'दाइजोको कारण विहे भाँडिएपछि युवतीद्वारा आत्महत्या', 'प्रेममा धोका पाएकी युवतीद्वारा आत्महत्या','ऋण तिर्न नसक्दा आत्महत्या'। पछिल्ला केही वर्षयता पत्रिकाहरुको हेडलाईन बनेर सतहमा आएका यी प्रतिनिधिमुलक घटना मात्रै हुन्। सतहमा देखिएको भन्दा कैयौं गुणा बिकराल समाजिक समस्याको रुप लिइसकेको छ आत्महत्याले। माथिका हेडलाईनहरुबाट सहजै अनुमान गर्न सकिन्छ कि आत्महत्याका पछाडि एक मात्र ठोस कारण छैन। यसका अनेकौ सामाजिक, आर्थिक, मनोवैज्ञानिक कारणहरु छन्। यीमध्ये अधिकांश कारणहरु व्यक्ति,परिवार, समूदाय, समाज, संस्था र सरकारको उचित प्रयासबाट समयमै निवारण वा न्युनिकरण गरी प्रभावकारीरुपमा आत्महत्या रोकथाम गर्न सकिन्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा वर्षेनी ७ लाख र प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने गरेका छन्। नेपाल प्रहरीसँग उपलब्ध तथ्याङ्क अनुसार नेपालमा पनि औषतमा वर्षेनि ६ हजार भन्दा बढी र दैनिक १८ जनाले आत्महत्या गर्ने गरेका छन्। विश्वमा आत्महत्या कुल मृत्युको पन्ध्रौँ प्रमुख कारण, १५-१९ वर्ष उमेर समूहमा मृत्युको चौथो प्रमुख कारण र महिलाहरूमा तेस्रो प्रमुख कारणको रुपमा रहेको छ। आत्महत्याको जोखिम बढी भएका विश्वका मुलुकहरुमध्ये नेपाल सातौं स्थानमा पर्छ। नेपाललगायत विकासशील मुलुकहरुमा आत्महत्यासम्बन्धी विभिन्न सामाजिक लाञ्छना, धार्मिक कारण र सामाजिक मनोवृत्ति, उपयुक्त अभिलेखीकरणको अभाव तथा सिमित अनुसन्धान आदिका कारणले भरपर्दो तथ्याङ्कको कमी छ।
आत्महत्या विश्वव्यापी समाजिक समस्या भएता पनि ७८ प्रतिशत आत्महत्याका घटनाहरु विकासोन्मुख देशहरुमा हुने गरेको तथ्याङ्क छ । आत्महत्याबाट जति मानिसको मृत्यु भइरहेको हुन्छ। त्यसको तुलनामा आत्महत्याका प्रयास गर्नेहरुको संख्या २० देखी २५ गुणाले बढी हुने गर्छ। प्रायःजसो महिलाहररुले पुरुषहरुको तुलनामा बढी आत्महत्याको प्रयास गर्ने तथ्य छ। तर, तथ्याङ्कका अनुसार पुरुषहरुले आत्महत्याको खतरनाक तरिका अपनाउने हुनाले पुरुषहरुले महिलाहरुको अनुपातमा बढी आत्महत्या गरेको पाइन्छ। विश्वमा आत्महत्याका माध्यमहरुमध्ये विष सेवन, झुण्डिएर तथा शरीरमा आगो लगाएर गर्ने आत्महत्या प्रमुख रहेको डब्ल्युएचओको तथ्यांकमा उल्लेख छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार नेपालमा कुल आत्महत्यामध्ये ८३ प्रतिशतले झुन्डिएर,१५ प्रतिशतले विष सेबन गरेर र २ प्रतिशतले हाम फालेर, पानिमा डुबेर, औजार तथा हातहतियार प्रयोग गरेर, आगो लगाएर, करेन्ट लगाएर वा अन्य तरिकाबाट आत्महत्या गरेको पाईन्छ।
नेपालमा आत्महत्याको अवस्था
