डाक्टर हेमाङ्ग दीक्षितलाई वर्तमानको बिन्दुमा उभिएर आफूले नापेको बाटो फर्केर हेर्दा लाग्छ, जीवन सधैँ एकनास हुँदैन। यसको लय कहिले उन्नत हुन्छ र कहिले अवनत। भाव फेरिन्छ जीवनको, रुप र रङ पनि फेरिन्छ। हुन पनि हो, समय बदलिएसँगै उनका अनुभव र अनुभूति पनि बदलिएका छन्।
राजधानीमा दीक्षित परिवारको ख्याति राम्रो थियो। शिक्षित परिवार भएकाले सन्तानलाई पढाउने प्रबन्धमा कुनै कमी थिएन। तर, त्यही परिवारको एउटा बालक हेमाङ्ग दीक्षित भने सानो छँदा पैसा रोपेर पैसा नै उमार्न चाहान्थे। तर, उमेर, बुझाइ र अध्ययन थपिँदै जाँदा उनलाई आफ्नो पारिवारिक परिवेशले डाक्टर बन्न लोभ्यायो। परिवारले पनि उनको सपना पूरा गर्न कुनै कसर बाँकी राखेन। विक्रम संवत् १९९४ साल जेठ २९ गते काठमाडौँको डिल्लीबजारमा जन्मिएका हेमाङ्ग दीक्षित सानैदेखि नयाँ कुरामा रुचि राख्थे। त्यसैले होला डाक्टर हेमाङ्ग साहित्य, चिकित्सा र प्रशासनमा पनि अब्बल बने।
परिवारिक पृष्ठभूमि पनि चिकित्सा क्षेत्र नै थियो। उनका हजुरबुबा सदाशिव आचार्य पण्डित पनि आयुर्वेदिक डाक्टर थिए। राणा परिवारसँग राम्रै हिमचिम थियो। आयुर्वेद डाक्टर सदाशिवले आफ्ना छोरा सिद्धिमणिलाई पनि डाक्टर नै बनाए। डा. सिद्धिमणि दीक्षितले कलकत्ताबाट एमबी (तत्कालीन समयमा एमबीबीएसलाई एमबी मात्र भनिन्थ्यो) गरेका थिए। नेपालमै पहिलो एमबी पढ्ने चिकित्सक डा. सिद्धिमणिका छोरा हुन् डा. हेमाङ्ग दीक्षित। डा. सिद्धिमणिले एमबी पढ्दा नेपालमा स्वास्थ्य सेवाको जगसमेत बसेको थिएन।
नेपालका पहिलो डाक्टर सिद्धिमणि वीर अस्पतालबाहेक राणा परिवारका पनि चिकित्सक थिए। डा. सिद्धिमणि नेपालमै सबैभन्दा बढी बाँचेका शिवपुरी बाबाको पनि निजी चिकित्सक थिए। बाबु डा. सिद्धिमणि वीर अस्पतालबाट फर्किंदा डा. हेमाङ्गलाई कहिले सेता मुसा त कहिले अन्य जीव ल्याएर दिन्थे, छोरालाई प्रयोगशाला परीक्षणका लागि। घरमा उपचार गर्न आउनेको पनि लाम हुन्थ्यो। यसबाट डा. हेमाङ्गले चिकित्सकीय दायित्वलाई पनि नजिकबाट नियाल्ने राम्रो अवसर पाएका थिए। २०२४ सालमा डा. हेमाङ्गका बाबु डा. सिद्धिमणिको मृत्यु भयो। बुबाको सम्झनामा उनले चिकित्सक साथीहरूको सहयोगमा सिद्धि पोलिक्लिनिक स्थापना गरे। उक्त पोलिक्लिनिक अहिले पनि सञ्चालनमा छ।
