स्कूलले जीवन पूरा गरेपछि उच्चशिक्षाको संघारमा उभिएका पढाईमा अब्बल अधिकांश छात्रछात्राले राख्ने लक्ष्य भनेको जीवनमा डाक्टर या इन्जिनियर बन्छु भन्ने नै हुन्छ । त्यसमा पनि छात्रवृतिमै यस्तो अवसर पाउँदा ‘नाई’ भन्ने मानिस संयोगले मात्रै भेटिएला । नेपालमा सफल उद्योगका नाम लिनुपर्दा औंलामा गन्न सकिने थोरै उद्योग मध्ये पर्ने देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरीभक्त शर्मा त्यस्ता उदाहरण हुन्, जसले व्यवस्थापन विषय पढ्नका लागि डाक्टर पढ्न आएको अवसरलाई माया मारे र बाटो समाते औषधि उद्योगको ।
दुई दशक अगाडिको कुरा हो यो । पढाईमा अब्बल युवा हरिभक्त शर्माले स्वदेशमै उद्योग खोल्ने सपना देखिरहेका थिए । सपना सकार पार्न, पढ्नका लागि उनी अमेरिकासम्म पुगे । तर कहिल्यै पनि विदेशमा भविष्य खोज्ने सोच नभएका हरीभक्त पढाइ सकेर नेपाल फर्किए । यता उनलाई उद्योग खोल्नु थियो । उद्योग त खोलेरै छाड्ने तर के उद्योग उपयूक्त होला ? उनलाई एक जना अमेरिकन प्रोफेसरले सुझाव दियो –‘नेपालमा औषधि उद्योगको भविष्य छ ।’ उनलाई यो कुराले स्ट्राइक ग¥यो । कार्पेट र गार्मेन्टको मात्रै ‘स्कोप’ भएको त्यो बेला प्रविधिजन्य उत्पादनमुलक उद्योगमा हात हाल्ने सोचाइ नै चुनौतीपूर्ण थियो उनको ।
शर्माले औषधि उद्योग स्थापना गर्ने प्रक्रिया थाले । यसमा उनलाई केही साथीहरूले साथ दिए । राजाका नजिकका मान्छेले मात्रै फाइदाजनक व्यवसाय गर्न पाउने अवस्थामा सामान्य नागरिक शर्मा र उनको समूहले नेपालमै औषधि उद्योग खोल्ने आँट गर्दा तत्कालीन सरकारी प्रशासन उनीहरुप्रति सकारात्मक थिएन । अध्ययन अवधिमै कमाएको पैसा, सबै पार्टनरहरूको लगानी र नेपाल औद्योगिक विकास निगमबाट लिएको ऋण सापटीमा उद्योग खोल्ने कार्य अगाडि बढ्यो ।
…………..
०४२ सालमा उद्योगको औपचारिक प्रक्रिया सुरू भयो । तर, युवाहरूको सोच र जाँगरजस्तो गति सरकारी संयन्त्रको थिएन । अनुमति पाउनकै लागि तीन वर्ष लाग्यो । सरकारी स्वामित्वको तत्कालीन शाही औषधी लिमिटेडसहित अरु ४ कम्पनीसँग प्रतिस्पर्धा गर्नु थियो । राजनीतिक रुपमा पञ्चायती व्यवस्था थियो, आर्थिक रुपमा भारतले पारवहन सन्धी नविकरण नगरेर विशेष एम्बार्गो लगाएको थियो । एक प्रकारको संकटग्रस्त अवस्थामा शर्माले श्रम भन्दा प्रविधि ड्रिभेन उद्योगमा हात हाले । औषधि बजारमा ल्याउँदा नेपालमा प्रजातन्त्र पुनस्र्थापना भएको थियो । वातावरण केही सहज भएपछि उद्योगलाई कसरी अगाडि बढाउने भन्नेतिर उनको सोच अगाडि बढ्यो । र, ०४७ सालमा २२ जना कामदार लिएर ९ वटा औषधि उत्पादनबाट यात्रा सुरू भयो हरिभक्त शर्माको ।
