हार्वड विश्वविद्यालयका प्राध्यापक पाउल एडवर्ड फारमर नोबेल प्राइज पाउन लायक एक अमेरिकी चिकित्सक, चिकित्सा मानवशास्त्री तथा जनस्वास्थ्यविद् थिए। उनलाई विश्व स्वास्थ्यका शिखर पुरुष, विश्व विख्यात मानवतावादी, जनस्वास्थ्यका वैश्विक नेता जस्ता विशेषणले सम्बोधन गर्ने गरिन्छ। उनी न्याय र समताका पक्षपाती थिए। आधुनिक चिकित्सामा पहुँच नभएका गरिब र कमजोर वर्गका लागि साँचो अधिवक्ता थिए। रुवाण्डामा कार्यरत रहेको बेला, सुतिरहेकै अवस्थामा २१ फ्रेबुअरी २०२२ मा हृदयघातका कारण उनको मृत्यु भएको थियो। त्यतीबेला उनी ६२ वर्षका मात्र थिए। उनको असामयिक निधनले विश्व स्वास्थ्यमा अपुरणीय क्षती भएको छ।
केही पहिले मार्टिन चौतारी र पिपल्स हेल्थ मुभमेन्टको सह–आयोजनामा डा पाउल फारमरको सम्झनामा एउटा कार्यक्रम भएको थियो। उक्त कार्यक्रममा बोल्दै प्राध्यापक मधुसुदन सुवेदीले भन्नु भयो, ‘मान्छेहरु ठूला ठूला कुरा गर्छन्, समाज परिवर्तनको कुरा गर्छन्, यसको बारेमा किताव लेख्छन्, प्रकाशन गर्छन्। तर अधिंकांश मान्छेहरु व्यवहारमा त्यति धेरै नजिक रहंदैनन्। कहिलेकाहीं त ठिक उल्टो गर्छन्। तर पाउल फारमर भनेको त्यस्तो व्यक्ति हुन जसको ६२ वर्षको छोटो इतिहास हे¥यो भने समाज परिवर्तनको कुरा, सामाजिक न्यायको कुरा, स्वास्थ्य क्षेत्रमा सुधार गर्न सकिने कुराहरु लेख्ने, बोल्ने, तालिम दिने र सुसूचित गराउने कुरामा पाउल फारमरले जे लेखे, जे बोले, त्यही गरे। त्यस कारणले उनी अरुभन्दा अलि पृथक भएर बाँचे। उनलाई पछाडि पारिएको बर्ग, क्षेत्र, समुदायसंग मिलेर समग्र मानव कल्याणको लागि जनस्वास्थ्यको क्षेत्रमा परिवर्तन गर्न सकिन्छ भन्ने विश्वास राख्ने, भविष्यप्रति आशावादी भएको एउटा व्यक्तिको रुपमा संझन सकिन्छ।’
उक्त कार्यक्रममा बोल्दै प्राध्यापक डा शरद वन्तले पाउलको दुइवटा पाटोमा जोड दिंदैे भन्नु भएको थियो, ‘हामी एक्टिभिष्टहरु परिवर्तनको चाहना राख्छौं, परिवर्तनको कामना गर्दछौं। परिवर्तनप्रति हाम्रो कमिट्मेन्ट पनि हुन्छ, हाम्रो डेडिकेशन पनि हुन्छ तर हामीले सोंचेको जस्तो परिवर्तन भइरहेको हुदैन। र मलाई लाग्छ, परिवर्तन केवल चाहना, त्यसप्रतिको लगाव, त्यसप्रतिको खटाइले मात्र आउँदैन। परिवर्तनको एउटा रुल हुन्छ, परिवर्तनका सिद्धान्तहरु हुन्छन्, थ्योरीहरु हुन्छन्। जसलाई चाहीं हामी एकेडेमी भन्छौं। परिवर्तनको सैद्धान्तिक धरातल एकेडेमियाले दिने हो। एकातिर हामी एक्टिभिष्टहरु एकेडेमियाको पाटोलाई अलिकति