पारिवारिक परिवेशले हेमाङ्गलाई डाक्टर बन्ने मोह बढाउँदै लग्यो। हजुरबुबाको समयदेखि नै घरमा पाठशाला खुलेको थियो। त्यो पाठशालामा लेखनाथ पौड्याल, चक्रपाणि चालिसेजस्ता विद्वानहरू शिक्षक थिए। दोस्रो विश्वयुद्ध चलिरहँदा डा. हेमाङ्गले कलकत्ता जाने मौका पाए। भीमफेदी हुँदै उनी कलकत्ता पुगे। आकाशमा जापनिज फौजका जहाजहरू उडिरहेका हुन्थे। उनलाई त्यो वातावरण अद्भूत र अनौठो लाग्यो। घरको पढाइपछि परिवारले थप अध्ययनका लागि हेमाङ्गलाई नैनीताल पठाउने निर्णय ग¥यो। ३ देखि ५ कक्षासम्म उनले नैनीतालमा पढे। उनले दार्जीलिङको सेन्ट जोसेपजस्ता नाम चलेको स्कुलमा पनि आवेदन दिएका थिए। तर, नैनीतालको वातावरण अझै राम्रो छ भन्ने लागेर परिवारले उनलाई नैनीतालस्थित सेरवुड कलेजमा पढ्न पठायो। बाबुका मिल्ने दाजुभाइहरू त्यतै बस्थे। छोराको रेखदेख हुने र बिदाको समयमा बस्न पनि सजिलो हुने भनेरै उनलाई नैनीताल लगिएको थियो। सेरवुड त्यस क्षेत्रकै नामी स्कुल थियो, जहाँ भारतीय महान् अभिनेता अमिताभ बच्चनले पनि केही वर्ष पढेका थिए।
सेरवुडमा उनको नाम हेमाङ्गमणि आचार्य दीक्षित थियो। साथीहरूले दिनहुँजसो हुल बाँधेर उनको नाम सोध्न आउँथे। हेमाङ्गमणि आचार्य दीक्षित, उनी सोझो जवाफ दिन्थे। साथीहरू हाँसेर फर्किन्थे। केही दिनपछि उनले बुझे कि साथीहरूले आफ्नो नामलाई लिएर उडाइरहेका रहेछन्। त्यसपछि जसले नाम सोधे पनि उनले हेमाङ्ग दीक्षित मात्रै भन्न थाले।
उनी २००७ सालतिर स्कुल परिवर्तन गरेर सिम्ला पुगे। नयाँ स्कुलको नाम थियो विसप कटन। त्यहाँ उनका नेपाली साथी पशुपति शमशेर जबरा थिए। जाडो बिदामा नेपाल आउँदा उनी पशुपति शमशेरलाई भेट्न सिंहदबार जाने गर्थे। त्यहा जाँदा उनले बेलाबेला तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र र धिरेन्द्रलाई आर्मीहरूले बोकेको देख्थे।
सिम्लामा पढ्दाताका प्रसिद्ध लेखक रस्किन वन्ड उनीभन्दा दुई ‘ब्याच’ सिनियर थिए। सानैदेखि उनलाई लेखक बन्ने चाहना थियो। पछि उनले कहिले मणि दीक्षित त कहिले हेमाङ्ग दीक्षितकै नाममा दर्जनौँ पुस्तक पनि लेखे। भारतमा विद्यालयस्तरको शिक्षा सकेर उनी उच्च शिक्षाका लागि बेलायत पुगे। उनले लन्डनको युनिभर्सिटी ट्विटोरियल कलेजबाट ‘ए लेभल’ सके। त्यसपछि २०१३ सालमा उनले बेलायतकै चेरिड क्रस हस्पिटल मेडिकल स्कुलमा एमबीबीएस अध्ययन थाले र २०१८ मा पूरा गरे। उनले ट्रपिकल डिजिज एन्ड चाइल्ड हेल्थमा डिप्लोमा पनि सके। पढाई पूरा गरेपछि उनले दुई वर्ष त्यहीँ काम गरे।