लगानीकर्ता अधिकांश सदस्यसँग औषधिसम्बन्धी केही न केही अनुभव थियो । शर्मालाई विश्वास गरेर सबै पार्टनरहरू सुरूदेखि नै व्यवस्थापकीय जिम्मेवारी दिए । विषयगत ज्ञान, राष्ट्रिय सोच, प्राविधिक चेतनाजस्ता गुणमा अब्बल शर्माले अहोरात्र उद्योगलाई स्थापित गर्न लागि परे । उद्योगको कमाई घर लैजानुभन्दा उद्योगकै विकासमा लगाए । भौतिक पक्ष भवन मात्रै होइन, प्रविधि र जनशक्तिको क्षमता सुधार्न उनले कुनै कसर बाँकी राखेनन् । ‘देउराली जनता प्रविधिमा मात्रै चलेन, यसले धेरै प्रणालीगत सुधार पनि ग¥यो ।’ शर्माले भने, ‘संस्था राम्रो बन्न उद्योगलाई विधिमा चलाउनु पर्छ र विधिमा चल्न धेरै अनुसन्धान पनि चाहिन्छ ।’ उनले यी कुराहरूलाई कुनै पनि दिन कम हुन दिएनन् । प्रत्येक बिहानदेखि बेलुकासम्म कम्पनीकै लागि अनवरत प्रयत्न मात्रै गरिरहे । शर्माकै शब्दमा भन्ने हो भने, कुनै संस्था सफल हुनका लागि आवश्यक पर्ने प्रणालीकोे विकासमा सबैभन्दा बढी उनको जोड रह्यो । उनले निरन्तर मेहनत गरे, प्रणालीलाई पनि अनुसरण गरे र कर्मचारीको विश्वास मात्रै जितेनन् हरेक सफलताका पाइलामा साथ पनि पाए ।
…………
यसबीचमा उद्योगको विकासका लागि उनले धेरै परीक्षण पनि गरे । अरू उद्योग जसरी नेपालमा चलेका छन् त्यही पारामा यो संस्था सफल हुँदैन् भन्ने उनको निष्कर्ष थियो । कम्पनीले नेपालमै नवीनतम् मानिएका प्रविधि भित्र्याउने पहिलो खुड्किलो चड्यो । २०५२ सालतिर फाइजरको सव्सीडियरीको रुपमा स्थापित रेनाटा कम्पनीसँग प्रविधि आयातको संम्झौता भयो । नेपाली उद्योगले अवलम्बनै नगरेका नवीन प्रविधि देउराली जनताले नेपाल भित्र्यायो । प्रविधिलाई अपरेट गर्नका लागि देउराली जनताले आफ्नै खर्चमा दक्ष जनशक्ति तयार पार्न स्वदेश एवं विदेशमा ट्रेनिङ्गमा समेत पठायो । प्रविधि त आयो तर त्यो सँगै कम्पनी समेत संकटमा पुग्यो । प्रविधि आयातपछि खर्च बढ्यो, नेपालमा उपकरणलाई ठिक रुपमा चलाउने जनशक्तिको अभाव खड्कियो । सेन्ट्रल एयर कन्डिसन, सेन्ट्रल एचएचयू जस्ता कुशल निर्माण प्रकृया मापदण्ड पुरा गर्ने प्रविधि चलाउँदा ३०–४० हजारले पुग्ने विद्युत महसुलमात्रै ३–४ लाखको हाराहारीमा पुग्यो । यसले गर्दा उत्पादन लागत बढ्नगै थप लगानीको जरूरी पर्ने अवस्था आयो ।
तत्कालीन समयमा बैकिंक क्षेत्रको विकास पनि भएको थिएन । बजारमा पुँजीको पनि कमी नै थियो । संकटबाट पार पाउने बाटो खोज्न देउराली जनताका लगानीकर्ताहरू छलफलमा जुटे । अब थप लगानी गर्नुपर्ने अवस्थामा केही साथीहरूले हामी सक्दैनांै तपाई कम्पनी चलाउनुहोस् भने । शर्माले म जोखिम मोलेरै अगाडि बढ्न तयार छु भने । त्यतिबेला एक जना साथी बाहिरिए । शर्मालाई अहिले पनि त्यो कुराले निकै दुखित बनाउँछ ।
………..
