प्राडा चन्दा कार्की दसैंको टीका लगाउन तयार हुँदै थिइन्। टीकाको साइत पनि हुँदै थियो। त्यही बेला उनको फोनको घण्टी बज्यो।
‘डाक्टर साप, हजुर छिटो अस्पताल आउनुपर्यो। इमरजेन्सी केस आएको छ,’ फोनमा भनियो।
इमरजेन्सी केस आएको भनेपछि डा कार्कीले लगाउन लागेको टीका छाडेर अस्पताल गइन्। दसैंको साइतको टीका छाडेर दौडिनु उनको लागि रहर होइन, बाध्यता थियो।
उनी भन्छिन्, ‘दसैंकौ साइतको टीका लगाउन छाडेको र इमरजेन्सी केस आएर अस्पताल दौडिएको एउटा मात्र होइन, मसँग कयौँ अनुभव छन्। छुट्टीको बेला रुटिनका बिरामी अस्पताल आउँदैनन्। एकदमै गाह्रो भएर आउनेहरु मात्र हुन्छन्। त्यसैले अप्ठ्यारो पर्ने बित्तिकै दौडिनुपर्छ।’
डा कार्कीले काठमाडौं मेडिकल कलेजको प्रधानाध्यापकबाट हालै मात्र अवकाश प्राप्त गरेकी छिन्। हाल उनी कन्सल्टेण्ट प्रसूति एवं स्त्री रोग विशेषज्ञको रुपमा बिएण्डबी र भ्याली अस्पताल कार्यरत छिन्।
३७ वर्षको चिकित्सकीय पेसामा यो एउटा मात्र उनको अनुभव छैन। यस्ता कयौँ अनुभव छन्, जहाँ उनी टीकाको दिन पनि अस्पतालको ड्युटीमा खटिनु परेको थियो।
चाडपर्वको रौनक जति नै भए पनि बिरामीलाई आवश्यक पर्ने बित्तिकै अस्पताल जानुपर्ने उनले बताइन्। चिकित्सकले मेरो चाड छ म अस्पताल जाँदिन भन्न नमिल्ने उनी बताउँछिन्। जतिसुकै रमाइलो र चाडपर्वको रौनक भए पनि बिरामीको सेवा नै डा कार्कीको पहिलो प्राथमिकता हो।
ड्युटीकै कारणले सामाजिक र पारिवारिक जमघट र घुलमिलमा कमी हुने गरेको उनको अनुभव छ। कति परिवारले चिकित्सकको पेसाप्रतिको जिम्मेवारी बुझे पनि कति परिवारले भने बुझ्न नसकेको उनले बताइन्।
डाक्टरको ड्युटी कस्तो हुन्छ भनेर परिवारले बुझेर सपोर्ट गरिदियो भने सजिलो हुन्छ। उनी भन्छिन्, ‘मेरो परिवारमा सबैले बुझेका छन्। कुनै पनि बेला अस्पताल दौडिनु पर्छ भन्ने थाहा छ। त्यसैले बानी नै परिसक्यो।’
ड्युटी र बिरामीको सेवा नै चिकित्सकको पहिलो धर्म भएको उनी बताउँछिन्। व्यक्तिको जीवन र मृत्युसँग जोडिएको विषय भएकाले हरेक चिकित्सकले यसलाई मनन् गर्नुपर्ने बताउँदै उनले भनिन्, ‘एउटा मान्छे अस्पतालमा छट्पटाइरहेको छ भने म घरमा टीका लगाएर, रमाइलो गरेर बस्न मिल्दैन र सक्दिनँ पनि।’
दसैं सानो हुँदा मात्र रमाइलो
महोत्तरीमा जन्मिएकी डा कार्कीलाई सबैभन्दा मनपर्ने चाड भनेकै दसैं थियो। पिङ खेल्ने, चङ्गा उडाउने, टीका लगाएर दक्षिणा पाउने हुँदा उनलाई दसैं निकै प्यारो लाग्ने। ती दिनहरु सम्झिँदा पनि उनलाई निकै खुसी लाग्छ।
‘केटाकेटी हुँदा दसैं त एकदमै रमाइलो लाग्थ्यो। नयाँ लुगा लगाउने, खसी काट्ने। मासु पोल्ने, पकाउने, खाने। मन्दिर जाने। परिवार ठूलो भएकाले दसैं धेरै रमाइलो हुन्थ्यो,’ उनले भनिन्।
ठूलो हुँदै गएपछि दसैं–तिहार कुनै पनि चाडपर्वले नछुने उनको अनुभव छ। विवाह अघिसम्म जसरी उनलाई दसैंको रौनकले छुन्थ्यो। अहिले त्यो रौनकले उनलाई कमै मात्र छुन्छ।
त्यसमा पनि महिलामाथि कामसँगै परिवारको ठूलो जिम्मेवारी हुने भएकाले चाडपर्वको रमाइलोपन घट्दै गएको उनी बताउँछिन्। उनको शब्द सापटी लिएर भन्नु पर्दा अहिलेको दसैं आफ्नो लागि भन्दा पनि छोराछोरीको लागि हुने गर्छ।
‘आफ्नो दसैंभन्दा पनि छोराछोरी नाति–नातिनीलाई के चाहिन्छ ? कसरी रमाउन सक्छन् ? त्यो हिसाबले आफूलाई एड्जस्ट गर्नुपर्ने हुन्छ,’ उनले भनिन्।
यस वर्षको दसैं लण्डनमा मनाउने योजना छ। छोरी र अन्य परिवारका सदस्य बाहिर हुने भएकाले दसैं पनि लण्डनमै मनाउने उनले बताइन्।
दसैं मनाउने चलन नै परिवर्तन भइसक्यो
डा कार्की आधुनिकताको नाममा दसैंको आफ्नो मौलिकता हराउँदै गएको अनुभव गर्छिन्। सामाजिक मूल्य मान्यता नै कम हुँदै गएको उनले बताइन्।
पिङ खेल्ने, चङ्गा उडाउने दसैंको सबैभन्दा रमाइलो पक्ष हो। अहिले यही चलन नै हराउँदै गएको उनले बताइन्।
पिङ नखेलेको वर्षौ भइसकेको भन्दै उनले भनिन्, ‘पहिले सबै गाउँ जाने। परिवारका सबै सदस्यहरु जम्मा हुने, पिङ लगाउँथ्यौ र मच्चिएर खेल्थ्यौँ। अहिले त यी सबै हराउँदै गयो।’