बेलायतबाट फर्केपछि उनले बिवाह पनि गरे र सँगै वीर अस्पतालमा काम थाले। वीरमा उनको तलब एक सय ७५ रुपैयाँ थियो। त्यसबेला वीर अस्पतालमा सबैभन्दा बढी दादुराका बिरामी उपचारका लागि आउँथे। वीरपछि उनले कान्ति अस्पतालमा बालरोग विशेषज्ञको भूमिका निर्वाह गरे। २०२७ सालतिर कान्ति अस्पताल उनकै प्रयासमा कान्ति बाल अस्पतालमा परिणत भएको थियो। त्यही बेला उनले बच्चाहरूको मुत्रथैलीमा अन्डाजत्रो ढुङ्गा पनि फेला परेको थिए। उनका अनुसार १८औँ र १९औँ शताब्दीतिर बेलायतमा पनि मानिसमा यति ठुला ढुङ्गा भेटिन्थ्यो रे।
डा. हेमाङ्गले कान्तिमा काम गर्दाताका २०२९ सालमा चिकित्सा विज्ञान अध्ययन संस्थान (आईओएम) को स्थापना भयो। प्रथम डिन डा. मोहिन शाह भए। डा. दीक्षितले शिक्षण अस्पतालमा रिडर पदका लागि निवेदन दिए। डा. शाह, उपकुलपति जगतमोहन अधिकारी र प्रो. प्रासोन तुचिन्दाले लिएको अन्तर्वार्तामा उनी छानिए। उनलाई बाल विभागको जिम्मा दिइयो। त्यसपछि उनलाई एमबीबीएसको पाठ्यक्रम निर्माण गर्ने अभिभारा पनि थपियो। पाठ्यक्रम निर्माणमा उनलाई डा. भीष्मराज प्रसाईं र डा. दामोदर उपाध्यायले सघाएका थिए। त्यसपछि उनी २०३६ सालमा आईओएमकै डिनमा नियुक्त भए। उनकै कार्यकालमा नेपाली सेनाको स्वामित्वमा रहेको जग्गामा शिक्षण अस्पताल निर्माण भएको थियो। अस्पताल निर्माणका लागि डा. हेमाङ्गले निकै मिहिनेत गर्नुपरेको थियो।
आईओएमलाई स्वास्थ्य कि शिक्षा मन्त्रालयको मातहतमा राख्ने भन्ने विषयमा ठूलै विवाद भएको थियो। उनी शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत राख्नुपर्छ भन्ने अडानमा थिए। डा. हेमाङ्गले इतिहास कोट्याए, ‘मैले संस्थागत हितका लागि सम्बन्धको प्रयोग गरेर आईओएमलाई शिक्षा मन्त्रालय अन्तर्गत नै ल्याएँ। राजा वीरेन्द्रसमक्ष यसबारे जानकारी गराएँ। राजाले पनि तत्कालै आईओएमलाई शिक्षा मन्त्रालय अन्तर्गत नै राख्न आदेश दिए। त्यसबेला राजाको आदेश अगाडि कसको पो के लाग्थ्यो र ?’
संस्थानमा डिन भए पनि शिक्षण अस्पताल नबनिसकेकाले उनी कान्तिमै काम गर्थे। उनले पुराना दिन सम्झिए, ‘त्यसबेला काठमाडौँमा मेनिगोकोकल मेनेन्जाइटिसको महामारी फैलिएको थियो। यो रोगको संक्रमणले धेरै बालबालिकाको मृत्यु हुने सम्भावना थियो। चार सय बालबालिकामा संक्रमण देखिएपछि उपचारका लागि अमेरिकाबाट डाक्टरको टोली नै बोलाउनु परेको थियो।’ अमेरिकाको एट्लान्टाबाट आएका डाक्टरहरूले रोग नियन्त्रणमा लिएर खोप लगाउन सुझाब दिएका थिए। उनले खोप अभियान सञ्चालनका लागि पनि अहम् भूमिका खेले। यो घटनापछि महामारी नियन्त्रणका लागि सामूहिक पहलको आवश्यकता महसुस गरी चिकित्सकहरू सङ्गठित भए। फलस्वरूप नेपाल पेडिएट्रिक सोसाइटीको स्थापना भयो। डा. हेमाङ्ग सोसाइटीका संस्थापक सदस्य थिए।