अहिले सफलताको यो चुचुरोबाट ती दिनको समीक्षा गर्दा शर्मालाई नेपालमा सीप भएर पनि इन्टरप्राइजेजमा काम गर्न निकै गाह्रो थियो भन्ने महसुस हुन्छ । उनले संस्थालाई स्थापित गर्न सबैभन्दा बढी अनुशासनमा रहे र अनवरत प्रयत्न गरेर आफूले विधिलाई लागु गरे । प्रतिकूल अवस्थामा पनि नेपालमा इन्टरप्राइजेजको विकास संभव रहेछ भन्ने प्रमाणित गरेर देखाए । उनले नेपाली कम्पनीलाई पनि ब्रन्डिङ्ग गरेर देखाउन सक्ने आशा लाग्दो ठाउँ सृजना गरे । अहिले सरकारी अधिकारीदेखि ठूला बैंकले राम्रा र सफल कम्पनीको उदाहरण देखाउनु पर्दा देउराली जनतासम्म धाउँछन् । एउटा उद्योग सफल हुनका लागि के/के कुरा चाहिन्छ तर, सफल र अनुभवी उद्योगी शर्माले देउराली जनताको सफलतासँग जोडिएको आफ्नो कार्यशैलीका आधारमा आत्मविश्वास, व्यवसायीक ज्ञान, विधिसम्मत काम गर्ने गुण, टिम वर्क जस्ता कुरा आवश्यक पर्ने बताए ।
दुई दशकको अवधिमा आफूसँग भएको क्षमताको ५५ प्रतिशत मात्रै प्रयोग गर्दा पनि देउराली जनताले १ सय ५० भन्दा धेरै प्रकारका औषधी उत्पादन गर्न सफल छ । कम्पनीले देउराली जनताले २०६० सालमा नेपालमा पहिलो पटक आईएसओ १४००१ र आईएसओ ९००१ को प्रमाण पत्र पाउन सफल भएको थियो । लगानी र बिक्रिका आधारमा थोरै उत्कृष्ट औषधि उद्योगको नाम लिँदा यो उद्योगको नाम आउँछ । व्यापारिक भन्दा पनि सामाजिक जिम्मेवारी सहितको उद्योगको रुपमा देउराली जनता संचालित भइरहेको शर्माको भनाइ छ । बिक्रीका हिसाबले ठूलो बजार नभएपनि विशेष रोगका उच्चगुणस्तरीय औषधि उत्पादन गर्ने कार्यले यसलाई प्रमाणित गर्छ । उनका सहचारीहरू उनमा रहेको इनोभेसेन एबिलिटी, लिडरसीप क्वालिटीले नै यो सफलता हात लागेको टिप्पणी गर्छन् । शर्मालाई नेपालमा इन्टरपेनरसीपको अभाव, इनोभेटिभ एप्रोचको अभाव खड्किरहेको महसुस छ ।
…………….
पहाडी जिल्ला पर्वतको कार्कीनेटा गाउँको एउटा संयूक्त परिवारमा २०१९ सालमा शर्माको जन्म भएको हो । प्राथमिक शिक्षा गाउँमै भयो । गाउँको स्कूलमा पढ्दादेखि नै हरिभक्त शर्मा निकै तेज विद्यार्थीमा गनिन्थे । कार्कीनेटा बजारका नामी कपडा व्यापारीका ११ छोराछोरी मध्येका साइलो सन्तान थिए उनी । समाजमा ठूलो परिवारलाई व्यवस्थापन गर्ने चुनौती हुन्छ भनेर अहिले सानो परिवारमा जोड दिने चलन छ । तर, शर्मा ठूलो परिवारलाई एउटा प्रतिस्पर्धाका लागि सबैभन्दा उपयूक्त अवसर ठान्छन् । पारिवारिक रूपमा पनि राम्रो गर्न प्रतिस्पर्धा गरेकाले व्यवसायिक जीवन सफल भएको उनको अनुभव छ । सायद त्यही प्रतिस्पर्धाले उनलाई केही गर्ने जाँगर दियो ।
एसएलसी पास भएको भोलीपल्टै उनको आमाको मृत्यु भयो । अचानक जीवनमा परेको विपत्तीबाट बिचलित नभइकन उनले काठमाडौ छिरेर अध्ययन थाले । त्यो दुःखद घटनापछिको शोकलाई शक्तिमा बदलेर उनी अध्ययनमा जुटे । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा जनरल मेडिसिन विषय पढे । तर उनको चाहना व्यवस्थापन र आइटीको क्षेत्रमा थियो । यही बीचमा बंगलादेशमा एबिबिएस पढ्ने अवसर जु¥यो । तर उनी ठुलो अवसर छाडि, व्यवस्थापन पढेर आप्mनो सपना साकार पार्न लागि परे ।
………………..
