाक्टरले थोरै गर्थे, राम्रो गर्थे। एक डोजले ठ्याक्कै निको हुने राम्रो औषधि हुँदै होइन।’ डाक्टरले बिरामीको पुर्जामा नेपाली भाषामै खुवाउने तरिकासहित बुझिने खालको लामो बेहोरा लेखिदिनुपर्ने उनको धारणा छ।
डा. राजभण्डारीलाई आफूले गरेका काममा सन्तुष्टि छ। उनलाई थाहा छैन, नाउँ चले भने सफल हुने हो या पैसा कमाए ? सफल डाक्टर असल कि असल डाक्टर सफल ? आफ्नो मेडिकल प्राक्टिसमा २०, २२ वर्षअघि एकजना बाहेक अरु बिरामीको मृत्यु नभएको उनको दाबी छ। ‘त्यो पनि मेरो गल्तीले होइन, साझा भवनमा बच्चा लिएर आमा आएकी थिइन्, मैले निमोनियाले सिकिस्त भएकाले अस्पताल रिफर गरिदिएँ, उनले तपाईंले दिएको औषधिले ठीक हुन्छ भनेकी थिइन्, मेरै करले लिएर गइन्,’ उनी सुनाउँछन्, ‘तर, अस्पतालमा बेड नभएर भुइँमा सुताइदिएछ। बिचरा उपचारै नपाई मृत्यु भएछ। उनले तपाईंले गर्दा मेरी छोरी मरी भनेर भन्दा म मर्माहत भएँ।’
बेलायतबाट पढेर आएपछि ३३ वर्षको मध्यबैँसमा घरजम गरे उनले। १० वर्ष कान्छी पाटनकी मिमला श्रेष्ठसँग मागी बिहे भयो। छोराछोरी सबैको सुन्दर घरसंसार छ। यसै वर्ष दाम्पत्य जीवनको ‘गोल्डेन जुब्ली’ मनाउने तरखर छ उनको। खेलका नाममा उनलाई तास खेल्न पनि आउँदैन। उमेरमा क्यारमबोर्ड आउँथ्यो, त्यो पनि त्यति राम्रो होइन। उनको शोख भनेकै पठन हो। त्यसमा पनि बायोग्राफीले उनलाई हुरुक्कै बनाउँछ। उनलाई जवाहरलाल नेहरु, राधाकृष्णन् र बर्टन्ड रसेलका फ्यान भने हुन्छ। उनीहरुका पुस्तकका हरफ हरफ उनलाई कण्ठाग्र छ। विज्ञानले सृष्टि कसरी भयो भन्ने पत्ता लगाए पनि किन भयो भनेर बताउन नसक्ने उनको ठोकुवा छ। नेहरुकै शैलीमा उनी भट्याइरहन्छन्, ‘नेपाल इज माई ब्लड।’ बुढेसकाल लागेपछि देशको असाध्यै माया लाग्न थालेको छ उनलाई। तर, देशमा नेल्सन मन्डेलाजस्ता नेता नजन्मेकामा उनलाई खेद लाग्छ।
सादा खानेकुरा उनलाई प्रिय लाग्छ। हाई क्लास प्रोटिनको स्रोत मासु खानैहुन्न भन्ने प्रचार उनलाई त्यति ठीक लाग्दैन। उनले के देखेका छन् भने गाईले दिनभरि कति घाँस खान्छ तर बाघले तीन दिन पर्खिएर भए पनि मासु नै खान्छ। मासु खाने बाघ कति बलियो छ ! बंगाली माछाको स्वाद भनेपछि उनी हुरुक्कै हुन्छन्।
मदिरा छुनै हुन्न भन्ने पनि डा. राजभण्डारीलाई लाग्दैन। मदिराको तुलनामा सिगरेट खराब भएको उनको बुझाइ छ। उनलाई के लाग्छ भने खानै नहुने केही पनि छैन। धेरै त अमृत पनि खानुहुन्न। उनी गीता पढ्छन् दिनहुँ। अरुलाई के सन्देश दिन चाहन्छन् भने गीता पढ तर सबै कुरा नमान। सारा पुराण लेखिसकेर ‘लुप होल’ पत्ता लगाएपछि ब्यासले कृष्णको नाम दिएर गीतामा ‘ट्रिक’ गरेजस्तो लाग्छ उनलाई।
जीवनको उत्तरार्धमा पनि डा. राजभण्डारी बा३च ८७३४ नम्बरको गाडी आफैँ हाँक्छन्। पार्टीमा जान्छन्। पेन्सन थाप्छन्। प्रदर्शनीका क्रममा कान्ति अस्पताल उद्घाटनको दिन आफूले बच्चा जाँचेको फोटो हेरेर राजा महेन्द्र धेरैबेर टोलाएको दिन डा. राजभण्डारीलाई विशेष लाग्छ ।
घुँडा खिइनेबाहेक अरु स्वास्थ्य समस्या छैन उनमा। एउटै धोको छ, ५० बेडसम्मको प्राइभेट चिल्ड्रेन हस्पिटल खोल्ने। जहाँ फस्र्ट क्लास आउट प्यासेन्ट सर्भिस होस्। उनलाई के विश्वास छ भने बालबालिकाको ८० प्रतिशत रोग आउट प्यासेन्ट युनिटबाटै बिसेक हुन्छ। त्यस्तो हस्पिटलमा आफूले कार्यकारी काम गर्न नसके पनि दिनको पाँच, ६ घन्टा समय दिन सक्ने उनको विश्वास छ।
त्यस्तो हस्पिटलका लागि चाहिने लगानी र जनशक्ति आफ्नो वशमा नभएको पनि उनलाई थाहा छ। जेठी छोरी सुजन बेलायतमा छन्, कान्छी छोरी बेरिल अमेरिकामा। छोरीहरुलाई डाक्टरी पढाउन सकेको भए अहिले त्यो सपना पूरा हुन्थ्योजस्तो लाग्छ उनलाई। एक्ला छोरा डा. सञ्जीव राजभण्डारी (वयोधा अस्पताल) ती सबलाई झन्झट मानेर रेडियोलोजिस्टमै रमाइरहेका छन्। बरु बुहारी डा. प्रज्ञा कर्माचार्य (मनमोहन हस्पिटल) पनि चाइल्ड स्पेसलिस्ट भएकाले फकाउन सकिन्छ कि भन्ने झीनो आशा छ।