नेग्लेक्ट गरिरहेका हुन्छौं। हामी इमोशनल र सेन्टिमेन्टल भएर परिवर्तन खोजिरहेका हुन्छौं भने अर्कोतिर एकेडेमियाहरु चाहीं थ्योरी, हाइपोथेसिमा रमाएका हुन्छन्। तर थ्योरीहरुको जिवनसंग के सरोकार हुन्छ भन्ने बारेमा एकेडेमियामा कमै चासोराख्ने गरेको देखिन्छ। पाउल फारमरको कुरागर्दा उनका क्रियाकलापहरुबाट एकेडेमिया र एक्टिभिजमको इन्टिग्रेशन स्पष्ट देख्न सकिन्छ। पाउल फारमर एउटा विश्वविद्यालयको प्रोफेशर मात्र होइनन्, उनले खाली पढाउने काम मात्र गरेनन्, लेख्ने काम मात्र गरेनन्, अनुसन्धान गर्ने काम मात्र गरेनन्, उनी जिवनसंग प्रत्यक्ष सरोकार राखेर एक्टिभिजममा पनि त्यत्तिकै खटिरहेको देखिन्छ। यो एकेडेमिया र एक्टीभिजमको जुन समिश्रणको हो त्यो पाउल फारमरबाट हामी सिक्न सक्छौं। हामीहरु पनि कसरी एकेडेमिया र एक्टीभिजमलाई एकठाउँमा राखेर अगाडि बढ्न सक्छौं भन्ने बारेमा सोंच राख्न, विश्लेषण गर्न, अभ्यास गर्न बहुतै जरुरी छ। दोश्रो पाटो चाहीं सन् १९६० को दशक पछि स्वास्थ्यलाई एउटा बायोमेडिकल डोमेनबाट लिबरेट गरेर सोसल डोमेनमा ल्याउनु पर्ने जुन चुनौति थिया।े जसकोलागि त्यतिबेलाका जनस्वास्थ्य अभियन्ताहरुले एउटा अभ्यास गरिरहेका थिए। यसमा पाउलको असाध्यै ठूलो योगदान छ। कसरी स्वास्थ्यलाई बायोमेडिकल प्याराडाइमबाट मुक्त गरेर सोसल प्याराडाइममा, लाइफ प्याराडाइममा सिफ्ट गर्नु पर्छ भन्ने कुरामा उनको अभ्यास असाध्यै महत्वपूर्ण छ।’
पाउल फारमरले डुक युनिभरसिटीबाट मानवशास्त्रमा स्नातक गरेलगत्तै सन् १९८३ देखि हाइटीमा स्वास्थयोपचार सेवाको क्षेत्रमा काम गर्न थालका थिए। पछि आफ्ना साथीहरुसँग मिलेर पार्टनर्स इन् हेल्थ भन्ने संस्था स्थापना गरे र त्यसमै काम गर्न थाले। सन् १९८७ मा हाइटीको कान्ज भन्ने ठाउँमा स्थापना भएको यो संस्थामा रहेर उनले गरिबीमा बाँचीरहेका बिरामीहरुलाई गुणस्तरीय स्वास्थ्योपचार सेवा उपलब्ध गराउने, अध्ययन अनुसन्धान गर्ने तथा स्वास्थ्य, मानव अधिकार र सामाजिक न्यायको पक्षमा वकालत गर्ने काम गरे। यो संस्थाले गुणस्तरीय स्वास्थ्य सेवालाई मानव अधिकार मान्छ। यसको आदर्श वाक्य हो, ‘इन्जस्टिस् ह्याज अ क्योर’ अर्थात् ‘अन्यायको उपचार छ’। जसलाई सवैभन्दा धेरै आवश्यक छ उनीहरुलाई नै स्वास्थ्य सेवा दिएर संसारभरी अन्यायको विरुद्ध लड्ने प्रण गरेको यो संस्था आज एक दर्जनभन्दा बढी देशमा फैलिएको छ, अनि ७० भन्दा बढि अस्पत्ताल तथा स्वास्थ्य संस्थाबाट र करिव २० हजार कर्मचारीद्वारा गरिबीमा बाँचीरहेका विरामीहरुलाई सेवा प्रदान गर्दै आएको छ। उनीहरुको तर्फबाट सामाजिक न्याय र समताको पक्षमा वकालत गर्दै आएको छ। गरिबकालागि उच्च गुणस्तरको स्वास्थ्य सेवा पु¥याउन कटिबद्ध यो संस्था संसारमै उदाहरणीय भएको छ। नेपालमा पनि यसकै मोडेलमा न्याय हेल्थले अछाम र दोलखामा काम गर्दै आएको छ।
