विषय प्रवेश:
औषधि ऐन २०३५ अनुसार, औषधि भन्नाले मानिस, पशु वा पंक्षीलाई हुने रोगको निदान गर्न, उपचार गर्न वा रोकथाम गर्न, रोग निको पार्न वा साम्य गर्न वा मानिस, पशु वा पंक्षीलाई रोग ल्याउने कीराहरुको नाश गर्न वा मानिस, पशु वा पक्षीको शारीरिक बनावट वा प्रक्रियालाई असर पार्न प्रयोग गरिने पदार्थ वा त्यस्तो पदार्थमा लगाउने साधक पदार्थ समेतलाई सम्झनु पर्छ भनेर परिभाषित गरिएको छ। त्यस्तै उक्त ऐन कै दफा १८ मा औषधिको अनुचित प्रयोग वा दुरुपयोग गर्न नहुने भन्ने व्यवस्था छ जस मा कुनै व्यक्तिले औषधिको अनुचित प्रयोग वा दुरुपयोग गर्न हुँदैन। त्यस्तै उक्त ऐन कै उपदफा २ मा दफा १७ को उपदफा (२) र (३) को विपरीत कुनै औषधिको बिक्री–वितरण गरे गराएमा सो औषधिको अनुचित प्रयोग वा दुरुपयोग भएको मानिनेछ। त्यसैगरी दफा १९ मा औषधिको झुट्टा वा भ्रमात्मक प्रचार गर्न नहुने भन्ने व्यवस्था छ साथै उक्त दफा कै उपदफा १ मा कुनै व्यक्तिले औषधिको प्रयोग, उपयोगिता वा प्रभावकारिता सम्बन्धमा झुट्टा वा भ्रमात्मक प्रचार वा विज्ञापन गर्न हुँदैन। त्यसैगरी उपदफा (२) मा, कुनै औषधिको प्रचार वा विज्ञापन गर्न चाहने व्यक्तिले त्यसको लागि तोकिएको दस्तुर तिरी तोकिए बमोजिम विभागबाट अनुमतिपत्र लिनु पर्नेछ भन्ने कानूनी व्यवस्था छ।
औषधि बिक्रि प्रतिनिधि भन्नाले औषधि वा औषधिजन्य बस्तुहरुको ब्यबसायिक प्रबर्धन को लागि औषधि कम्पनीबाट आधिकारिक रुपमा नियुक्त गरिएका प्रतिनिधिलाई बुझिन्छ। औषधि बिक्रि प्रतिनिधिले आफ्नो कम्पनीको उत्पादन र उक्त उत्पादनको प्रभाबकारिता, गुणस्तरीयता, उपलब्धता लगायत अन्य बिषयमा तथ्यपरक ‘सूचना स्वास्थ्य कर्मी समक्ष पुर्याउने मुख्य दायित्व रहन्छ।
नेपालमा औषधिको बिक्री वितरणको लागि टेलिभिजन, पत्र पत्रिका तथा अनलाइन मीडिया साथै अन्य हिसाबले विज्ञापन गर्न नपाइने व्यवस्था भएबाट औषधिको प्रयोग, उपयोग वा प्रभावकारिताको लागि मौखिक विज्ञापन भइराखेको अवस्था विद्यमान छ। मौखिक बिज्ञापनको काम औषधि बिक्री प्रतिनिधिहरुले गर्दै आइराखेका छन। जसले गर्दा स्वास्थ्यकर्मी माझ उक्त कम्पनीका उत्पादनहरुको बारेमा तथ्यपरक सुचना सम्प्रेशण भई जनाताले गुणस्तरिय औषधि पाउने अवस्था बनेको छ। कुनै पनि डिजिटल मार्केटिङ गर्न नपाइने कानूनी व्यवस्था साथै औषधि जस्तो गम्भीर विषयमा डिजिटल मार्केटिङको सान्दर्भिकता पनि कम हुने, बढी खर्चिलो हुने हुँदा मौखिक विज्ञापनले आजको दिन सम्म महत्वपूर्ण भूमिका खेलेको छ साथै गुणस्तरीय उत्पादनहरु स्वास्थ्य कर्मी माझ पुर्याउनको लागि सघाउ पुगेको छ। डिजिटल मार्केटिङको लागत धेरै हुने, सीमित वर्गमा मात्र प्रतिफल जाने तथा सीमित रोजगारी मात्र सिर्जना गर्ने हुँदा पनि नेपालको परिवेशमा औषधि बजारीकरणमा अपनाइएको यस विधि वैज्ञानिक एबम् तथ्यपरक र आवश्यकतालाई बोध गर्न सक्ने छ भनेर अनुमान लगाउन सकिन्छ परन्तु विश्व मा औषधि प्रबर्धनको लागी मौखिक विज्ञापनलाई नै बढी प्रयोगमा ल्याइएको छ। तथापी अहिलेको बदलिँदो अवस्था अनुसार धेरै औषधि उद्योगहरु डिजिटल दुनियामा आफूलाई परिस्कृत्त गराइरहेका छन्।