डा. हेमाङ्ग डिन भएकै बेला भारतबाट राजीव गान्धी र सोनिया गान्धी नेपाल आएका थिए। आईओएमको डिनका हैसियतले उनले पनि राजीव र सोनियासँग भेट गर्ने अवसर पाएका थिए। उनले त्यो क्षण सम्झिँदै भने, ‘२०४० सालको कुरा हो। राजीब र सोनिया सोल्टी होटलको एक कार्यक्रममा आउँदा मैले पनि भेटेको थिएँ। राजीब गान्धीले हात मिलाए भने सोनियाले नमस्ते फर्काइन्।’ त्यो भेटको एउटा घटना उनी कहिल्यै बिर्संदैनन्। उनले भने, ‘राजीव गान्धीसँग हात मिलाएपछि मैले सोनियासँग पनि हात मिलाउन हात बढाएँ। तर सोनियाँले हात मिलाउनुको साटो नमस्ते पो गरिन्। मेरो हात हावामै हल्लियो। त्यसबेला खिचेको फोटो हेर्दा अहिले पनि हाँस उठ्छ।’
डा. हेमाङ्ग २०३८ सालमा नेपाल मेडिकल काउन्सिलमा सदस्य भए। त्यसपछि २०४२ सालदेखि ०४५ सालसम्म उपाध्यक्ष पनि भए। सो समयमा उनले तीन महिना कायममुकायम सभापतिको जिम्मेवारी पनि सम्हाले। आफूले लामो समय बिताएको काउन्सिलबारे उनको धारणा छ, ‘काउन्सिल चिकित्सकीय अभ्यासका क्रममा हुनसक्ने लापरबाही र असावधानीबाट सेवाग्राहीको बचाउ गर्ने संस्थाका रूपमा स्थापित थियो। तर अहिले भने ठिक विपरित काम भइरहेको छ। यसले सम्रग स्वास्थ्य सेवामा असर पु¥याउँछ।’
आईओएमबाट अनिवार्य अवकासपछि डा. हेमाङ्ग काठमाडौँ मेडिकल कलेज (केएमसी)मा आबद्ध भए। डा. मणिरञ्जन बरालले नै उनलाई केएमसीमा आउन आग्रह गरेका थिए। त्यसअघि भरतपुर मेडिकल कलेजबाट टुक्रिएर आएको भारतीय समूहले केएमसी चलाएको थियो। नेपाली समूहले केएमसीको स्वामित्व लिएपछि डा. दीक्षित प्रिन्सिपल बने र १२ वर्ष काम गरे। प्रिन्सिपल भएकै समयमा घटेको एउटा घटना उनको जीवनभरिका लागि अविस्मरणीय छाप बनेर बसेको छ। उनले त्यो डरलाग्दो घटना सम्झिए, ‘आफू स्पाइडर ग्याङसँग सम्बन्धित रहेको बताउने सन्दीप पाठकले फोन गरेर मसँग तीन करोड रुपैयाँ मागे। म कलेजको प्रिन्सिपल हुँ, सेयर होल्डर होइन भनेर सिधै पैसा छैन भनिदिएँ। उसले अध्यक्षको नम्बर माग्यो। मैले दिइनँ। उसले धम्की दिँदै फोन काट्यो।’ यो घटना यतिमै सेलाएन। केही दिनपछि उसले फोन मार्फत अस्पतालमा बम राखिएको बतायो। उनले भने, ‘अस्पतालबाट बिरामीलाई समेत स्लाइन दिँदादिँदै बाहिर निकालियो। बम डिस्पोजल टोली आयो। बम भेटिएन। यो धम्कीकै अर्को स्वरूप रहेछ।’