संस्था स्थापनाकालका पाउलका साथीहरु जिम योङ किम, ओफेलिया डाहल, थमस जे ह्वाइट र टड मकोरम्याक उनका दीर्घकालिन साथी भए। जिम योङ किम हावर्डमै पढेका चिकित्सा मानवशास्त्री तथा चिकित्सक हुन्। पार्टनर्स इन् हेल्थमा कार्यकारी निदेशककोरुपमा काम गरेका किमले पछि विश्व स्वास्थ्य संगठनको एचआइभी÷एड्स विभागको निर्देशक, हावर्डको ग्लोबल हेल्थ एण्ड सोसल मेडिसिन विभागको प्रमुख तथा विश्व वैकको अध्यक्षकोरुपमा पनि काम गरका थिए। थमस वे ह्वाइट एक परोपकारी व्यापारी थिए। उनले पार्टनर्स इन् हेल्थलाई ठुलो आर्थिक सहयोग गरेका थिए। ओफेलिया डाहल पाउलले हाइटीमा स्वयंसेवा गर्ने बेला देखिकै साथी हुन्। यीनले पनि पार्टनर्स इन हेल्थमा कार्यकारी निर्देशककोरुपमा लामो समय काम गरिन् र हाल निर्देशक वोर्डको अध्यक्षकोरुपमा कार्यरत छिन्। अनि टड मकोरम्याक चाहीं फारमरसंग डुक युनिभरसिटीमा पढ्दा देखिकै साथी थिए। यसले के देखाउँछ भने संगसंगैका साथीहरुको राम्रो टिमका कारण उनको र पार्टनर्स इन् हेल्थको सफलता सम्भव भयो।
यहाँ स्मरणीय के छ भने हाइटी र हावर्डमा ओहोर दोहोर गर्दागर्दै फारमरले हावर्ड मेडिकल स्कूलबाट चिकित्साशास्त्रमा एम्.डि. र चिकित्सा मानवशास्त्रमा पीएचडी गरेका थिए। अनि वैश्विक स्वास्थ्यमा दुरगामी प्रभावपार्ने किसिमका किताव तथा अनुसन्धानमुलक लेखहरु लेखेका थिए। पछि उनले हावर्ड मेडिकल स्क्ूलको डिपार्टमेण्ट अफ ग्लोबल हेल्थ एण्ड सोसल मेडिसिनको प्रमुख भएर पनि काम गरेका थिए। सन् २००३ मा प्रकाशित ‘माउन्टेन्स वियोण्ड माउन्टेन्स ः द क्वेस्ट अफ डा. पाउल फारमर, अ म्यान हु वुड क्योर द वल्र्ड’ नामको कितावले उनको कामलाई चिनाउँछ। ट्रासी किडरले यो किताव त्यतिबेला लेखे जतिबेला फारमर ४० वर्षको हाराहारीका मात्र थिए। यसैबाट थाहा हुन्छ उनले युवा अवस्थामै आफ्नो छाप छोड्ने काम गरिसकेका थिए भन्ने। यो किताव सजिव छ, गतिशिल छ र बडो मिठोसंग बग्छ। यसले हाइटीको सन्दर्भ, फारमरको समर्पण र सपनाको सजिव चित्रण गरेको छ। उनको कामलाई बुझ्न मदत गर्ने ‘बेण्डिङ दि आर्क’ भन्ने एउटा डकुमेन्ट्री फिल्म पनि बनेको छ। उनका