नेपाल प्रहरीको तथ्याङ्क अनुसार नेपालमा बिगत तीन वर्षमा मात्रै २० हजार २२३ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन्। वार्षिक रुपमा केही तथ्यांकीय उतारचढाव आएता पनि समग्रमा आत्महत्या दर उच्च नै रहेको छ। नेपालले दिगो विकास लक्ष्यमा सन २०३० सम्म आत्महत्याको दरलाई ४.७ प्रति लाखमा झार्ने प्रतिबद्धता गरेको छ। तर आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कको आधारमा हाल नेपालमा आत्महत्याको मृत्यु दर २३.३ प्रति लाख रहेको छ। आत्महत्याको मृत्यु दरको गति यही स्थितिमा अगाडि बढ्ने हो भने निर्धारित समयमा दिगो विकास लक्ष्यको आत्महत्याको मृत्यु न्युनिकरण सूचक हासिल गर्न असम्भव जस्तै छ।
तथ्याङ्क अनुसार समग्रमा महिला भन्दा पुरुषमा आत्महत्याको दर बढी देखिन्छ। तर बालक/किशोर र बालिका/किशोरीहरुले गर्ने आत्महत्या दरलाई विश्लेषण गर्ने हो भने कुल बालक/किशोर र बालिका/किशोरीहरुले गर्ने आत्महत्यामध्ये ६० प्रतिशत भन्दा बढी बालिका/किशोरीहरुले गर्ने गरेको पाइन्छ। नेपालमा सामाजिक दबाब, बालविवाह, लैङ्गिक भेदभाव र शिक्षाको अवसरबाट बन्चित जस्ता समस्याहरूको सामना गरिरहेका बालिका/किशोरीहरुलाई आवश्यक पारिवारिक र सामाजिक सहयोगको अभावका कारण आत्महत्या गर्ने दर बालक/ किशोरको तुलनामा बढी रहेको अनुमान गर्न सकिन्छ।
तुलनात्मकरुपमा आत्महत्या दर सबै भन्दा बढी बागमती प्रदेश र सबै भन्दा कम कर्णाली प्रदेशमा रहेको छ। यस्तो तथ्याङ्कका पछाडि जनसंख्या, भूगोल, सामाजिक, सांस्कृतिक, वातावरणिय, तथ्याङ्क अभिलेख लगाएत अन्य कारक तत्वहरुको भूमिका हुनसक्छ।
विगत तीन वर्षको तथ्याङ्क हेर्दा काठमाडौँ उपत्यकामा हुने आत्महत्या दरमा कुनै उल्लेखनीय परिवर्तन आएको देखिदैन। आ.ब २०७६/७७ देखि आ.ब २०७८/७९ सम्म स्थिर जस्तै देखिन्छ। समग्र कर्णाली प्रदेश भन्दा काठमाडौँ उपत्यकामा आत्महत्या दर लभग दुई गुणाले बढी छ। विश्वब्यापी रुपमा नै ग्रामिण भन्दा सहरी क्षेत्रमा आत्माहत्या दर बढी पाईन्छ। नेपालको सन्दर्भमा पनि ग्रामिण भन्दा सहरी क्षेत्रमा नै आत्माहत्या दर बढी छ।
सहरी क्षेत्रमा आत्माहत्या दर बढनुका धेरै कारणहरु हुनसक्छन। जस्तैः शैक्षिक बेरोजगारी,चरम आर्थिक संकट,बढदो आर्थिक असमानता,सामाजिक सहिष्णुताको अभाव आदि। सहरी क्षेत्रमा आत्महत्या दर उच्च हुनुको अर्को कारण सफल हुने तीव्र होड, दबाब र प्रतिस्पर्धा पनि हो। कारणबस आसफल हुँदा अपर्याप्तता र कम आत्म-सम्मानको भावना निम्त्याउन सक्छ र मान्छेलाई आत्महत्यासम्म पुर्याउँछ।
यसबाहेक शहरी क्षेत्रहरूमा मानिसहरूसँग परम्परागत सामाजिक समर्थन र आत्मियतामा कम पहुँच हुन्छ र सामाजिक अन्तरक्रियाका लागि बढी इन्टरनेट र सामाजिक सञ्जालमा निर्भर हुने गर्दछन्। यसले एक्लोपन र एक्लोपनको भावना निम्त्याउन सक्छ जसले आत्महत्याको जोखिमलाई बढाउँछ।
मान्छे किन आत्महत्या गर्छ?