काठमाडौमा सर्वप्रथम खुलेको काठमाडौ मेडिकल हल लगायत त्यसपछि खुलेका औषधि पसलहरुले विभिन्न बहुराष्ट्रिय कम्पनीहरुको नेपालमा औषधिको उपलब्धतालाई केही हदसम्म सघाउ पुर्याएको थियो। त्यसै अनुरूप विभिन्न बहुराष्ट्रिय कम्पनीहरुले नेपालमा आफ्नो व्यापारलाई अघि बढाउन सफल भएका थिए। औषधि बजारको विस्तार भएसँगै कम्पनीहरुको औषधिको प्रयोग सम्बन्धी तथ्यपरक सूचना प्रसारको लागि आधिकारिक रूपमा आफ्ना औषधि बिक्रि प्रतिनिधिहरु राख्ने कामको सुरुवात भएको थियो। नेपालको पहिलो औषधि उद्योग केमीड्रग इन्डष्ट्रिज प्रालिको सुरु भएदेखि नै नेपालमा औषधि प्रवर्द्धनको लागि औषधि कम्पनीहरुले औषधि बिक्रि प्रतिनिधिहरु राखेर आफ्नो व्यवसायिक विकास गरेको पाउन सकिन्छ। औषधि जस्तो गम्भीर विषयमा तथ्यपरक सूचना सम्प्रेषणको लागि कम्तीमा औषधि विज्ञानमा स्नातक वा विज्ञानमा स्नातक राख्नुपर्छ भन्ने मान्यताको सुरुवात त्यति नै बेला भएको पाउन सकिन्छ। परन्तु आज पनि त्यो अवस्था जारी नै छ। आज नेपाली र भारतीय लगायत बहुराष्ट्रिय कम्पनीहरुको नेपालमा भएको उपस्थितीले नेपालको औषधि उद्योगको विकासमा महत्त्वपूर्ण भूमिका मात्र खेलेको छैन विदेशी सीप, कौशल र भूमिका मा रहेका मानिसहरुलाई देश भित्र नै आफ्नो क्षमता प्रदर्शन गरेर रोजगारी सिर्जना गर्न उत्प्रेरित गरिराखेको छ। नेपाली औषधि उद्योग हरुको विकासको लागि दिन रात नभनि अगाडि बढ्न उच्च मनोबलको साथ सघाउ पुर्याएको छ। अझ यसको विकास र विस्तारको लागि राज्यले औषधि उद्योगलाई सुविधाहरु दिन आवश्यक छ। जसले जनतालाई गुणस्तरीय औषधि सर्वसुलभ मूल्यमा जनतालाई उपलब्ध गराउन सघाउ पुग्नेछ।
औषधि र स्वास्थ्य प्रविधि सामग्रीको राष्ट्रिय उत्पादन, नयाँ प्रविधिको हस्तान्तरण, उपेक्षित रोग उपचारका लागि औषधि अनुसन्धान र बिकासको अवस्थामा अझ धेरै सुधार गर्नु पर्दछ। आम नागरिकको स्वास्थ्यसँंग प्रत्यक्ष जोडिएको औषधि आफैमा संवेदनशिल र अनिवार्य विषय हो। आज विश्वभरका अधिकाँश मानिसहरुले स्वस्थ जीवनका लागि कुनै कुनै औषधि सेवन गरिराखेका छन्। गुणस्तरीय औषधिले मात्र मानव स्वास्थ्यलाई स्वस्थ बनाउँछ। गुणस्तरीय औषधि उत्पादन, त्यो उत्पादनको व्यवसायिक प्रवर्द्धन र प्रभावकारी वितरणबाट मात्रै नागरिकहरुलाई स्वस्थ राख्न सकिन्छ। औषधिको उत्पादन मूल्य र उपभोक्ता मूल्यमा बढी नै अन्तर भएकोले औषधि धेरै महँगो र जनताको पहुँच भन्दा बाहिर रहेको भन्ने विभिन्न जनगुनासोहरु आइरहेकै छन् त्यता तर्फ अब हाम्रो ध्यान केन्द्रित हुन आबस्यक छ।
साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड एन्भारोमेन्ट साउतीको तथ्याँकअनुसार नेपालमा वर्षेनी औषधि प्रयोगकर्ताको संख्या १५ प्रतिशतले वृद्धि भइरहेको छ। सो मागलाई पुरा हुने गरी स्वदेशमै औषधि उत्पादन हुन सकेको छैन। यद्दपी बजारको बृद्धि र स्वदेशी तथा विदेशी औषधि उद्योगहरुको महत्वकाक्षी ब्यापारिक योजनामा तालमेल मिल्न नसक्दा बजारमा बिक्रृति मौलाएको अवस्था छ। साउतीका अध्यक्ष एवंम अर्थशास्त्री डा पोषराज पाण्डेले ४५ अर्ब रुपैयाँको बजार हिस्सामा नेपाली औषधि उत्पादकहरुको ५० प्रतिशत योगदान रहेको उल्लेख गरेका छन्। यस्तै नेपालमा उत्पादन हुने औषधिका लागि ८० प्रतिशत कच्चा पदार्थ भारत र २० प्रतिशत चीन लगायत अन्य मुलुक बाटबाट आयात हुन्छ। औषधिको ब्यबसायिक प्रबर्धनको लागी नेपालमा रास्ट्रिय तथा अन्तरास्ट्रिय कम्पनीहरुमा करिब १० हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन। जसको कारण देशको अर्थतन्त्र र रोजगारीमा समेत सहयोग पुगेको छ।
अन्त्यमा,
देश विकाशको लागी राष्ट्रिय पुँजीको विकास अपरिहार्य रहन्छ। औषधि आफैमा संवेदनशिल क्षेत्र भएको हुँदा यो क्षेत्रमा अझ बढी लगानी आवश्यक छ। औषधि क्षेत्रमा लगानी गर्न सक्ने वातवरण बनाउनु, औषधि उद्योगमा अनुसन्धान र विकास कार्यलाई प्रोत्साहन गर्नु, प्राविधिक कारणले सम्भव भएका औषधि उत्पादनमा आत्मनिर्भर हुने अवस्थाको सृजना गर्नु, उच्चस्तरिय विकशित प्रविधिको प्रयोगमार्फत गुणस्तरीय औषधि उत्पादनलाई सर्बसुलब गराउदै, फार्मेसी शिक्षामा ब्यापक सुधार ल्याउनु आजको आबस्यकता हो। व्यवसायिक बजारीकरणले मात्र उद्योगको सफलता चुम्न सक्छ। व्यवसायिक बजारीकरणको लागि दक्ष, क्षमता वान,पेशागत निपुणता, पेशागत तथा व्यवसायिक विकास गर्न सक्ने, नयाँ नयाँ सम्बन्धलाई विस्तार र विकास गर्न सक्ने, आफ्नो भूमिकालाई अझ फराकिलो बनाउँदै औषधि बजारीकरणमा आफ्नो भविष्य निर्माण गर्न सक्ने औषधि प्रतिनिधिहरुको खाँचो छ, त्यस्ता औषधि प्रतिनिधि हरुलाई निरन्तर उच्च मनोबलका साथ काम गर्न सक्ने वातावरण कम्पनी व्यवस्थापनले निर्माण गरिदिनु पर्दछ। व्यापारको नाममा व्यवसायीकता निभाउन नसक्ने कम्पनी व्यवस्थापन र औषधि प्रतिनिधि साथीहरूको कारण पेशामा विभिन्न समस्या आइराखेको छन् भने हाम्रो अधिक नाफामुखी सोच, व्यवहार र शैलीको कारण औषधि जस्तो संवेदनशील विषयमा व्यापारीकरण बढ्दो छ। त्यसको लागि सबै जिम्मेवार सरोकारवालाहरुले एकपटक आफैले आफैलाई मूल्यांकन गरी त्यस्ता काम नगर्नु नगराउनु नै आजको औषधि बजारीकरणको व्यवसायिक सुधारको बिन्दु हुनसक्छ।
(लेखक नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघका सचिव हुन्।)