बारेमा तथा उनीसंग सम्बन्धित थुप्रे युटुव भिडियोहरु देख्न सकिन्छ। फारमरको फोटो, भिडियो तथा डकुमेन्ट्री हेर्दा प्रायः उनी बिरामीको नजिक बसेको, बिरामीहरुलाई उनको लामालामा पातला औंला भएको हातले छोएको तथा मुसारेको देखिन्छ। फारमरको साथी जेनीले पनि फारमर एक स्पर्शकर्ता थिए भनेकी छन्। उनले घनिष्ठ साथीहरुको हात समात्ने गर्दथे रे। यो स्पर्श गर्ने कुरा सह्ृदयता व्यक्त गर्ने, नजिकिने तथा आफ्निने उनको आफ्नो तरिका होला। अनि एउटा गजबको संयोग के पनि देखिन्छ भने पार्टनर्स इन् हेल्थको लोगो पनि चारदिशाबाट एकैतिर फर्केका चार हातहरुले बनेको छ। बिरामीहरुसंग देखिंदा उनको दयालुपन र सेवाभाव झल्किएको, र साँचो मनले सेवा गरेको देखिन्छ। उनी स्वास्थ्यमा न्याय र समता स्थापित गर्न सकिन्छ भन्ने दह्रो विश्वासका साथ गरिब बिरामीहरुको उपचारमा सर्मपित चिकित्सककोरुपमा देखिन्छन्।
मानवशास्त्रको विद्यार्थी भएको र चिकित्सा मानवशास्त्रको आलोचनात्मक धारप्रति अभिरुची भएकोले मेरो नजरिया उनीप्रति अलिक फरक थियो। फारमर उपचारमा अलि बढि नै सर्मपण भएको देखेपछि मलाई उनी डाक्टर बढि चिकित्सा मानवशास्त्री कम हुन् कि भन्ने लाग्थ्यो। धेरै जसो फोटो तथा भिडियोहरुमा उपचारमा खटिएको देखे पछि अनि कार्यक्रमहरुमा पनि उनलाई डाक्टर भनेर सम्बोधन गरेको सुन्दा यस्तो लाग्नु स्वभाविकै हो। हामी प्रायः के सोंच्छौं भने उपचारमा लाग्नेहरु विरामी पर्नुको मूल कारणमा त्यती ध्यान दिन सक्दैनन्। उनीहरु विरामीको हेरचाहमै व्यस्त रहन्छन्। उनीहरु कसरी विरामीलाई औषधिमुलो गरेर ठिक पार्ने भन्ने पिरलोमा रहेका हुन्छन्। यसबारेमा चिकित्सा मानवशास्त्र सम्बन्धी एउटा जोक उल्लेखनीय छ।
भएछ के भने एकजना डाक्टर र तीनजना चिकित्सा मानवशास्त्रीहरुः हान्स बाएर, काइकल टाउसिग र आर्थर क्लेनम्यान नदिको किनारामा उभिइ रहेका हुन्छन्। यहाँ के बुझ्नु आवश्यक छ भने हान्स बाएरले चिकित्सा मानवशास्त्रको आलोचनात्मक धारको प्रतिनिधित्व गर्दछन्। क्रिटिकल मेडिकल एन्थ्रोपलोजी भनेर बुझिने आलोचनात्मक धारले स्वास्थ्यको अर्थराजनीति र स्वास्थ्यमा सामाजिक असमानताको प्रभावलाई हेर्न आलोचनात्मक सिद्धान्त र भुईंतहको इथ्नोग्राफिक दृष्टिकोणहरुलाई सम्मिश्रण गर्छ। यसले स्वास्थ्यमा बाह्य शक्तिहरुको भूमिका र प्रभावलाई महत्व दिन्छ। अर्थराजनीतिले मान्छेको स्वास्थ्य र स्वास्थ्य प्रणालीकै स्वरुप तय गर्ने हुनाले शक्तिलाई पहिलो ठान्छ, चिकित्सालाई दोस्रो।