डा. हेमाङ्गमाथिको धम्की प्रकरण यतिमै रोकिएन। २०६३ साल वैशाख २१ उनी आफ्नो गाडीको पछाडि सिटमा बसेर केएमसीको सिनामङ्गलस्थित अस्पताल गइरहेका थिए। त्यसदिन उनलाई कसैले मोटर साइकलमा पछ्याइरहेको रहेछ। डा. दीक्षितलाई कुनै सुइँको सम्म थिएन। उनले घटनाको विवरण सुनाए, ‘बिहान सबा ९ बजेको कुरा हो, म गाडीमा बसेर सुडोकु खेल्न मस्त थिएँ। अचानक गोलीे चल्यो। गाडीको देब्रेतिर सिसा फुट्यो। मलाई कुममा गोली लागिसकेको रहेछ। के भयो भन्ने बुझ्नै सकिनँ। बोली पनि निस्केन। अस्पताल नजिकै भएकाले तुरुन्तै ‘अपरेसन थिएटर’मा लगियो। डा. शुनिल शर्माले अपरेसन गर्नुभयो। मेरो भाग्य बलियो, अपरेसन सफल भयो।’ दुईवटा गोलीले पनि डा. हेमाङ्गको जीवन हर्न सकेन। त्यो घटनाबाट उम्किएका उनी नयाँ जीवन पाएको अनुभव गर्छन्।
घटना पछि पर्दाफास भयो। आपराधिक समूहले बारम्बार प्रयास गर्दा पनि केएमसीका अध्यक्षसँग कुरा गर्न नपाएको रिसले उनीमाथि आक्रमण गरिएको रहेछ। गोली काण्डपछि अस्पतालमै भर्ना भएको अवस्थामा समेत उनलाई ज्यान लिने हल्ला चलेपछि उनको सुरक्षा निकै कडा पारिएको थियो।
गोली काण्डपछि पनि उनलाई धम्कीको फोन आउन छोडेन। मिलन लामा नामका व्यक्तिले उनीसँग धम्कीकै शैलीमा घटनाबारे क्षमायाचना गरे। क्षमा माग्नुको उद्देश्य रहेछ, गोली काण्डमा पक्राउ परेको साथी छुटाउनु। पछिसम्म कि साथी छुटाउनु प¥यो कि पैसा दिनुप¥यो भन्दै उनलाई तारन्तार फोनबाट धम्की आई नै रह्यो। उनले घटनाको पछिल्लो अवस्थाबारे सुनाए, ‘म पैसा दिएरै भए पनि उनीहरूबाट पन्छिने मनस्थितिमा पुगिसकेको थिएँ। एउटा शान्त जीवन बाँचिरहेको मान्छे कतिन्जेल यस्तो त्रास लिएर बस्न सक्थेँ र। दशैंको बेला थियो। म घरमै टीभी हेरेर बसिरहेको थिएँ। भारतीय च्यानल ‘स्टार न्युज’मा आएको समाचारले मेरो ध्यान तान्यो। समाचार मलाई गोली हान्न लगाउने सन्दिप पाठक अर्थात् मिलन लामा दिल्लीमा पक्राउ परेको विषयमा थियो। त्यसपछि मैले कुचोले बढार्नु पर्ने कसिङ्गर हावाले उठाएर लगेको महसुस गरेँ।’
यद्यपि, अनाहकमा गोली खानु परे पनि डा. दीक्षित आफ्नो पेसा र कर्तव्यप्रति कहिल्यै विचलित भएनन्। कुनै बेला संकटमा परेको केएमसीलाई उनले उचाइमा पु¥याएर छाडे। १२ वर्ष केएमसीमा प्रिन्सिपलको जिम्मेवारी सम्हाल्दा विद्यार्थी, प्राध्यापक, कर्मचारी कसैप्रति न त पूर्वाग्रह नै राखे न त उनलाई कसैले खोट लगाउन सक्यो। डा. हेमाङ्गको एउटै सूत्र थियो, ‘गुणस्तरीय शिक्षामा कहिल्यै पनि सम्झौता गर्न हुँदैन र आफ्नो पेसाप्रति कहिल्यै बेइमानी गर्नु हुँदैन।’ डा. हेमाङ्गले यही मन्त्र आफ्ना शिस्यहरूलाई दिएको उपहार हो।
स्वास्थ्य खबरपत्रिका २०७० असोज अंकमा प्रकाशित