व्यवस्थापन अध्ययनसँगै पोखरा क्याम्पसमा अध्यापनको जागिर समेत थाले । सानैदेखि अँग्रेजी भाषा राम्रो भएकाले भाषाकै माध्यमले पनि उनले अतिरिक्त काम पाए र आम्दानी बढाए । सोही पैसा उनलाई उद्योग खोल्ने समयमा आँट गर्ने आधार बन्यो । उनले त्यहीबाट स्नातकोत्तर सके । आफूले मन पराएकै क्षेत्रमा अन्तराष्ट्रिय अध्ययनका लागि प्रयासरत समेत थिए । केही समयपछि उनलाई अमेरिकास्थित स्ट्यान्डफर्ड विश्वविद्यालयमा व्यवस्थापनको अध्ययनको अवसर मिल्यो । पोखरा छँदा नै शर्माले भेटेका अमेरिकी नागरिक जर्ज फोस्टर पेशाले प्राध्यापक थिए । तीनै जर्जले उनलाई औषधि उद्योग खोल्न सुझाब दिए । अमेरिका बसाईले उनलाई एक्पोजरसँगै नयाँ किसिमको सोचको विकास गरायो । उनी जर्जको सल्लाह बोकेर नेपाल फर्किए ।
……………
व्यवसायीक रूपमा शर्मा जति दक्ष र सफल उद्योगी छन्, अध्ययन र अनुसन्धानका आधारमा सोच बनाउन पनि उत्तिकै पोख्त छन् । शर्मासँग एउटा उद्योगलाई मात्रै होइन, मुलुकलाई नै सफल बनाउन सक्ने दृष्टिकोण छ । उनी भन्छन् –‘संसारका विकसित राष्ट्र पनि कसैले बनाइदिएका हैनन् । हामी क्षमतावान नभएसम्म केहि हुदैन ।’ उनी यसका लागि अहोरात्र मेहनत गनुपर्नेमा जोड दिन्छन् । देउराली जनता जस्ता एक÷एक उद्योग देशका सबै गाविसमा पु¥याउँन सके नेपाल धेरै अगाडि बढ्ने उनको भनाई छ । त्यसका लागि सोचको अभाव उनी राजनीति गर्नेहरूमा देखिरहेका छन् । तर अहिलेकै अवस्थामा जता हे¥र्यो समस्या मात्रै देखिन्छ । दैनिक घण्टौंको लोडसेडिङ्ग, संवेदनशीलता नभएको कर्मचारीतन्त्र, उत्तरदायित्वको विकास नै नभएको प्रणालीले गर्दा देशमा केहीगर्न पनि राम्रो वातावरण छैन । यस्तो प्रतिकूलताको बिचमा दुई चार वटा पनि राम्रा उदाहरण भएनन् भने भोलीको पुस्ता देशमा बस्दैन् भन्ने ठानेरै उद्योगको विकासमा उनी अहोरात्र खटेका छन् । संसारमा निजी तवरबाट खुलेका विश्वविद्यालयहरू र सफल कम्पनीहरू पनि सयांै वर्षसम्म चलेका हुन्छन् । उनी देउराली जनतालाई एउटा लामो यात्रा तय गर्ने संस्थाको रुपमा विकास गर्न चाहन्छन् ।
- See more at: http://swasthyakhabar.com/2014/04/8278.html#sthash.p1KiHT9s.dpuf