माइकल टाउसिग स्वास्थ्यको बस्तुकरण अर्थात् कमोडिटी फेटिसिजम्को अवधारणासंग चिनिन्छन्। यो अबधारणले उत्पादन र विनिमयको सम्बन्धलाई मान्छेको सम्बन्धकोरुपमा होइन कि पैसा र व्यापारिक बस्तुबीचको सम्बन्धको रुपमा व्याख्या गर्छ। टाउसिगले आदीवासी समुदायमा जादु तथा टुनामुनामाथिको विश्वासको विश्लेषण गर्ने क्रममा शोषित वर्गको दृष्टिकोणमा पूँजीवादको कार्यप्रणालीकोे व्याख्या भेट्याएका थिए। पूँंजीवादी अर्थतन्त्रको परिधिमाबस्ने आदिवासीहरुको उखानटुक्काहरु तथा सांस्कृतिक भनाईहरुमा पूँंजीवादको आलोचनाको गुप्त सन्देश पाइने हुनाले उनीहरुलाई नै महत्वपूर्ण विचारककोरुपमा मानेर उनीहरुको संस्कृतिक दृष्टिकोणबाट प्रभुत्वशाली पश्चिमा पूँंजीवादी संस्कृतिकोे विश्लेषण गर्नुपर्ने उनको मत छ।
अनि आर्थर क्लेनम्यान चाहीं इल्नेस न्यारेटिभ, एक्स्प्लानेटरी मोडल तथा डाक्टर पेशन्ट रिलेशनशीपकालागि चिनिन्छन्। इल्नेस न्यारेटिभ भनेको बिरामीको आफ्नै अनुभवको कथा हो। यो रोगका बारेमा बिरामीको आफ्नै अनुभव, बुझाई, विश्वास, धारणा तथा भाष्य हो। रोग सम्बन्धी हरेक मान्छेका आ–आफ्नै किसिमका अनुभव, ज्ञान, विश्वास र धारणा हुन्छन्। एक्स्प्लानेटरी मोडलले चाहीं कुनै खास रोगको बारेमा बिरामीको मात्र नभएर परिवार तथा चिकित्सकहरुको अनुभव, ज्ञान, विश्वास र धारणालाई समेत समेट्छ। क्लेनम्यानको बिचारमा बिरामी र चिकित्सकको एक्स्प्लानेटरी मोडलबीचको अन्र्तक्रिया नै स्वास्थ्योपचारको महत्वपूर्ण पक्ष हो। एकअर्कालाई बुझ्न र पारस्परिक विश्वासको सम्बन्ध बनाउन मदत गर्ने हुनाले डक्टर–पेशन्ट रिलेशनशीपकालागि इल्नेस न्यारेटिभ एवं एक्सप्लानेटरी मोडेल महत्वपूर्ण मानिन्छ। आज चिकित्सक र बिरामीबीचको सम्बन्ध यान्त्रिक बन्दै गएको र स्वास्थ्योपचार सेवामा मानवीय पक्ष कमजोर भएको सन्दर्भमा यी अवधारणाहरुको महत्व देखिन्छ।
अब जोकको कुरालाई जोडौं। एकजना डाक्टर सहित उपरोक्त तीन जना चिकित्सा मानवशास्त्रीहरु नदीको किनारामा उभिरहेका बेला अचानक कुनै मान्छे नदीमा चिच्याएको सुन्छन्। डाक्टर नदीमा हाम फाल्छन् र नदीको बेगसंग लडिबुडी गर्र्दै मर्न लागेको मान्छेलाई किनारामा ल्याउँछन् अनि कृत्रिम स्वासप्रस्वास दिएर बँचाउने प्रयास गर्छन्। केही बेरमा अर्को मान्छे पनि बचाउ बचाउ भन्दै बग्दै आउँछ। फेरी त्यसैगरी बचाउने प्रयास गर्छन। नदीमा मान्छे बगेर आउने क्रम रोकिंदैन। झन पछि झन धेरै मान्छे बग्दै आउँछन्। डाक्टरले बगेर आउनेहरुलाई सकेसम्म र सम्भव भएसम्म औषधि उपचार गरेर ठिक पार्ने प्रयास गरि रहन्छन्।