कुनै पनि मान्छेले त्यत्तिकै आफ्नो अमुल्य जीवन समाप्त पार्दैन। यसका पछाडि धेरै कारणहरु हुन्छन्। त्यसमध्ये उदासीनतालाई आत्महत्याको मुख्य कारण मानिन्छ। सामान्यतः धेरै दिक्दारी लाग्नु, मुडमा आवश्यकता भन्दा बढी उतार-चढाव आउनु, आफूलाई एकदमै दयनीय अवस्थाको ठान्नु, जीवनप्रति रुचि नहुनु, भविश्यप्रति कुनै आशा नलाग्नु आदि उदासीनताका कारणहरु हुन्। रक्सी र अन्य लागूऔषधको प्रयोग आत्महत्याको अर्को कारण हो। केही मानिसहरु नयाँ अनुभव लिन, उदासीनता, निराशापन, नकारात्मक भावनालाई हटाउनका लागि भन्दै मद्यपान वा अन्य लागूऔषधको प्रयोग गर्दछन्। यसले कार्य शिथिलता ल्याउने तथा उदासीनता बढाउने गर्छ। साथै यसको प्रयोगले धेरै प्रकारका शारीरिक,मानसिक, भावनात्मक र आर्थिक समस्या निम्त्याउँछ। जसले गर्दा विस्तारै बाँच्ने रहरमा कमी हुदै जाँदा आत्महत्या बढ्ने गरेको पाइन्छ। दीर्घरोग पनि आत्महत्याको एउटा कारण हो। कुनै पनि शारीरिक रोगबाट लामो समयसम्म ग्रसित भइरहेर बाँच्नुको अर्थ नदेखेर कतिपय मानिसले आत्महत्याको बाटो रोज्छन। त्यसैगरी सामाजिक, व्यक्तिगत वा मनोसामाजिक समस्याहरुले पनि आत्महत्या बढाउने गरेको छ।
आत्महत्या रोकथामका लागि थप प्रयासहरुको आवश्यकता
नेपालमा आत्महत्या रोकथामका लागि थुप्रै प्रयासहरु भएका छन्, केही हदसम्म ति प्रयासहरु सफल भएका होलान् र छन् पनि। तर राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतिवद्ता अनुरुप अपेक्षाकृत नतिजा हासिल गर्न नसकेको तितो यथार्थ माथि उल्लेखित तथ्यांङ्कले छर्लङ्ग पारिदिएको छ। यो तथ्याङ्कले आत्महत्या रोकथामका लागी थप प्रयासहरु आवश्यक रहेको तथ्यलाई पुष्टि गरेको छ। माथि चर्चा गरिएझै आत्महत्याका पछाडि अनेकौ सामाजिक, सांस्कृतिक, वातावरणिय, आर्थिक, मनोवैज्ञानिक र जैविक कारणहरु हुने गर्दछन्। यी कारणहरुको रोकथाम एउटै व्यक्ति, संस्था वा निकायबाट सम्भव छैन। यसका लागि बहुआयामिक, बहुपक्षीय र बहुसहभागीतात्मक दृष्टिकोणबाट हेरिनुपर्छ। आत्महत्या रोकथामका लागि हरेक व्यक्ति, परिवार,समुदाय, संस्था र सरकार उत्तिकै जिम्मेवार छन्। व्यक्तिको दैनिक जीवनयापन,पारिवारिक सद्भाव, समूदायको सामाजिक आर्थिक र सांस्कृतिक अवस्था र राज्यले अबलम्बन गर्ने नीति, नियम र राज्यको शासन व्यवस्था कुनै न कुनै रुपमा आत्महत्याका लागि जिम्मेवार र उत्तरदायी छन्। त्यसकारण आत्महत्या रोकथामका लागि व्यक्ति,परिवार, समुदाय, संस्था र सरकारले आ-आफ्नो तहबाट भूमिका निर्वाह गर्नु आवश्यक छ। विशेषगरी सरकारका तर्फबाट मानसिक स्वास्थ्यको यो कहालिलाग्दो अवस्थालाई ध्यानमा राख्दै समुदाय र लक्षित समूह केन्द्रित मानसिक स्वास्थ्य प्रवर्द्धन र प्रभावकारी आत्महत्या रोकथाम कार्यक्रम कार्यान्वयन गर्न अति आवश्यक छ।
(लेखक पुर्चौडी नगरपालीका,बैतडीका जनस्वास्थ्य निरीक्षक हुन्।)