यो क्रम देखे पछि हान्स बायर चाहीं यस्तो किन भै रहेको छ भनेर खोजी गर्न नदीको मुहानतिर लाग्छन्। प्रस्ट भन्ने हो भने, यो मास फ्याटालिटिजको कारक अर्थात् पुँजिबादी उत्पादन पद्धतिमा भएका अन्र्तविरोधहरुको खोजी गर्नकालागि मुहानतिर लाग्छन्। यसैबीच उनीसँग चाहीं आफ्नै पाराले, आफ्नै सुरमा झडितिर लाग्छन्, बोत्तलमा रहेको गुप्त सन्देशको खोजिमा किनभने कम्तिमा मर्नेमध्ये कसै न कसैले त गोप्य सन्देश छाड्ेको हुनसक्छ भनेर। आर्थर क्लेनम्यान चाहीं नदी किनारामै बस्छन, डाक्टर प्यासेन्ट रिलेशनमा सहजिकरण गर्न।
यो जोकलाई अलिक परिमार्जन गरेर प्रस्तुत गर्ने चलन पनि छ। यसमा डाक्टर उपचारमै केन्द्रित रहन्छन्। ब्यवहारवादीहरु अर्थात् साइकोसोसल मोडलवालाले व्यवहार परिवर्तनको कुरा गर्छन्, बिरामीको व्यवहारमा जोड दिन्छन्, स्वास्थ्य शिक्षाको कुरा गर्छन्, जीवनशैली परिवर्तन गर्नु प¥यो भन्छन्, ब्यक्तिको भूमिकालाई जिम्मेवार ठान्छन्। इलनेस न्यारेटिभ वा एक्सप्लानेटरी मोडलवालाले बिरामीको व्यक्तिगत बुझाई, विश्वास र धारणालाई पनि ध्यान दिनु प¥यो, विरामीकोे कुरा सुन्नु प¥यो भन्छन् अनि डाक्टर–पेशन्टको सम्बन्धमा सुधार तथा परिबर्तनलाई जोड दिन्छन्, अनि क्रिटिकल मेडिकल एन्थ्रपोलोजि वालाले चाहीं रुट कज हेर्नु प¥यो, व्यक्तिगत व्यवहारलाई वाह्य शक्ति संरचनाले निर्धारण गर्ने भएकोले शक्ति सम्बन्ध हेर्नु प¥यो भन्छन अनि प्रणालीकै अथवा संरचनागत परिवर्तनलाई जोड दिन्छन्।
यहाँ फारमर कहाँ परे त ? झट्ट हेर्दा उनी विरामीको उपचारमा सर्मपित डाक्टर हुन् जस्तो लाग्छ। उनी बिरामीसँग राम्रो सम्बन्ध राख्ने डाक्टर पनि हुन्। उनी आफुले उपचार गरेको बिरामीलाई उसको चाहना बमोजिम बियरका क्यान उपहार पठाउने डाक्टर पनि हुन्। उनमा बिरामीको कुरो सुन्ने रुची देख्दा डक्टर–पेशन्ट रिलेशनको मर्म बुझेको डाक्टरकोरुपमा देखा पर्छन्। अनि स्वास्थ्यलाई अधिकारको रुपमा लिएको देख्दा तथा लागत, प्रविधि र दिगोपनाको समस्या देखाएर गरिबलाई स्वास्थ्योपचार सेवाबाट बंचित राख्ने कुराको विरोध गरेको देख्दा, हाइटी जस्ता देशमा महामारी फैलनुमा गरिबीको भूमिकाको बारेमा बोलेको सुन्दा, स्वास्थ्यमा विभेद र असमानताको सवाललाई उठाएको देख्दा उनी आलोचनात्मक धारको नजिक देखिन्छन्। उनका एड्स एण्ड अक्युजेशन, इनफेक्शन्स् एण्ड इन्इक्वालिटिज, प्याथोलोजिज अफ पावर जस्ता रचनाहरुलाई क्रिटिकली इंगेज्ड वर्क भनेर चिनिन्छन् अनि उनले विश्वस्वास्थ्यमा अन्र्तराष्ट्रिय विकास ठेकेदारहरुको जुन किसिमको रवैया छ, त्यसको आलोचना गरेका छन्। विश्व स्वास्थ्यका ठेकेदारहरुले के पनि भन्ने गर्दथे भने (र आज पनि के भन्दै आएका छन् भने) क्षयरोग, एड्स जस्ता प्राणघातक रोगहरुबाट पीडित गरिब मानिसहरुको उपचार गर्न सम्भव छैन। युएनएड्सले पनि लागत र दिगोपनाको कारण देखाएर एआटीको कार्यक्रम अस्वीकार गरेको इतिहास छ। यो विश्वमा गरिवको जीवनलाई कम महत्वपूर्ण ठान्ने सोंच लाई फारमरले समस्याको जड ठान्छन्।
फारमरको एउटा महत्वपूर्ण पक्ष के हो भने उनले भुईमान्छेसंगको अन्र्तक्रियामा बढि समय बिताए। समुदायमा काम गर्नेहरुले र खासगरी मानवशास्त्रका विद्यार्थीहरुले सिक्नै पर्ने कुरा हो यो। फिल्डमा गएको बेला पनि आफ्नै साथीहरुको छलफलमा रम्ने तथा आफ्नै टिममा जम्ने कुराले जुन समुदायको अध्ययन गर्ने हो जसको बारेमा बुझ्नु पर्ने हो त्यो अवसर गुम्छ। त्यसैले समुदायकै व्यक्तिहरुसंग अन्र्तक्रिया गर्नु महत्वपूर्ण छ। फारमर फिल्डसंग बलियोसंग जोडिएर काम गरेका थिए।
खासगरी उनी हाइटीसंग असध्यै गहिरोसंग जोडिएका थिए। दिदी बर्ट्याण्डलाई विवाह गरे पछि हाइटी उनको ससुराली देश बन्न पुग्यो। हाइटीका धेरै कुराहरु नेपाली समाजसंग मेल खान्छन्। राजनीतिक अस्थिरता, महामारी, भुकम्प, प्राकृतिक प्रकोप, गरिवीको भोगाइमा मात्र होइन, हाइटी हाम्रो जस्तै भुतप्रेतमा विश्वास गर्ने समाज पनि हो। यहाँ रोचक के छ भने फारमरको एउटा अध्ययनले विश्वास जे भए पनि उपचारमा यसले फरक पार्दो रहेनछ भन्ने देखाएको छ।
फरमरले उक्त अध्ययनका लागि टिबीका विरामीहरुको दुई समूह छनोट गरे। दुवै समुहका हरेक व्यक्तिले निःशुल्क उपचार पाए। तर एउटा समुहले सामुदायिक स्वास्थ्यकर्मीबाट नियमित फलोअप सेवा, खाना, बच्चाको हेरचाह र यातायात खर्चका लागि मासिकरुपमा सानो प्रोत्शाहन रकम पनि पायो। उनी आफै पनि घरघरै गएर सेवा दिए। अरु प्रश्नका अलावा भुतप्रेतबाट टिबी भएको हो भन्ने कुरा विश्वास गर्नुहुन्छ कि गर्नुहुन्न भनेर सवैलाई सोधे। दुवै समुहमा केहीले बाहेक सवैजसोले आफुले विश्वास गर्ने बताए। जब अध्ययनको परिणाम आयो उक्त दुइवटा समुहमा उपचारको दर एकदमै फरक पाए। निः शुल्क औषधिमात्र पाएकाहरुको समुहबाट ४८ प्रतिशत निको भएका थिए भने थप मासिक भत्ता पाउनेहरुको समूहबाट सत्प्रतिशत निको भएका थिए। अनि टिबी चाहीं किटाणुले भएको हो वा भेतप्रेतले भएको हो भन्नेमा गरिने विश्वासले उपचारमा कुनै फरक पारेको देखिएन। यो अध्ययनले जादुटुना तथा भुतप्रेतमा विश्वास गर्ने मान्छेको उपचारमा सफलता हुदैन भन्ने कुरा गलत सावित गरिदियोे।
‘अ ग्लोबल हेल्थ कन्र्भसेसन वीथ डा. पाउल फारमर’ शिर्षकको युटुव भिडियोमा संचारकर्मी पाउल कोस्टेलोले डा पाउल फार्मरलाई तपाई कसरी सम्झिइन चाहनु हुन्छ भनेर सोध्छन्। फारमरले पहिला त चिहानको कल्पना गर्नु राम्रो हैन कि भनेर प्रतिप्रश्न गर्छन्। कोस्टोलेले नराम्रो नहुन पनि त सक्छ भने पछि उनले बडो सोंचपूर्ण जवाफ दिन्छन्। जवाफ दिने क्रममा उनले पार्टनर्स इन् हेल्थलाई सम्झन्छन्। अनि संस्था स्थापनाको शुरुवातमा साथीहरुको सानो समूहमा जुन किसिमको प्यासन थियो त्यो वास्तवमै उल्लेखनीय थियो भन्छन्। अनुकूल समयमा मात्र नभएर महामारी, भुकम्प, बाढि पहिरो गएको बेला, राजनैतिक उथलपुथल भएको, फण्डिङ नपाएको प्रतिकूल समयमा पनि निरन्तर लागिरहेको कुरा सम्झन्छन्। उनी अगाडि भन्छन, ‘म मान्छेहरुलाई फेरी पनि भन्न चाहन्छु, यदि तपाई संम्झिइन चाहनुहुन्छ भने दयाकोलागि सम्झिइनुहोस्, अरुकोलागि उपयोगी हुनकोलागि सम्झिइनुहोस्।’ उनले थप्छन्, ‘जो कोही महान बन्न सक्छ किनभने जो कोहीले पनि सेवा गर्न सक्छ। यो कुरा मैले मनै देखि भनेको छु। मलाई विश्वास छ कि कोही व्यक्ति नर्स वा डाक्टर भएर सेवा गर्न सक्छन् र कोही व्यक्ति शिक्षक वा संचारकर्मी भएर वा लेखक भएर सेवा गर्न सक्छन् तर हामीले हाम्रा विद्यार्थीहरुमा सेवा गर्नु पर्छ भन्ने भावनाको निरन्तर विकास गर्नु पर्छ।’ उपलब्धीको बारेमा सोध्दा उनले आफ्नो टिमलाई यसको श्रेय दिन्छन्। आफुले श्रेय लिंदैनन्। उपन्यासकार वा एकल भायोलिन वादकका विपरित चिकित्सा, जनस्वास्थ्य, सामाजिक न्यायमा काम गर्न टिमकोे महत्व रहेको बताउँछन्।
फारमर आज जीवित छैनन् तर उनी आफ्नो कामले अमर छन्। उनको विचार अमर छ। उनका अनुसन्धानमूलक लेखहरु, कितावहरु, उनीमाथि बनेका श्रव्यदृष्य सामाग्रीहरु र उनले साथीहरुसंग मिलेर स्थापना गरेको संस्थाले उनलाई मर्न दिने छैनन्। उनको भिजनमा आजको र भोलीको पुस्ता पनि गोलबन्द हुनेछ। मान्छेको मनमा दया, माया, सहयोगी र सेवाको भावना मर्न दिइने छैन। भविष्यप्रतिको आशा मर्न दिइने छैन किनभने आशाको ज्योतिले नै हामीलाई उज्यालोतर्फ डो¥याउँछ। न्याय मर्न दिइने छैन किनभने ‘अन्यायको उपचार छ’।
(त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातककोत्तर गरेका सुवेदी चिकित्सा मानवशास्त्री हुन्।)